बंगुरपालनबाट बार्षिक १० लाख बढी आम्दानी

शिवराज खनाल
दाङ, १३ फागुन । काम र दामको खोजीमा दिनहुँ विदेशिरहेका युवाहरुका लागि लमही नगरपालिका–१ का युवा कमल पुन उदाहरणीय पात्र बनेका छन् । दश बर्ष बैदेशिक रोजगारीका क्रममा साउदीमा बसेका पुन अहिले स्वदेशमै बंगुरपालन व्यवसायमा लागेका हुन् ।

उनले बार्षिक १० लाख रुपैयाँ आम्दानी गर्ने गरेको बताए । ‘पहिले १० बर्ष विदेशमा बसेर आफ्नो पसिना बगाउने काम गरे, तर त्यहाँ बस्दा मन कत्ति पनि सन्तुष्ट भएन’, उनले भने– ‘अहिले स्वदेशमै केही गर्नुपर्छ भनेर बंगुरपालनमा लागेको छु ।’ विदेशमा श्रम धेरै गरै पनि श्रमअनुसारको मूल्य पाउन नसकेको बताए । स्वदेशमै केही गर्ने उद्देश्यले विदेशलाई माया मारेर स्वदेशमै बंगुरपालन गर्न थालेका हुन् ।

१० लाखको लगानीबाट व्यवसाय शुरु गरेका पुनले आगामी दिनमा यसलाई समेत बढाउँदै लैजाने बताए । ‘दश लाखबाट व्यवसाय शुरु गरेको थिए, गतबर्ष १८ लाख बराबरको बंगुर बिक्री गरे’, उनले भने– ‘यसबाट १० लाख रुपैयाँ नाफा कमाउन सफल भए ।’ घरको दैनिक गुजारा चलाउन समस्या परेपछि पढाई छोडेर विदेशिएका पुन अहिले समेत आफ्नो व्यवसायबाट सन्तुष्ट छन् ।

‘घरको कमजोर आर्थिक अवस्थाका कारण पढाईलाई अघि बढाउन सकिएन, जसले गर्दा पढाईलाई बीचमै छोडेर बिदेशिनुपरेको थियो’, उनले भने– ‘केही समय विदेश बसेर कमाएको पैसाले स्वदेशमै केही गरौं भन्ने सोचअनुसार बंगुर व्यवसाय गरेको हुँ । अहिले रामै्र छ ।’ आफ्नो व्यवसायबाट घर परिवारसमेत खुशी भएको उनले बताए ।

बंगुरपालनका लागि करिब १ कट्ठा जग्गा भाँडामा समेत लिएका छन् । फर्ममा २१ माउँ बंगुरसहित २ वटा भाले र २४ ओटा बच्चाहरु छन् । उनले प्रतिबंगुरका पाठालाई ५ हजारका दरले बिक्री गर्ने गरेका छन् । पुनले पालेको बंगुरपालन व्यवसायलाई प्राविधिक सहयोग गरिरहेका भेटनरियन मुकेश अधिकारीले व्यवसाय राम्रो भएको बताए ।

‘विदेश गएर फर्केका युवाको पशुपालनमा आकर्षण बढ्दो छ, यो राम्रो हो’, अधिकारीले भने– ‘जसअनुसार मैले पनि अहिले पुनलाई बंगुरपालनमा प्राविधिक सहयोग गरिरहेको छु ।’ बंगुरपालन व्यवसायबाट कम लगानीमा राम्रो आम्दानी गर्न सकिने भएपछि धेरैको आकर्षणसमेत बढेको छ ।