दाङ,१९ पुस । दाङ जिल्ला उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा आफ्नै आधिकारीक उम्मेदवार बिरुद्ध बागी उम्मेदवारी दिएका बसन्त जोशी र धनपती शर्मालाई नेपाली कांग्रेसले पार्टीबाटै निष्काशन गरेको जनाएको छ ।
कांग्रेस क्षेत्र नम्बर २ ले अध्यक्ष पदका बागी उम्मेदवार जोशी र कोषाध्यक्ष पदका उम्मेदवार शर्मालाई कांग्रेसबाट कारवाही गरेर निष्काशन गरिएको जनाएको छ । कांग्रेस क्षेत्र नम्बर २ का सभापति भुपहादुर डाँगीले विज्ञप्ती जारी गर्दै प्रजातान्त्रीक उद्यमीसंग र नेपाली कांग्रेस घोराही नगर समितिले कारवाही गरिसकेको भन्दै उनिहरुलाई कांग्रेसबाट कारवाही गरि निष्काशन गरिएको जनाएका छन् । साथै उनिहरुको अब नेपाली कांग्रेसमा कुनै संलग्नता नरहेको पनि कांग्रेस क्षेत्रीय समितिले स्पष्ट पारेको छ ।
‘प्रजातान्त्रीक उद्यमीसंग र कांग्रेस घोराही नगर समितिले निजहरुलाई कारवाही गरि निष्काशन गरेको हुँदा आजका मिति देखि निजहरुको नेपाली कांग्रेसमा कुनै पनि संलग्नता नरहेको जानकारी गराउँदछौँ,’ क्षेत्रीय सभापति डाँगीद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।
साथै कांग्रेसले कारवाही गरिसकेका जोशी र शर्माको पछि नलागी सर्वदलीय सर्वपक्षीय निर्णयमा साझा उम्मेदवार बनेका अध्यक्ष पदका उम्मेदवार टंकसिंह बुढाथोकी र कोषाध्यक्ष पदका उम्मेदवार सुशील पोख्रेललाई मतदान गर्न पनि कांग्रेस क्षेत्रीय समितिले सबै उद्योगी व्यवसायिहरुमा अपिल गरेको छ ।
कांग्रेस घोराही नगर समिति सदस्य समेत रहेका बसन्त जोशीलाई कांग्रेस घोराही उपमहानगरपालिकाले घोराही नगर समितिको सदस्यबाट बर्खास्त गरेको छ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था प्रजातान्त्रीक उद्यमीसंघ घोराहीको संस्थागत निर्णय अवज्ञा गरेको भन्दै जोशीलाई घोराही नगर समितिले नगर समितिको सदस्यबाट निष्काशन गरिएको नगर समितिले बिज्ञप्ती मार्फत जानकारी दिएको छ ।
नगरसभापति मनोज बुढाथोकीद्धारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ ‘प्रजातान्त्रीक उद्यमी संघको संसथागन निर्णयको अवज्ञा गरि उद्योग वाणिज्य संघको अध्यक्ष पदमा उम्मेदवार दिएका बसन्त जोशीलाई कारवाही गरि साधारण सदस्य सेमत नरहने गरि कारवाही गरेको हुँदा नीजलाई नेपाली कांग्रेस घोराही नगरसमितिको सदस्य पदबाट कारवाही गरि निष्काशन गरिएको जानकारी गराईन्छ ।’ साथै आधिकारीक उम्मेदवार अध्यक्षका टंक सिंह बुढाथोकी र कोषाध्यक्षका सुशील पोख्रेललाई मतदान गर्न पनि नगरसभापति बुढाथोकीले अपिल गरेका छन् ।
यसैगरि घोराही उपमहानगरपालिका वडा नम्बर १५ को कांग्रेस वडा समितिले पनि अध्यक्षमा बागी उम्मेदवारी दिएका बसन्त जोशीलाई क्रियासिल सदस्य तथा साधारण सदस्य समेत नरहने गरि कारवाहीका लागि सिफारीस गरेको छ । वडा सभापति प्रकाश श्रेष्ठले बिज्ञप्ती जारी गर्दै प्रजातान्त्रीक उद्यमी संघको निर्णयको अवज्ञा गरि उद्योग वाणिज्य संघको निर्वाचनमा उम्मेदवारी दिएका जोशीलाई क्रियासिल तथा सकृय सदस्य समेत नरहने गरि कारवाहीका लागि सिफारीस गरिएको उल्लेख गरेका छन् ।
यस्तै कांग्रेसको शुभेच्छुक संसथा प्रजातान्त्रीक उद्यमी संघका बसन्त जोशी र धनपती शर्मालाई संघले साधारण सदस्य समेत नरहने गरि कारवाही गरेको जनाएको छ । उद्योग वाणिज्य संघको सहमती विपरित उम्मेदवारी दिएर संस्थागत निर्णय बिपरित गतिविधि गरेको भन्दै उनिहरुलाई संघको साधारण सदस्य समेत नरहने गरि कारवाही गरेको संघले जनाएको छ ।
संघका अध्यक्ष गुरुप्रसाद कँडेलले विज्ञप्ती जारी गर्दै उनिहरुलाई साधारण सदस्यबाटै निष्काशन गरिएको जनाएका हुन् । पुस २० गते भोली हुने उद्योग वाणिज्य संघको अध्यक्षका लागि साझा उम्मेदवार टंकसिंह बुढाथोकी र स्वतन्त्र उम्मेदवार बसन्त जोशीले उम्मेदवारी दिएका छन् भने कोषाध्यक्षका लागि साझा उम्मेदवार सुशील पोख्रेल र स्वतन्त्रबाट धनपति शर्माले उम्मेदवारी दिएका छन् ।