पार्टी एकताको सम्भावना अझै छ : पूर्व सभामुख महरा

दाङ, ६ पुस । नेकपा दाङले नेकपाका संस्थापक माणिकलाल गौतमको सम्झनामा श्रद्धाजलीसभा सम्पन्न गरेको छ । कम्युनिष्ट आन्दोलनको विकासमा निरन्तर लागिरहेका गौतमको ९३ वर्षको उमेरमा मंसिर २४ गते निधन भएको हो । उनी नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक सदस्य तथा केन्द्रीय सल्लाहकार परिषद् सदस्य थिए ।

गौतमको निधनको १३ दिनको अवसरमा नेकपा दाङले गरेको श्रद्धाञ्जली सभामा बोल्ने वक्ताहरुले स्व. गौतमले पार्टीमा पुराएको योगदानको चर्चा गरेका थिए । श्रद्धाञ्जली सभामा नेकपाका वरिष्ठ नेता तथा पूर्व सभामुख कृष्णबहादुर महराले पार्टी निर्माणमा स्व. गौतमको भूमिका महत्वपूर्ण भएको सम्झना गरे । ‘पार्टी निर्माण उहाँको योगदान महत्वपूर्ण छ’, पूर्व सभामुख महराले भने– ‘पार्टीले असल अभिभावक गुमाएको छ ।’

नेता महराले पार्टीमा संकट देखा परेकोसमेत बताए । ‘औपचारिक रुपमा पार्टी विभाजन भएको छैन । तर पार्टीमा ठूलो संकट देखा परेको छ’, उनले भने– ‘यसको पछाडि पार्टी नेतृत्वको मात्र कमजोरी नभएर अदृश्य शक्तिको पनि ठूलो भूमिका छ ।’ पार्टी एकता नै त्यो शक्तिलाई मन नपरेको उनले बताए । ‘त्यो अदृश्य शक्तिले देशलाई स्थिर हुन चाहँदैन ।

त्यो भएर यो अवस्था आएको छ’, उनले भने– ‘अझै पनि पार्टी एकताको सम्भावना भएकोले त्यो दिशामा सबै लाग्नुको विकल्प छैन ।’ नेता महराले पार्टी एकताको लागि दुवै पक्षका नेताहरुसँग छलफल भैराखेको समेत बताए । ‘पार्टी अध्यक्ष प्रचण्ड र अर्को पक्षका नेताहरुसँग मेरो कुरा भैराखेको छ’, उनले भने– ‘पार्टी एकताका आधारहरु अझै समाप्त भएका छैनन् ।’

नेकपा दाङका सचिव सुवास पुनको अध्यक्षतामा भएको श्रद्धाञ्जलीसभामा नेकपा केन्द्रीय सदस्य सुजिता शाक्य, केन्द्रीय सदस्य तथा घोराही उपममहानगरपालिका प्रमुख नरुलाल चौधरी, लुम्बिनी प्रदेशसभा सदस्य अमरबहादुर डाँगी, नेता छविलाल वली, शुष्मा शर्मा घिमिरे र बासुदेव गौतमलगायतले स्व गौतमको योगदानको चर्चा गरेका थिए । कार्यक्रमको सञ्चालन नेकपा दाङका नेता सुरामणि बेल्वासेले गरेका थिए ।