गोरक्ष समाचारदाता
दाङ, ३ पुस । नेपाल संस्कृत विश्वविद्यालयको राजधानीको प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार सम्पन्न सिनेटसभाले विश्वविद्यालय मातहतको आयुर्वेद अध्ययन प्रतिष्ठानको आयुर्वेद क्याम्पसमा सञ्चालित अस्थायी कोरोना विशेष अस्पतालमा एकीकृत अस्पताल निर्माणको प्रस्ताव गरेको छ ।
प्रस्तावसँगै विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी ओलीले सो क्याम्पसमा अध्ययनरत बिएएमएसका विद्यार्थीहरुलाई अन्यत्र भवन व्यवस्थापन गरी भौतिकरुपमा अध्यापन गराउन विश्वविद्यालयलाई निर्देशन दिएका छन् ।
विगत ८ महिनादेखि क्याम्पस जान नपाएका आयुर्वेद स्नातक तहका विद्यार्थीहरुलाई अन्तै भौतिकरुपमा अध्ययनको व्यवस्थापन मिलाउन पनि प्रधानमन्त्री तथा कुलपति केपी ओलीले आग्रह गरेसँगै विश्वविद्यालयका रजिष्टार माधव अधिकारीले बिजौरीमा तत्काल पठनपाठनको व्यवस्थापन गरिने गोरक्षसँगको कुराकानीमा बताएका छन् ।
अन्य सबै क्षेत्रका शैक्षिक संस्थाहरु भौतिक उपस्थितिबीच पठान–पाठन सञ्चालन आए पनि बेलझुण्डी विश्वविद्यालयका बिएएमएस विद्यार्थीहरुले भने कक्षाकोठा, प्रयोगशाला र पुस्तकालयसमेत कुल्चन पाएका छैनन् । ‘बेलझुण्डीमा एकीकृत अस्पतालको प्रस्ताव भएको छ, त्यसमा प्रदेश सरकारले डिपिआर गर्नेलगायत सङ्घीय सरकारले समेत सहयोग गर्ने बताइएको छ, सम्भवतः बेलझुण्डीमा एकीकृत अस्पताल निर्माण हुनेछ’, रजिष्टार अधिकारीले भने ।
त्यसैगरी सिनेटसभामा आउँदो शैक्षिकसत्रमा दीक्षान्त समारोह भने केन्द्रीय कार्यालय बेलझुण्डीमै हुने बताएका छन् । त्यसको सबै अख्तियारी कुलपतिबाट आइसकेको पनि उनले बताए । सम्भवतः बैशाख महिनाको अन्तिम सातासम्म दीक्षान्त समारोह दाङमै गर्ने गरी तयारी गर्न विश्वविद्यालय लागेको पनि उनले बताएका छन् ।
तर त्यसका लागि बाँकी रहेका सिनेटसभा सदस्यको पदपूर्ति गर्नका लागि आवश्यक पहल यसअघि नै गरिने पनि उनको अभिव्यक्ति थियो । त्यसैगरी वि.सं. २०२४ सालमा बेलझुण्डीमा अन्तर्राष्ट्रिय विद्युत सम्मेलन भएको परिप्रेक्ष्यमा नेपाल संस्कृत विश्वविद्यालयले फेरि केही समयमै बेलझुण्डीमा अन्तर्राष्ट्रिय विद्युत सम्मेलन गर्ने पनि सिनेटसभामा प्रस्ताव भएको थियो ।
त्यसैगरी बैदिक कृषिको पाठ्यक्रम तयार गर्ने र कार्यान्वयन गर्ने सवालमा पनि विश्वविद्यालको प्रस्तावमा उपकुलपतिले सहमति जनाउँदै यसमा आवश्यक तयारी गर्न पनि निर्देशन दिएका थिए । साथै बोटानिकल गार्डेनको प्रस्तावलाई स्थानीय संस्कृति झल्कने गरी डिपिआर परिमार्जन गरी कार्यान्वयन गर्न पनि कुलपति तथा प्रधानमन्त्री ओलीको निर्देशन थियो ।
त्यसै निर्देशनअनुरुप विश्वविद्यालयले चाँडै नै विश्वविद्यालय प्राङ्गणमा निर्माण गर्ने बोटानिकल गार्डेनको स्वरुपसमेत परिवर्तन गर्ने बताइएको छ । त्यसैगरी सिनेटसभामा विश्वविद्यालयको खाली रहेको तथा अतिक्रमणमा परेको जग्गाको संरक्षण एवं सदुपयोग गर्नका लागि भू–उपयोग नीति बनाउन पनि प्रस्ताव गरिएको थियो ।
भूमि सुधार मन्त्रालय, राष्ट्रिय योजना आयोगका उपाध्यक्षसमेतको सहभागितामा भू–उपयोग नीति अवलम्बन गर्ने पनि सिनेट सभाले निर्णय गरेको छ । सम्भवतः यो निर्णयसँगै अब नेपाल संस्कृत विश्वविद्यालयले आफ्नो मातहतमा रहेका र स्वामित्वमा रहेका सबै जग्गालाई सदुपयोगको नीति ल्याउने छ ।
त्यसैगरी अनुसन्धान केन्द्र पनि दाङमै रहने गरी कार्यान्वयनमा रहेका प्रक्रियालाई निरन्तरता दिँदै सकेसम्म चाँडो सो केन्द्रलाई कार्यान्वयनमा ल्याउने पनि प्रस्ताव सभाबाट पारित भएको छ । यसले संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालयमा धेरै शैक्षिक समृद्धिका काम हुने अपेक्षा पनि सिनेटसभाले अपेक्षा गरेको छ । नेपाल संस्कृत विश्वविद्यालयको एउटा सम्पर्क कार्यालय बाहेक राजधानीमा अन्य कार्यालयहरु सञ्चालनमा आउने छैनन् ।
विशेष काम र परिस्थितिबाहेक पदाधिकारीहरुसमेत केन्द्रीय कार्यालयमै बस्नुपर्ने पनि सभाले अनुमोदन गरेको छ । मुलुकका सबै शैक्षिक संस्थाहरु चलायमान भइरहेको अवस्थामा कोभिड–१९ को संक्रमणबीच पनि नेपाल संस्कृत विश्वविद्यालयको वार्षिक सिनेटसभा प्रधानमन्त्री तथा कुलपतिको कार्यालय बालुवाटारमा सम्पन्न भएको छ ।
सो सिनेट सभाले बेलझुण्डीमा एकीकृत अस्पतालको स्थापना, औषधिजन्य वनस्पति उद्यानको निर्माण, बैदिक कृषिको कार्यान्वयन लगायतका ३६ विषयमा प्रस्ताव गरिएको छ । ती प्रस्तावहरु क्रमिकरुपमा सम्बोधन गरिने विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी ओलीले बताएका छन् ।
राजनीतिक चपेटोमा र भागवण्डामा अभ्यास शुरु भएपछि सायद राजा उपकुलपति हुने बेलाबाहेकका धेरै सिनेटसभा काठमाडौंमा प्रधानमन्त्रीको निर्देशन र तजविजमा मात्रै हुने परम्परा यसअघिकै थियो । त्यसैलाई नेकपा बहुमतको सरकारले पनि निरन्तरता दिएको छ ।
नेपाल संस्कृत विश्वविद्यालयलाई नेपाल सरकार विश्वविद्यालय अनुदान आयोगले दिएका विभिन्न शीर्षकका रकमहरुको समेत सदुपयोग भइरहेको छैन भने संस्कृत विधाको स्वास्थ्य सेवाका लागि महत्वपूर्ण मानिएको औषधिजन्य वनस्पति उद्यानको बजेटसमेत सदुपयोग हुन सकेको छैन । बजेट विश्वविद्यालयको खातामा आएको अवस्थामा पनि सदुपयोग हुन नसक्दा फिर्ताजस्तै रहेको विश्वविद्यालयका अधिकारीहरुले बताएका छन् ।
नेपाल संस्कृत विश्वविद्यालयले यसै साता चालु आर्थिक वर्षका लागि सिनेटसभा पनि बालुवाटारमै सम्पन्न गरेको छ । सिनेटसभामा के–कस्ता आर्थिक कार्यक्रम र शैक्षिक कार्यक्रम आए भन्ने सवालमा विश्वविद्यालयका तर्फबाट कुनै पनि आधिकारिक अभिव्यक्ति आएको छैन ।
एक अर्ब बढीको बजेट
यसैबीच सिनेटमा आगामी शैक्षिक कार्यक्रमका लागि आगामी आर्थिक वर्षका लागि १ अर्ब ६ करोड ५० लाख प्रस्ताव गरिएको थियो । त्यसमा उपकुलपतिले विभिन्न परियोजनाका लागि विस्तारित कार्यक्रमसहित बजेट खर्च गर्न सरकार तयार रहेको अभिव्यक्ति दिए । बजेटलगायतका सबै प्रस्ताव र निर्णयका विषयमा केही दिनलगत्तै पत्रकार सम्मेलन गरी जानकारी गराउने पनि रजिष्टार अधिकारीको अभिव्यक्ति थियो ।