सडक र पुल निर्माणले सहजता : मुख्यमन्त्री पोख्रेल

एकैदिन तीन पुल शिलान्यास

दाङ, २६ मंसिर । लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले दाङ जिल्लामा एकैदिन तीन स्थानमा पक्की पुलको शिलान्यास गरेका छन् । मुख्यमन्त्री पोख्रेलले तुलसीपुरको राईखल्यान–टिकरी जोड्ने पातुखोला, घोराही–सैघा र स्यूजा जोड्ने कटुवाखोला र राप्ती गाउँपालिकाको दोलई खोलामा बिहीवार पक्की पुलको शिलान्यास गरेका हुन् ।

घोराही उपमहानगरपालिका–१८ को घोराही–सैघा र स्यूजा जोड्ने कटुवाखोलामा पुलको शिलान्यास गर्दै मुख्यमन्त्री पोख्रेलले गाउँ र सहरलाई जोड्ने खोलामा पक्की पुल निर्माणले जनताको दैनिकीमा सहजता ल्याउने बताए । सडक निर्माणसँगै कालोपत्रे भए पनि खोलाहरुमा पुल नहुँदा पानी पर्दा हिँड्नै नसक्ने अवस्था दाङमा आउने गरेको भन्दै मुख्यमन्त्री पोख्रेलले अब उक्त समस्या विस्तारै हट्ने बताएका थिए ।

दाङमा सडक तथा पुल निर्माणले गति लिएको भन्दै मुख्यमन्त्री पोख्रेलले पुल तथा सडकको विकासले जनताको जीवनस्तरमा परिवर्तन ल्याउन सहयोग पुग्ने बताए । ‘अहिले दाङमा धेरै ठाउँमा पुल तथा सडक निर्माणको काम अघि बढेको छ । जसले गर्दा जनताको जीवनस्तरलाई परिवर्तन गर्न भूमिका खेल्नेछ’, मुख्यमन्त्री पोख्रेलले भने– ‘यो पुलले पनि यस क्षेत्रका जनताको जीवनस्तरमा परिवर्तन ल्याउन सहयोग बन्नेछ ।’

उनले घोराहीको १८ नम्वरका जनतासँगै बंगलाचुलीवासीलाई हिँड्डुलसँगै कृषि तथा पशुपालन व्यवसायलाई सहयोग पु¥याउनुका साथै दाङ भएर प्यूठानको स्वर्गद्वारी जाने भारतीय पर्यटकहरुलाई समेत सहयोग पु¥याउने बताएका थिए । केही बर्षअघिसम्म सडक पक्की बन्ने तर पुल नहुँदा पानी पर्दा हिँड्नै नसक्ने अवस्था रहने गरेको भन्दै उनले अब त्यस्तै समस्या हट्ने समेत बताए । ‘घोराही–तुलसीपुर सडकखण्डसँगै घोराही–लमही सडकमा पनि अधिकांश खोलामा पुल निर्माण भएका छन्’, मुख्यमन्त्री पोख्रेलले भने– ‘जसले गर्दा अब पानी परेर खोला बढ्दा कसैलाई कतै रोकिनुपर्ने छैन ।’

त्यस्तै मुख्यमन्त्री पोख्रेलले घोराहीको चक्रपथको सडक घोराहीको मात्र नभएर जिल्लाकै नमूना मार्गका रुपमा निर्माण हुने समेत बताए । ‘घोराहीमा निर्माण हुन थालेको चक्रपथ घोराहीको मात्र होइन, यो जिल्लाकै नमूना मार्गका रुपमा अघि बढ्नेछ’, उनले भने– ‘त्यही अनुसार प्रदेश सरकारले बजेटसमेत बिनियोजन गरेको छ ।’ मुख्यमन्त्री पोख्रेलले प्रदेशको स्थायी राजधानी भालुवाङसँग जोड्ने गरी घोराही–रामपुर हुँदै बैकल्पिक सडक निर्माणको अध्ययनको कामसमेत भइरहेको बताएका थिए ।

पुल निर्माणको काम २४ महिनाभित्र सक्ने गरी जय बुद्ध निर्माण सेवा प्रालि वनस्थली काठमाडौंले जिम्मा लिएको छ । ५ करोड ९ लाख २७ हजार ८ सय ९३ रुपैयाँ २८ पैसा लागत अनुमानित रकम रहे पनि निर्माण कम्पनीले ३ करोड ८२ लाख ३२ हजार १ सय ५७ रुपैयाँ ४३ पैसामा सम्झौता गरेको सडक पूर्वाधार कार्यालय दाङका प्रमुख बासुदेव भण्डारीले बताए । ३५ मिटर लम्बाई रहेको पुलको चौडाई दश मिटर रहने भएको कार्यालयले जनाएको छ ।

निर्माण कम्पनीले २०७९ साल भदौ २० पुल निर्माणको काम सक्ने गरी सडक पूर्वाधार कार्यालय दाङसँग सम्झौता गरेको छ । कार्यक्रममा बोल्दै निर्माण व्यवसायी जीवन केसीले बजेटको अभाव नभए निर्धारित समयभन्दा पहिले नै पुल निर्माण गरी सरकारलाई हस्तान्तरण गर्ने बताएका थिए ।

कार्यक्रम भौतिक पूर्वाधारमन्त्री बैजनाथ चौधरीको अध्यक्षतामा भएको थियो । घोराही उपमहानगरपालिका प्रवक्ता तथा वडा नं. १८ का अध्यक्ष भरतमणि अर्यालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सडक पूर्वाधार कार्यालयका किरण पौडेलले गरेका थिए ।

राईखल्यान–टिकरी जोड्ने पुल

तुलसीपुर उपमहानगरपालिका वडा नं. १० राईखल्यान र तुलसीपुर उपमहागनरपालिका वडा नं ८ को टिकरी जोड्ने पातुखोलामा पुलको शिलान्यास गरिएको छ । पुलको शिलान्यास लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले गरेका हुन् । पुलको शिलान्यास गर्दै मुख्यमन्त्री पोख्रेलले लुम्बिनी प्रदेशमा विकासका कामले गति लिन थालेको बताए ।

दाङको पातुखोलामा निर्माण हुन लागेको पुल दुईलेन रहेको भन्दै उनले पुल बनिसकेपछि सवारी साधन आवत–जावतमा सहज हुने बताए । ‘तुलसीपुरको ग्वारखोलामा ३ वटा पुल निर्माण भैसकेका छन्, चौथो पुल निर्माण हुने प्रक्रियामा छ’, मुख्यमन्त्री पोख्रेलले भने –तर पातुखोलामा एउटा मात्र पुल हुँदा आवात–जावतमा समस्या बनेको छ, राजमार्गको हिसावले हेर्दा त्यो पुल उपयुक्त होइन ।’ तुलसीपुरको बस्ती विकास सँगै पुलहरुको आवश्यकता बढ्ने बताए ।

उनले घोराहीदेखि आँखा अस्पताल हुँदै–पुरन्धारा बैकल्पिक सडक निर्माणको कामसमेत अघि बढेको बताए । त्यस्तै उनले संघीय सरकारको अनुदानमा पातुखोलामा रहेको अटोभिलेज जोड्ने पुल पनि निर्माण हुने गरी बजेट आएको बताए । उनका अनुसार योसँगै पातुखोलामा पनि चारवटा पुल हुनेछन् । यसले पश्चिम दाङको विकासमा थप मद्दत पुग्ने अपेक्षा गरिएको पोख्रेलले बताए । ‘पश्चिम दाङको विकासले फड्को मार्दैछ, विकासका काम निर्माणका कामहरुले गति लिएका छन्’, उनले भने ।

फरक प्रसंगमा मुख्यमन्त्री पोख्रेलले भने– ‘देउखुरीमा राजधानी आइसकेपछि पश्चिम दाङ पछाडि पर्छ कि ? भन्ने चिन्ता गरिराख्नु पर्दैन ।’ पश्चिम दाङको सबैभन्दा विकट क्षेत्र भनेको गंगटे भएको भन्दै पोख्रेलले त्यहाँ पनि सडक निर्माणका लागि टेण्डर भइसकेको बताए । भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा राष्ट्रियसभा सदस्य कोमल ओलीले पातुखोलामा दुईलेनकोे पुल निर्माण भएसँगै पश्चिम दाङको विकासमा ठूलो टेवा पुग्ने बताइन् ।

त्यस्तै कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य डिल्ली चौधरीले विकास निर्माणको हरेक काममा नेपाली कांग्रेस साथमा रहेको बताए । साथै सो अवसरमा पुल निर्माण कम्पनीका प्रमुख ईश्वर पुनका अनुसार ८ करोड ३१ लाख ६४ हजार २ सय २५ लागतमा बन्न लागेको पुलको लम्बाई ७० मिटर रहेको छ भने चौडाई १० मिटर रहेको छ । लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको पुल २४ महिनाभित्र सक्ने सम्झौता भएको छ । पुल निर्माणको जिम्मा हिराचन–जलजला–जयमा स्वर्गद्वारी र जेभी कम्पनी दाङले लिएका छन् ।