सरकार असफल भयो : कांग्रेस नेता महर

दाङ, ११मंसिर । नेपाली कांग्रेसका नेता तथा स्कूल अफ डेमोक्रेसीका केन्द्रीय अध्यक्ष नैनसिंह महरले वर्तमान सरकार असफल भएको बताएका छन् । ‘कम्युनिष्टको सरकार देश र जनताप्रति जिम्मेवार भएन’ प्रेस युनियन दाङले बुधवार तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा नेता महरले भने–‘जनता यो सरकारको कामबाट वाक्क दिक्क भएका छन्, यो सरकारको विकल्प खोज्न थालेका छन् ।’

सरकार असफल भइसकेको बताएका उनले नेपाली कांग्रेसको छायाँ सरकार यो सरकार असफल भए तयार छ भन्ने सन्देश दिनको लागि गठन भएको उनले बताए । नेकपाभित्रको अहिलेको विवादको प्रमुख कारण भ्रष्टचार कसले बढी गर्ने भन्नेमा केन्द्रित रहेको समेत बताए ।

नेपाल विद्यार्थी सघंका पूर्व केन्द्रीय अध्यक्ष समेत रहेका महरले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डकाबीचमा भइरहेको झगडाको प्रमुख कारण जनताले करतिरको पैसामा कसले बढी दोहन गर्ने भनेर भइरहेको दाबी गरे । ‘उहाँहरुको विवादको कारण सिद्धान्तका कारण भएको होइन’–महरले भने ‘बरु राज्यको ढुकूटीमा कसले बढी भ्रष्टाचार गर्ने भनेर भइरहेको छ ।

’ओली र प्रचण्डको बीचको लडाई वाइडबडी, ओम्नि, पिन्टिङ प्रेसमा कसले बढी पैंसा खाने भन्नका लागि भइरहेको उनले बताए । सकारको नेतृत्व गरिरहेको कम्युनिष्टमा देशको विकास र जनताको हितको लागि विवाद नभएको उनको भनाई छ ।

नेकपा प्रशव वेदनाका वावजुद यहाँसम्म आइपुगेको भए पनि झगडा सिद्धान्तका लागि नभइ कसले बढी लाभ लिने भन्नका लागि भएको हुँदा पार्टी भने नफुट्ने उनले तर्क गरे । कुनै पनि पार्टी फूट्दा देशलाई नोक्सान पुग्ने भन्दै उनले नेपाली कांग्रेस नेकपा फुटोस भन्ने पक्षमा नरहेको बताए । ‘कांग्रेस छिमेकीको फूसको घर भत्कियोस् भन्नुभन्दा पनि आफ्नो घर कसरी मजबुत बनाउने भन्ने पक्षमा छ’–महरले भने–‘नेकपा फूटेर देशलाई पनि नोक्सान हुने हुँदा त्यो फूट्नु हुन्न ।’ उनले एउटा कांग्रेसका केन्द्रीय सदस्यहरु गुटविहीन नरहेको भन्दै साझा नेताको खोजी अबको महाधिवेशनले गर्न सक्नुपर्ने तर्क गरे ।

एक तहसम्मको गुट सबैले बनाउनुलाई सामान्य मान्न सकिने भए पनि गुटकै कारण वडाबाटै राम्रो नेतालाई लडाउने अभ्यास हुनु नहुने उनको भनाइ थियो । कांग्रेस बलियो भए मात्र सिङ्गो नेपाल बलियो बन्ने रहेछ भन्ने कुरा अहिले आएर जनताले आभाष गरेको उनले बताए । कार्यक्रम नेपाल प्रेस युनियन दाङका उपाध्यक्ष नारायण खड्काको अध्यक्षतामा भएको हो । युनियनका केन्द्रीय पार्षद गोपाल शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण युनियन दाङका कोषाध्यक्ष प्रकाश डाँगीले गरेका हुन् ।

लोकतन्त्रको पाठशाला स्कूल अफ डेमोक्रेसी

लोकतान्त्रिक विधि र प्रद्धतिलाई जनतासम्म लैजाने माध्यम स्कूल अफ डेमेक्रेसी भएको नेपाल विद्यार्थी संघका निवर्तमान अध्यक्ष तथा स्कूल अफ डेमोक्रेसीका केन्द्रीय अध्यक्ष नैनसिंह महरले बताएका छन् ।

स्कूल अफ डेमोक्रेसी जिल्ला शाखा दाङले बुधवार घोराहीमा गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेसलाई सशक्त र मजबुत बनाउन यसले महत्वपूर्ण भूमिका खेल्ने समेत बताए । नेपाली कांग्रेसको भ्रातृ संगठनका रुपमा नरहे पनि स्कूल अफ डेमोक्रेसीले प्रजातान्त्रिक मूल्य र मान्यतामा रहेर विभिन्न सामाजिक सेवाका कार्यहरु गर्ने बताएका हुन् ।

उनले यसले हरेक व्यक्तिलाई मुल्य र मान्यतामा रहेर राजनीति गर्न समेत सिकाउने बताएका थिए । ‘समाजमा हुने विकृति विसंगति, सामाजिक सेवाका कार्यहरुसँगै प्रजातन्त्रलाई बलियो बनाउने गरी काम गर्ने उद्देश्य छ’–केन्द्रीय अध्यक्ष महरले भने–‘त्यसका लागि कांग्रेसमा आवद्ध मात्र होइन सबै पार्टीमा आबद्ध प्रजातन्त्रवादीहरु संस्थामा आबद्ध हुन सक्नुहुन्छ ।’ राजनीतिक, सामाजिक, शैक्षिक कार्यसँगै संस्थाले हरेक व्यक्तिहरुलाई आर्थिक रुपमा सक्षम बनाउनका लागि पोलिसी बनाएर काम गर्ने समेत बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाली कांग्रेस स्थानीयतह समन्वय विभागका सदस्य समेत रहेका संस्थाका विषय विज्ञ नहकुल केसीले लोकतन्त्रको मूल्य र मान्यतालाई जनतासम्म लैजाने र कांग्रेसलाई बलियो र संगठित पार्टी बनाउन स्कूल अफ डेमोक्रेसीले काम गर्ने बताएका थिए । साथै उनले हरेक व्यक्तिहरुलाई पेशागत राजनीति गर्ने गरी संस्थाले काम गर्ने बताए । उनले निर्वाचन प्रक्रिया, संगठन विस्ता, विकासका लागि सबैलाई समेटेर काम गर्ने बताए ।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले स्कूल अफ डेमोक्रेसी लोकतन्त्रको पाठशाला भएको भन्दै यसले लोकतन्त्रको संस्थागतसँगै विकासका लागि महत्वपूर्ण योगदान दिने बताएका थिए । स्थानीय तहहरुमा जननिर्वाचित प्रतिनिधिहरु आए पनि जनताको भावनाहरु काम गर्न नसकेको अवस्थामा स्कूल अफ डेमोक्रेसीले जनताको भावनालाई प्रतिनिधित्व गरेर काम गर्नसक्ने बताएका थिए । त्यसका लागि महिला, पुरुष, युवा, पछाडि पारिएका हरेक व्यक्तिहरुलाई समेटेर अघि बढ्नुपर्ने बताएका थिए ।

स्कूल अफ डेमोक्रेसीका जिल्ला संयोजक बिमला योगीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका राजनीतिक सल्लाहकार सावित्रा राणा, सल्लाहकार जोगेन्द्र विश्वकर्मालगायतले मन्तव्य व्यक्त गरेका थिए । उपाध्यक्ष सुष्मा गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव लीला शाहले गरेकी थिइन् ।