सरकारी दल र त्यसको राजनीति

  •   
  •  

सुभाष न्यौपाने

सत्ताधारी राजनैतिक दल फुटबल मैदानमा ।
दहाल र ओली उत्रे पारवर्ड खेल्न टिममा ।।
विद्या एम्पायर बनिन् सिठ्ठी हातमा लिइन् ।
प्रचण्डलाई फावल भन्दै केपीलाई बल दिइन् ।।

सत्ताधारी राजनैतिक दलका नेताहरु अहिले आ–आफ्नो जुँङाको लडाईमा व्यस्त छन् । प्रधानमन्त्री केपी शर्मा ओली अर्थात् वरियतामा पहिलो ठहरिएका अध्यक्ष र भन्दा कर्मचारी भनिए पनि कार्यमा चाहिँ दोस्रो तहका भनिने अर्का अध्यक्ष प्रचण्डको बीचमा अलि दह्रो सम्वाद, विवाद र प्रतिपाद भएपछि दुवै पक्षधर नेताहरुले जति नै सहमतिको लागि सम्वाद भन्दै वार्तामा जुटे पनि उनीहरु क्रमशः ध्रुवीकृत भइरहेका छन् ।

कित्ताकाट गराउने काम पनि भइरहेको छ । जसले गर्दा स्थानीय तहदेखि सरकार र राजनीतिको माथिल्लो तहसम्मका प्रमुखहरु त्यसमा रुमलिनाले मुलुक दिनानुदिन अस्तव्यस्त बन्दै गइरहेको छ । मुलुक एक त रोगको महामारीको चपेटामा परिरहेको बेला मुलुक फेरि राजनैतिक महामारीको चपेटामा परेको छ । झ्वाट्ट हेर्दा प्रचण्ड र ओलीबीचको किचलो या विवाद जस्तो देखिए पनि यस पटकको समस्याले समस्या माधानलगायत पार्टी पंक्तिभित्र नेता माधवकुमार नेपाल नै विशिष्ट र वरिष्ठ बन्दै गइरहेको जस्तो घटनाले बुझाउँछ ।

प्रधानमनत्री ओली पनि हिजोको जस्तो जाल फाल्ने क्रम पनि यथावतै राख्दै छन् । जुन जाल हिजो नेता वामदेव गौतममाथि प्रयोग गरिसकेका छन् । जसले गर्दा वामदेव झण्डै घर न घाटका भइसकेका थिए । त्यस्तै जाल प्रधानमन्त्री ओलीले नेता नेपालमाथि फाल्ने जाल पनि बुनिरहेको बुझिन्छ । नेता नेपालसँगको भेटघातमा काम्रेड प्रचण्डले ममाथि प्रयोग गरिएका अपशब्द तथा अपमानले भरिएका असिष्ट र गालीगलौजपूर्ण अभिव्यक्ति तपाईं फिर्ता गर्न लगाउनुहोस्, तपाईंलाई के गर्नुपर्छ म तयार छु– यसरी नेता नेपालसँगको सम्वादमा बरु तपाईं नै प्रधानमन्त्री बन्नुस् भन्ने प्रस्तावसम्म आयो रे प्रधानमन्त्री ओलीबाट ।

तर प्रचण्ड पक्षधर नेताहरु प्रचण्डले प्रधानमन्त्रीमाथि लगाइएको आरोप त्यसै फिर्ता हुँदैनन् । त्यसको जे गर्नुपर्छ पार्टीको बैठकमा पेश गरेपछि बैठकले जे ठहर गर्छ त्यही नै निर्णय हुन्छ भनेर आफ्नो धारणा राखिरहेका छन् । आफ्नो अन्तरद्वन्द्वमा रुमलिएको नेकपा झ्वाट्ट हेर्दा आफूलाई दुई चिरा भनौँ या दुई कित्ता त बनाइसकेको देखिन्छ । तर पनि उीहरु आफ्नो लाज लुकाउन खोज्दै छन् । के उनीहरुलाई थाहा छैन आफ्नो लङौटी च्यातिएको कुरा ? अझ पन िभन्दै छन् कि अझै हामी एकताकै मार्गमा छौँ ।

उता प्रधानमन्त्री ओली पक्षधर नेता गोकुल बास्कोटा प्रचण्डलाई चुनौती दिन चाहन्छन् । आफूले पेश गरेका आरोपहरु पारित गरेर देखाउन भन्दै । प्रचण्डका गलत आरोपहरुको जवाफ दिइरहनु जरुरी छैन, दिनु पर्दैन । यति मात्र होइन, प्रधानमन्त्री ओलीमाथि लगाइएका संगिन आरोप जसले आफूलाई पुष्टि गर्न सक्तैन उसले लगाएको आरोप आफैमा गलत हो । छिमेकी देशमा शरण लिएर क्रान्तिको नाममा गरिएको ध्वंसहरु कतिसम्म आवश्यक हुन् वा अराजक हुन् भन्ने जवाफ पनि प्रचण्डले दिनु पर्ला नि ! क्रान्तिको नाममा लाश बनाइएका नागरिकाके परिवारलाई प्रचण्डले जवाफ दिनु पर्छ ।

अनाकमा नागरिकमाथिको आक्रमण नागरिकको निजी सम्पत्तिमाथिको लुटपाटको पनि प्रचण्डले जवाफ दिनु पर्ला नि ! यदि प्रधानमन्त्री ओलीले राष्ट्र हितमा काम गरेनन् भनेर लगाएको आरोप पुष्टि गर्न सक्तैनन् भने उनी हत्यार हुन्, उनी अपराधी हुन् । प्रचण्डले प्रधानमन्त्री ओलीमाथि लगाएको प्रस्ताव न त राजनैतिक रुपमा आएको छ न त सांगठनिक प्रतिवेदनमा आएको छ ।

त्यसैले प्रचण्डले ओलीमाथि आरोप लगाउँदै पेश गरेको आरोपत्र प्रचण्डले फिर्ता गर्छन् भने गर्छन् होइन भने आफै निस्तेज हुन्छ । यदि प्रचण्डसँग पार्टीको निकायमा छलफल गराएर वहुमतबाट प्रधानमन्त्री ओलीलाई कारवाहीका साथ निस्काशन गर्नसक्ने क्षमता छ भने गरे हुन्छ । उता वरिष्ठ उपाध्यक्ष बामदेव गौतम मलाई उपप्रधानमन्त्री चाहिँदैन तर राजनेतिक प्रस्ताव फिर्ता हुँदैन भनेर उफ्रन्छन् । तर यसभित्रको एउटा कुरा चाहिँ सही हो । यदि प्रचण्ड र केपी ओलीको बीचमा सहमति हुन नसकेको भए न त विद्या नै राष्ट्रपति बन्न पाउँथिन् न त केपी ओली नै यो मुलुकको ऐतिहासिक प्रधानमन्त्री बन्न सक्थे ।

यस्ता कटुसत्य विषयहरु सधैंभरि बहसमा नआए पनि इतिहासले त स्वीकारेको छ नि । यति हुँदाहुँदै पनि माधव नेपालले प्रधानमन्त्री ओलीसँग भने यदि प्रचण्डले गलत आरोप लगाएको हो भने पार्टीको बैठकमा उपस्थित भएर जवाफ दिनुस् न भन्दा प्रधानमन्त्री ओलीले जवाफ दिएको बरु म एक्सिट्रम कदम चाल्छु तपाईँहरुले बोलाएको बैठकमा जान्न । यति प्रचण्डले सचिवालयको बैठकमा पेश गरेको प्रस्ताव फिर्ता लिँदैनन् भने आफू सचिवालयको बैठकमा पनि उपस्थित नहुने, त्यसको बदलामा कडा कदम चाल्ने समेत धम्की दिएका छन् । थप भयावह स्थिति आउने भएको हुँदा उक्त समस्या र चुनौतीको समाधान तथा सामना गर्न तयार रहन समेत चुनौती दिएको बुझियो ।

यति भन्दै गर्दा प्रधानमन्त्री ओलीले अब दुई अध्यक्ष सँगै हिड्न नसकिने भएको हुँदा नेता नेपाललाई आफूलाई सहयोग गर्न समेत आग्रह गरेका थिए रे । पार्टी नेताहरुको यत्रो वारको पारको लडाइँ चल्दा पनि उनीहरुले देश र जनतालाई सम्झिएको कहीँ देखिएन । यी दुवै जनताको नामका जनतामारा हुन् । यिनी दुवैबाट जनताले समृद्धिको कुनै आशा राखेका छैनन् । न त प्रधानमन्त्री ओलीका कडा कदमले जनतालाई सम्बोधन गर्न सक्छ न त समस्याको समाधान नै । यी दुवैको इगो भनेको पद, पैसा र प्रतिष्ठाको हो ।

त्यसैले जनताले नेतालाई अझै पनि सच्चिनलाई पर्खिरहेका छन् । नास्पातीको बोटमा स्याउ फलेको संसारको इतिहास नेपालमा पनि नदोहोरिएला भन्न सकिँदैन । विभिन्न वादविवाद, भनासुनी र आपसी आरोप, प्रत्यारोपको बीचमा अस्ति मंसिर १ गते भाइटीकाका दिनबाट नेकपाको सचिवालय बैठक सुरु भएको छ । बैठक सुरु भए पनि दोस्रो अध्यक्षले प्रचण्डले पेश गरेको राजनैतिक प्रस्ताव भनिने दस्तावेज केवल प्रधानमन्त्रीका विरुद्धमा तयार गरिएको आरोप र अपमानको पुलिन्दा मात्र रहेको भनेर प्रथम अध्यक्ष पक्षधर नेताहरुको भनाइ छ ।

उनीहरुको भनाइ आफै पनि छ कि प्रचण्डले पेश गरेको त्यो गाली गलौजको पोको अझै पनि उहिले फिर्ता लिनु राम्रो हुने छ भनेर भनिरहेका छन् । तर प्रचण्ड पक्षधर मुख्य नेताहरु र स्वयम् प्रचण्ड पनि उक्त प्रस्ताव बैठकमा छलफल गराएर निर्णय गराउने पक्षमा छन् । एक पक्ष अर्थात् प्रस्तावको प्रस्तोता पक्ष उक्त प्रस्ताव फिर्ता नगर्ने अडानमा छन् भने प्रधानमन्त्री ओली पक्षधर नेताहरु उक्त प्रस्ताव जसरी हुन्छ फिर्ता गराउने रणनीतिमा छन् । अहिले यही रणनीति र चलखेलमा पार्टी नेतृत्वपंक्ति लागिरहेको देखिन्छ । उनीहरु भन्दै छन् बिनातुक र तर्कको अभियोगपत्र फिर्ता गरिनु पर्छ भन्ने अडानमा नेकपाका नेताहरु शंकर पोख्रेल, इश्वर प्रोख्रेल, गोकुल बास्कोटालगायतका नेताहरु कडा रुपमा प्रतिवाद गरिरहेका छन् ।

बुधवार मात्रै सचिवालयको बैठक बस्ने तयारी भइरहेको अवस्थामा महासचिव विष्णु पौडेल मंगलवार विहान अर्का अध्यक्ष प्रचण्डलाई उनकै निवास खुमलटारमा गएर भेटेको कुरा खुलन आएको छ । भेटवार्तामा भएका कुराहरु बाहिर नआए पनि नयाँ लेनदेनको कुरा महासचिव पौडेलले अघि बढाएको कुरा बहिर आएको छ । अध्यक्ष दुईका बीचको व्यवहार सत्रुतापूर्ण तरिकाले अगाडि बढिरहेको अवस्थामा आएको नयाँ लेनदेनको सौदाबाजी कस्तो हो ? अझै स्पष्ट भने हुन सकेको छैन ।

नेकपा भित्रको राजनैतिक अवरोधले मुलुककै मुलनीतिलाई अस्तव्यस्त बनाइरहेको छ भन्ने विश्लेषण जनताबाट आइरहेको छ । तर उनीहरु आ–आफ्नै जुँगाको लडाइँमा लागेर मुलुकको समस्या र अवस्थाको बारेमा कुनै वास्ता गरिरहेका छैनन् भन्ने गुनासो र आरोप छ । कुरा एउटा मात्रै छैन केपी ओलीले प्रचण्डको विरुद्धमा तयार पारेको पत्र अर्थात् अभियोग पत्र र प्रचण्डले प्रधानमन्त्री ओलीका विरुद्धमा तयार पारिएका दुवै पत्रहरु उस्तै उस्तै छन् ।

आफूले स्वीकारेर सँगै राजनीतिक सहयात्रामा लागेर आफूलाई प्रधानमन्त्री बनाउन भूमिका खेल्ने नेता प्रचण्डलाई वर्तमान अवस्थामा प्रधानमनत्री ओलीले हत्यारा भनेर भन्नु, क्यान्टोन भेन्टको मुद्दा उठाइदिउँ भन्नु, तिम्रो मुद्दालाई हेगमा पु¥याइदिउँ ? भन्नुले के पनि बुझाउँछ भने स्वयम् प्रधानमन्त्री ओली प्रचण्डका सबै अपराध र गल्लतीलाई आफ्नो स्वार्थका निमित्त मात्र स्वीकारेका रैछन् भन्ने पुष्टि भइसकेको छ ।

यदि प्रचण्ड गलत र अपराध गरेरै आएका थिए भने हिजो पहिलो पटक प्रधानमन्त्री हुँदा नै यी कुराहरु किन उठाएनन् ? जनताले यी दुवै नेतालाई स्वस्थ राजनीति र मुलुकको समृद्धिका निमित्त राजनीति गरिरहेका छैनन् भन्ने त बुझिसकेका छन् । तर पनि अभिमतलाई स्वीकार्नुपर्ने प्रजातान्त्रिक पद्धतिलाई जनताले आत्मसात गरेकोले मात्रै नेकपाको सरकारको गठन हुन पाएको हो । सत्तामा गइसकेपछि सरकार र सरकारी पार्टीले गति लिँदै जाँदा उनीहरु एकअर्कामा पोलापोल र आरोपप्रत्यारोपमा अगाडि बढ्दै गए ।

आ–आफूमै एकले अर्काको गलत प्रवृत्तिको उजागर गर्दै जान थलेका छन् । जब आफ्ना विरुद्धमा प्रचण्ड उत्रिएपछि पार्टीको पहिलो दर्जाका भनिने अध्यक्ष र मुलुकको प्रधानमन्त्री समेत रहेका नेता केपी ओलीले प्रचण्डलाई धम्क्याउँदै क्यान्टोनमेन्टको पोल खोलुँ ? हेगमा लैजाउँ ? हत्यारा भन्दै सम्बोधन गरेपछि जनताले बुझेको कुरा त अहिले कतै प्रचण्डभन्दा ओली त अपराधी होइनन् ? आफूले सजिलोसँग सरकार र पार्टी चलाउन पाए ठिक होइन भने प्रधानमन्त्रीका गतिविधिका विरुद्धमा बोले अपराधी भन्ने प्रवृत्तिले त ओली काम्रेड देश र जनताको समृद्धिका लागि सरकारमा गएका रहेनछन् ।

उनी त प्रचण्डलाई दम्काएर प्रचण्डको मतले सत्ताको रजाइँ गर्ने उद्देश्यले पो सरकार सञ्चालनको नेतृत्व लिएका रहेछन् । यस घटनाले के पनि पुष्टि गर्छ भने अपराधीले गरेको अपराधको बारेमा जानकारी हुँदाहुँदै उसको अपराधी मतको बुइँ चढेर आफ्नो स्वार्थ सिद्ध गर्र्नेहरु नै बढी अपराधी हुनुपर्ने हो । तर कुन्नि के भएको हो ? नेपाली राजनीतिमा ।

फलानोले चोरी गरेको देख्दादेख्दै पनि फलानो हो भनेर नभन्ने । जब उसले आफ्नो घर फोड्न आउँछ अनि मात्र तैँले यो मितिमा फलानोको घर पनि चोरेको थिस्, आज मेरो पनि चोर्न आइस्, अब तँ चोर नै होस् भन्ने ? आफूलाई केही नहुँदासम्म कसैका गल्ती र अपराधहरुको उठान नगर्ने ? बरु त्यही विषयलाई आधार बनाएर आफ्नो रजाइँ गर्न पल्केका नेपाली राजनीतिका हस्ती मानिनेहरु ती सबैको चरित्र उस्तै–उस्तै देखिएको छ ।

संवैधानिक रुपमा अपराध सावित भइसकेका विषयहरुलाई आफ्नो स्वार्थ र राजनैतिक अनुकूल हुँदासम्म ती व्यक्ति र विषयहरु गलत नहुने तर त्यही विषय आफ्ना विरुद्धमा परिचालित भएर आएमा मात्र उनीहरु त्यस विषयलाई विभिन्न तर्क दिएर गलत सावित गर्ने प्रवृत्ति नेपाली राजनीतिको विशेषता नै रहेको छ । जसले गलत सन्देश पनि दिइरहेको छ । ओली काम्रेडले मुलुकका निमित्त जतिसुकै क्रान्तिकारी युगान्तकारी काम गरेको भए पनि उनको कमजोर पक्ष भनेको मुलुकमा महामारी बढिरहँदा सरकारले जनताको स्वास्थ्योपचार गर्न सक्तैन भन्नु ।

स्वयम् आफू करोडौँको मृगौला फेरेर बसिरहेका छन्, उनै जनतामाथि रजाइँ गर्दै छन् । जनताले दोस्रो किटानी गरिरहेका व्यक्तिलाई आफू ढाल बनेर उनको संरक्षण र न्याय र जनतासँग प्रतिपाद गर्नु, यस्ता प्रकृतिका गतिविधिले उनी पनि प्रचण्डभन्दा केही कम छैनन् । त्यसैले त एउटै प्रवृत्तिका बीचमा बहस हुँदा विवाद सुरु भएको ।