नेपालकै दोश्रो लामो पुलले जुराईदिएको ‘व्यापार’

  •   
  •  

लिलाधर वली

दाङ, ५ मंसिर । देउखुरीको राप्ती गाउँपालिका–७ निवासी महेन्द्र चौधरीको दैनिकी रातिमै बित्ने गरेको छ । दुई बर्ष भारतको चेन्नईमा होटलसम्बन्धी काम गरेका महेन्द्रले विगत एक बर्षदेखि देउखुरीमा रहेको एक होटलमा कुकका रुपमा काम गर्दै आएका थिए ।

तर चैतदेखि शुरु भएको लकडाउनका कारण व्यवसाय बन्द भएपछि उनले १५ देखि २० हजार रुपैयाँ खर्च गरेर राप्ती पुलमा नयाँ व्यवसाय थालेका छन् । आफूले थालेको नयाँ व्यवसायबाट आफू अहिले सन्तुष्ट रहेको उनी बताउँछन् । ‘मैले पहिले भारतको चेन्नईमा काम गर्ने गरेको थिए, पछि आफ्नै ठाउँमा केही गरांै भनेर देउखुरीकै एक होटलमा काम गर्दै आएको थिए ।

तर लकडाउनका कारण काम बन्द भयो’, उनले भने– ‘त्यसपछि बेरोजगार बनेको समयमा एउटा ठेला किनेर यही पुलमा व्यवसाय थाले ।’ अरुको काम गरिरहनुभन्दा अहिले सानो भए पनि आफ्नै काम गर्दा सन्तुष्ट रहेको उनी बताउँछन् ।

राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवालाई जोड्ने गरी पुल निर्माण भएसँगै पुलमा व्यापार गर्दै आएका उनले दैनिक ३ हजारदेखि ४ हजारसम्म कारोबार हुने बताए । ‘नेपालकै दोस्रो लामो पुल भएकाले शनिवार धेरै मानिसहरु पुल हेर्न आउने गर्दछन्’, उनले भने– ‘जसले गर्दा शनिवार व्यापारसमेत राम्रो हुने गर्दछ ।’ उनले सेकुवा, माछा, मःमसँगै नास्ताका रुपमा छोले, समोसा, पानीपुरी, चाटलगायत पानी राख्ने गरेको बताए । त्यो बाट कमाई हुने पैसाले घर–परिवार चलाउँदै आएको बताए ।

महेन्द्रले जस्तै राजेश चौधरीले पनि राप्ती नदीको पुल छेउमा व्यवसाय गर्न थालेको एक बर्ष पूरा भएको छ । गढवा गाउँपालिका–२ कोठरी निवासी चौधरीले च्याम्फा टेक्टरको ट्ररालीलाई ठेव्ली बनाई व्यवसाय गर्दै आएका छन् । च्याम्फा टेक्टर किनेका उनले त्यही टेक्टरको ट्रलीमा नास्ता पसलका रुपमा बनाउँदासम्मलाई ३ लाख रुपैयाँ खर्च गरेका छन् ।

अहिले त्यही च्याम्फालाई घुम्ती पसलका रुपमा सञ्चालन गर्दै आएका छन् । ‘यो घुम्ती पसलजस्तै बनेको छ, खाना खाएर आउने अनि साँझ घर जाने’, उनले भने– ‘पुलमा ल्याउन र घर लग्न सजिलो होस् भनेर टेक्टरको ट्रलीलाई पसल बनाएको हुँ ।’ बैदेशिक रोजगारीका क्रममा लामो समय मलेसियामा बसेका चौधरी अहिले आफ्नै गाउँमा गरेको व्यवसायबाट खुशी छन् ।

विदेश धेरै लगानी लगाएर जानुभन्दा थोरै लगानीमा आफ्नो ठाउँमै केही गर्न सके राम्रो आम्दानी लिन सकिने सोच बोकेका चौधरीले विदेशभन्दा स्वदेशमा धेरै अवसर भएको समेत बताउँछन् । व्यवसाय शुरु गर्दा राम्रो कारोवार हँुदैन थियो । तर पछि पुल निर्माण भएपछि व्यवसाय बढेको उनी बताउँछन् । ‘शुरुमा पुलमा काम गर्ने मान्छेहरुले व्यवसाय धानेको थियो, अहिले त पुल हेर्न आउने मानिसहरुले गर्दा पसल चलेको छ’, राजेशले भने– ‘शुरुमा म एक्लै थिए यहाँ पसल गर्ने तर राम्रो व्यापार हँुदै गएपछि अहिले धेरै जना हुनुभएको छ ।’

उनी व्यवसायका लागि हरेक दिन १० तिर राप्ती पुलमा आउने गरेको बताए । दिनभरी पुलमै बसेर व्यवसाय गर्ने गरेका उनले किराना पसलका लागि आवश्यक सामग्रीसहित चाउमिन, समोसा, पकौडा, जेलेवीलगायत सामग्री बनाउने गरेका छन् । जसबाट करिब २५ देखि ३५ सयसम्मको कारोवार हुने गरेको उनले बताए ।

त्यसँगै राजेशले च्याम्फा टेक्टरले गाउँमा आवश्यक परेको बेला खेतबारी जोत्ने काम समेत गर्ने गरेको बताए । ‘यहाँ पसल चल्ने भनेको दिउँसोको समयमा हो, विहान आवश्यक परेको बेला जोत्ने काम समेत गर्ने गरेको छु’, उनले भने– ‘जसले गर्दा जोतेर पनि कमाई हुने गरेको छ ।’ महेन्द्र र राजेश मात्र होइन सिसहनिया र महदेवा जोड्ने पुल निर्माण भएपछि धेरै राप्ती पुलमै व्यवसाय थालेका छन् । नेपालमो दोस्रो लामो पुल निर्माणसँगै त्यस क्षेत्रमा चहलपहल बढेपछि स्थानीय युवाहरुले बाहिर जानुभन्दा आफ्नै ठाउँमा व्यवसाय गर्न शुरु गरेका हुन् ।