राधेश्याम उपाध्याय
बन्धुवान्धवसहित आश्चर्य लाग्ने गरी यसरी किचक मारिएकाले विराट राजा धेरै चिन्तित थिए । यो हल्ला चारैतिर फैलियो । उता कौरवहरु पनि पाण्डवहरुको गुप्तबासको धेरै समय कट्दा समेत कहाँ र कुन अवस्थामा छन् भनी थाहा नपाउँदा धेरै चिन्तित थिए । चारै दिशामा गुप्तचरहरु छाडिएका थिए ।
गुप्तचरहरुले पनि संसारका वन, जंगल, साना–ठूला गाउँ विभिन्न स्थानहरु चरैतर्फ खोजे र नभेटाई स्थकित भइ हस्तिनापुर फर्किए । यता दुर्योधन आफ्ना हितैषी गुरु द्रोण, द्रोणि, कर्ण, भीष्म, शकुनी भाइहरु र अन्य बन्धुवान्धवहरुका साथ गोलाकारमा सेनाहरुलाई समेत राखी श्रीइन्द्रको शासनसरह दिव्य सभा गर्दथे । चर (दूत)हरु त्यही सभामा आई हामीले हजुरको आदेशानुसार कुनै पनि देश देशान्तर वनजंगल गिरिगुफा चारैतिर खोज्यौँ तर पाण्डुपुत्रहरुलाई पत्ता लगाउन सकेनौँ सायद वनजंगल, भीरपाखातिर मरे होलान् भनी विन्ति गरे ।
तर एउटा मुख्य कुरा चाहिँ मत्स्यपति विराट राजाको सालो सुयोग्य मन्त्री ठूलो वीर तथा पराक्रमी त्यो राज्यको रक्षक जसले त्रिगर्ततिरका धेरै राज्यहरुलाई ठूलो लडाइँ गरी जितेको थियो । त्यो किचक एक स्त्रीका कारण सवान्धव गन्धर्वदेखि मारिए । यो सुनेर दुर्योधनले दूतहरुलाई फेरि मेरो हित चिताइँ चनाखो भई धर्मस्थान र मुनि तथा ऋषिहरुका कुटीहरुमा समेत हेरी छिटो पत्ता लगाऊ भनी पुनः खोज्न पठाए ।
राज्यसभामा श्रीद्रोणाचार्यले हे राजन ! पाण्डवहरु गुणि र बलिया दुर्धर्ष र धार्मिक पनि छन् । त्यस्ता व्यक्ति मरे होलान् भनी पत्याउन सकिँदैन । ज्ञानी, सत्य, प्रतिज्ञ र ठूला तपस्वी धर्मसुत मानिन्छन् । जसका चारभाइ इन्द्र समान श्रेष्ठ र बलिया छन् । तिनलाई दुःख, कष्ट छैन । उनीहरु आनन्द साथ कहीँ बसेका होलान् र आफ्ना गुप्तवासका दिन बिताएर उदय हुने दिनको पर्खाईमा बसेका होलान् । समयमा पत्ता लगाउन सकिएन भने पछि ठूलो लडाइँ हुने सम्भावना (संकेत) देखिन्छ ।
यो सुनेर भीष्मले भने जुन देशमा पाण्डवहरु होलान् त्यो देशका राजा ज्ञानी, धार्मिक, प्रजा पालक र प्रजाहितैषी होलान् । तिनको राज्यमा सबै प्रजाजन सम्पन्न सुखी, शान्त र सन्तोषी होलान् । जहाँ सत्य बोल्ने वेद पढ्ने धर्म शास्त्रहरुको चर्चा हुने कुनै पनि दुःखकष्ट नभई सबै सुखी होलान् र नीति पथमा चल्ने जनता होलान् । राज्य धनधान्यले परिपूर्ण होला आवश्यक परेका बेला मेघले जल वर्षा गराएको होला । अति वृष्टि तथा अनावृष्टि कतै पनि होवोइन । कोही पनि दुःखी दरिद्री होवेन । त्यस्ता ठाउँमा पाण्डवहरु होलान् ।
जुन देशमा पापी, दुष्ट, अधर्मी कोही होवेन, नारी शिलवती गुणवती हुनन् । लज्जा, धर्म, क्षमा सुकीर्ति दया उत्कृष्टशाली होला, त्यहाँ नै पाण्डवहरु होलान् । अब १३ वर्ष पूरा हुन थोरै दिन बाँकी छ र उनीहरु प्रकट हुने दिन गनेर बसेका होलान् । त्यसैले त्यस्ता ठाउँमा खोजी गर भनी भीष्मले दुर्योधनलाई अर्ति दिए । यो सबै कुरा सुनेर पनि सुर्याेधनले विचार गरेर भन्न लाग्यो । यो संसारमा राजा शल्ले, भीमसेन, बलराम र किचक जस्ता बाहुयुद्धमा बलवान् अरु कोही जन्मेका छैनन् । यिनी चारलाई अरु कसैले मार्न नै सक्दैनन् । यी चारमा चौथो किचक हो । यसलाई सल्य र बलरामले मारेनन् । यिनीहरुले लुकेर मार्नुपर्ने कुनै कारण छैन ।
त्यसैले किचकलाई द्रौपदीको निमित्त भीमले गन्धर्वको रुपमा मारेको हुनु पर्दछ । पितामह भीष्मले जस्तो लक्षणको वर्णन गर्नुभयो, ती सबै लक्षण अहिले विराट राजाको राज्यमा देखिन्छन् । त्यसैले पाण्डवहरु कतै विराट राजाको राज्यमा त छैनन् ? भनी मेरो मनले भन्दछ । त्यसो हो भने हामीले विराट राजाको राज्यमा आक्रमण गरी गौधन हरण गर्नुका साथै विराटको शेखी हरौँ र पाण्डवहरुको खोजी पनि गरौँ । यसबाट हामीलाई दोहोरो लाभ हुनेछ । यसमा मान्यजनहरुको विचार के छ भनी सुयोधनले प्रस्ताव राखे ।
यो सुनेर राजा सुशर्माले विराटको शक्ति क्षीण भयो अब उसको शेखी गयो । यही मौकामा मत्स्यदेशमा आक्रमण गरी राज्यभरिको सम्पत्ति, गाई, हरण गरी राजाका सम्पूर्ण सेनालाई आफ्नो अधिनमा राखौँ ती दुःखी पाण्डवहरु कतै ठूलो जंगलमा मरे होलान् तिनको चिन्ता अब गरिरहनु पर्दैन भनी सबै कौरवहरु एकमत भए । यसरी द्रोण, भीष्म, कर्ण, कृप, सुशर्मा तथा अन्य भारद्वारहरु सबैले आ–आफ्नो मत राज्यसभामा राखे र सबैको मत यही मौकामा राजा विराटको मत्स्य देशमा आक्रमण गरी धनसम्पत्ति र गोधन हरण गर्ने, विराटका सैनिकहरुलाई आफ्नो बसमा राख्ने र विराटको शेखी हर्ने रह्यो ।
सबैको सल्लाहमा आजै दक्षिण दिशाबाट त्रिगर्तपति सुशर्माले आक्रमण गर्न जाने र भोलि अरु कौरवहरुले उत्तर दिशाबाट आक्रमण गरी तिनको धनसम्पत्ति र गाईहरु हरण गरी तिनको शेखी हर्नुपर्ने छ भनी दुर्योधनले भाइ दुःशासनलाई आदेश दिए । यो आदेश पाउना साथ त्रिगर्तका राजा सुशर्मा दक्षिण दिशाबाट आक्रमण गरी दक्षिण दिशामा रहेका सम्पूर्ण गाईहरु लुटेर ल्याए । भोलिपल्ट कौरवहरुले पनि उत्तरतर्फका सम्पूर्ण गौधनहरु हर्दा भए ।
किचक मर्दा राजा विराटले सन्ताप माने तापनि पाण्डुका छोराहरुको भर मानेका थिए । पाण्डवहरु पनि आफ्नो गुप्तवासको समय पूरा गरी प्रकट हुनलाई मौका हेरी बसेको अवस्था थियो । त्यही समयमा सुशर्माले आफ्ना गाईहरु हरण गरेको राजाले खबर पाए र सम्पूर्ण सेना तथा सेना नायकलाई युद्ध गर्न तयार हुने उर्दी जारी गरे । राजाका अर्का भाइ सतानिक कान्छा भाइ मदिराक्ष, तन्तिपाल, ग्रन्थिक, कङ्क, बल्लभका साथै आफू समेत चारै दिशातर्फ बाँडी लड्न हिंडे ।
दिनको त्यस्रो प्रहरमा सुशर्मालाई भेटाई लखेटेर गाईहरु फिर्ता गरे र दुवैतर्फका सेनाको युद्ध हुनथाल्यो । योद्धा पैदल पैदलका साथ रथी रथीका साथ लड्न थाले । पैलाको देवासुर संग्रामको जस्तै युद्ध हुन थाल्यो । पानी परेभैmँ गरी दुवै तर्फकाले शक्ति तोमर पास खड्ग गदा र नाना थरिका शस्त्रास्त्र प्रयोग गर्न लागे । अन्त्यमा सुशर्माले राजा बिराटलाई घायल पारे र पाता कसेर रथमा राखे र हाम्रो जित भयो भनी जान लागे ।
यो देखेर युधिष्ठिरले भीमलाई राजा विराटको यो दुर्दसाबाट मुक्त गराऔँ भनी भने र आफू समेत चारै भाइ लड्न गए । दाजुको यो आदेश सुने र भीमले पनि एउटा ठूलो रूख उखेली त्रिगर्त पतिका सम्पूर्ण वीर शैनिकहरुलाई मार्छु भनी आँटे । यो देखेर फेरि युधिष्ठिरले सर्वसाधारण मानिस सरह युद्ध गर आफ्नो परिचय हुने कुनै पनि व्यवहार नगर भनी भने र भीम पनि अरु साधारण मानिस सरह नै रथमा चढेर सुशर्मासँग युद्ध गर्न लागे ।
लड्दै जाँदा सुशर्माका सबै शैनिकहरु मरे र सुशर्मा युद्ध छाडी बाँच्नका लागि भाग्न लागे । यही समयमा युधिष्ठिरले राजा विराटका बन्धन काटी मुक्त गराए । भीम दौडेर सुशर्मालाई जुल्फी समाई घिच्याउँदै पाता कसेर ल्याइ युधिष्ठिरलाइ बुझाए । युधिष्ठिरले पनि भीमलाई माफी दिएर छाडिदिन भने । भीमले बिराटका अगाडि मैले जानिन भनी माफी माग्न पठाए र छाडिदिए । राजा सुशर्मा लज्जित भई माफी मागी घर फर्के । राजा बिराटले चार भाइ पाण्डवको खुशी भई निकै प्रशंसा गरे । राजा बिराटले दूतलाई बोलाई युद्ध जितेको खबर नगरमा पठाए ।
कौरवहरुद्वारा गौहरण
सुशर्मासँग भएको सल्लाह वमोजिम अर्को दिन कौरवहरुले उत्तर दिशाबाट आक्र्रमण गरी सम्पूर्ण गाईहरु हरण गरी लगेको खबर गोठको रक्षकले दरबारमा गई सुनायो । त्यो बेला सबै योद्धाहरु सुशर्मासँग युद्ध गर्न गएका थिए । दरबारमा राजकुमार उत्तर र महिलाहरुमात्र बाँकी थिए । गोठको रक्षक गोपले राजकुमारलाई हौसला बढाउँदै शत्रुसँग युद्ध गर्न जान प्रेरित ग¥यो । राजकुमारले पनि दरबारमा भएका स्त्रीहरुका बीचमा निकै फूर्ति लगाउँदै मेरो सारथी छैनन् नत्र ती कौरवहरुलाई ठिक गर्ने थिएँ भनी आफ्नो बढाई गरी भन्न लागे ।
राजकुमारले बढी शेखी गरेर आफ्नो मपाईका साथ कौरवहरुलाई एक्लै पराजित गरी आउने थिएँ भनि बारम्बार भनेको सुनी अर्जुनले द्रौपदीलाई बृहन्नला निपुण सारथी छन् उनले खाण्डव वन दाह गर्दा अर्जुनको कुशल सारथी भई अर्जुनलाई साथ दिएका थिए । बृहन्नलालाई सारथी बनाई लग्नुहोस् र आफ्ना शत्रुहरुको शेखी हर्नुहोस् भनी सिकाई भन्न पठाए । सोही मुताविक द्रौपदीले पनि बृहन्नलाको प्रशंसा गर्दै राजकुमारलाई बृहन्नलालाई सारथी बनाई लैजान सुझाव दिइन् । आफूले क्लस्वलाई मेरो सारथी हौँ भनेर भन्न लाज मानेर वैन्ही उत्तरालाई भन्न लगाई सारथी बन्न राजी गराए ।
कन्या ब्राह्मणहरुबाट मंगलाचरण गरी कौरवहरुसँग युद्ध गर्नका लागि हिंडे । त्यही बेला उत्तराले आफ्नी सखी बृहन्नलालाई कौरव वीरहरुका राम्रा–राम्रा थरि–थरिका पगरीहरु पुतली खेल्नका लागि खोसेर ल्याउनु भनी भनिन् । राजकुमारहरु पनि वायु गतिमा सोझो दुर्गम बाटो नाध्दै कौरव सेना समक्ष पुगे । दरबारमा स्त्रीहरुका अगाडि फूर्ति लगाएका राजकुमारले भीष्म, द्रोण, द्रोणी, कर्ण, कृप र दुर्योधनको विशाल सेना देख्दैमा बल तथा बुद्धि हराए र बृहन्नलालाई द्यौताले पनि जित्न कठिन यो सेनासँग म एक्लै कसरी लड्न सक्छु ? मेरो शाहस छैन शरीर गल्न लाग्यो त्यसैले हे बृहन्नला ! मेरो हित चिताई झट्ट रथ फर्काऊ र मेरो ज्यान बचाऊ भन्न लागे । यो सुनेर अर्जुनले व्यर्थैमा तिमी नडराऊ ।
अघि दरबारमा स्त्रीहरुका अगाडि फूर्ति लगाएका थियौ अब दरबारमा सबैले सोध्ने छन् के भन्ने लड्न आएपछि नलडी फर्केर जानु हुँदैन । रथ फर्काउने होइन म ती वीरहरुका माझ लैजान्छु भनी रथ अगाडि बढाए । यो देखेर यी अर्जुन हुन भनी नचिन्हेर राजकुमार उत्तर रथबाट हामफाली भाग्न लागे । जब उत्तर राजदरबारको बाटो समाई भाग्न लागे तब अर्जुनले पर्ख यसरी शत्रुहरु देख्दैमा भाग्नु भन्दा लडेर वीरगति प्राप्त गर्नु राम्रो हुन्छ भनी सम्झाउँदै रातो सारी लतार्दै राजकुमारलाई पक्रन रथ देखि दौडे ।
युद्ध गर्न आएका राजकुमार भूमिञ्जयको यो दृश्य देखेर कौरवतर्फकाले हाँसोको फोहरा फुटाए । बृहन्नलाको रुप देखेर चिह्न नसकी तर्क वितर्क गर्न लागे । बृहन्नलाले राजकुमारको जुल्फी समाई रथतर्फ तान्न लागे । राजकुमार डराएर बिन्ति गर्न लागे हात्ती, रत्न, सुवर्ण, वस्त्र, रथ, गौधन तिमी जे माग्छौ म त्यो दिन्छु तर मेरो प्राण बचाइदेऊ दरबार गएर प्रशस्त धन पनि दिने छु । ऊ रथ घुमाएर ल्याउ भनि रुँदै बिन्ति गर्न लागे ।
यस्तो राजकुमारको हालत देखेर हे राजकुमार ! तिमी नडराऊ । तिमी यो स्यन्दन(रथ) सुयाग्य तरिकाले चलाइदेऊ म एक्लै यो कौरव सेनासँग युद्ध गर्दछु भने र राजकुमारलाई स्यन्दनमा बसाई रथ घुमाए र एउटा ठूलो समीको रूख भएको स्थानमा लगे । अर्जुन रथबाट शस्त्रास्त्रका लागि झरे । उता कौरवहरुतर्फ अपसकुनहरु देखिन थाले । कालो मेघ (बादल) उठ्यो, हावा हुरी चलेर आकास ढाक्यो । स्यालहरु उल्टो चाल गरेर चिच्याउन लागे ।
वीर कौरवहरुका तेजिला हतियार निस्तेजजस्ता देखिन थाले । यो देखेर गुरु द्रोण, भीष्मपिताम्महसँग गएर यो नारीका रुपमा अर्जुन बदला लिन आए भनि भन्न लागे । दुर्योधन खुशी हुन थाले । यदि अर्जुन भए पाण्डवहरुको गुप्तबास पूरा नभएको र शर्त वमोजिम फेरि बाह्र वर्ष बनवास जानुपर्ने छ अरु भए हामी सबै मिलेर मार्ने छौँ भन्न लागे । यसरी सबै कौरव वीर पाण्डवहरुको गुप्तवास पूरा भए नभएकोमा तर्कवितर्क गर्न लागे ।