परिस्थिति अनुकुलको वातावरण र अभिव्यक्ति

विनोद पोख्रेल
२०७७ बैशाख २५ गते
एउटा भनाइ छ हाम्रो समाजमा ‘ठूला देवताको अगाडि साना देवताको वास्ता हुँदैन ।’ आजभोलि यो भनाइ पूरै लागू भएको जस्तो लाग्छ । कोरोनाले अन्य सबै कुरा ओझेलमा पारेको छ । आजभोलि संसद बसिसक्नुपर्ने हो । प्रिबजेट छलफल सुरु भइसक्नुपर्ने हो ।

तर भोलिबाट मात्रै संसद बोलाइएको छ । त्यहाँ आवश्यक दूरी कायम राखेर बस्ने व्यवस्था मिलाउने भन्ने समाचार पनि छ । यो कति व्यावहारिक हुन्छ ? त्यो समयले देखाउला । सबैका मुखमा मास्क लगाएर सहभागी भएको दृश्य मात्रै पनि एक प्रकारको मनोरञ्जन दिने नै होला जस्तो लागेको छ, मलाई । त्यसै कम बोल्ने नबोल्ने वा बोल्नै नपर्नेका लागि यो स्थिति राम्रो पनि होला । यो भन्दा पनि बढी चर्चा हुने विषय सत्तासिन दलको स्थायी समितिको बैठक आजलाई बोलाइएको हो । हिजो साँझसम्म गृहकार्य नपुगेको भनेर प्रवक्तबाट भनाइ आएको छ ।

आज बैठक बस्ने नबस्ने केही निश्चित छैन । अझ अन्तिम भडीमा आएर गृहकार्य नपुगनुलाई बैठक नबस्ने, नियतबस नबसाउने चाहना हो भनेर बस्नु पर्छ । त्यो अझै अलमलमै छ । तर पनि अहिले सबैभन्दा ठूलो कुरा वर्तमान महामारीको अगाडि यिनको बारेमा जतिजति हल्ला हुनुपर्ने हो त्यति केही भएको छैन । कतिलाइृ त यसले सजिलो पनि गरिदिएको छ । तर अब यो महामारीको प्रभाव विभिन्न क्षेत्रमा विभिन्न तरिकाले विस्तार हुँदै छ ।

आज लकडाउनको एउटा चरणको अन्तिम दिन हो । तर हिजोबाटै जेठ ५ गतेसम्मका लागि यो थपिएको छ । भन्न त केही काम गर्न दिने भनिएको छ तर डराउने ज्यान प्यारो मान्ने मानवीय स्वभावलाई यो पृष्ठभूमिमा बिर्सिएको जस्तो लाग्छ । ४५ दिनको लकडाउनपछि स्थिति सुध्रिनुपर्नेमा यथार्थ रुपमै स्थिति बढी खतर्नाक भएको समाचार आइरहेको छ । यत्रो दिनसम्म लकडाउन गरेको फाइदा के भयो भन्ने प्रश्न यस्तो परिवेशमा के भयो भन्ने प्रश्न स्वाभाविक रुपमा उठ्छ ।

अब लकडाउन खुल्ला र जीवन सामान्य होला भन्ने बेलामा संक्रमित दरको संख्या ह्वात्तै बढ्नुले हाम्रो रणनीति कति प्रभावकारी छ भन्ने कुराबारे सोच्नुपर्ने भएको छ । माथि भनेको संसद बैठक, स्थायी समितिको बैठक जस्तै पर्वका रुपमा मनाइने बुद्धपूर्णिमा पनि अत्तोपत्तो केही नभएर आयो र जाँदै छ । सरकारले बत्ती बाल्ने निर्णय भनौँ वा आह्वान गरेको छ । यो सामान्य कुरो हो । बत्तीहरु बालिएलान् ।

तर परिस्थितिमा सुधार के गरेर हुन्छ ? त्यसबारे सरकारलगायत सम्बन्धित निकाय कति गृहकार्यमा व्यस्त छ कि छैन ? यो ठूलो कुरो हो । यसको नराम्रो प्रभावको अन्दाज त धेरै पक्षबाट धेरै विज्ञले लगाएकै छन् । यस दुःखद् घडीलाई नेपालको युवा पिढी नेपालमै परिवारसँगै बसेर बरु थोरैमै सन्तोष गरेर खानपिनमै मात्रै आत्मनिर्भर बन्न सके सुरक्षित भइन्छ भन्ने सोचमा बदल्नसके पनि धेरै राम्रो हुने थियो ।

काम गर्नैपर्ने हो भने आफ्नो लागि आफ्नो काम प्राथकितामा पारे सबैभन्दा राम्रो हो । हाम्रो पुरानो जीवनशैलीले हामी चन्द्रमामा पुग्न त सक्दैनौँ तर शान्त र सुरक्षित जीवन बिताउन सक्छौँ जस्तो लाग्छ । कुन चाहिँ ठिक भनेर बहस त भइरहला तर दिगो जीवन प्रथम आवश्यकता हो भन्ने प्रमाणित भएको छ ।

२०७७ बैशाख २६ गते
शब्द भन्नाले कुनै–कुनै बेला मानिसको बोलीलाई पनि भनिन्छ कि ! व्याकरणमा शब्दको अर्थ अलग हेला तर भावमा बोली वा अभिव्यक्ति पनि शब्द नै त हो । त्यसैले त शब्दलाई ब्रह्म पनि भनिएको छ । शब्दमा वजन हुनुपर्छ पनि भनिन्छ । त्यसैले बोल्नु एउटा मानवीय क्षमता हो जो प्रकृतिले स्वाभाविक रुपमा दिएको हुन्छ ।

तर आफू अभिव्यक्त हुनसक्नु अलग कुरा हो । अभिव्यक्तिमा भन्ने विश्लेषण पनि हुन्छ, अवधारणा पनि हुन्छ, विचार पनि हुन्छ । त्यस्तै अरु पनि धेरै कुराहरु हुन्छन् जसले अर्को व्यक्ति वा परिवार वा समाजलाई पनि धेरै वा थोरै प्रभाव पार्न सक्छ । नभए पनि केही समयको लागि आकर्षित गर्न सक्छ । तर बोल्ने कलामा यति गुरुत्व आवश्यक हुँदैन । अझ यसरी भन्दा ठिक होला, बोल्दा शब्द निर्माण हुन्छ भने अभिव्यक्त हुँदा शब्दलगायत धेरै कुरा खास गरेर माथि लेखिएका कुराहरु पनि निर्माण हुन्छन् जसले अरुलाई आफ्नो सोचतर्फ आकर्षित गर्न सक्छ ।

यस्तो स्थिति बन्यो भने व्यक्रिले सन्तुष्टि पाउँछ । मेरो अनुभव लगभग यस्तै छ । गोरक्षको नियमित रुपमा प्रकाशन गर्ने डायरीका पानाहरु मध्ये कुनैको कसैको कमेन्ट ग¥यो भने केही सन्तुष्टि पाएजस्तो लाग्छ । त्यसैले बोल्ने र अभिव्यक्त हुने स्थान, विषय, क्षमता सबैमा केही न केही फरक छ अथवा फरक पर्छ । तर म जस्ताबाट यही गल्ती बढी हुन्छ जस्तो लाग्छ । यो फरकलाई त्यति महत्व नदिनु आफैमा एउटा गल्ती वा व्यक्तिगत कमजोरी हो र म यही कमजोरी भएकाहरुमध्ये पर्छ, सायद । हुन त धेरै कमजोरी छन् ।

मैले थाहा नपाएका पनि धेरै कमजोरी हुनसक्छन् । तर आज यही पक्ष अभिव्यक्त भयो । आफ्ना कमजोरीहरु यसरी अभिव्यक्त गर्न पनि सीप र हिम्मत दुवै चाहिन्छ । मेरो विचारमा म आफूप्रति इमानदार हुनसके भने दुवै कुरा सामान्य हुन्छन् । यदि आफूप्रति इमानदार हुन सकिएन भने सीप पनि र हिम्मत पनि जुटाउन गाह्रो पर्छ । यसरी सोच्दा वा यो सोचलाई आधारभन्दा म आफूप्रति इमानदार छुँ । यो मेरो लागि सन्तुष्टिको अर्को विषय हुनसक्छ भनौ वा बनेको छ ।

यो कुरा मैले अतिव्यक्तिगत रुपमा व्याख्या गरे पनि यो सबैका लागि प्रभाव पार्ने हुनसक्छ । कस्तो प्रभाव पार्ने भन्ने कुरा व्यक्ति–व्यक्तिमा फरक पर्ला तर यो भावना कुनै न कुनै रुपमा सबैसँग हुन्छ । एउटा व्यक्तिगत धारणा पनि लेखौँ । इमानदारी पनि त्यति अप्ठ्यारो कुरा होइन । मानिस जति महत्वकांक्षाहीन हुनसक्छ त्यति नै इमानदार हुनसक्छ । इमानदारीलाई महत्वाकांक्षाले प्रभाव पार्ने गर्छ । यो विषय विवादयुक्त पनि हुनसक्छ ।

यसबारे बहस गर्न समेत सकिन्छ भन्ने कुरामा म आफै पनि सहमत छु । तर मैले मेरो विचार वा मेरो धारणा राख्ने हो । यो लेखाइ निर्विवाद वा साश्वत हुन्छ भन्ने मैले सोचे भने मभन्दा बढी महत्वाकांक्षी अरु हुनै सक्तैनन् । त्यस कारण मैले लेख्दा आफ्नो व्यक्तिगत धारणा भनेर बुझ्ने गर्छ । तयसमै सीमित हुने गर्छु । सहमति र असहमति त व्यक्ति–व्यक्तिमा निर्भर गर्ने हुन्छ ।