तीर्थराज ज्ञवाली
सिसहनिया, २८ कार्तिक । राप्ती गाउँपालिका क्षेत्रमा कार्य गर्दै आएका चार सक्रिय सहकारीहरु एकीकृत हुने भएका छन् । राप्ती गाउँपालिका तथा अन्य पालिका कार्य क्षेत्र बनाएर काम गर्दै आएका सहकारीलाई राप्ती गाउँपालिकाले सहकार्य गरी एकीकृत हुन आह्वान गरेपश्चात हरियाली, महाप्रभु, बिहानी र जनजीविका बचत तथा ऋण सहकारी संस्थाहरु एकीकृत हुनलागेका हुन् ।
राप्ती गाउँपालिका भित्रका बचत तथा ऋण सहकारी संस्थाहरुलाई एकीकृत गर्दै एक व्यावसायिक, नीतिगत, प्राविधिक र आर्थिक रुपमा बलियो संस्था निर्माण गर्दै यस देउखुरी क्षेत्रहरुको विकास तथा प्रबद्र्धनको लागि संस्थामा आबद्ध सदस्यहरुमार्फत् लगानी विस्तार गर्दै अन्तर्राष्ट्रिय स्तरको आत्मनिर्भर, बलियो नमुना सहकारी निर्माण गर्ने उद्देश्यअनुसार एकीकरण गर्न थालिएको महाप्रभु बचत तथा ऋण सहकारी संस्थाका सचिव एवं जिल्ला सहकारी संघ दाङका कोषाध्यक्ष हरिप्रसाद भुसालले बताए ।
सहकारी ऐन २०७४ को दफा ८७ र नियमावली २०७५ को दफा ३९ साथै लुम्बिनी प्रदेशको सहकारी ऐन ०७६ को दफा ७२ र सहकारी नियमावली ०७६ को दफा ३१ ले पनि सहकारीहरु एकीकरण हुनसक्ने व्यवस्था गरे वमोजिम चार सक्रिय सहकारीहरु एकीकृत हुने भएका हुन् । राप्तीका सहकारीहरुको २०७३ सालदेखि नै एकीकरण प्रक्रिया चलिरहेको थियो ।
ससाना कुराहरुमा असमझदारीका कारण सफल हुन नसकिरहेको अवस्थामा अहिलेको मर्जर अभियानमा एकीकृत संस्थाको अध्यक्ष विभिन्न पद, संस्थाको नाम, केन्द्रीय कार्यालय भन्ने समस्याको पूर्णरुपले समाधान गरी सदस्यलाई वित्तीय सेवा प्रदान गरी उनीहरुका आवश्यकता पूरा गर्न र आर्थिक, सामाजिक र सांस्कृतिक जिवनमा परिवर्तन ल्याउन सकिने गरी सहकारी मर्चज हुनथालेको हरियाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा जिल्ला बचत संघ दाङका कोषाध्यक्ष शिवध्वज मल्लले बताए ।
एकीकृत संस्था सञ्चालन गर्न १३ सदस्यीय सञ्चालक समिति, ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति रहने र नेतृत्व शिवध्वज मल्लले गर्ने गरी सहकारी मर्जको सुरुवात गरिएको छ । लेखा सुपरीबेवक्षण समितिको संयोजकमा रुकमाङ्गत ज्ञवाली रहने बताइएको छ । चार सहकारीको आर्थिक वर्ष ०७६÷०७७ को असार मसान्तसम्मको विवरणको आधारमा पुरुष २ हजार ५ सय ५०, महिला ३ हजार २ सय ५० र संस्थागत सदस्य १९ गरी जम्मा सदस्य संख्या ५ हजार ८ सय १९ र जम्मा पुँजी ३८ करोड २६ लाख ६९ हजार ९ सय ४ रुपैयाँलाई चार वटा सेवा केन्द्रहरुमार्फत् व्यवस्थापन गरिने सहमति भएको बिहानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवप्रसाद चौधरीले बताए ।
एकीकृत चार बचत तथा ऋण सहकारी संस्थालाई प्रभावकारी रुपमा सञ्चालन गर्नको लागि चरणबद्ध रुपमा कार्यक्रमहरु अगाडि बढाइने भएको छ ।
पहिलो चरणमा सहकारीका मूल्य, मान्यता र सिद्धान्तका विषयमा अवगत गराउने, दोस्रो चरणमा सबै सञ्चालक कर्मचारी र केही सदस्यहरुलाई सहकारी जागरणबाट सशक्तिकरण गरी क्षमता अभिबृद्धि गर्ने, तेस्रो चरणमा साकोस व्यवसायीकरण गर्ने, व्यवसायीकरणमा संस्थाको त्रिवर्षीय योजना वार्षिक कार्य योजना मासिक र त्रैमासिक कार्ययोजना, संस्थाको नीति, विधि र प्रविधिलाई आत्मसात गर्ने गराउने र चौथो चरणमा साकोसमा गुणस्तर सुनिश्चितताको मापन विधि, लेखा, पल्र्स अनुगमन प्रणालीमा आर्थिक विश्लेषणमा एकरुपता गरी काम सुरु गरिएको जनजीविका बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जीवराज शर्माले बताए ।
एकीकरण पश्चात सहकारीको केन्द्रीय कार्यलय राप्ती गाउँपालिका वडा नं. ५ सिसहनियामा रहने साथै जनजीविका सेवा केन्द्र भालुवाङ, महाप्रभु सेवा केन्द्र लालमटिया, बिहानी सेवा केन्द्र पत्थरगढवा र हरियाली सेवा केन्द्र फल्कापुरबाट सेवा प्रारम्भ गर्ने गरी काम थालिएको हरियाली बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक उमेशकुमार चौधरीले बताए ।