दीपावली, तिहार र यसको आध्यात्मिक महत्व

  •   
  •  

सुप्रिया माँ

मानिसले जीवनमा जे–जति कर्म गर्छ, त्यसको मुख्य उद्देश्य हो आफूभित्र खुशी र आनन्द प्राप्त गर्नु । त्यसका लागि मानिसले भौतिक उन्नति र आध्यात्मिक उन्नतिका अनेक खोजीहरु गरिरहेको हुन्छ । मानिसले यो कुरा राम्रोसँग बुझ्न थाल्यो कि आध्यात्मिक उन्नति नभइकन आत्मिक सन्तुष्टि सम्भव छैन ।

परापूर्वकालदखि नै ऋषिमुनिहरु तथा मानव जातिले भौतिक सुख र आत्मिक आनन्द प्राप्त गर्न विभिन्न प्रकारका क्रियाकलाप गर्ने तथा उपायहरुको खोजी गर्ने गरेका तथ्यहरु विभिन्न सन्दर्भ र धार्मिक ग्रन्थहरुमा प्रशस्त पाइन्छन् । यसै सन्दर्भमा विभिन्न उद्देश्य लिएर प्राचीनकालदेखि नै हाम्रा ऋषिमुनिहरुले विभिन्न सामाजिक तथा धार्मिक चाडपर्वहरुको आयोजना गर्ने र धुमधामका साथ त्यसलाई मनाउने परम्पराको थालनी गरे ।

त्यस्तै चाड पर्वहरुमध्ये तिहार पनि एउटा परापूर्वकालदेखि मानिँदै आएको अत्यन्तै रमाइलो चाड हो र यसको सामाजिक, सांस्कृतिक, धार्मिक, वैज्ञानिक र आध्यात्मिक महत्व धेरै नै रहेको छ ।

दशैँ जस्तै यो पनि एक धार्मिक अनुष्ठान र आध्यात्मिक साधनाको पर्व हो । यो पर्व मनाउने हाम्रो आफ्नै चलन र परम्परा छ । तिहार हिन्दू धर्माबलम्बीहरुको दशैँपछिको सबैभन्दा महत्वपूर्ण पर्व हो । यसलाई यमपञ्चक पनि भनिन्छ । मृत्युका देवता यमराजको स्मरण गर्दै पाँच दिनसम्म मनाइने भएकोले पनि यसलाई यमपञ्चक भनिएको हो ।

यमपञ्चक लागेपछि मृत्युका देवता यमराज आफ्नी बहिनी यमुनाको घर मत्र्यलोकमा आएर पाँच दिनसम्म बस्छन् भन्ने शास्त्रीय मान्यता रहेको छ । यो पाँच दिन यमलोकको नारकीय दुःखबाट मुक्त हने उपायहरु अर्थात् यमपुजन, यमतर्पण, यमदीपदान, यमभोजन आदि यमराजसँग सम्बन्धित गरिने विविध प्रकारका धार्मिक विधिहरु गरिने हुनाले पनि यसलाई यमपञ्चक भनिएको हो ।

यमराज अर्थात मृत्युका देवताको बारम्बार स्मरणले हामीलाई आफ्नो मृत्युको बोध गराउँछ र कहिल्यै पनि मृत्यु नहुने तत्व अर्थात् अमृततिर जाने उपायहरु पनि छन् कि ? भनेर ती उपायहरुको खोज गर्नुपर्नेतिर पनि स्मरण गराउँछ ।

हामीसँग मृत्यु हुने पञ्चमहा भूतबाट बनेको भौतिक शरीर र मृत्यु नहुने, पञ्चमहा भूतभन्दा परको चैतन्य तत्व वा अमृत तत्व दुवै छ । मृत्यु नहुने अमृत के हो ? भनेर त्यसलाई जान्ने र त्यसको आधार लिएर जीवन जीउने हो भने मृत्युसँग कहिल्यै पनि डराउनु पर्दैन भन्ने आध्यात्मिक महत्वको कुरा पनि यो तिहार पर्वले हामीलाई बारम्बार बताउन खोजिरहेको छ ।

यो पर्वलाई उत्साह, उमङ्ग, सुख, शान्ति, सम्पन्नता, समृद्धि, आरोग्य र दीर्घायुको प्राप्तिको रुपमा पनि मनाइन्छ । यो यमपञ्चकको पाँच दिनमा काग, कुकुर, वैद्यराज धन्वन्तरी, धनसम्पत्ति र ऐश्वर्य प्रदान गर्ने माता लक्ष्मी, गोमाता अर्थात् गाई, गोरु, गोबर्धन, कर्मको हिसाब–किताब राख्ने देवता चित्रगुप्त, यमराज र यमराजकी बहिनी यमुना र आफ्ना दाजुभाइहरुको निकै विधिपूर्वक पूजा गरिन्छ । नेवारी संस्कृतिमा महःपूजा पनि गर्ने परम्परा रहेको छ ।

भैलो र देउसी खेल्दै, शुभाशीषहरु लिँदै र दिँदै यो रमाइलो पर्वलाई न्यानो स्वागत गर्दै आफ्नो धर्म, संस्कृति र परम्परालाई जीवन्त राख्न हर्षाेल्लासका साथ तिहार पर्व मनाउने परम्परा छ । हिन्दू धर्म एउटा वैज्ञानिक धर्म हो । हिन्दू धर्मले प्रकृतिको पूजा र विश्व ब्रह्माण्डमा रहेका सबै तत्व र प्राणीहरुको विधिपूर्वक पूजा गर्दछ । तिहारको पहिलो दिन कागलाई र दोस्रो दिन कुकुरलाई यमराजका दूतको रुपमा मानेर पूजा गर्ने र अन्न खुवाउने चलन छ । कागलाई शुभ र अशुभ कुराको सन्देश वाहक र कुकुरलाई भैरवको वाहन मानिन्छ ।

महाभारतको कथा प्रशंगमा धर्मराज युधिष्ठिरलाई कुकरले स्वर्गको ढोकासम्म पु¥याएको प्रशङ्ग पनि पाइन्छ । यसरी कागकोे पूजा गर्दा शुभ सन्देशहरु प्राप्त हुने र कुकुरको पूजा गर्दा स्वयम् यमराजले स्वर्ग जाने मार्ग देखाइदिने मान्यता रहेको छ ।

सबै प्राणीहरुलाई एउटै आत्माको रुपमा देखेर सबैको सम्मान गर्नु, दया, माया र करुणाले भरिनु भनेको आध्यात्मिक रुपले धेरै महत्वपूर्ण कुरा हो । यसले हामीमा मानवीय गुणहरुजस्तै दया, माया, करुणा, आदर–सम्मान, सद्भावजस्ता गुणहरु बृद्धि हुँदै जान्छ र हामीलाई दैविक गुणहरुले परिपूर्ण चैतन्य बनाउन सहयोग गर्दछ ।

काग तिहारका दिनमा धन्वन्तरी जयन्ती पनि मनाइन्छ । यसलाई धनत्रयोदशी अर्थात् धनतेरस पनि भनिन्छ । देवता र असुरहरुद्वारा समुद्र मन्थनका क्रममा सबैभन्दा अन्त्यमा हातमा अमृतले भरिएको कलश लिएर स्वयम् भगवान विष्णु, आयुर्वेदका प्रवर्तक धन्वन्तरीको रुपमा प्रकट हुनुभएको हो भन्ने पौराणिक प्रशङ्ग पाइन्छ ।

देवताहरुका वैद्य भएकोले औषधी विज्ञानका प्रवर्तक धन्वन्तरीलाई आरोग्यका देवताको रुपमा पूजा गर्ने चलन छ । पहिलो सुख निरोगी काया भएकोले स्वस्थ शरीर र स्वस्थ मन सबैभन्दा महत्वपूर्ण हो । आरोग्यताको कामना गर्दै देवताहरुका वैद्य धन्वन्तरीको पूजा गरिन्छ र यस दिन सुनचाँदी, गरगहना र भाडाहरु पनि किन्ने चलन छ ।

यमपञ्चकको दोस्रो दिन नरक चतुर्दशीको रुपमा पनि मनाइन्छ । पौराणिक कथाले के भन्दछ भने नरकासुर राक्षसले सोह्र हजार कन्याहरुलाई लगेर बन्दीगृहमा राखेर दुःख दिएको थियो र भगवान श्रीकृष्णले राक्षसको बध गरी सबै कन्याहरुलाई लगेर आफ्नो दरबारमा आश्रय दिनुभएको हो भन्ने प्रशङ्ग पाइन्छ । यस दिनलाई त्यसरी नरकमा जान नपरोस् भनेर नरकासुर बध भएको उत्साहको रुपमा पनि मनाइन्छ ।

जसले नारीहरुको अपमान गर्छ, नारीहरुलाई दुःख, कष्ट दिन्छ र नारीलाई एउटा भोगको साधनको रुपमा मात्र हेर्दछ त्यो व्यक्ति राक्षस हो र जसले नारीको आदर, सम्मान र इज्जत् गर्दछ त्यो व्यक्ति नै देवता हो । राक्षस प्रवृत्तिका मानिसहरुको पतन हुँदै जान्छ र देवताहरुको विजय हुँदै जान्छ भन्ने सन्देशमाथिको नरकासुर बधको प्रशङ्गमा पाइन्छ ।

यमपञ्चकको तेस्रो दिन सुख सम्पत्ति, ऐश्वर्य तथा धन धन्यकी देवी माता लक्ष्मीको पूजा आरधना गरिन्छ । आफ्नो घरमा समृद्धि र ऐश्वर्यको कामना गर्दै, लक्ष्मीको पूजा गर्दै लक्ष्मीलाई घरमा स्वागत गरिन्छ । यसरी पूजा गर्नाले घरमा लक्ष्मीको बास हुन्छ भन्ने मान्यता रहिआएको छ । यस दिन गाईलाई पनि लक्ष्मीकै रुपमा पूजा गरिन्छ । गाईको शरीरमा सबै देवताहरुको बास रहेको धार्मिक मान्यता छ ।

लक्ष्मी पूजाको दिन महाअन्धकार औँसीको रात हुन्छ । यो अन्धकारलाई प्रकाशले आलोकित पारिन्छ । दीपावली अर्थात् दीयाको लस्कर बाली अन्धकारलाई हटाइन्छ । अन्धकार भनेको अज्ञान पनि हो । अन्धकार अरु कुनै अन्धकार होइन, हाम्रो आफ्नै अज्ञानताको अन्धकार हो ।

अज्ञानरुपी अन्धकारलाई आफ्नो अन्तर्निहित् चेतना शक्तिको प्रकाशले हटाई ज्ञानरुपी प्रकाशको दियो बालौँ भन्ने सन्देश यो दीपावली पर्वले गर्दछ । जब चेतनाको प्रकाश जल्दछ तब अज्ञानरुपी अन्धकार स्वतः हटेर जान्छ ।

दीपावलीमा माटाको दियो बाल्ने परम्परा छ । माटाको दियोलाई भौतिक शरीर र त्यसमा बालिने ज्योतिलाई चेतनाको रुपमा लिइन्छ । हामीभित्र चेतनाको प्रकाश जलिरहेको छ । आँखा बन्द गरेर भित्र ध्यानपूर्वक हेर्ने हो भने त्यो चेतनाको प्रकाशको अनुभूति गर्न सकिन्छ ।

हामीले बाहिरको अन्धकारलाई मात्र होइन हामीभित्र रहेको अज्ञानरुपी अन्धकारलाई पनि ज्ञानको प्रकाशले हटाउनु पर्छ र मानव जीवन सफल बनाउनु पर्छ भन्ने मुख्य सन्देश हामीलाई यो दीपावली पर्वले दिइरहेको छ । त्यसकारणले पनि यो दीपावली पर्व आध्यात्मिक रुपले धेरै नै महत्वपूर्ण पर्व हो ।
यमपञ्चकको चौथो दिन गोबर्धन पूजा र गोरुको पनि पूजा गरिन्छ । नेवारी समुदायले आफ्नो शरीर र आत्माको पूजा अर्थात महःपूजा गर्ने गर्दछन् । यो महःपूजाको पनि ठूलो आध्यात्मिक महत्व छ ।

यमपञ्चकको पाँचौ दिन भाइटीका गरिन्छ । यो पर्व दाजुभाइ र दिदीबहिनीहरुको भेटघाट हुने एवं सम्बन्ध सुमधुर बनाउने शुभअवसर पनि हो । दाजुभाइलाई सप्तरंगी टीका लगाइदिएर मीष्ठान्न भोजन पनि गराइन्छ । दाजुभाइलाई नसुक्ने मखमली फूलको माला र नसुक्ने तेल लगाइदिने चलन छ । यो भाइटीकाले पनि हामीलाई नष्ट नहुने कुनै त्यस्तो तत्व अर्थात अमृत तङ्खवको खोजको स्मरण गराउंँछ ।

तिहार पर्व सामाजिक, सांस्कृतिक, धार्मिक, वैज्ञानिक मात्र होइन आध्यात्मिक रुपले पनि धेरै नै महत्वपूर्ण पर्व रहेको छ । आजलाई यत्ति नै, हरि ॐ !!

सुप्रिया माँ आनन्दपथ संस्थाका संस्थापक हुनुहुन्छ ।