त्यो मेरो कमाइ थियो, मेरो श्रमको मूल्यांकन थियो, कसैको चाकरी गर्नुपरेको थिएन । त्यहीँ पारिश्रमिकले मलाई कामकाजी बनायो, त्यही लगानले मलाई एउटा शिक्षक बनायो, अहिले मैले धेरै कमाएको छु, त्यो सम्पत्ति होइन, विद्यार्थी । नैतिकता, इमान्दारिता अनि पेशागत प्रतिवद्धताको संगम नै खुसी हो । लेखिदिनुहोला मेरो सबैभन्दा ठूलो खुसीको क्षण भनेको मासिक १५ सय पारिश्रमिक…।
सोचेजस्तो हुन जीवन, देखेजस्तो हुन जीवन । जीवन संघर्ष हो, संघर्षपछिका खुसीहरु बेक्लै हुन्छन् । जीवनका उकाली–ओरालीहरुमा मैले धेरै संघर्ष गरे, संघर्ष भित्रबाटै मेरोे जीवनका खुसीहरु छन् । संघर्षपछिका खुसीहरु धेरै छन् । ज्ञानज्योति फाउण्डेसनअन्र्तगत ज्ञानज्योति कलेजका सहायक क्याम्पस प्रमुख मनोज केसीले भने । प्यूठान जिल्लाको साविक पुजा गाविस, हाल गौमुखी गाउँपालिका–६ मा जन्मिएका केसीले जीवनका धेरै संघर्ष गरेकोे सुनाए ।
प्यूठानमा जन्मिएर हाल दाङको तुलसीपुरमा कर्मथलो बनाएका केसीले आफ्नो पहिलो खुसी ट्युसन पढाएर पहिलो पटक १५ सय हातमा बुझ्दाको सम्झिए । ‘अन्य खुसीहरु पनि छन् तर मैले एकजना काठमाडौको कोटेश्वरको डाइनामिक ट्यूसन सेन्टरमा एकजना विद्यार्थीलाई पढाएर पहिलोपटक १५ सय पाउँदा मलाई निकै खुसी लागेको थियो’, उनले भने ।
‘मैले ट्यूसन सेन्टरमा एकजना विद्यार्थीलाई पढाउँथे त्यो पनि छात्रा, म उहाँ आज पढ्न आउनुहुन्छ कि हुन्न भनेर सधै चिया पसलमा बसेर कुरेर बस्थे, उहाँ आएपछि खुसीले पढाउन कक्षा भित्र पस्ने गर्थे उनले त्यो पल सम्झिए । त्यस्तै केसीले अर्को खुसी सानोमा कक्षा ४ मा प्रथम भएर पुस्कार जित्दा लागेको सुनाए । त्यस्तै कक्षा ७ पास गरी प्यूठान जिल्लाकै बेसीमा रहेको स्कुलमा कक्षा ८ पढ्न पाउँदा अर्को खुसी मिलेको सुनाए ।
उनी पहिलो दिन विद्यालय जानका लागि तयारी गरी खाना पकाउन तरकारी किन्न जाँदा कुकुरले टोकेर आफ्नो एउटा कान लगेपछि क्षणभरमै सबै खुसी हराएको सम्झिए । ‘त्यस दिन मेरो आएको खुुसी पनि गुमेको थियो, कुकुरले एउटा कान लिएपछि केसीले भने ।’
प्यूठानको गौमुखी माध्यमिक विद्यालयबाट एसएलसी पास गरेर काठमाडौंमा पढ्न गएका मनोजले आफूले त्यहाँ पढ्दा र काठमाडौको बसाई निकै कठिन भएको सुनाए । केसी आमासँगै काठमाडौ गएको र आमाको जागिर काठमाडौमा रहेकोले केही सहज भए पनि पछि आमाको जागिर सकिएपछि आर्थिक संकट परेको सुनाए । त्यसका बावजुत पनि उनले आफ्नो पढाइलाई निरन्ततता दिएको सुनाए । उनले त्यतिबेला जागिर खानका लागि विभिन्न व्यक्तिलाई भनसुन गरेको र घ्यू बोकेरसमेत विभिन्न व्यक्तिकहाँ गएको सुनाए ।
तर उनले कहीँकतै जागिर नमिलेको नमिठो अनुभव सुनाए । केसीले आम्दानीको स्रोत नभएपछि आफू बिबिएस सेकेन्ड इयर पढ्दा किताव बेच्न हिँडेको सुनाए । कहिले पोखरा त कहिले मुगुको रारासम्म किताव बेच्न पुग्ने गरेको सुनाए । एउटा किताव बेच्दा ४० रुपैयाँ आउने र कुनै दिन ४० रुपैयाँ पनि नहुने बताए । ‘मेरो जीवनमा धेरै संघर्षका पाटाहरु छन् किताव बेच्दै गर्दा एउटा पनि किताव बिक्री नभएपछि रारा तालको छेउमा बसेर दिनभर फर्किएको पनि अनुभव छ मलाई’, केसीले भने ।
सामान्य परिवारमा जन्मिएर जीवन जिउन धेरै संघर्ष गरेको केसीले त्यसपछि अन्य ट्युसन सेन्टरमा १२÷१३ वटा कक्षाहरु लिएको र आफूले कोठा लिएर काठमाडौमा बस्ने गरेको सुनाए । त्यसपछि उनका केही खुसीका दिनहरु आएको सुनाए । त्योसँगै केसीले २०५९ सालमा केएनके कलेज बानेश्वरमा पढाउने मौका पाए । पहिले साइकल चढ्ने धेरै रहर गरेका केसीले कलेजमा पढाएको कमाईबाट मोटरसाइकल किनेको बताए । उनले पहिलोपटक आफूले परिश्रम गरेर कमाएको पैसाले मोटरसाइलक किनेर चढ्न पाउँदा अर्को खुसी मिलेको सुनाए ।
‘मेरो बाइक चढ्ने इच्छा पनि पूरा भयो, त्यो पनि मेरो अर्को खुसी हो । २०६६ सालमा ज्ञानज्योति कलेजका प्राचार्य सुरेन्द्र जिसीसंँग तुलसीपुरमा आएसँगै जिल्लामा शिक्षा क्षेत्रमा केही गर्नुपर्छ भनेर कलेजमा व्यवस्थापन संकाय तथा अन्य विषयहरु शुरु गरेको उनले बताए । त्यतिबेला व्यवस्थापन संकायमा १६ जना विद्यार्थीहरु भर्ना भएको र त्यसैलाई निरन्तरता दिँदै अन्य कक्षा सञ्चालन गर्दै हाल २९ वटा सेक्सनहरुमा पढाई सञ्चालन गर्न पाउँदा निकै खुसी मिलेको उनले सुनाए ।
‘हामीहरुले शिक्षा क्षेत्रमा केही गर्नुपर्छ भनेर काठमाडौको बसाई छोडेर यहाँ आएका हौं, हामीहरुले त्यो कुरा पूरा गर्न सकेको छौं म त्यसैमा गर्व र खुसी गर्ने गरेको छु’, उनले भने । उनले आफूले कयौं विद्यार्थीहरुलाई शिक्षा दिएका र उनीहरु हाल विभिन्न क्षेत्रमा काम गरेको भन्दै खुसी व्यक्त गरे । उनले आफूले पढाएका विद्यार्थीहरु सबै क्षेत्रमा सरकारी अफिस, बैंक संघसंस्थामा काम गरिरहेको र जहाँ गए पनि कहिँ न कहिँ विद्यार्थीहरु भेट्दा निकै खुसी लागेको सुनाए ।
उनले विभिन्न कार्यालयहरुमा विद्यार्थीहरु भेट्दा तथा उनीहरुले आफूलाई सम्झदा खुुसी लाग्ने गरेको सुनाए । त्यस्तै केसीले राप्ती बबई क्याम्पसमा पनि आफूले २ बर्ष पढाएको र त्यहाँ पढाउन पाउँदा पनि खुुसी मिलेको सुनाए । उनले आफूले विभिन्न कारणले शिक्षा लिन नपाएका विद्यार्थीहरुलाई सहयोग गरेर पढाएको र उनीहरुले पढ्न पाएकोमा पनि खुुसी व्यक्त गरे । उनले विभिन्न समयमा मनोज सरले गर्दा म यो स्थानमा आएको हो भनेर सार्वजनिक स्थानमा भन्दा झनै खुसी मिल्ने गरेको सुनाए ।
सामान्य परिवारको व्यक्तिले संघर्ष गरेर हाल तुलसीपुरमा घर तथा गाडी जोडेर शिक्षाको ज्योति सबैलाई दिन पाउँदा निकै खुसी लागेको सुनाए । उनले आफ्नो यो सफलतामा आफनो आमाको साथ र हात रहेको भन्दै आमा नै आफ्नो अर्को खुसी भएको सुनाए । त्यस्तै गुल्मी जिल्लाबाट विवाह गरेका केसीले २ वटा छोराहरु जन्मिएको र आफ्नो सफलतामा श्रीमती र अन्य साथीभाइको पनि साथ पाएकोमा खुसी व्यक्त गरे । उनले आफ्नो सफलतामा ज्ञानज्योति कलेजका प्रधानाध्यापक सुरेन्द्र जिसीको पनि ठूलो हात र सहयोग भएको भन्दै उनलाई सम्झिए ।
एमबिएस पास गरी शिक्षण पेशामा लागेका मनोज केसी ज्ञानज्योति फाउन्डेसनअन्तर्गत ज्ञानज्योति कलेजका सहायक क्याम्पस प्रमुख तथा व्यवस्थापन संकाय प्रमुख हुन् ।
प्रस्तुती : बालाराम खडका