Goraksha

National Daily

‘नो क्वारेन्टाइन, वन्ली आइसोलेसन’ !

बालाराम खड्का
तुलसीपुर, २५ कार्तिक । कोरोना रोगको संक्रमण समुदायस्तरमै भयावह अवस्थामा फैलिइरहेको अवस्थामा बजार शिल गर्ने, लकडाउन गर्ने वा अन्य विकल्पका विषयमा तुलसीपुरमा आयोजना भएको बहसमा क्वारेन्टाइनको विकल्पका रुपमा आइसोलेसन मात्रै चलाउने सुझाव आएको छ । त्यसका लागि सम्भावित संक्रमितलाई अलग्याएर उपचार गर्नुको विकल्प नरहेको पनि सरोकारवाला निकायहरुको निर्णय भएको छ ।

कोरोना भाइरसको संक्रमण अब घरघरमै पुगिसकेको अवस्थामा सम्भावित संक्रमितलाई अलग्याएर उपचार गर्ने तथा सकेसम्म कोरोना भाइरसको पिसिआर परीक्षणको दायरा बढाउने सहभागीहरुको सुझाव थियो ।

तुलसीपुर उपमहानगरपालिका विपद् व्यवस्थापन समितिले आयोजना गरेको कोरोना संक्रमणको अवस्था र भावी कार्यक्रमका सन्दर्भमा स्वास्थ्य महाशाखा प्रमुखले राखेको फुल्ली लकडाउनभन्दा पनि सचेतना र उपचारको व्यवस्थापनमा उपमहानगरपालिकाका हरेक वडा क्रियाशील हुने निर्णय भएको छ । त्यसमा तिहार नजिकिँदै गएको अवस्थामा देउसी–भैलो कार्यक्रमलाई पुरै निस्तेज बनाउने र सामाजिक भीडभाडको अवस्थाका विषयमा हरेक नागरिकलाई सचेत गराउने निर्णय भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा राष्ट्रियसभा सदस्य कोमल वलीले तिहारमा विशेषगरी देउसी–भैलो कार्यक्रमलाई पूर्णरुपमा रोक लगाएर कोरोना भाइरसको विरुद्धको सचेतना सबै सञ्चार माध्यमबाट बुलन्द गर्नुपर्ने सुझाव दिइन् । ‘मृत्युदर ०.५७ प्रतिशत पुगिसकेको छ, परीक्षण गरे घर–घरमै कोरोनाका संक्रमित भेटिने अवस्था आइसकेको छ, यो अवस्थामा संक्रमितलाई भिन्नै ठाउँमा राखेर स्वास्थ्य सेवा दिनुको विकल्प छैन’, राष्ट्रियसभा सदस्य वलीले भनिन् ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका–५ का अध्यक्ष बीरेन्द्र शाहले कोरोना महामारीको रोकथाम केही व्यक्तिहरुलाई कमाउने बाटो भएको बताउँदै त्यसमा उपमहानगरपालिकाले नै कमाण्ड सम्हाल्नुपर्ने बताए । यही विषम परिस्थितिमा बजारमा फेरि म्याद नाघेका दैनिक उपभोग्य सामग्रीहरुको खुलेआम बिक्री–वितरण भइरहेको बताउँदै अनुगमन संयन्त्रलाई मजबुत बनाउने पनि उनको अभिव्यक्ति थियो ।

त्यसै अवसरमा तुलसीपुर उद्योग वाणिज्य संघका सचिव विनिल केसीले तुलसीपुरमा आइसोलेसन निर्माण र अस्पताल निर्माणकै सन्दर्भमा पनि आफूहरुले सक्दो सहयोग गर्ने अभिव्यक्ति दिए । भोक र रोग दुवैलाई समन्वय गरेर अघि बढ्नुपर्ने हामीहरुको दायित्व हो, त्यसैअनुरुप स्थानीय सरकारले कार्यक्रम ल्याउन आवश्यक छ’, सचिव केसीले भने ।

कार्यक्रममा संक्रमितलाई समाजले हेर्ने दृष्टिकोणमै समस्या भएको भन्दै यसलाई सिजनल फ्लुका रुपमा लिन सकेर सोहीअनुरुपका उपचार पद्धतिको विकास गर्नुपर्ने तुलसीपुर उपमहानगरपालिकाअन्तर्गत रेडियो हाम्रो पहुँचका सञ्चालक तथा सहकारीकर्मी शुक्रराज भण्डारीले सुझाव दिए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले यहाँ सञ्चालनमा आएको कोरोना विशेष अस्पतालका विषयमा धेरै गुनासा आए पनि अस्पताललाई विश्वासका रुपमा लिनुपर्ने आग्रह गरे । कोरोना विशेष अस्पताल बेलझुण्डीमा सञ्चालनमा आएका सेवा यहाँका आम संक्रमितका लागि उपयुक्त भएको भन्दै रिफरका केसका विषयमा बिरामीका आफन्तको जोडवल भएको बताए ।

‘बेलझुण्डी अस्पतालमा सेवा पाइनौं भन्नु उपयुक्त होइन, थप सेवा लिन आतुर केही व्यक्तिले हेलिकोप्टर चार्टर गर्ने प्रयास गरेको विषयलाई लिएर सेवा नै छैन भन्न मिल्दैन’, नगरप्रमुख पाण्डेले भने । साथै उनले वर्तमान विषम परिस्थितिमा तुलसीपुर उपमहानगरपालिकाले निकट भविष्यमै फिवर क्लिनिक र पिसिआर परीक्षणका लागि आफ्नै प्रयोगशाला सञ्चालनको तयारी गरिरहेको पनि अभिव्यक्ति दिए ।

कार्यक्रममा तुलसीपुर प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष पदम न्यौपानेले संक्रमितहरुलाई समाजले सकारात्मक नजरले व्यवहार गर्नेमा समस्या भएको भन्दै यसमा सचेतनाको आवश्यकता रहेको औल्याए । हालसम्म अस्पतालले सबै बिरामीहरुलाई उपचार गरिरहेको बताउँदै न्यौपानेले कोरोना भाइरसका सम्भावित संक्रमितलाई फिवर क्लिनिकमार्फत पिसिआर परीक्षणको दायरामा ल्याउने पनि अभिव्यक्ति दिए ।

तुलसीपुर क्षेत्रमा ८ जनाको कोरोनाको कारण मृत्यु भएको र ५ सय ८८ जना संक्रमितमध्ये अझै पनि १ सय ९२ जना सक्रिय संक्रमित रहेको कोरोना फोकल पर्सन विमल केसीले जानकारी दिए । उनले मृत्यु हुनेमध्ये १ महिला र ७ पुरुष रहेको बताए ।

संक्रमितहरु होम आइसोलेसनमा १ सय ७८ जना, बेलझुण्डी आइसोलेसनमा १२ जना र होटल आइसोलेसनमा ५ जना रहेको केसीले बताए । उनले संक्रमण समुदायस्तरमा फैलिएको भन्दै अवस्था झन्पछि झन् जटिल हुँदै गएको बताए । सबैभन्दा बढी संक्रमित र जोखिममा बजार क्षेत्र वडा नं. ५ र ६ रहेको बताएको छ ।