राधेश्याम उपाध्याय
त्यसको केही समयपछि साक्षात सूर्य समान तेज भएका नकुल अश्वपालको भेष धारण गरेर राजाको अश्वशाला (तवेला)मा गई हेर्न लागे । त्यो देखेर राजाले आफ्ना चरहरुलाई बोलाइ हातमा छडी लिएर घोडा किन हेर्दै छ ? को हो सबै बुझेर आओ भनी बुझ्न पठाए । चरहरुले पनि नकुललाई राजा सामू उपस्थित गराए । नकुलले राजालाई प्रणाम गर्दै भने ‘हे राजन हजुरको कल्याण होस् मैले अश्वका विषयमा सबै जान्दछु ।
हजुरको सारथी भएर बस्न पाए खुशी हुनेथिएँ । यस्तो बिन्ति सुनेर नकुलको रुपमा मोहित भई दिवाकरको जस्तो तेज देखेर सशंकित हुँदै आफ्नो नाम पिताको नाम र कूलको वर्णन गर्न राजाले आदेश दिए । यो सुनेर नकुल भन्दछन् ‘हे राजन म युधिष्ठिरकहाँ बसेको थिएँ अहिले उनीहरुलाई आपत्ति आइपरेकाले हजुरको दयालुताको बखान सुनेकाले म हजुरको सेवा गर्न आएको हुँ । मलाई पाँच पाण्डवहरुले बोलाउँदा ग्रन्थिक भनेर बोलाउँथे । म अश्वशालामा घोडाको जात तथा कुजात राम्रोसँग चिन्दछु र मलाई घोडाको चिकित्सा (शालिहोत्र) विद्याको राम्रो ज्ञान भएकाले सबै रोगहरुको औषधी पनि जान्दछु ।
जस्तै इन्द्रका सारथी मातली सूर्यका सारथी अरुणजी छन् त्यस्तै म घोडाहरुको रक्षा गर्दै हजुरको सारथी भई सेवा गर्ने तीव्र इच्छा भएकाले सेवा गर्ने आज्ञा बक्सनुहवोस्’ भनी नकुलले अनुरोध गरेको स्वीकारेर तिमी आजैदेखि अश्वहरुको रेखदेख गर्ने र सबैको रक्षक भइ बस भनी आज्ञा दिए । नकुल पनि खुशी भई राजाको अश्वशालाको मालिक भई बस्न लागे । यसरी गुप्त भई बस्दा उनलाई कसैले चिन्न सकेनन् । पृथ्वीका स्वामी पाण्डवहरु यसै तरहले आ–आफ्नो प्रतिज्ञा अनुसार अज्ञातवासको अवधि पूरा गरेका थिए ।
यसरी पाँचै जना पाण्डव तथा द्रौपदी मत्स्यदेशका राजा विराटको दरबारमा गुप्त रुपमा बस्न लागे । जगत् जननी भगवती र धर्मराजको आशीषको प्रभाव तथा पाण्डवहरुको साहसले गर्दा कुनै दुःख आई परेन । जुवामा राजाको जितेको धन र त्यसैगरी अर्जुन नाँचगान गरी पाएको बक्सिस नकुलले पाएको बक्सिस सबै युधिष्ठिरलाई बुझाउँथे । युधिष्ठिरले पाँचै भाइमा बराबर बाँड्दथे । भीमले मीठो भोजन ख्वाएर सबै भाइलाई खुशी बनाएका थिए । सहदेवले लुकाई–लुकाई सबै भाइ तथा द्रौपदीलाई दूध, दही, नौनी दिने गर्दथे ।
द्रौपदीले पनि आफ्ना पाँचै पतिका चरणमा मति लगाई कष्ट सहेर दैवी गति मानेर गुप्त रुपले रहन लागिन् । यसरी बस्दा–बस्दा तीन महिना बितेपछि मत्स्यदेशमा ब्रह्महोत्सव समारोह आयो । यो उत्सवमा ब्रह्माजीको पूजा गरी सबैले खुशी मनाए । बलिया बलिया मल्लाहरु कुस्ती खेल्न जम्मा भए । कुस्ती खेल सुरु भयो । सबैलाई एक जिमुत मल्लले हराए र कोही छौ भने मसँग कुस्ती खेल्न आऊ भनी धम्कीपूर्ण भाषा बोल्न थाल्यो । यो सुनेर राजाले बल्लभलाई कुस्ती खेल्न आदेश दिए ।
राजाको आदेश पाएपछि बल्लभ जिमुतसँग कुस्ती खेल्न अघि सरे । दुवैमा परस्पर ठूलो मल्ल युद्ध सुरु भयो । दुवैले आ–आफ्ना चाल लगाए । दर्शकहरुले आनन्द मानी खुशी साथ मल्लयुद्ध हेर्न लागे । धेरैबेरको युद्धपछि वल्लभले अब यसलाई मार्छ ुभनी निश्चय गरेर कम्मरमा दुवै हातले पकडे र केहीबेर आकाशमा घुमाए र जमिनमा पछारी जिमुतलाई मारिदिए । सबैले भीमको पराक्रम देखेर आश्चर्य मानि प्रशंसा गर्न लागे । राजा विराटले पनि खुशी भएर स्याबासी दिनुका साथै धेरै धन, रत्न खिल्लत (पुरस्कार) दिए ।
कहिलेकाहीँ राजाले महलका रानी तथा महलमा बस्ने सुसारेहरुलाई खुशी पार्न बल्लभको जोडी मिलाएर कुस्ती खेलाउने गर्दथे र कहिलेकाहीँ जोडी नभेटाए हात्ती र सिंहसँग पनि लडाउँथे । भीमले पनि राजालाई खुशी पार्न ती जन्तुहरुसँग लड्ने गर्दथे । त्यस्तै सहदेव नकुल तथा युधिष्ठिरले पनि आ–आफ्नो स्थानबाट राजालाई खुशी बनाएर बसेका थिए । द्रौपदीले पनि आफ्ना पतिहरुको दुःख देखेर चिन्ता मानि कष्टसाथ रानी सुदेष्णासँग बस्दथिन । यसरी बस्दाबस्दै दश महिना व्यतीत भयो ।
कीचक बध
द्रौपदी रानी सुदेष्णाको सेवा गर्दै वडो कष्टका साथ दिन बिताउँदै थिइन् । कुनै दिन रानी सुदेष्णालाई भेट्न उनको दाजु किचक दरबार आयो । द्रौपदीको सुन्दर रुप देखेर कीचक कामातुर भयो र बहिनीलाई पागल सरह लाज सरम त्यागी यी पहिला थिइनन् । कहिले कहाँबाट कसरी यहाँ आइन् ।
यिनलाई जसरी पनि मैले स्वामिनी बनाउन पाऊनुपर्छ भन्न लाग्यो । यी कसकी पत्नी हुन् ? यस्ती सुन्दरी दासी भएर चाकडी गरेको सुहाउँदैन । यिनी मेरी गृहस्वामिनी हुनयोग्य छन् । भनी बहिनीलाई भन्यो र द्रौपदीका नजिक गयो अनि फकाउन लाग्यो । तिम्रो पतिको नाम के हो ? कहाँबाट र किन यो विराटको नगरीमा आयौ ? भनी निकै प्रशंसा गर्न लाग्यो । यो सुनेर द्रौपदीले पनि म दासी हुँ, तिमीयोग्य म छैन । कुनै सुजनले परस्त्रीमा रत हुनु हुँदैन, ज्ञानीहरु आफ्नै गृहिणीमा बस्दछन् । त्यसैले यस्ता कुरा गर्नु हुँदैन यो ठूलो पाप हो ।
जानी–जानी यसरी कूकर्म गर्न हुँदैन भनी नीतिपूर्वक सम्झाइन् । तर किचकले आफ्नो प्रशंसा गर्दै म समान रुप र शक्तिशाली यो संसारमा कोही पनि छैन । म विराटको मन्त्रीका साथै सेनापति पनि हँु । मेरो प्रार्थनालाई लत्याए तिमीलाई पछूतो हुनेछ । सुदेष्णाको दासी भएर होइन सुदेष्णा सरह भएर बस भनी निकै लोभ देखाउन लाग्यो ।
यो देखेर द्रौपदीले आफूप्रति आशक्त भएको बुझिन् र आफ्नो काल यसरी किन बोलाउँछौ, भनिन् । दासीमा यसरी आशक्त हुनु हुँदैन । मेरा बलवान गन्धर्व पाँच पति छन्, मेरो सुरक्षाका लागि डुलिरहन्छन्, त्यसैले आफ्नो यो कुभावलाई त्यागेर घर जाऊ, म मर्छु कि भन्ने अलिकति डर मान्ने पनि गर । यस्ता दुर्वाच्यपूर्ण कुरा मलाई नसुनाउ ।
मेरा पतिहरुले थाहा पाए तिम्रा बन्धुबान्धव सहित तिमीलाई पनि मार्न सक्छन् । यस्ता कुरा सुनेर दुष्ट किचकले बहिनीसँग गएर जसरी जुन उपायले शैरन्ध्री मेरी हुन्छिन् त्यही उपाय चाँडो गर भन्यो । यो सुनेर रानी सुदेष्णाले पनि निकै सम्झाइन् तर दुष्ट किचकले मानेन । त्यसो भए कुनै शुभपर्वका दिन अनेकथरि मीठा फलहरुको मदिरा तयार गर्नु त्यही मदिरा लिन तपाईंका घरमा पठाउने छु भनेपछि किचक खुशी भएर घर फक्र्यो र आफ्ना सेवकहरुलाई बहिनीले भने मुताविकको मदिरा तयार पार्न आदेश दियो ।
मदिरा तयार भएको खबर बहिनीलाई पु¥यायो । एक दिन रानीले शैरन्ध्रीलाई किचक कहाँ गएर अर्क (मदिरा) ल्याउन आदेश दिइन् । यो सुनेर शैलरन्ध्रीले पहिले गरेको अपमान सम्झिन् र हजुरलाई सबै थाहा छ, मैले चाकडीमा बस्दा मैले राखेका सबै प्रस्तावहरु पनि थाहा नै होला, वेश्याका रुपमा महलमा बसी चाकडी गर्ने छु भनी आएकी होइन । अरु पनि दासीहरु छन्, अरुलाई पठाउनुहोस् ।
मलाई किचकले कामवासनाले अन्धो भई अपमान गर्न सक्छ । त्यसैले मलाई नपठाउनुहोस् भनिन् तर रानीले योजना मुताविक पठाउन लागेकाले मैले पठाएपछि कुनै अपमान गर्नसक्ने छैन भनी हातमा सुनको पात्र भाँडो राखिदिइन् । दै्रापदी वाध्य भएर सूर्यतर्फ हेरी मेरो रक्षा गर भनी प्रार्थना गरिन् र किचकको महलमा जान लागिन् । सूर्यले पनि द्रौपदीको रक्षाका लागि एउटा दैत्यलाई पठाइदिए । दैत्यले अदृश्य रुपमा सतीको रक्षा गर्न लाग्यो ।
सती काम्दै डराउँदै किचकको महलमा पुगिन् । शैरन्ध्रीलाई देखेर किचक खुशी भयो र अनेक तरहले सम्झाउन लग्यो । शैरन्ध्रीले रानीलाई अर्क मदिरा देउ म दरबारमा गइहाल्छु, यस्ता कुरा नगर भन्दा जवर्जस्ती गर्न लाग्यो । शैरन्ध्री भागेर अति डराई शरण माग्न राज्यसभामा गइन् । दुष्ट किचक त्यहीँ गएर चुल्ठोमा समाएर एक लात हान्यो । त्यो देखेर सूर्यले पठाएको दैत्यले किचकलाई चोट पुग्ने गरी धक्यायो र किचक मुर्छा प¥यो । उक्त राज्यसभामा युधिष्ठिर र भीम पनि थिए । त्यो देखेर भीमले किचकलाई मार्ने इरादा गरे तर युधिष्ठिरले थाहा पाए र मार्न दिएनन्, रोके ।
शैरन्ध्रीले पनि आफ्नो बखान गर्दै दानी सत्य, प्रतिज्ञावान, बलवान, कर्तव्यनिष्ठ पाँच पतिहरुकी पत्नी हुँ, मलाई आज किचकले यस राज्यसभामा आएर लात हान्यो न्याय पाऊँ । केही कारण परेर मेरा पतिहरु अहिले यहाँ छैनन्, जसले याचक बनेर कहीले केही पनि दान लिँदैनन् । टाढै बसे पनि जसका शत्रुहरु डराउँछन् र आँटे भने जहिले पनि यो जगत्को विनाश गर्न सक्छन् भन्दै रुँदै मत्स्यराजासँग न्याय मागिन तर मत्स्यराजाले पहिला तिमीहरुको विवाद के हो थाहा नपाएर म कसरी न्याय गरुँ भनी टारिदिए ।
आफ्ना पतिहरुलाई निकै तीखा वाण सरहका वचन सुनाइन् । युधिष्ठिरले पनि मौका अनुसार काम गर्नु पर्दछ । अहिले तिम्रा पतिहरुलाई मौकाले साथ दिएको छैन । तिमी अहिले महलमा रानी सुदेष्णाकहाँ जाउ, मौका परेमा तिम्रा पतिहरुले तिम्रो दुःख छुटाउने छन् भनी सम्झाई पठाए । शैरन्ध्री पनि रुँदै महलमा गइन । महलमा रानी सुदेष्णाले पनि के भयो भनी सोधिन् । यो सबै हजुरलाई पहिला नै थाहा थियो, हजुरले गर्दा नै यो भएको हो भनिन् । शैरन्ध्रीलाई सान्त्वना दिँदै म राजालाई भनी त्यसलाई सजाय दिनेछु भनिन् तर शैरन्ध्री निकै रिसाएकी थिइन् र उनले पापी किचकको अभिमान बढेर मेरो इज्जत लिने काम ग¥यो, मेरा पतिले उसलाई दण्ड स्वरुप मृत्यु दिनेछन् ।
हजुरले त्यसको क्रियाकर्म गर्नुहोस भनी रिसाएर आफ्नो कोठामा गई स्नान गरी श्रीकृष्णलाई सम्झिइन् । त्यो दुष्ट बाँचेसम्म निद्रा, प्यास र भोक उनको मनमा थिएन । त्यसैले उनी रात परेपछि भीमसँग गइन् । भीम मस्तसँग सुतिरहेका हुन्छन् । उनलाई उठाएर रातभरि दुवै पतिपत्नीबीच सुख–दुःखका कुराहरु हुन्छन् । द्रौपदीले आफ्ना दुःखहरु सबै सुनाउँछिन् र अब पनि सिन्धुपति किचक बाँचिरहे म आत्महत्या गरेर मर्दछु, त्यसलाई जसरी पनि मार्नुप¥यो भनिन् ।
भीमले पनि सान्त्वना दिँदै आज राति झुक्याई जसरी हुन्छ नाँचघरमा एक्लै बोलाउनु म नाँचघरमा त्यसको घाँटी थिचेर मार्नेछु चिन्ता नगर, शोक त्यागेर महलमा जाऊ भनी सम्झाई पठाए । भोलिपल्ट विहानै दुष्ट किचक फेरि भेट्न आयो । तिमीले हिँजो मेरो कुरा नमानी राज्यसभामा फिराद गर्न गयौ । यो देशका नाम मात्रका राजा विराट हुन सबै शासन सत्ता मैले नै चलाउँछु, मलाई कसैले केही गर्न सक्दैनन् । त्यो त तिमीले देखिसक्यौ । तिम्रो केही नराम्रो भयो यसमा म दुःखी छु, मलाई सन्तुष्ट पार म तिम्रो दास हुनेछु, तिमी सुदेष्णासरहको मानमा रहने छौ भनी अनेक तरहले फकाउन लाग्यो ।
शैरन्ध्रीले पनि त्यही मौकामा तिम्रो शौर्य तथा प्राक्रम हिजो राजसभामा देखेँ तर के गरुँ गन्धर्वहरुदेखि डराउँछु, त्यसैैले तिमी आज मध्यराततिर नाँचघरमा आऊ । म पनि केही अगाडि गएर लुकेर बस्ने छु । हाम्रो भेट हुने एउटा यही सजिलो उपाय छ । यसबाट हामीलाई कसैले देख्ने छैनन् र हामी अपवादबाट बच्नेछौँ भनी द्रौपदीले भनेको सुनि दुष्ट खुशी हुँदै आफ्नो घर गयो भने द्रौपदीले पनि सबै कुरा भीमलाई सुनाइन् । आज राती नाँचघरमा जसरी पनि मेरा निम्ति पापी किचकलाई मार्नुहोस् भनी बिन्ति गरी द्रौपदी दरबार फर्किइन् ।
भीम पापी किचकलाई मार्न मौका विचरी नाँचघरमा गए र जस्तै सिंहले मृगको बाटो बथानेर बस्दछन् त्यसैगरी भीम पनि नाँचघरमा लुकेर बस्दा भए । उता कुनबेला सूर्य अस्त हुनन् र शैरन्ध्र्रीसँग समागम हुने कल्पनाले दिनभर किचकलाई सताइरह्यो । दिन पनि अति लामा लागे । आभूषण वस्त्र लगाएर तयार भयो । रात्रीमा नाँचघरमा साह्रै अँध्यारो थियो । बत्तीमा पुतली होमिन आएझैँ पापी पनि छाम्दै अगाडि गयो । सैरन्ध्री मानेर भीमको शरीरलाई हाँस्दै प्रेमपूर्वक छाम्दै मुसार्न लाग्यो ।
हे सुन्दरी ! तिमीले बोलाएकाले एक्लै आएको छु र यो शरीर तथा मेरो श्रीसम्पत्ति तिमीलाई अर्पण गर्दछु भन्दै खुशी साथ भीमको शरीरमा अंकमाल गर्न पुग्यो । यो देखेर भीमले पकडेर भूइँमा पछारे दुवैबीच भयङ्कर युद्ध भयो । अन्तमा किचकको शक्ति क्षिण भएको थाहा पाई भीम छातिमाथि बसी दुवै घुँडा धसी बेस्सरी घाँटी थिचेर किचकलाई मारे र क्रोधले गर्दा मरेको किचकलाई पनि मुडकी हान्दै भूईमा लतारेर सबै अङ्गलाई भाँचेर पेटमा कोचेर फुटवल जस्तो बनाई रिस शान्त पारे । द्रौपदीलाई ल्याएर रिसले त्यो चिह्नलाई समेत कठिन मांशपिण्ड लात्तीले हान्दै देखाए र सान्त्वना दिई भीम भान्साघरतर्फ गए ।
पान्चालीले दुष्ट किचकले मलाई विनाकारण खुब साताउँथ्यो त्यसैले गन्धर्वले मारेछन् । मुर्दा हेर्न नाँचघरमा जाओ भनी भनिन् र धेरै मानिस नाँचघरमा जम्मा भए । किचकका भाइहरु पनि दौडेर आए । आफ्ना दाजुको माँसपिण्ड रुपको मुर्दा देखेर सबै दुःखी भए र खुब रोए । यो मृत्युको कारण शैरन्ध्री भएकाले उनलाई पनि सँगै पोल्नुपर्छ भनी राजासँग अनुमति माग्न गए । राजाले आफ्ना मन्त्रीको मृत्युको खबर सुनेर उनका गुण सम्झे र निकै दुःखी भए र राजाले आफ्नो पाप धर्मको ख्याल नगरी त्यो दासीलाई पनि सँगै पोल्न भनी आदेश दिए ।
राजाको आदेश पाएपछि किचकका भाइहरुले तत्कालै द्रौपदीलाई मुर्दासँग बाँधिदिए । यो देखि द्रौपदी डराई अघि राखेको गुप्त नामबाट पतिहरुलाई रुँदै चिच्याउँदै बोलाउन लागिन् । हे स्वामी जय, जयन्त, जयसेन आएर मेरो रक्ष गर्नुहोस । मलाई दुष्टहरुले मार्न लागे केही डर नमानेर यहाँ आएर र दुष्टहरुलाई मारी मेरो रक्षा गर भनी पतिहरुको पुकारा गरिन् । द्रौपदीको यस्तो पुकारा सुनेर भीम आत्तिए र रुप परिवर्तन गरी पर्खाल नाघी बाहिर निस्किए । त्यहाँबाट द्रौपदीको आवाज सुन्दै मसानघाटको बाटो अगाडि वायुगतिले गए ।
द्रौपदीलाई दुष्टहरुले बाँधेको प्रत्यक्ष देखे र भीम उच्च स्वरले म तिम्रो रक्षा गर्न आइपुगेँ, नडराऊ भनी सान्त्वना दिए । एउटा रूख उखेली काँधमा बोके र दौड्दै द्रौपदीलाई बन्धन मुक्त गरे । सबै दुष्टहरु १०५ जना किचकका भाइहरुको संहार गरे । रोइरहेकी द्रौपदीलाई तिम्रा सबै शत्रु मरे दुःख नमान, दरबार जाऊ भनी आफू पनि भान्साघरतर्फ गए । द्रौपदी पनि गंगा स्नान गरी महलतर्फ लागिन् । पुरवासीहरुले यो सबै खबर राजालाई पु¥याए । राजाले ती सबै स्वर्ग जाऊन् भनी उचित किसिमले दाहसंस्कार गर्न आदेश दिए र सुतपुत्रहरुको दुर्गति देखि अघिको तिनीहरुको शक्ति र गुण सम्झेर दुःखी भए ।
राजदरबारमा गए र रानी सुदेष्णालाई दासी शैरन्ध्रीलाई छिट्टै बिदा गर्नु, उनी सानन्द घर जाउन भनी आदेश दिए । द्रौपदी पनि रानीकहाँ पुगिन्, रानीले पनि डराउँदै राजाको आज्ञा अनुसार उनलाई आजै बिदा दिइन् । आफ्ना घर जाऊ राजाको यही आदेश छ । तिम्रो सुन्दर रुप जुन पुरुषले देख्ने छ त्यो काम पीडित भई गन्धर्वद्वारा वृथामा मारिने छ भनी भनिन् । यो सुनेर शैरन्ध्रीले मलाई आजसम्म कृपा गरी बस्न दिनुभयो अब १३ दिन बस्न दिनुस्, त्यसपछि बस भने पनि म बस्ने छैन ।
मेरा गन्धर्व पतिहरु आएर मलाई लैजाने छन् । हजुरहरुले गरेको यो उपकारको प्रत्युपकार कुनै दिन गन्धर्वले गर्ने छन् । मलाई जम्मा १३ दिन दया गरी बस्न दिनुहोस् । यो सुनेर रानीले केही समय मनमनै सोचिन् अहिले नै निकालु भने हाम्रो र यो राज्यको गन्धर्वले रिसाएर विनाश गर्नेछन् भनी डराइन् । ठिक छ बस तर राजा र हामी सबैको गन्धर्वबाट राक्ष गर भनिन् ।