समय परिस्थितिले उब्जाएका कुरा

विनोद पोख्रेल
२०७७ बैशाख २३ गते
केही दिन मात्रै भएको छ, हामी सुत्ने ढोकाको झ्यालमा अलि विशेष चरो विहानै आउँछ र कराउँछ । आजभोलिकै मात्र कुरा गर्ने हो भने त्यसैले हामीलाई व्युझाउँछ । कराउँछ र एउटा झ्यालबाट अर्को झ्यालमा पुग्छ । फेरि कराउँछ । त्यसको आवाज त अलि कर्कसजस्तो लाग्छ । आवाजलाई मीठो भन्न पटक्कै सक्दैन ।

निद्रामा भएको बेला उठाउने भएर रिस उठेको पनि हुनसक्छ । रिस त नभनौँ मलाई त्यो चरचरा देखि रिस उठ्दैन । उठेकै छैन । चराको रुप मेरो लागि अलि नयाँ छ । कतिपल्ट पहिले देखेको हुँला तर यसरी ख्याल गरेको थिएन । गजबको पहेँलो रँग छ । बसेको बेला पखेटाको रँग केही अलग अलि अलि कालो भन्न सुहाउने छ । तर उड्यो भने त्यो कालो देखिँदैन । सबै पहेँलो नै देखिन्छ । विहान अलि बेरसम्म ऊ यिनै झ्यालमा यताउता गरिरहेको हुन्छ ।

ऊ एक्लो हुँदैन । ऊजस्तै उसको जोडी पनि हुन्छ । एकदिन तीनवटा देखेको थिएँ नत्र प्रायः दुईवटा (एक जोडी) नै हुन्छन् । सानो भन्न त मिल्दैन तर ठूलो भने पटक्कै छैन । ढुकुर वा परेवाभन्दा अलि सानो हामीले भद्रे चरा भन्ने जस्तैजस्तै सायद अलिकति ठूलो साइज तर ठोँड भन्ने परेवाढुकुरभनदा अलि लामो छ । मलाई यसको गतिविधि र रँगले आकर्षण नै गरेको छ । अब त केही अभ्यस्त समेत भइसकेको छु । यसको हल्लासँग पनि । ऊ पनि अभ्यस्त भएको वा हुने प्रयासमा छ जस्तो लाग्छ । म लेख्दा प्रायः झ्यालको नजिकमै बस्छ ।

त्यतिबेला मभित्र हुन्छु र ऊ बाहिर हुन्छ । हाम्रो बीचमा सीसाको पल्ला अथवा जाली मात्रै हुन्छ । उसले पनि मलाई देख्छ । अलिकति उडेजस्तो गर्छ । आएर फेरि त्यही झ्यालमा वा अर्को झ्यालमा बस्छ । सायद मसँग अभ्यस्त हुने प्रयासमा छ । अथवा ऊ मसँग त्यति डराउँदैन । मेरो तर्फबाट त मैले उसलाई केही गर्ने होइन । उसको मेरो सोच बुझेको छ कि भन्ने पनि लाग्छ । आज एउटा अर्को कौवाजस्तो अलिकति सानो त्यो पनि धेरै नदेखेको तर नयाँजस्तो नलाग्ने चरो पनि देखेँ ।

बारीमै जमिनमा केही खाँदै गरेको उसको पनि शरीरको तुलनामा ठोँड अलि लामै हो । त्यसलाई देखेपछि यो झ्यालमा आउने पहेँलो चरोतर्फ अझ बढी आकर्षित भएँ । कारण थाहा छैन । मनले कतै यो चराले केही सन्देश दिन आएको हो कि जस्तो पनि सोच्न थालेको छु । यदि सन्देश नै हो भने पनि राम्रो सन्देश होस् भन्ने कल्पना गरेको छु ।

अथवा लकडाउनको प्रभावले यस्ता चराहरु नडराएर मानिसको नजिक आउन लागेका हुन् कि ? नदीहरु सफा भए । ओजोन भरियो, जनावरहरु सहरसम्मै पुगे भन्ने समाचार आउँदा यस्ता चराहरु पनि झ्यालसम्म आउनुलाई त्यही क्रमको एउटा कडीसँग जोड्न पनि मन लाग्छ । उसको समयको नियमितताले पनि सायद ऊप्रतिको आकर्षण थपेको छ । विहान मेरो अन्दाजमा साढेपाँचदेखि सुरु गर्छ झ्यालमा आएर हल्ला गर्न र करिब दुई घण्टाजति यिनै झ्यालमा यताउता गरिरहन्छ ।

त्यसपछि कराएको थाहा हुन्न । कहिलेकाहीँ साँझपख पनि थोरैबेर त्यस्तो गरेको देखेको छु । तर विहानको नियमितता त गजबकै छ ।

२०७७ बैशाख २४ गते

गर्नैपर्ने काम सोचेको बेला कुनै प्रकारको व्यवधानले छेक्यो भने मानिसले दिक्क मान्छ । आजभोलि म यस्तै दिक्क मान्छु । मलाई थाहा छ, यो स्थिति लगभग हाम्रो सबै परिवारको हो । तर कसैले कसैलाई केही भन्दैन । काम पनि दुईवटा एकैपटक परे । कक्षा १० को जाँच दिन तयार भएका नातिहरुको जाँच सुरु हुनुभन्दा १२–१५ भण्टा पहिले मात्रै स्थगित गरियो ।

कहिले हुन्छ केही थाहा छैन । अब त हुन्छ वा हुँदैन बारे समेत चर्चा चलेको छ । जे भए पनि भोग्नु पर्छ तर के होला भन्ने सस्पेन्स त छँदैछ । त्यस्तो तिनै नातिहरुको ब्रतबन्ध चैत्रमै गरिदिने योजना थियो । मनले मात्रै होइन धेरैजसो आवश्यक वस्तुहरु जुटाउनुपर्ने जुटाइसकिएको छ । कति लामो होला र चैत नभए बैशाखमा गरौाला भनेको अब लकडाउन बढ्ने निश्चित भएपछि जेठमा पनि सम्भव छैन । आउने दिनमा पनि सजिलरी आशा गर्ने ठाउँ छैन ।

हाम्रो दक्षिणी सीमा असुरक्षित भएकोले कतै इपिसेन्टर नै यतै बन्ने हो कि जस्तो शंका कमसेकम मैले गरेको थिएँ । केही हल्ला पनि त्यस्तै आएको थियो । सायद अलि बढी डराए म र त्यस्तो सोच । तर अलि लामो अवधिसम्म केही त्यस्तो परीक्षण पनि नभएकोले समस्या पनि नभएको जस्तो लागेको थियो । मुखले केही नभने पनि यसपल्ट बाँके जिल्लाको जसतो समाचार आइरहेको छ त्यसले फेरि एकपल्ट डर बढाएको छ ।

सके सबै नभए लमहीका केटाकेटीभरि घर ल्याउन सके वा आउन सके अलि निश्चिन्त हुन्थ्यो जस्तो लाग्छ । केटाकेटीको मनोविज्ञानले पनि उनीहरु केही आत्तिएका केही डराएको जस्तो पनि लाग्छ । सबै सँगै भए जे होला भन्ने पनि हुन्थ्यो । अब त उनीहरुसँग कुरा गर्दा म पनि आत्तिएको जस्तो अनुभव गर्छु । कहिलेसम्मको जवाफ नै भएको यो समस्यालाई कसरी लिने हो ? यसले के–के समस्या ल्याउने हो त्यो पनि थाहा छैन । खाद्यवस्तुकै कुरा गर्ने हो भने व्यवस्थितरुपमा अझ एक वा दुई महिनालाई होला नत्र डेरा गरेर बस्नेहरु सबैलाई अलि चाँडो समस्या पर्ने हो भने घरमै बस्नेहरुलाई अरु एक दुई महिनापछि समस्या पर्ने हो ।

कहिलेकाहीँ जीवनको नयाँ र डरलाग्दो अनुभवको रुपमा लिन्छु । कहिले सबैको समस्या भनेर चित्त बुझाउँछ । तर हाम्रो परिवारजस्तै कोही कता कोही कता भएका केही यहाँ पनि छन् । तर धेरैजसोको सबै परिवार एकै ठाउँ भएकोले हामीभन्दा निश्चिन्त छन् जस्तो लाग्छ । उनको स्थिति उनलाई नै थाहा होला । कति डेरा गरेर बस्ने धेरैजसो स्वास्थ्यकर्मीहरु पनि छन् । उनीहरुको पनि परिवार होलान् । उनीहरुले पनि यस्तो सोच्छन् होला भनेर चित्त पनि बुझाउँछु ।

कुरा गर्ने विषय समेत नहुने हुँदोरहेछ । के गर्नै जस्तो लाग्छ र कसैलाई फोन गर्छु । तर कुरा गर्ने विषय नै हुँदैन । अरुले फोन गर्दा पनि त्यही स्थिति ो । कहिलेकाहीँ कतिसम्मले अत्याउँछ भने कहिलेकाही काँ के जस्तै दाङमा भए कस्तो होला भन्ने डरले अत्याउँछ । तर डर पनि र अत्याहट पनि आफूमै सीमित राखेर बस्नु परेको छ ।

यहाँसम्म कि दिउँसो एकछि जुटौँ भन्नेहरु पनि सम्पर्कमा आउन नचाहेको हो वा मजस्तै दिक्क र अलमलले हो उनीहरु पनि टाढिएको अनुभव हुन्छ । यसरी कुराहरु मनमा आए भने अझै बढी दिक्क लाग्ने गर्छ ।