रिमा नेपालीलाई पक्की घर

शिवराज खनाल
लमही, १८ कार्तिक । ढल्नै लागेको घर । चुहिने छानामा दिन काट्दै आएकी लमही नगरपालिका ५ निवासी रिमा नेपालीले पक्की घर पाउदा खुशी भएकी छिन् । प्रदेशसभा सदस्य रेवतीरमण शर्माको पहलमा नेपालीको पानी चुहिने खरको छानोमा केहि महिना अगाडी मात्र त्रिपाल टाँगिएको थियो ।

पुरानो भत्किन थालेको घरमा त्रिपाल टागिदै गर्दा सांसद शर्माले उनलाई बचन समेत दिएका थिए । केही समयपछि यो ठाउँमा पक्की घर निर्माण हुनेछ भनेर । त्यो बचन अहिले पुरा भएको छ । मंगलवारदेखि उनी जनता आवास कार्यक्रमबाट बनेको पक्की घरमा बस्न थालेकी छिन ।

उनलाई मंगलवार सांसद शर्माले पक्की घरको साचो बुझ्दै रिमाको अव दुखका दिन हराएको बताएका थिए । हुन पनि अव रिमालाई घर भत्कने चिन्ता हुने छैन । न त पानी पर्दा घरमा त्रिपाल लगाउनु नै पर्नेछ । घर हस्तान्तरण कार्यक्रममा रिमाले भनिन् अव मेरो घरमा पानी पर्दा छानो चुहिने छैन । न त पानी नै चुहिनेछ ।

जनता आवास कार्यक्रम अन्तर्गत प्रदेश सरकारले ३ लाख ३६ हजार रुपैयाँ खर्च गरेर पक्की घर निर्माण गरेको थियो । सांसद रेवतीरमण शर्माको निर्वाचन क्षेत्रमा ८८ वटा घरहरु निर्माण भएका छन । अहिले ती घर हस्तान्तरण गर्ने कार्यक्रम चलिरहेको छ । घर हस्तान्तरण कार्यक्रममा माननीय सांसद शर्माले गरिब, विपन्न दलित, मुस्लिम, पिछडा वर्ग, लोपन्मुख जातिलार्इ सरकारले जनता आवासमार्फत पक्की घर निर्माण गर्ने गरेको समेत बताए ।

कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बिम बहादुर केसी, नेकपाका जिल्ला सदस्य बिरबहादुर केसी, लमही नगरपालिका सहइञ्चार्ज नारायण डिसी छम्पाली, दलित सचेतना अभियानका अध्यक्ष शशीराम नेपाली, नेकपा नगर कमिटी सदस्य युवराज पौडेललगायतको उपस्थिति रहेको थियो ।