वहुमतको दुइतिहाई, सहमतिमा लडाइँ–भिडाइ

मधुसूदन सुवेदी
देशमा मिलिजुलीको सरकार टिक्न सकेन, बिक्न सकेन, सिक्न सकेन, देख्न सकेन, देखाउन सकेन र देश तथा जनतालाई सरकारको न्यायो घामले सेक्न सकेन भन्दै जिगतको मिलिजुली सरकारले देशमा संक्रमणकालीन अवस्था सिर्जना गरेको भन्दै जनताले विकल्पको रुपमा नेपालमा कम्युनिष्ट पार्टीलाई झण्डै दुइतिहाईको नजिकमा लगेर पूर्णवहुमतको सकार बनाउने अवसर प्रदान गरे ।

देशमा एकथरि कम्युनिष्ट सर्वहारा जनताको मुक्तिको लागि भन्दै जंगल र ओढारबाट संघर्ष गर्दै थियो भने अर्कोथरि कम्युनिष्ट कहिले सरकार कहिले प्रतिपक्षमा रहेर देश र जनताका लागि सच्चा देशभक्ति समाजवादी पार्टीमै आफूलाई उच्च दर्जामा परिभाषित गर्दै थियो । संयोग र समयले यी दुवै सडक, सदन, जंगल तथा ओढारबाटै देश र जनतााका खातिर भन्दै लड्दै गरेका पार्टी एउटै मालामा गाँसिन पुगे । रँग र बोटका हिसाबले अलग अलग बोट तथा अलग–अलग बगैचामा फूलेका र फक्रेका फूलका थुँगा भए तापनि दुई रँगको फूले एउटै माला सजिन र सजाउन सकिने भन्दै एउटै धागोका त्यान्द्रोमा उनिन पुगे र एउटै मालाको रुपमा जनताको घाँटी तथा छातिसम्म सजिने वाचा गरे ।

जनताले पनि एकपछि अर्को व्यवस्था चाख्दै र थुक्दै, निल्दै गरेको अवस्थामा यो मीठो कि त्यो मीठो भन्दैमा समय २००७ देखि २०७३ साल बितेको पत्तै भएन । देशमा सर्वहाराको जय ! जय !! हुने र हुँदा खाँदाको अवस्था निमिट्यान्न हुने आशाले जनता कम्युनिष्टलाई रोज्न तयार भए । प्रत्येक १८–१८ महिनामा बदलिने सरकार र जनताको काम गर्न सुरु नगर्दै ढल्ने सरकारबाट वाक्क, दिक्क हुँदै कम्तिमा पनि ५ वर्ष अविछिन्न रुपले चल्ने सरकारको बन्दोबस्तमा जनता पनि अघि जुटे र नेपालको जल्दो, बल्दो, उदाउँदो र पोल्दो पार्टीलाई नै ५ वर्षसम्मका लागि देश र जनताको पक्षमा तर्क गर्नका लागि म्यान्डेट दिएर सरकारको भ¥याङ चढाए र कतिले आफ्नो बुइँ चढाए ।

यसरी सर्वहारा, गरीबी तथा निमुखावर्गको हितमा काम गर्ने सरकार भन्दै गरीबीको रेखामुनि बाँचेका गरिब जनताले आफ्नै भविष्यका खातिर नेपालमा कम्युनिष्टलाई जिताए । आज नेपालमा कम्युनिष्टको दुइतिहाई वहुमतको सरकार चलेको ३ वर्षको सेरोफेरोमा छ । आज उसले गरेका हरेक काम तथा कार्यवाहीको स्वयम् कम्युनिष्ट पार्टी नै विरोधमा देखिन्छ, असहमतिमा देखिन्छ, संघर्षमा देखिन्छ र एक आपसमा भिडन्तको अवस्था पनि देखिन्छ । संघीय संरचना अनुसार देशका हरेक निकायमा हुनुपर्ने राजनीतिक नियुक्ति विपक्षमा छन् र स्थगित अवस्थामा छन् ।

मन्त्रिपरिषद्को हेरफेर तथा नियुक्तिको प्रणाली आलोपालोमा प्रणालीमा चलेको छ । प्रधानमन्त्रीको व्यवहार मन्त्रीलाई ठिक लाग्दैन । मन्त्रीको व्यवहार सचिवलाई ठिक लाग्दैन । सचिवको व्यवहार उपसचिवलाई ठिक लाग्दैन । उपसचिवको व्यवहार संसदलाई ठिक लाग्दैन । संसदको व्यवहार कार्यकर्तालाई ठिक लाग्दैन र कार्यकर्ताको व्यवहार जनतालाई ठिक लाग्दैन । यसरी ठिक नलाग्ने तथा चित्त नबुझ्ने व्यवहार क्रमशः संघीय सरकार हुँदै प्रदेश सरकार, स्थानीय सरकार तथा जनतासम्म पनि छताछुल्ल पोखिएको अवस्था छ ।

यो अवस्था आउने सिर्जना कसले बनायो र देशमा मिलिजुलीको सरकार पनि टिक्न र बिक्न नसक्ने र दुइतिहाईको सरकार पनि टिक्न र बिक्न नसक्ने हो भने जनताले नेतालाई कहाँ लगेर राख्ने हो ? एउटा राजनीतिकर्मी तथा राजनीतिक व्यक्तिलाई सडकको हात्ती छाप चप्पलबाट काँधमा उठाएर सिंहदरबारको प्राडो र पँजेरोसम्म राख्दा पनि र लैजाँदा पनि देश र जनतालाई न्याय गर्न नसक्नेलाई बसाल्ने कहाँ हो ?

जनताले अबको सरकारबाट सेवा पाउने आशा होइन यो सरकारलाई भण्डार गर्ने ठाउँ पत्ता लगाउँदै छ । जब बजारमा विक्रीवितरणका लागि राखेको समान सारा उपभोक्ताले तिरस्कार गर्छन् र ग्राहकले किन्दै किन्दैनन् भने त्यो सामानलाई दोकानमा सजाउनुको के अर्थ ? अब त एउटा गोदामको व्यवस्था गरेर उपयुक्त भण्डारणको तर्जुमा गर्ने र पुनः कम्पनीमै फिर्ता गर्नुको अर्को विकल्प के नै छ र ? हाम्रा देशका नेता उत्पादन भएको कम्पनीको नाम र कम्पनीको ठेगाना पनि समस्त नेपाली जनतालाई थाहै छ । अर्थात् हाम्रा देशका जति पनि नेता छन् ती सबै (हिपत) अर्थात् हिमाल, पहाड, तराई कम्पनीका हुन् र उनी गन्तव्यहीन सडकबाट हात्ती छाप चपपलसँगै माथि उचालिएका गरीब देशका झुत्रेझात्रे नेता हुन् ।

आज उनैले जनतालाई वास्ता गर्दैनन् भनी उनी उत्पादन भएको कम्पनी त खाली नै छ त । आज पार्टीमा, संगठनमा मोर्चामा, दलमा, समूहमा, सरकारमा, सदनमा, सडकमा एकआपसमा कुरा मिल्दैन र जनतालाई सेवा दिने कुरामा जहिले पनि आलटाल र जालझेल हुन्छ भने तिम्रो सडक पनि सुरक्षित छ, तिम्रो खुट्टा पनि सुरक्षित छ र तिमीले लगाएको हात्ती छाप चप्पल पनि नफाटेरै सुरक्षित नै छ । जनता तयार छन् कम्पनीमै फिर्ता गर्न ।

सडकलाई सदन पचेन । हिमाललाई पहाड पचेन । पहाडलाई तराई पचेन र तराईलाई सिंहदरबार पचेन । त्यस्तै कमिज र जाँघेबाट सुरुवालभोटी पचेन । चप्पलबाट चिल्ला मोटर पचेनभन्दा अचम्म लाग्ला । सबैलाई सजिलै, सरलै र सहजै पचेकै छ तर जनतालाई पनि सोधेर खाएको भए, जनतालाई देखाएर खाएको भए, जनतालाई भनेर खाएको भए, जनतालाई भुलाएर खाएको भए, जनतालाई डुलाएर खाएको भए, जनतालाई केही दिएर खाएको भए, जनतालाई सुँघाएर खाएको भए अवश्य पनि सबैका लागि पच्नयोग्य हुने थियो तर त्यो कदापि भएन । राम्रौ भनेको राम्रै हो, सुख भनेको सुखै हो, मीठो भनेको मीठै हो ।

सुगम भनेको सुगमै हो, धन भनेको धनै हो, ऐश्वर्य भनेको ऐश्वर्य हो, सुविधा भनेको सुविधा हो, सेवा भनेको सेवै हो र मेवा भनेको मेवै हो । के थाहा ११ आज भेटिएको कुरा भोलि पनि भेटिन्छ भन्ने, त्यसैले मौकामा चौका नहानेको के मज्जा ? भन्ने भ्रममा परेर जेजसो भएको छ त्यो नितान्त गलत भएको छ । ५ वर्षमा ५० वर्षका लागि पुग्ने कमाइएला तर के थाहा के ग्यारेन्टी, के प्रमाण, के पुष्टि, के शिद्ध, के सत्य, के तथ्य, के आधार ? त्यो सबै कुरा भोग गर्न पाइन्छ र जीवन अजर, अमर हुन्छ भन्ने कुरा । यदि आज जनता ठगेको कुरा भोलि जनताकै अगाडि खानै नपाएर पोखियो, घोप्टियो भने त्यसको नमज्जा कति–कति जुनीसम्मका लागि इतिहासमा दर्द होला ? ख्याल छ ?