३९ वर्षीय युवा व्यवसायी तथा नेता सरोज शाहसँग जीवनमा अनेकौँ खुशीका क्षणहरु छन् । घोराहीमा सफल व्यवसायीका रुपमा समेत परिचित शाहलाई गोरक्षको साप्ताहिक खुशी स्तम्भका लागि खुशीका पलहरु साट्न आग्रह गर्दा उनले आफ्ना जीवनका केही खुशीका क्षणहरु यसरी साट्ने प्रयास गरे ।
तिनै खुशीका क्षणमध्येको पहिलो खुशीको क्षण हो भ्यालेन्टाइन–डेको दिन काठमाडौंको पाटन र शंखमूल जोड्नका लागि बनाइएको पुलमा श्वेता लिम्बु (अहिले श्रीमती)लाई पहिलो पटक गुलावको फूल दिँदाको सम्झना गरे ।
करिब आजभन्दा १२–१३ वर्ष अघिको कुरा हो । म काठमाडौंको पिपुल्स कलेजमा पढ्ने गरेको थिएँ । काठमाडौंमा पढाइका क्रममा म डेरा गरी बस्ने गरेको थियो । मैले डेरा गरेको घर नजिकै भैँसेपाटीबाट प्रायः आफ्नो जिमा (हजुरआमा)लाई भेट्न एकजना लेडिज आउने गर्थिन् । उनी आउँदा प्रायः हाम्रो देखा–देख हुने गरेको थियो । तर बोलचाल हुने गरेको थिएन ।
बोलचाल नभए पनि उनीप्रति मेरो आकर्षण बढ्दै गएको थियो । त्यही क्रममा उनको एकजना बहिनीको माध्यमबाट उनको नम्बर ल्याएको थिएँ । तर फोनमा ‘हेल्लो…’ भन्ने बाहेक केही कुरा हुन सकेको थिएन । मनमा उनीसँग बोल्ने तीव्र इच्छा भए पनि डरका कारण करिब एक महिना फोनमा बोल्नै सकिएन । फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन–डे आइपुग्यो । भ्यालेन्टाइन–डेका दिन त उनलाई गुलावको फूल दिनैपर्छ भन्ने मनमा लाथ्यो । र, उनी हरेक दिन जिमाको घर आउने बाटो बाग्मती नदी अन्तर्गत पाटन–शंखमूलको झोलुंगे पुलमा गएर उनी आउने बाटो हेर्दै पर्खिए ।
म आफ्नै १८० सिसीको पल्सर मोटरसाइकलमा त्यहाँ पुगेको थिएँ । उनलाई म त्यहाँ हुन्छु भन्ने थाहा नै थिएन । म पर्खिएको केही समयपछि उनी आइपुगिन् । म बाइकमाथि हेलमेन्ट लगाएर बसेको थिएँ । उनी नजिकै आएपछि मैले उनलाई बोलाए । उनी बोलिन । त्यसपछि उनलाई आज के दिन हो ? थाहा छ भनेर सोधेँ ? तर उनले थाहा छैन भनेर जवाफ फर्काइन् । त्यसपछि मैले फूलले ल्याएको गुलावको फूल दिएर भ्यालेन्टाइन–डे दिनको सम्झना गराए । गुलावको फूल लगेर उनी त्यहाँबाट हिडिन् । उनलाई त्यो पुलमाथि गुलावको फूल दिँदाको क्षण मेरो जीवनको महत्वपूर्ण खुशीको क्षण हो । ‘
अहिलेसम्मको जीवनको आरोह अवरोहका क्रममा धेरै खुशीका क्षणहरु छन्’–उनले भने–‘त्यसमा पनि मैले भुल्न नसक्ने खुशीको क्षण भनेको फूलले मन पराएकी केटीलाई शंकमुलको पुलमा गुलावको फूल दिँदाको क्षण हो । जुन क्षण मेरो जीवनको सबैभन्दा खुशीको क्षण बन्न पुगेको छ ।’ त्यही क्षणले मेरो घर संसार चलेको छ ।
मायाप्रेम बसेपछि केही वर्ष काठमाडौंका गोदाबरी, पशुपति, सुन्दरीजललगायतका विभिन्न स्थानसँगै घुमेका थियौँ । प्रेममा परेको करिब चार वर्षपछि अन्तरजातीय वैवाहिक जीवनमा बाँधिएका उनीहरुका सम्भव शाह र संयोग शाह दुई छोराहरु समेत छन् । करिब चार वर्षपछि शाहले उनलाई मोटरसाइकलमा काठमाडौंबाट भगाएर दाङ ल्याएका थिए ।
शाहको अर्को खुशी क्षण हो, दशैंमा टीका लगाएर मामाघरमा एक रुपैयाँको नोट पाउँदाको हो । दशैं भन्ने बित्तिकै अहिले पनि अधिकांशको ध्यान दक्षिणामा जान्छ । त्यो बेला म सानो थिएँ । छोरालाई घरमा टीका लगाएर दक्षिणा दिन खास्सै चलन थिएन । त्यसैले दक्षिणाको आश पनि मामाघरकै हुन्थ्यो । मामाघरमा हजुरबुबा, हजुरआमा, मामा, माइजुहरुले टीका लगाएर पैसा दिने भएकाले मामाघर जाने हतार नै हुन्थ्यो ।
एक वर्ष संयोग नै भयो । कान्छी अन्टीको विहेपछिको पहिलो दशैं टीका थियो । त्यो टीकामा उहाँहरुसँगै जान पाए धेरै दक्षिणा पाइन्छ भन्नुभएको थियो । त्यसैले दशैमा मैले पनि धेरै पैसा बनाउनका लागि सकेसम्म उहाँहरुसँगै टीका लगाउन जाने प्रयासमा थिएँ । ममीलाई पनि त्यही भनेको थिएँ । मैले भनेपछि ममीले अंकल–अन्टीसँग टीका लगाउन जाने मिलाइदिनुभयो । उहाँहरुसँगै दशैंमा टीका थापियो । उहाँहरुसँग टीका लगाउन पाउँदा मेरो दक्षिणा समेत बढेको थियो ।
प्रायः दशैँहरुमा दश–बीसमै चित्ता बुझाउनुपरेको मलाई दशैमा टीकालगाएर सय रुपैयाँ पाउँदा निकै खुशी भएको थिएँ, त्यो मेरो अर्को खुशीको क्षण हो । ‘‘साच्चै भन्ने हो भने म सानो भएर पनि होला, दशैँमा टीका लगाएर मामाघरमा दश–वीस रुपैयाँ नै दिने गर्नुहुन्थ्यो तर म अंकल–अन्टीसँग टीका लगाउन जाँदा दश–बीस रुपैयाँ दिने मामाघरमा पनि बीस, ५० देखि एक सयसम्म दिनुभयो’–उनले भने–‘बढीमा बीसमै चित्त बुझाउनु पर्ने मलाई एकै पटक सय रुपैयाँको नोट पाउँदा कति खुशी भएको हुदो हुँ अहिले वर्णन गरी साध्यै छैन ।’ जुन क्षण हरेक वर्ष दशैँ आउँदा सम्झना आउने गरेको छ । उनले त्यही दक्षिणाको पैसाले पछि विभिन्न खेलौन किनेर रमाइलो गरेको सम्झना अहिले पनि ताजै रहेको बताए ।
अर्को खुशीको क्षण हो, हर्कुलस एटिबी साइकल किन्दाको क्षण । त्यो बेला अहिले जस्तो समय थिएन । साइकल चढ्न पाउँदा पनि खुशी हुन्थ्यौ । त्यो बेला एट्लस साइकल बहुत चलेको थियो । म घोराहीमा रहेको दीपशिखा स्कूलमा कक्षा ६–७ मा पढ्दै थिएँ । स्कूलमा सँगै पढ्ने साथीहरुले साइकल चढ्ने भएपछि मलाई पनि साइकल चढ्ने रहर लागेको थियो । आफ्नो रहर घरमा बुबा–आमालाई भनेपछि उहाँहरुले किन्दिने भन्नुभयो । त्यसपछि साइकल किन्न म महेन्द्र केसी मामासँग नेपालगञ्ज हुँदै रुपैडिया गएको थिएँ ।
साइकल किनेपछि मलाई नयाँ प्लाष्टिक नै नफालेको साइकल घर ल्याउने रहर लागेको थियो । जुन साथीभाइहरुलाई देखाउन मिलोस् तर मामाले साइकलमा भएका सवै प्लास्टिक च्यातेर फालेपछि म मामासँग रिसाएको थिएँ । तरपछि मामाले सम्झाएपछि मानेको थिएँ । आफ्नै नयाँ साइकलमा भारतको रुपैडियादेखि कोहलपुरसम्मको त्यो साइकल यात्रा मेरो जीवनको अर्को खुशीको क्षण भएको शाहले बताए । ‘साइकल किनेर हामी नेपालगञ्जबाट गाडीमा आउनुपर्ने हो तर नयाँ साइकल भएकाले हामी मामाभाञ्जा गाडी नचढेर साइकलमै कोहलपुरसम्म आइपुग्याँै’–शाहले भने–‘आफ्नै साइकलमा मामा–भाञ्जाको त्यो यात्रा पनि जीवनको खुशीको क्षणका रुपमा रहेको छ ।’
२०३८ सालमा घोराही उपमहानगरपालिका–७ बेसाहीमा बुबा सुन्दर शाह र आमा मञ्जु शाहका ज्येष्ठ सन्तानका रुपमा जन्मिएका थिए । शाहका माइलो भाइ सुदीप र कान्छो भाइ सन्दीप छन् । बुबाआमासँगै भाईहरुको व्यवसायमा भएको सहयोगले आफु आजको स्थानमा आईपुग्दाको क्षणलाई समेत उनी खुशीको पलका रुपमा लिने गरेका छन । शाह पाण्डवेश्वरी यातायात प्रालीको अध्यक्ष, वीपी कोइराला युवा नेतृत्व विकास मञ्च दाङको अध्यक्ष, राप्ती डेलीभरी यातायात सेवा प्रालि, नेपाल प्रजातान्त्रिक सम्पर्क महासंघ दाङ, नेपाल विद्यार्थी संघलगायतका विभिन्न संघसंस्थामा आबद्ध छन् ।
प्रस्तुती : लिलाधर वली