पर्यटकिय क्षेत्रको विकासबाट आर्थिक समृद्धि

दाङ,३ कार्तिक । पर्यटकिय क्षेत्रको विकासबाट मात्रै आर्थिक समृद्धि सम्भव रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

वीपी कोइराला युवा नेतृत्व विकास मञ्च दाङ क्षेत्र नं. २ को मासिक घुम्ति बैठक अन्तर्गत घोराही उपमहानगरपालिका–५ धारपानीमा रहेको पाण्डवेश्वर धार्मिक धाममा बसेको बैठकका सहभागीहरुले जिल्लाको आर्थिक समृद्धिका लागि पर्यटकिय तथा धार्मिक क्षेत्रको पहिचान गरि विकास गर्न आवश्यक रहेको बताएका हुन ।

त्यसका लागि मञ्चले क्षेत्र नं. २ मा रहेको धार्मिक एव पर्यटकिय क्षेत्रहरुको पहिचान गरी प्रचार–प्रसार गर्ने र अध्ययन अनुसन्धान हुन नसकेका क्षेत्रहरुलाई अनुसन्धानका विषय बनाएर अगाडी बढाउने बैठकले निर्णय गरेको छ । साथै बैठकले पछिल्लो समय कोरोना भाइरसको संक्रमण दर बढ्दै गएको भन्दै मञ्चले धार्मिक तथा पर्यटकिय क्षेत्रमा अनिवार्य सुरक्षा सावधानी अपनाउन आग्रह गरेको छ ।

त्यसैगरी मञ्चले धार्मिक तथा पर्यकिय क्षेत्रहरुमा पूजापाठ तथा घुमफिरका लागि जाने मानिसहरुलाई कोरोना भाइरसको संक्रमणबाट बचाउने उद्देश्यले वीपी कोइराला युवा नेतृत्व विकास मञ्च दाङ क्षेत्र नं. २ ले पाण्डवेश्वर मन्दिरमा रहेको प्रहरी चौकीलाई मास्क सहयोग गरेको हो ।

मन्दिरमा पूजापाठ तथा घुमफिरका लागि जाने भक्तजन तथा आन्तरिक पर्यटकहरुलाई कोरोना भाइरसको समयमा जोखिमबाट बचाउने उद्देश्यले जिल्लाकै प्रमुख धार्मिकस्थललाई दुई सय पिस सर्जिकल मास्क सहयोग गरेको वीपी कोइराला युवा नेतृत्व विकास मञ्च दाङ क्षेत्र नं. २ का अध्यक्ष लेकनाथ बुढाथोकीले जानकारी दिएका छन् ।

बैठकमा बोल्दै वीपी कोइराला युवा नेतृत्व विकास मञ्च दाङका अध्यक्ष सरोज शाहले आर्थिक विकासका लागि धार्मिक तथा पर्यटकियस्थलहरुको विकाससँगै प्रचारप्रसार हुन आवश्यक रहेको बताएका थिए । जिल्लाको समृद्धिका लागि जिल्लाभित्र रहेका धार्मिक,सास्कृतिक एव पर्यटकिय स्थलहरुको खोज गर्दै तीनको विकास गर्न सके त्यहीबाट दाङलाई समृद्ध बनाउन सकिने उनले बताएका थिए ।

साथै उनले अहिले कोरोना भाइरसको संक्रमणको जोखिमको समय भएको भन्दै धार्मिकस्थलहरुमा दर्शन तथा पूजापाठका लागि जादा अनिवार्य रुपमा मास्क प्रयोग गर्न आग्रह गरेका थिए । वीपी कोइराला युवा नेतृत्व विकास मञ्च दाङ क्षेत्र नं. २ का अध्यक्ष लेखनाथ बुढाथोकीको अध्यक्षतामा बसेको बैठकमा वीपी कोइराला युवा नेतृत्व विकास मञ्च दाङका सचिव अमरक्षितिज भण्डारीलगायत बक्ताहरुले बोलेका थिए । कोरोना संक्रमणको जोखिमका समयमा मञ्चले संक्रमणबाट जोगाउने उद्देश्यले धार्मिकस्थल,सुरक्षाकर्मीलगायतका विभिन्न स्थानहरुमा मास्क सहयोग गर्दै आएको छ ।