डा. उपेन्द्र देवकोटा, नर्भिक हस्पिटल र मेरो पीडा

डा.कृष्णराज डी.सी.
डा.उपेन्द्र प्रसाद देवकोटा नेपालका स्वनामाधन्य वरिष्ठ न्यूरो सर्जन थिए । एसिया क्षेत्रमै नाम कमाएका डा.देवकोटा अरुको अनुभूतिमा के–कस्ता थिए ? मलाई थाहा भएन तर मेरो अनुभूतिमा उनको विज्ञता हात्तीको देखाउने दाँतजस्तै नक्कली रहेछ ।

घटनाक्रमअनुसार नर्भिक अन्तर्राष्ट्रिय हस्पिटल काठमाडौंमा डा.देवकोटा, डा.पवन सुल्तान र डा.प्रकाश देवकोटाको समूहले वि.सं. २०६३ असार १३ गतेका दिन मेरो ज्येष्ठ सुपुत्र पद्युम्नराज डी.सी.लाई नजरअन्दाजका भरमा स्पानलकर्डमा सल्यक्रिया गरेर उनलाई अपाङ्ग समेत गराइदिए ।

‘चोक्टा खान गएकी बूढी झोलमा डुबी’ भनेझैँ नाम चलेको डाक्टरसँग स्वास्थ्य सेवा लिन गएको एउटा स्वस्थ व्यक्तिलाई अनाहकमा सल्यक्रिया गरिदिएर डा.देवकोटाले आफ्नो विज्ञता होइन अयोग्यता र असक्षमताको प्रदर्शन मात्र गरेनन् बरु विभिन्न आलटाल गरेर मेरो छोरामाथि अन्याय समेत गरे ।

तर, आज डा.उपेन्द्रप्रसाद देवकोटा स्वर्गारोहण भइसके पनि डा.पवन सुल्तान र डा.प्रकाश देवकोटाले आफ्नो गल्ती र कमजोरीको नैतिक जिम्मेवारी लिनुपर्छ होला भन्ने मलाई लाग्दछ । डाक्टरहरुको मात्र कुरा होइन नर्भिक हस्पिटलका सञ्चालकले समेत यसको नैतिक जिम्मेवारी लिनुपर्छ । तर, यो देशमा भूमाफिया र मेडिकल माफियाहरुलाई कसले छुन सक्छ र ? यसै सन्दर्भलाई प्रस्तुत लेखमा हालै विष्णुकुमार देवकोटा सरले भोग्नुपरेको पीडालाई समेत सम्बद्ध गरिएको छ ।

‘विष्णुकुमार देवकोटा’ नेपाल सरकारको सहसचिव पदबाट सेवानिवृत्त राष्ट्रसेवक हुनुहुन्छ साथै प्रादेशिक अस्पताल तुलसीपुरको अस्पताल विकास समितिका पूर्व अध्यक्ष र हाल : राप्ती बबई क्याम्पसको सञ्चालक समितिका अध्यक्ष पनि हुनुहुन्छ । नाम र स्वभाव दुवैका कारणले उहाँ सबैको आँखाको नानीमा राखे पनि नबिझाउने व्यक्ति हो, मेरो अनुभूतिमा । तर, त्यस्तो व्यक्तिको एउटा पीडादायी लेख ‘गोरक्ष राष्ट्रिय दैनिक’ वर्ष १६ अङ्क ५६ को २०७७ असोज २६ गते सोमवारमा पढ्ने क्रममा ः मेरो पुरानो तर अतिगहिरो घाउ मर्मस्थलमै दुख्यो ।

एउटा जिम्मेवार पिताको हैसियतले आफ्नै बुहारीले भोग्नुपरेको प्रसव पीडालाई पाठकवर्ग समक्ष राखेर चिकित्सकको दम्भ र उनीहरुको लापर्वाहीको कारणले जनमानसमा पर्न जाने दुस्प्रभावका बारेमा देवकोटा सरले सबैलाई सचेत गराउनुभयो । उता नेपाल सरकारका वरिष्ठ सचेत चिकित्सक डा. गोविन्द के.सी.को १९औँ अनसन तोडाएर नेपाल सरकारले २०७७÷०६÷२५ गते २८ दिने लामो आमरण अनसनबाट के.सी.को माग पूरा गर्न आठबुँदे सहमतिमाथि हस्ताक्षर गरेको छ । तर, यहाँका नेताहरुको दुर्दम्भवका कारणले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्ता प्राज्ञिक संस्थानहरु ओझेलमा परेका छन् ।

जनता पीडा खेप्न विवश छन् । हास्यास्पद तिनैले आफूलाई जनसेवी ठान्दछन् । डा.के.सी.को माग पूरा गर्ने सहमति नेपाल सरकारले गरेपश्चात राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले नयाँ काँचुली फेर्ने सुनौलो सपना देखेको छ र उक्त सहमतिको प्रतिष्ठानले हृदयतः स्वागत पनि गरेको छ । अब निकट भविष्यमै एम.बि.बि.एस.को पढाइ सञ्चालन गर्ने अपेक्षा यस प्रतिष्ठानले पनि राखेको छ । गरीबको स्वास्थ्यसेवाको लागि डा.के.सी.को त्याग भगवान् श्रीकृष्णकै अवतार माने पनि अतिशयोक्ति हुन्छ जस्तो मलाई लाग्दैन । उहाँको मागअनुसार अब देशभरि स्वास्थ्य क्षेत्रमा एउटा नयाँ आशाको किरण पलाएको छ ।

नेपालका स्वनामधन्य प्राज्ञिक डाक्टरहरुमा डा.बाबुराम भट्टराई जो डा.उपेन्द्र देवकोटाका आत्मीय मित्र हुनुहुन्छ, उहाँको नाम आउँछ तर उहाँ विरामीको सेवा गर्ने डाक्टर (चिकित्सक) बन्नु भएन । तर, डा. उपेन्द्र देवकोटा वरिष्ठ न्यूरो सर्जन बनेर आफू बाँचुञ्जेल विरामीको सेवा गर्नुभयो । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष वरिष्ठ मुटुरोग विशेषज्ञ तथा वरिष्ठ सर्जन प्रा.डा. भगवान् कोइराला जो तीन करोड नेपाली मुटुका भगवान् हुनुहुन्छ । यी दुवैथरिका सबै डाक्टरहरुलाई मैले भेटेको छु । तर, डा. बाबुराम भट्टराईको (Doctor of Philosophy) मा मान्छेको उपचार गरेर उनीहरुलाई निरोगी बनाउने चिन्तन भने भेटिएन बरु रामायण÷महाभारतका युद्धकथाहरुलाई नै उहाँले आदर्श मान्नुभयो ।

डा.गोविन्द के.सी. को उपमा दिने व्यक्ति मेरो अध्ययनमा नेपालमा ६ जस्तो मलाई लाग्दैन । म के.सी.लाई भारतीय पूर्व राष्ट्रपति ‘अब्दुल कलाम’, नोवेल पुरस्कार विजेता महिला ‘मदर टेरेसा’ र गौतम बुद्धकै करिब–करिब हाराहारिको व्यक्ति ठान्दछु । उहाँलाई राजनीतिक रङ लगाउनु घोर मानवता विरोधी कार्य हो । प्रा.डा. भगवान् कोइराला कलियुगका वास्तविक भगवान् नै हुनुहुन्छ तर भन्न त उहाँ भन्नुहुन्छ ‘मेरो नाम मात्र भगवान् हो, वास्तविक भगवान् त माथि छन्’ डा.कोइरालामा मैले घमण्डको लेस पनि भेटाइनँ ।

तर, प्रा.डा. उपेन्द्रप्रसाद देवकोटा उहाँको स्वर्गारोहण त भइसक्यो, उहाँको व्यक्तित्व भने विष्णुकुमार देवकोटा सरले अनुभूति गरेको डाक्टरहरुको (चिकित्सकको)झैँ मैले पनि कटुअनुभव गरेँ । यो अनुभूति लेख्ने प्रेरणा आज विष्णुकुमार देवकोटा सरको ‘स्वास्थ्य सेवाको यथार्थ धरातल’ शीर्षकको लेखले मलाई प्रदान गरेको छ । यति मात्र होइन म एउटा नालायक पिता रहेछु भन्ने समेत अनुभूति बल्ल उक्त लेख पढेपछि मैले गरेँ ।

म नालायक पिता किन ?

मलाई माफ गर्नुहोस् !

डा.उपेन्द्र देवकोटाज्यू, स्वर्गमा तपाईँको आत्मलाई शान्ति मिलोस् । म भगवान्सँग प्रार्थना गरिदिन्छु । श्रद्धेय पाठकवर्ग, कुरा २०६३ साल असार १३ गतेको हो । म एसियाक्षेत्रकै प्रसिद्ध न्युरो सर्जन कहलिएका डा.उपेन्द्र देवकोटाकहाँ मेरो जेठो छोराको टाउको दुखेको समस्या लिएर गएँ । उहाँले आफूलाई अत्यन्त व्यस्त देखाएर मसँग कुरा नगर्ने अठोट गर्नुभयो । मेरो छोरालाई जाँचेपछि -MRI_ गर्ने सल्लाह दिनुभयो ।MRI Report  df -Normal MRI Study_) लेखेको थियो तर डा.उपेन्द्रप्रसाद देवकोटाले ‘पानीको फोको छ अपरेशन गर्नुपर्छ भनेर मलाई भन्नुभयो ।

तर अहिले म व्यस्त छु मेरो सहयोगी सी.बी. कार्कीलाई भेट्नुहोस् सबै उहाँले सल्लाह दिनुहुन्छ भनी मलाई नर्भिक हस्पिटलमा पठाउनुभयो । कार्कीलाई भेटेपछि कार्कीले ‘यो (१०) मिनेटको काम हो सामान्य किसिमको अपरेशन हो ।’ भनी बताए । नर्भिक हस्पिटलमा छोरालाई अपरेशनको लागि भर्ना गरियो (१०) मिनेट भनेको (१२) घण्टा लगाएर डा.उपेन्द्रले अपरेशन गरिदिनुभयो । २०६२ असार १४ गते पुनः छोराको अपरेशन उहाँले नै गरिदिनुभयो ।

यसरी पटकपटक अपरेशन गरी कुनै खास समस्या नै नभएको छोरालाई उहाँले एक महिना नर्भिक अस्पतालमा राखेर ‘ह्विलचियरमा’ बसाएर घर पठाउनुभयो । उहाँको समूहमा डा.पवन सुल्तान र डा.प्रकाश श्रेष्ठ गरी उहाँ सहित तीन जना हुनुहुन्थ्यो । साथीहरुले न्यायालय जाने सल्लाह दिनुभयो, सञ्चार माध्यममा जाने पनि सल्लाह दिनुभयो तर मैले प्रा.डा. उपेन्द्रप्रसाद देवकोटालाई भगवान्जस्तै मानी उहाँको विपक्षमा कतै गइनँ । उहाँले मलाई ढाँटी–ढाँटी समय गुजार्नुभयो । कहिले बेलायतको डाक्टर बोलाउने नाटक गर्नुभयो र तीन वर्षपछि मात्र उहाँले मसँग माफी मागेर भन्नुभयो – ‘मैले गल्ती’ गरेँ ।

तर उहाँले गरेको गल्ती के हो ? भन्नुभएन । आखिर छोरालाई अशक्त गराइदिनुभयो । ४÷५ वर्षपछि विष्णुकुमार देवकोटा सरलाई लिई मित्र दीपक गौतम र भाइ युवराज डी.सी. सहित हामी ४÷५ जना उपेन्द्र देवकोटालाई भेट्न गयौँ, उहाँले आफ्नो कुनै कमजोरी स्वीकार्नुभएन । बरु छोरालाई जागिरी दिने लोभ देखाउनु मात्र भयो तर केही दिनुभएन । तर अहिले १५ वर्षपछि मात्र म यो समस्या सार्वजनिक यदि गर्दै छु भने म नालायक पिता नभएर अरु के हुनसक्छु ? उहाँ विशेषज्ञ वरिष्ठ न्यूरो सर्जनले मेरो छोरामाथि ठूलो अन्याय त गर्नुभयो भयो तर म किन ?

चुप लागेँ कुनै कानुनी उपचार वा नैतिक प्रश्नको दैलोमा म किन पुग्न सकिनँ ? भन्ने सहास आज बल्ल देवकोटा सरको उपर्युक्त पीडादायी लेखले मलाई जगायो । देशको त्यति सचेत तथा जिम्मेवारी बोकेका व्यक्तिमाथि त डाक्टरहरुले त्यति ठूलो लापर्वाही÷अन्याय गर्दारहेछन् भने म जस्तो सामान्य÷निरीह व्यक्तिमाथि प्रा.डा. उपेन्द्रप्रसाद देवकोटाले आफूखुशी नगर्ने कुरै भएन । बाबुको लोसेपनको कारणले जीवनमा ठूलो चोट परेको अनुभूति मेरो छोराले गरेका छन् । अपरेशनको समयमा मात्र उनी तेह्र वर्षका थिए ।

जसबेला उनी ‘माउन्टभ्यूमा’ कक्षा ७ मा अध्ययनरत थिए । तर दृढ सहास तथा प्रवल इच्छाशक्तिका कारण आज उनी क्ष्।क्अ द्य।द्य।ब् उत्तीर्ण गरी एम.बि.एस. फाइनलमा पढ्दै छन् र माच्छापुच्छ«े बैंकमा स्थायी जागिरदार पनि भएका छन् । त्यसको सम्पूर्ण शक्ति स्वयम् उनकै सहास हो । अहिले तुलनात्मक रुपमा अलि सन्तोष त लागेको छ तर म हुस्सु भएको परिणाम उनले जीवनभरि भोग्ने भए ।

आज विष्णु देवकोटा सरकारि बुहारी जसले ठूलो क्षति व्यहोर्नुभयो तर डाक्टर साहबको ‘सरी’ शब्दले कसरी उहाँको क्षतिपूर्ति हुनसक्छ होला र ? यी त सचेत नागरिकका पीडा भएकाले सञ्चार माध्यममा प्रकाशित भए तर म जस्ता हुस्सूका पीडाहरु सञ्चार माध्यममा सम्प्रेषण हुन सकेनन् । आज स्व.उपेन्द्र देवकोटाले आफ्नो त्रुटिबोध अवश्य गर्नुभएकै होला किनभने मानिसको आत्म अमर हुन्छ । विष्णुकुमार देवकोटा सर ! म तपाईँको पीडाप्रति तपाईँ जत्तिकै दुःखी छु तर उक्त पीडालाई छापामा ल्याएकोमा तपाईँप्रति उच्च सम्मान पनि प्रकट गर्दछु ।

हुन त डाक्टर अलौकिक शक्ति भएका व्यक्ति त होइनन् प्रयास गर्दागर्दै त्रटि हुने स्वाभाविक कुरा हो । तर, लापरवाही गरी कसैको जीवन बर्बाद गराइदिने कम श्वेतवस्त्रधारी व्यक्तिबाट यदि हुन्छ भने सर्वसाधारण व्यक्ति जाने ठाउँ कहाँ हो ? कानुनी रुपमा मात्र संरक्षण खोजने होइन नैतिक रुपमा पनि सम्मानित र सुरक्षित बन्नुपर्छ होला ? डाक्टर साहब ! प्रा.डा. भगवान् कोइराला जसले इमानको गहाना लगाउनुभएको छ ।

उहाँले खुलस्त कुरा गर्नुहुन्छ उहाँको बोली र व्यवहारमा समानता छ । मेरो माहिलो छोरोको मुटुको अपरेशनपूर्व उहाँले खुलस्त कुरा गरी उनको मुटुको अपरेशन सफलतापूर्वक सम्पन्न गरी नयाँ जीवन दिनुभयो म उहाँलाई भगवान् किन नभनुँ ? तर डा.उपेन्द्रप्रसाद देवकोटामा मैले नजरअन्दाज गर्ने प्रवृत्ति भेटाएँ । आत्म साक्षी राखेर मन, वचन र कर्मले प्रयास गर्दागर्दै यदि असफल भएमा हामीले डाक्टरहरुलाई दोषारोपण गर्नु हुँदैन । विष्णुकुमार देवकोटा सरले पनि डा.सुरेशकुमार कनोडियाको टिमलाई उच्च सम्मान व्यक्त गर्नुभएको छ ।

निष्कर्ष :

निष्कर्षमा भन्नुपर्दा देवकोटा सर ! अब उप्रान्त यस्तो स्वास्थ्य सेवा कसैले भोग्नु नपरोस् जुन तपाईँ र स्वयम् मैले हामी दुवैले भोग्यौँ । डाक्टर साहबहरु सरस्वतीका बरदपुत्र हुनुहुन्छ, उहाँहरुमा आर्थिक पक्षभन्दा नैतिक पक्ष प्रवल बनोस् । हाम्रो यही प्रार्थना छ । कम्तिमा चिकित्सकको कारणले विरामीलाई दुर्नियति भोग्नु नपरोस् ।

आदर्शको आवरणले लापरवाहीलाई कदापि छोप्न सक्तैन भन्ने हेक्का राख्नुपर्ने छ डाक्टरसाहबहरुले । अनभिज्ञ विरामी र उहाँका अभिभावकहरुप्रति तपाईँहरु इमानदार बनिदिनुहोस् । यसो भयो भने डा. गोविन्द के.सी.को सम्मान तपाईँलाई स्वतः प्राप्त हुने छ । महर्षि पतञ्जली, स्वामी रामदेव, स्वामी बालकृष्ण आचार्य आदिको निःस्वार्थ सेवालाई पनि सम्झिने कि ?