कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ,२६ असोज । कर्तव्य ज्यान मुद्दाका एकजना फरार प्रतिवादीलाई प्रहरीले रोल्पवाट पक्राउ गरेको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका– ११ कटाँहा निवासी ५१ बर्षीय टेकबहादुर केसीलाई प्रहरीले रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं. ३ मा रहेका रोल्पा सिमेन्ट उद्योगबाट पक्राउ गरिएको दाङका प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले जानकारी दिएका छन् ।

२०६१ साल चैत २९ गते केसी विरुद्ध सर्वौच्च अदालतले कतव्र्य ज्यान मुद्दामा दोषी ठहर गर्दै १० बर्ष कैदको फैसला सुनाएको थियो । त्यसपछि उनी फरार रहँदै आएका थिए । फरार प्रतिवादीलाई खोजीका क्रममा असोज २३ गते उनलाई पक्राउ गरेको प्रवक्ता खड्काले जानकारी दिएका छन।

फरार प्रतिवादी केसीले सिमेन्ट उद्योगमा लुकीछिपी काम गरिरहेको भन्ने सूचनाका आधारमा पक्राउ गरिएको डिएसपी खड्काले जानकारी दिएका छन् । रोल्पावाट दाङ ल्याएर प्रतिवादी केसीलाई असोज २५ गते दाङ देउखुरी जिल्ला अदालतमा उपस्थित गराएको र अदालतको आदेश अनुसार तोकिएको कैद भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।