दाङ,२२ असोज । दाङको घोराही उपमहानगरपालिका– १४ स्थीत कृषि उपज बजार संचालक समिति सब्जीमन्डीमा रहेका तरकारी व्यवसायीहरूको स्वास्थ्य सुरक्षाका लागि किसान परियोजनाले विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
कोरोना महामारीबाट जोगिएर दैनिक जीवनयापन चलायमान बनाई राख्न तथा कोरोना भाइरसको जोखिम कम गर्ने उद्देश्यले बुधबार कृषि उपज बजार संचालक समितिको कार्यालयमा एक कार्यक्रम गरी किसान परियोजना २ दाङले समिति अध्यक्ष गुलाम रसुललाई विभिन्न स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको हो ।
त्यस अवसरमा कार्यक्रम संयोजक सुधा मिश्रा, भाष्कर गौतम र प्रविण उपाध्याय लगायतले कोरोना महामारीका बीच पनि विशेष स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर दैनिकी अघि बढाउने सन्दर्भमा कसैबाट पनि सामान्य लापरवाही भए महामारीको स्थीति अझ जटिल बन्न सक्ने हुँदा सबैले आ आफ्नो स्थानबाट सकारात्मक भूमिका खेल्नु जरुरी रहेको बताएका थिए ।
परियोजनाले सब्जीमन्डीलाई ५० बोटल सेनीटाइजर, ५० पाकेट मास्क, ५० थान फेसियल मास्क, १ थान सेनिटाइजिङ मेसिन पनि सहयोग हस्तान्तरण गरेको छ । कोरोना भाइरसको जोखिमका बेला त्यसबाट बच्दै व्यापार व्यवसायमा लाग्न स्वास्थ्य सामग्री सहयोग गरेर हौसला प्रदान गरेको भन्दै सहयोगी संस्था किसान परियोजना २ दाङलाई कृषि उपज बजार संचालक समितिले धन्यवाद दिएको छ ।