दाङ,२२ असोज । दाङमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट घोराही निवासी एक महिलाको मृत्यु भएको हो । घोराही उपमहानगरपालिका वडा नं. १५ निवासी ३५ वर्षीया महिलाको बाँकेस्थित भेरी अस्पतालमा बुधवार दिउँसो ३ बजे मृत्यु भएको हो ।
उनलाई असोज १८ गते नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । सोही दिन राति ११ स् ४५ बजे उनलाई नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना गरिएको थियो ।
ती महिलाको फोक्सोमा गम्भीर प्रकृतिको निमुनियाका कारण मृत्यु भएको बताइएको छ । महिलामा कोरोना संक्रमन बाहेक त्यो भन्दा अघि कुनैपनि स्वास्थ्य समस्या थिएन । त्यस्तै देउखुरीमा कोरोनाबाट एकजना महिलाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको छ । राप्ती गाउँपालिका–८ निवासी ७१ वर्षीय महिलाको मृत्यु भएको हो ।
अस्पतालले बुधबार प्रेस विज्ञप्ति जारी गरी अस्पतालको फिबर क्लिनिकको आइसोलेसनमा उनको मृत्यु भएको पुष्टि गरेको थियो । असोज १७ गते कोरोना पोजेटिभ पुष्टि भएकी ती महिला होम आइसोलेसनमा बसेकी र स्वास्थ्यमा समस्या आएपछि मंगलबार दिउँसो ४ बजे अस्पताल भर्ना भएकी थिइन ।
महिलामा श्वासप्रश्वास समस्या हुनुका साथै उच्च ज्वरो आएको थियो । योसंगै दाङ जिल्लाका ५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।