भालुवाङ, २१ असोज । लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती उपत्यका देउखुरी बनाउने निर्णयको स्वागतको लागि भालुबाङमा बृहत कार्यक्रम गरिएको छ । प्रादेशिक राजधानी सरोकार समितिले स्थायी राजधानी बनाउने निर्णयको स्वागतको लागि कार्यक्रम गरेको थियो ।
सरोकार समितिका संयोजक नारायण भुसालको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य एवम् पूर्वमन्त्री रेखा शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रादेशिक राजधानी बनाउन भूमिका खेल्ने प्रदेशसभा सदस्य, राजनीतिज्ञसहित अभियन्ताहरुलाई सम्मान गरिएको छ । ‘प्रदेश सरकार र प्रदेशसभाले न्यायपूर्ण निर्णय गरेको छ’, सांसद शर्माले भनिन्– ‘पूर्वमा नवलपरासीदेखि पश्चिममा बर्दियासम्मका जनताले न्याय पाउनु भएको छ ।’
अबको ध्यान राजधानी व्यवस्थापनमा केन्द्रित गर्न उनको सुझाव थियो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य गंगा थारु, हिराचन्द्र केसीले संघीयतालाई स्थापित गर्न सरकारले गरेको यो अभ्यास नमुना भएको तर्क गरे । कार्यक्रममा प्रदेश सभा सदस्य इन्द्रजित थारु, दामा शर्मा, दिपेन्द्र पुनले प्रदेश सरकारले १२ जिल्लाको भावना बुझेर सबैलाई पायक पर्ने ठाउँमा नयाँ शहरको कल्पनासहित स्थायी राजधानीको निर्णय टुंगोमा पु¥याएको बताए । ‘यो निर्णयले सबैको भावना समेटेको छ । सबै जिल्लाका नागरिकले अपनत्व गर्नेगरी हामी अघि बढेका हौं’, प्रदेशसभा सदस्य इन्द्रजित थारुले भने– ‘यो भूगोलले समग्र प्रदेशको प्रतिनिधित्व गर्छ ।’
उनले राजधानी सार्न नभई बनाउन लागिएकोले राप्ती उपत्यकाको देउखुरी क्षेत्रको भू उपयोग नीति बनाएर राजधानीको लागि भौतिक संरचना बनाउने बताए । ‘राप्ती नदीमा तटबन्धले उकासेको जग्गा राजधानीको लागि बढी प्रभावकारी हुन्छ, गुरुयोजना बनाएर मात्रै संरचना बनाउने काम हुन्छ’, उनले भने– ‘अर्घाखाँची, दाङको गढवा र राप्ती गाउँपालिका राप्ती तटीय क्षेत्र भालुवाङदेखि सिसहनियाँ क्षेत्रमा तटबन्धका कारण हजारौ बिगाहा जग्गा उकासिएको छ ।’
कार्यक्रममा लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसी, राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ति चौधरीले प्रादेशिक राजधानीको लागि पूर्वाधार बनाउने दायित्व र जिम्मेवारी बोक्न तयार रहेको बताए । ‘डिपिआर बनाएर एउटा सुन्दर सहरको योजना बन्नेछ’, लमही नगरपालिकाका प्रमुख केसीले भने– ‘राजधानीको लागि जस्तोसुकै त्याग गर्न पनि तयार छौं ।’ राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले तत्कालकै लागि नै भौतिक संरचना पूर्ण रहेको बताए ।
राप्ती प्राविधिक शिक्षालयले प्रयोग गरिरहेका ३५ वटा भवनलाई प्रयोग गरी गर्दा प्रदेशका सबैजसो कामकाज चलाउन सकिन्छ । अर्घाखाँची र दाङ गरी दुईवटा जिल्लासहितको भूगोललाई तोकेर राजधानी बनाउने निर्णयले राजधानी ठ्याक्कै कहाँनेर हुने एकिन नभए पनि राप्ती उपत्यका क्षेत्रको जुनसुकै क्षेत्रमा पनि राजधानीको लागि प्रशस्त जग्गा रहेको बताए ।
कार्यक्रममा नेपालक कम्यूनिष्ट पार्टी (नेकपा)का जिल्ला इञ्चार्ज जीवन गौतम, जिल्ला अध्यक्ष टीकाराम खड्का, नेपाली कांग्रेसका दुर्याेधन पाण्डे, संघीय समाजवादी पार्टी नेपालका होमप्रसाद शर्मा, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बीरु रावतलगायतका वक्ताहरुले प्रादेशिक राजधानीले संघीयतालाई स्थापित गर्न भूमिका खेलेको बताए ।
राप्ती उद्योग बाणिज्य संघका अध्यक्ष जगतप्रसाद पोख्रेलको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघका अध्यक्ष तथा सरोकार समितिका सचिव सविन प्रियासनले गरेका थिए ।