पार्वती बस्नेत
दाङ, १६ पुस । कुनै समय घर व्यवहार चलाउन अर्काको घरमा काम गर्ने गीता चौधरीको दैनिकी पछिल्लो समय बद्लिएको छ । निरन्तरको मेहनत, लगनशिलता र कामप्रतिको विश्वासले गीता सफल उद्यमी मात्रै बनेकी छैनन्, पछिल्लो समय गीताले अरुलाई रोजगारी समेत दिदै आएकी छिन् ।
साढे ४ विगाहा जग्गा भाडामा लिएर व्यावसायिक रूपमा तरकारी खेती, गन्जी खेती, तोरी खेती, किराना पसल, लोकल कुखुरा पालनसँगै बंगुर फार्म सञ्चालन गर्दै आएकी लमही नगरपालिका–८ गिधनिया निवासी गीताले कृषिमा गरेको सफलताका कारण राष्ट्रियस्तरको लघु उद्यम पुरस्कार समेत जित्न सफल भएकी छिन् ।
विगतमा अरुका घरमा काम गरेर गुजारा चलाउने गीताले अहिले आफ्नै खेतबारीमा काम गर्ने ६ जना मान्छे राखेकी छिन् । चार विगाह जमिनमा व्यवसायिक तरकारी खेतीसँगै पशुपालन गर्दै आएकी चौधरीलाई श्रीमान्ले पनि सघाउँदै आएका छन् । गाउँमा रहेको दाना उद्योगमा काम गर्दै आएका श्रीमान्ले साँझ र बिहानमा कृषि काममा सघाउँदै आएको गीता बताउँछिन् । व्यवसायिक रूपमा सफल भएकी गीताको विगत भने निकै संघर्षशिल छ ।
गरिबीका कारण घर व्यवहार चलाउन समस्या भएको समयमा श्रीमान्लाई सिकलसेल रोग देखिएपछि बिरामी श्रीमान्को स्याहार, काखकी छोरीलाई हुर्काउने दायित्व थपिएको थियो । आफ्नो विगत सम्झदा अहिले पनि आँखा रसाउने गरेको भन्दै उनी भन्छिन,‘आर्थिक रूपमा यति कमजोर भएकी गाउँमा मलाई सय रूपैयाँ सापटी दिनसम्म विश्वास गर्दैनथे, कुनै काम विशेषले गाँउघरमा जाँदा समेत पैसा माग्न आएकी हो कि भनेर ढोका थुनेर मानिस बस्ने गर्दथे तर आफूलाई घर व्यवहार चलाउनसँगै श्रीमान्को उपचारका लागि पैसाको आवश्यकता थियो ।’
उपचारका लागि धेरै पैसा सकिनुका साथै ऋण लागेपछि गीताले माइतीले टिका लगाएर पाएको १५ सय रूपैयाबाट पेटीमा चाउचाउ बिस्कुट राखेर व्यापारको सुरुवात गरेकी थिइन् । विगतमा पेटीमा गत्ता राखेर सुरु भएको व्यापार व्यवसाय अहिले सटरमा आइपुगेको छ । त्यही समयमा गीतालाई ग्रामीण महिला उत्थान केन्द्र दाङले सहयोग गरेको थियो । बिना धितो, समूह जमानीका आधारमा ५ हजार कर्जाबाट सुरुवात गरेको मेरो कारोबार ग्रामीण महिला उत्थान केन्द्र हुँदै आत्मनिर्भर लघुवित्त वित्तीय संस्थासम्म आइपुग्दा लाखाँै रूपैयाँसम्मको कारोबार गरिसकेको गीता बताउँछिन् ।
‘२०७० सालमा पाँच जना दिदिबहिनी मिलेर राप्ती महिला उत्थान केन्द्र समूह बनाएर मासिक ५० रूपैयाँ बचत गर्नलाई त्यो समय पैसा हुँदैन थियो’,गीताले विगत सम्झदै भन्छिन्,‘तर समूहमा बस्न थालेपछि प्रत्येक महिना पैसा जम्मा गर्नुपर्ने भयो र त्यसबाट बचत गर्न सिके । जसले मलाई व्यवसायमा समेत सहयोग ग¥यो ।’ त्यही व्यवसायबाट भएको आम्दानीले बस्नका लागि गाउँमै पक्की घर समेत निर्माण गरेको उनी बताउँछिन् ।
त्यसैगरी ६ कट्ठा एघार धुर जग्गा समेत जोड्न सफल एको बताउँछिन् । आर्थिक आम्दानी बढ्दै गएपछि उनले पसलसँगै तरकारी खेतीलाई समेत बढाउँदै लगिन । तर त्यसका लागि प्रसस्त जग्गा थिएन, त्यसैले वार्षिक साढे चार विगाहा जग्गा भाडामा लिएर, खुर्सानी, तोरी र सखरखण्डको खेती गर्दै आएको बताउँछिन् । शिवशक्ति कृषि तथा बंगुर फार्ममार्फत वयवसायिक रूपमा बंगुरपालन गर्दै आएकी छिन् । कुनै समय आर्थिक समस्याका कारण आफन्त, घरपरिवार र छिमेकबाट नपत्याइएकी गीताले सानो व्यवसायबाट राम्रो प्रगति गरेपछि गाउँमा उदाहरणीय पात्र समेत बनेकी छिन् ।