Goraksha

National Daily

देवीरामको डायरी : त्यो फेसबुक पोष्ट

देवीराम कुसारी

देशभरि लक डाउन भएका कारण दिनहरु प्रायः फुर्सदमा बित्ने गरेका छन् । हिजो/आज प्रायः फुर्सदको समय सामाजिक सञ्जालमा बढी प्रयोग हुने गर्दछ । यो पंक्तिकारका दिन पनि प्रयाः सामाजिक सञ्जालमै बित्ने गर्छ ।

गत जेठ १२ गते सोमवार ४ बजेतिर एक निद सुतेर व्यूँझिएपछि वाइफाई अन गरेँ । जब म्यासेञ्जर अन गरेँ म्यासेजका घण्टी लगातार बज्न थाले । यो मेरो लागि पुरानै प्रक्रिया हो, एक छिन् त म म्यासेजले मोवाइल ह्याङ भएर पर्खिए । एक छिनपछि म्यासेज हेरेर सबैभन्दा पछि आएको म्यासेज हिमाल वलीको रहेछ । पहिला त वलीको म्यसेजलाई त्यति वास्ता गरिनँ तर पनि के रहेछ भनेर मन नलगाई नलगाई हेरेँ । म्यासेज मलाई ९ पटकसम्म हेर्न अनुरोधका साथ साथी बन्ने प्रस्ताव आएको रहेछ । एक मनले सोचे साथी धेरै छन् किन स्वीकार्नु र फेरि मन फर्कियो । आखिर गाउँले हुन् स्वीकारे के भयो, मन मारेर म्यासेञ्जरको अनुरोध स्वीकारेँ । मैले हिमाल वलीको अनुरोधलाई के स्वीकारेको थिएँ– वलीको म्यासेञ्जरमा कल आइहाल्योे ।

कल पनि त्यत्ति मन नलगाएर रिसिभ गरेँ । कल के रिसिभ गरेर मामा दर्शन के गरेको थिएँ– मलिन स्वरमा आशीर्वाद सहित कारुणिक पीडाका पोका ओइरिन थाल्यो । हिमाल वली मामाले एक वर्ष अगाडि सिम्लामा रोजीरोटीको लागि दुई छोरी र श्रीमती सहित आएको, सिम्ला पुगेको केही महिनामै श्रीमती रुखबाट लडेर गर्धनको हड्डी भाँचिएको, सबै कमाई खर्च गरेर लगातार एक वर्षसम्म उपचार गर्दा पनि सञ्चो नभएको, अन्य खर्चको लागि ऋण समेत लिएको, हाल लकडाउनमा परेर विचल्ली भएको, खान, बस्नका लागि समेत समस्या परेको आदि लगातार सुनाउँदै जानुभयो । म भने पीडा सुन्दै उहाँको परिवारले विगतमा भोगको दुःखद् घटानालाई मानसपटलमा घुमाएर एकोहोरो भएछु ।

वलीले बीचमा भञ्जा भनेपछि म झसङ्ग भएँ र सुनिरहेझैँ गरी अँ अँ भन्नु मामा भने । वलीले फेरि पीडाका साथ रुँदै नेपाल घर फर्किनका लागि आवश्यक रकम जुटाउन पहल गर्न आग्रह गरे । सुरुमा त के सकिएला र भनेर त्यत्ति जाँगर लागेन । तर म ६ कक्षामा पढ्दा बन्कस दिएर वलीसँग किताबमा गाता हालेको घटना सम्झेँ । त्यो घटनाले मलाई खुब भावुक बनायो । एक समय मेरो किताबको सुरक्षाको लागि वलीसँग सहयोग माग्थे, आज वलीले त ज्यानको सुरक्षाको सहयोग मागेको बेला किन नगर्ने भन्ने मनमा प्रश्न उब्जियो । केही सोचिन मनमा भक्कानो छुट्यो र भक्कानिँदै भने– ‘मामा अहिलेबाट अभियान थालेँ ।’

हिमाल वली सुँक्क ! सुँक्क ! गर्दै बिदा हुनुभयो । मैले पनि आँसु पुछे । मेरी श्रीमती नर्मदालाई सबै कुरा सुनाएर नर्मलाले ‘मसँग दुई हजार पाँच सय छ दिम्’ भनिन्– मैले पनि ‘हुन्छ’ भने – अनि फेसबुकमा यो पोष्ट गरे ।

सहयोगको याचना गर्दछु । मनले मानेन २५ सय रुपैयाँ सहयोग गर्ने घोषणा गरे ।
घरका हुन् या समाजका जब जीवनमा समस्या पर्छ मबाट थोरै भए पनि आश गरेका हुन्छन् । यस्तै आश सहित सहयोगको याचना मेरा गाउँले नाताले मामा हिमाल वलीले सिम्लाबाट गर्नु भयो ।

बुढापाकाले जहाँनेर पात्लो हुन्छ त्यहीँनेर छिर पर्छ भनेझैँ– वेरोजगारका कारण आर्थिक समस्या परेपछि भारत पसेका दंगीशरण–२ वंगलापुर दाङका हिमाल वलीको परिवारको दिनचर्या सिम्लामा रोएरै वितिरहेको छ । खर्चको जोहो गर्न एक वर्ष अगाडि भारतको सिम्ला गएको वलीको ४ जनाको परिवार अहिले विचल्लीमा परेको छ । कमाउन भनि भारत गएका वलीकी श्रीमती गएको भदौमा सिम्लामै रुखबाट लड्नु भयो । अनि वलीको जीवनमा थप संकट आइलाग्यो । श्रीमतीको घाँटीको हाड भाँचिएकाले एक वर्षसम्म अस्पताल बस्दा पनि निको नभएपछि अहिले थलिएरै बस्नुभएको छ । उपचार गर्दा भारु अढाई लाख सकियो । विरामी श्रीमती, दुई छोरीलाई र आफू पालिनलाई अरु एक लाख ऋण लिनुभएको छ । अस्पतालले बिदा दिइसक्यो, लकडाउन छ, मासिक खाना र भाडामा ५ हजार खर्च हुन्छ । यहाँको प्रशासनले भाडा खर्च जुटा सीमासम्म जाने पास दिन्छु भनेको छ, तर मसँग उपाय छैन, श्रीमती बोल्नसम्म सक्दिनन् रुन्छिन्, छोरीहरु आँसु बगाइरहन्छन्, भाञ्जा केही उपाय लगाउ भनेर एकोहोरो वेदना सुनाएपछि मेरो पनि मनले मानेन । भलै चामल किन्ने तयार पारेको २५ सय रुपैयाँ दिने घोषणा गरेँ । अहिले उहाँलाई नेपाल आउन नेपाली ५० हजार आवश्यक पर्ने रहेछ । त्यसैले मेरा फेसबुक साथीहरुलाई हिमाल वलीको परिवार उद्धार कार्यमा सानै भए पनि सहयोग गरिदिन अपील गर्छु । सम्पर्क हिमाल वली भारत ९४५९८५०५३१ र नेपाल देविराम कुसारी ९८५७८२०७१६ ।

फेसबुकमा यो याचना पोष्ट गरेको केही वेरमै घोराहीबाट अधिवक्ता दिदी गोमा महराको फोन आयो –‘भाइ म तीन हजार सहयोग गर्छु ।’ अतिखुशी भएँ, म हौसिएँ । लगत्तै महिला अधिकारकर्मी अमृता बुथोकीको फोन आयो ‘दाइ म दुई हजार सहयोग गर्छु ।’ अमृतालाई धन्यवाद दिँदै थिएँ पत्रकार बहिनी पार्वती बस्नेतले एक हजार पाँच सय दिने बताउनुभयो । मनमा केही शीतला आयो । केहीले भन्दा रकम जम्मा भएन भने मेरो अभियान के होला अनि वली परिवारको कस्तो विचल्ली होला ? भनेर चिन्तित् थिएँ, तर दिदीबहिनीको दह्रिलो साथको सुरुवातसँगै म अझ हौसिएँ ।

अर्को दिन विहानै घोराहीबाट विना दिदीको फोन आयो–‘भाइ म पनि सहयोग गर्छु ।’ विणा दिदीले सहयोग मात्रै गर्नुभएन दाङ महिला जेसीजका पूर्व अध्यक्ष सञ्जिता गौतम, विन्दु गिरी, रेखा शर्मा, उपाध्यक्ष विष्णु थापा र वर्तमान जनसम्पर्क अधिकारी नमा अधिकारीलाई पनि अभियानमा सामेल गराउनुभयो । म खुब खुशी अनि उत्साहित भएँ । वर्षमा कम्तिमा यस्ता सहयोगका दुईवटा काम गर्ने मेरो वार्षिक लक्ष्य नै हुने गर्छ । तर यो अलि ठूलो थियो । मनमा केही डर कायमै थियो । रकम जुटाउन नसकिएला कि भन्ने । केही समयपछि फेरि फेसबुक अपडेट गर्दा तुलसीपुरका युवा प्रतिष्ठित व्यापारी दाइ ललितजंग शाहले आफू पनि सहयोग गर्न तयार रहेको जानकारी दिनुभयो । सामाजिक अभियन्ता गेहेन्द्र गिरी र दंगीशरण गाउँपालिकाका कर्मचारी प्रमोद गिरीले खातामा रकम जम्मा गरिदिएको जानकारी दिनुभयो ।

सहयोग आउने क्रम जारी र बढ्दै जाँदा ममा थप चुनौती आयो कि प्राप्त रकम जम्मा गर्ने । राति बहिनी अमृतासँग कुरा भयो, अृमताको सक्रियतामा सुर्खेतका युवा दायाराम राणा पनि अभियानमा सहभागी हुुनुभयो । क्रमशः अभियानले गति लिँदै गर्दा यही फेसबुकबाट मृत्युको मुखबाट दंगीशरण २ की लक्ष्मी विकको ज्यान बचाएको खुब याद आयो । त्यस क्षणलाई सम्झिएँ अनि आत्मबल बलियो बनाए । हारगुहार गरिरहेँ, केहीले अस्वीकार पनि गर्नुभयो । तर मेरो जीवनको अप्ठ्यारो क्षणमा साथ दिने सामाजिक अभियान्ता लोकमणि रेग्मी, मेरो क्लास मेट बैंकर्स विजय रसाइली, भाइ कौशलराज नेपाली, अमेरिकामा रहेकी भाञ्जी अस्मिता सैंजु, भाइ अलबहादुर खत्री, बुहारी पार्वती खत्री, आशीष श्रेष्ठजस्ता सहयोगी मन अभियानमा गाँसिदै जाँदा म लक्ष्य चुम्ने विश्वस्त हुँदै गएँ ।

फेसबुक नै हेरेर जापानमा बस्दै आइरहेका भाइ नारायण मगर पनि अभियानमा सामेल हुँदै गर्दा कोरियामा बस्दै आएका मेरो चेला नाताले साला पत्रकार बामदेव देवकोटाले कोरियामै अभियान थालेपछि हामी अब हिमाल वलीको परिवार उद्धार कार्यमा सफल हुँदै छौँ । यसरी अभियना सफल हुँदै गर्दा टरिगाउँका डम्बर बस्नेत, मृगौला पीडित गणेश नकालको जीवन बचाउन अभियानमा सहयोग गर्ने सबैलाई सम्झेको छु । हालसम्म करिब ४० हजार घोषण भएको छ भने ३४ हजार दुईसय जम्मा भइसकेको छ र बाँकी रकम जम्मा हुँदैछ । करिब ५५ देखि ६० हजारसम्म आवश्यक पर्ने अभियानका लागि दाङका युवा पत्रकार मेरो चेला लिलाधर वली र पत्रकार साथी नारायण वलीको सक्रियतामा वली समाजले पनि सहयोग गर्ने तयारीमा रहेको छ । आशा छ सबैको सहयोगले पीडित वली परिवारलाई उद्धार गर्न सकिने छ ।