Goraksha

National Daily

खाद्यलाई धान बेच्दैनन् कृषक

अमरराज आचार्य
दाङ, १३ मङ्सिर । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले धान खरिद गरिरहँदा धान पाउन सकेको छैन । कृषकले खाद्यलाई धान बिक्री नगर्दा खाद्यले धान लक्ष्य अनुसार खरिद गर्न नसकेको हो ।

अहिले पनि खाद्यले खरिद गर्नका लागि धान पर्खिरहेको बताए पनि कृषकहरू धान बिक्री गर्न नआएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय तुलसीपुरका प्रमुख तिलक सुनारले बताएका छन् । धान खरिदका लागि जिल्लाका विभिन्न स्थानसम्म खाद्य पुगेको भए पनि खरिद लक्ष्य अनुरूप धान पाउन नसकेको उनले बताए । हालसम्म गढवा, राजपुर र तुलसीपुरमा गरेर एक हजार ६ सय ३२ दशमलभ १४ क्विन्टल धान खरिद गरेको उनले जानकारी दिए । यो वर्ष जिल्लामा खाद्यले आठ हजार क्विन्टल धान गरिद गर्ने लक्ष्य लिएको थियो । ‘बिक्री गर्ने किसानसँग हामीले धान खरिद गरिरहेका छाँै, अब त किसान सम्पर्कमै आउनुहुन्न’, प्रमुख सुनारले भने ।

उनका अनुसार सरकारले तोकेकै मूल्यमा खाद्यले धान खरिद गर्दै आएको छ । गत कात्तिक २१ बाट धान गरिद गर्न सुरु गरिए पनि दिएको कोटा पूरा नहुँदासम्म धान खरिद गरिने छ । कृषकले खाद्यलाई धान नबेच्दा भने समस्या भएको प्रमुख सुनार बताउँछन् । उनका अनुसार धान खरिदका लागि स्थानीय तहसँग समन्वय गरिएको थियो । खाद्यले गढवा, राजपुर, लमही, राप्ती, घोराही र तुलसीपुरका खरिद केन्द्रबाट धान गरिद गर्दै आएको छ । खाद्यले एक जना कृषकबाट बढीमा ४० क्विन्टल धान खरिद गर्ने बताएको छ । धान खरिद गर्दा चिस्यान १८ प्रतिशतभन्दा कम, बाह्य पदार्थ मिश्रण दुई प्रतिशतभन्दा कम, टुक्रेको बिग्रेका दानाको मिश्रण पाँच प्रतिशत भन्दा कम भएको हुनु पर्ने छ । सबै धान एकनासको, नभिजेको सफा, किरारहित, ढुसी नपरेको हुनुपर्ने प्रमुख सुनारले बताए ।

केही वर्षदेखि जिल्लामा धान खरिद बन्द गरेको खाद्यले यस वर्ष धान खरिद गर्ने निर्णय गरेको थियो । यस वर्ष धान नपाएपछि आउदो वर्ष के गर्ने भन्ने अन्योलता रहेको खाद्यले बताएको छ । केन्द्रले धान खरिदका लागि परिपत्र गरेपछि धान खरिद गर्न सुरु गरिएको थियो । असोज २३ गते परिपत्र गरेर जिल्लामा आठ हजार क्विन्टल धान खरिद गर्ने भनेको हो । खाद्यले सरकारले ताकेकै मूल्यमा कृषकबाट धान खरिद गर्ने गरेको छ ।

खाद्यले दिने भन्दा व्यापारीले कम मूल्यमा धान खरिद गर्ने गरेको कृषकहरू बताउँछन् । सरकारले धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३४ सय १० रुपैयाँ निर्धारण गरेको छ । आर्थिक वर्ष २०८१÷०८२ का लागि मोटा धानको प्रतिक्विन्टल ३४ सय १० रुपैयाँ र मध्यम धानको मूल्य प्रतिक्विन्टल ३५ सय ८० रुपैयाँ तोकेको छ । यस वर्ष दाङमा ३७ हजार दुई २५ हेक्टर जमिनमा धान रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र दाङका अनुसार उक्त जमिनमा धान रोपाइँ भएको हो । गत वर्ष ३५ हजार तीन सय ८४ हेक्टरमा धान रोपाइँ भएको थियो ।

केन्द्रका अनुसार तुलसीपुर उपमहानगरपालिकामा आठ हजार तीन सय १५, घोराही उपमहानगरपालिकामा सात हजार एक सय ७३, दंगीशरण गाउँपालिकामा पाँच हजार सात सय ६८, राप्ती गाउँपालिकामा तीन हजार पाँच सय ७६, लमही नगरपालिकामा तीन हजार चार सय ६० र बबई गाउँपालिकामा दुई हजार चार सय सात हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो । यसैगरी गढवा गाउँपालिकामा दुई हजार एक सय १५, शान्तिनगर गाउँपालिकामा एक हजार आठ सय ७०, राजपुर गाउँपालिकामा एक हजार चार सय ९९ र बंगलाचुली गाउँपालिकामा एक हजार ४२ हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो ।

ज्ञान केन्द्रका अनुसार दाङमा धानखेती हुने ३९ हजार चार सय हेक्टर भए पनि तरकारी खेती पनि हुने भएकाले धानखेती हुने क्षेत्रफललाई ३७ हजार दुई २५ हेक्टर मानिएको छ । रोपाइँको क्षेत्रफल गत वर्षभन्दा बढेकोले मौसम अनुकूल भएमा र सिँचाइ, मललगायतको व्यवस्थापन राम्रो भएकाले धान उत्पादन बढेको कार्यालयको बताएको छ ।