शिक्षा र विकासमा राजनीति नगरौँ : नेता गिरी
खेमराज रिजाल
तुलसीपुर, १३ मङ्सिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वमन्त्री एवम् निर्वाचन क्षेत्र नम्बर ३ का सांसद दीपक गिरीले शिक्षा क्षेत्र र विकास पुर्वाधारमा राजनीति नगर्न आग्रह गरेका छन् । शिक्षा र विकास सबै जनताको साझा चासो भएकाले यसलाई साझा एजेन्डाका रूपमा अघि लैजान सबै राजनीतिक दलको ऐक्यबद्धताको नेता गिरीले अपेक्षा गरेका छन् ।
राप्ती बबई क्याम्पसको ३४औँ स्थापना दिवस तथा १९औँ साधारणसभामा प्रमुख अतिथिको मन्तव्य दिँदै नेता गिरीले राप्ती बबई क्याम्पसको स्थापनाकालदेखि नै यसको स्तरोन्नतिका लागि आफूले अनवरत रूपमा क्रियाशील रहँदै आएको अभिव्यक्ति दिए । ‘यो राप्ती बबई क्याम्पस पश्चिम दाङको मात्र नभएर समग्र राप्तीकै गहना हो, यसमा कसैले राजनीति नगरौँ, यसको स्तरोन्नतिमा हामी जसरी एकबद्ध भएर लागेका छौँ यसलाई सधैँसधैँ कायम राखौँ’, प्रमुख अतिथि गिरीले भने । यस क्षेत्रका सबै शिक्षाप्रेमीहरूको साझा प्रयासका कारण राप्ती बबई क्याम्पसले अहिले गुणस्तर सुनिश्चितताको प्रमाणपत्र पाउन सफल भएको भन्दै प्रमुख अतिथि गिरीले अब यसलाई त्रिभुवन विश्वविद्यालय वा मध्यपश्चिम विश्वविद्यालयको आङ्गीक क्याम्पसका रूपमा स्थापित गर्न सबैको हातेमालो आवश्यक रहेको बताए ।
प्रमुख राजनीतिक दलका हामी सांसदको ऐक्यबद्धताका कारण अहिले अलपत्र परेको घोराही तुलसीपुर सडकको पुनः स्तरोन्नतिका लागि ठेक्का प्रक्रियाको बाटो खुलेको बताउँदै उनले अब तुलसीपुरको टरिगाउँ विमानस्थलको स्तरोन्नतिका लागि अर्थपूर्ण पहल गर्ने बताए । ‘मैले भर्खरै सुनेँ, अर्थमन्त्रालयले घोराही–तुलसीपुर चारलेन सडक स्तरोन्नतिका लागि पुनः ठेक्का प्रक्रियामा जान स्रोत सुनिश्चितता गरेको छ, जुन हामी यस जिल्लाबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरूको साझा पहलले सम्भव भएको हो’, नेता गिरीले भने, ‘अब टरिगाउँ विमानस्थलको स्तरोन्नतिको माग लिएर म र शंकर पोख्रेलजी प्रधानमन्त्रीलाई भेट्न जाँदै छौँ । यसैगरी एक फरक प्रसङ्गमा उनले अहिले मुलुलाई राजनीतिक स्थायित्व दिन संविधानमा पुनरावलोकन गर्न आवश्यक रहेको बताए । ‘यो संविधानलाई राम्रो बनाउन खोज्दाखोज्दै उट जस्तो भयो, अब यसलाई समयानुकूल केही बुँदागत परिमार्जन गर्न आवश्यक छ’, नेता गिरीले भने ।
कार्यक्रममा विशिष्ट अतिथि तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य गेहेन्द्र गिरीले परम्परागत शिक्षा नीतिका कारण अहिले मुलुकमा युवाहरू पलायन भइरहेको बताउँदै यसलाई परिमार्जन गरेर टिक्ने र बिक्ने शिक्षाको अवधारणा ल्याउनु पर्ने बताए । साथै यो क्याम्पसमा अझै पनि भौतिक पूर्वाकार निर्माणमा धेरै गर्न बाँकी रहेको बताउँदै विशिष्ट अतिथि गिरीले यसलाई सक्दो चाँडै कुनै पनि विश्वविद्यालयको आङ्गीक क्याम्पसका रूपमा स्थापित गर्न आफूले जोडदार पहल गर्ने बताए ।
३४सौँ स्थापना दिवसका अवसरमा सहभागी अन्य वक्ताले यस क्याम्सलाई त्रिभुवन विश्वविद्यालयको आङ्गीक क्याम्यसको रूपमा विकास गर्नु पर्ने बताएका छन् । राप्ती बबईक्याम्पस सञ्चालक समितिका अध्यक्ष श्यामकुमार रेग्मीको अध्यक्षतामा सम्पन्न स्थापना दिवस तथा साधारणसभामा विशिष्ट अतिथि विश्वविद्यालय अनुदान आयोगका सचिव शंकरप्रसाद भण्डारीले संस्थाहरूको उन्नति र प्रगति सामुदायिक प्रयासबाटै हुने भन्दै राप्ती बबई क्याम्पस धेरै कुरामा अगाडि रहेको बताए । उनले नेपालमा विभिन्न एक हजार चार सय ३२ वटा क्याम्पसहरू रहेको भन्दै त्यसमध्य एक सय नौ वटा मात्र उच्चस्तरीय संस्था रहेको बताए ।
उनल राप्ती बबई क्याम्पसले गुणस्तर सुनिश्चितता प्रत्यायन (क्यूएए) मूल्याङ्कनको प्रमाणपत्र प्राप्त गरेको बताए । सोही अवसरमा बोल्दै उनले व्यवस्थापन समिति र क्याम्पस प्रमुखको समन्वयले मात्र शैक्षिक संस्था अगाडि बढ्ने बताए । त्यस्तै भण्डारीले नेपालमा वार्षिक एक लाख १२ हजार विद्यार्थीहरू अध्ययका लागि बिदेसिने गरेको भन्दै बिदेसिएका विद्यार्थीलाई स्वदेशमा ल्याउन पहल गर्नु पर्ने बताए । उनले विद्यार्थीहरू बाहिरिएका कारणले चुनौती भने धेरै भएको बताए । उनले विद्यार्थीलाई उद्यमशीलतामा जोड्नु पर्ने सुझाव दिए । कार्यक्रममा संविधानसभा सदस्य बुद्धिराम भण्डारीले गुणस्तरीय शिक्षा दिएर क्याम्पसको विकासका लागि सबै लाग्नु पर्ने बताए ।
यसैगरी संविधान सभा सदस्य अनारकली मियाँले विगतमा आफूहरूले क्याम्पसको विकासका लागि सहयोग गरेको भन्दै आगमी दिनमा पनि गर्ने बताइन् । कार्यक्रममा प्रदेश सभा संसाद रेखा शर्मा, पूर्व नगर प्रमुख ढुण्डिराज लामिछाने, घनश्याम पाण्डेले पछिल्लो समयमा राप्ती बबई क्याम्पसको विकास विस्तार भएको भन्दै सोचे अनुरूप नभएको भन्दै यसको विकासमा आफूहरूले सहयोग गर्ने बताए । कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति जगतबहादुर खड्काले क्याम्पसमा गुणस्तरी र रोगगारमूलक शिक्षा आवश्यक रहेको बताए । यसैगरी नेकपा एमाले दाङका सचिव श्याम डाँगीले राप्ती बबई क्याम्पसका विकासका लागि कुनै एउटाले पहल गरेर नहुँने भन्दै सबैको साझा प्रयास आवश्यक रहेको बताए ।
कार्यक्रममा पूर्वसञ्चालक समितिका अध्यक्ष मानबहादुर डाँगी मेट्रो कलेजका प्रमुख बसन्त आचार्य, अक्षकोषदाता बलदेव शर्मा, राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य, नेकपा एकीकृत समाजवादीका दिलबहादुर पुन, गुरु जजुर माविका सहायक प्रधानाध्यापक प्रमोद न्यौपाने, प्रध्यापक भुपबहादुर बुढाथोकी, पूर्वनगरप्रमुख घनश्याम पाण्डे, ढुण्डीराज लामिछानेलगायतले बोलेका थिए । कार्यक्रममा क्याम्पसका पूर्वसञ्चालक समिति अध्यक्ष मानबहादुर डाँगीले आफ्ना स्वर्गीय सुपुत्र हिरा डाँगीको स्मृतिमा दुई लाख रुपैयाँको हिरा स्मृति पुरस्कार अक्षयकोष स्थापना गर्ने घोषणा गरेका थिए ।
क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष मिनराज वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा क्याम्पस प्रमुख गणेश पार्धेले क्याम्पसको प्रगति प्रतिवेदन प्रतुत गर्दै हाल क्याम्पसमा प्लस–टुतर्फ मानविकी समूह, शिक्षाशास्त्र व्यवस्थापन समूह, स्नातक तह मानविकी सङ्काय, शिक्षाशास्त्र र व्यवस्थापन सङ्काय र स्नातकोत्तर तह सेमेस्टर प्राणाली सन्ध्याकालीनमा मानविकी, शिक्षा र व्यवस्थापन सङ्कायमा दुई हजार छ जना विद्यार्थीले अध्ययन गरिरहेको बताए ।
आगमी शैक्षिक सत्रमा चार हजार पाँच सय पु¥याउने लक्ष्य रहेको बताए । आगामी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राप्ती बबई क्याम्पसले गुणस्तर सुनिश्चितता प्रत्यायन (क्यूएए) सन् २०२८ मा सुनिश्चितताको पुनः प्रमाणीकरणको प्रमाणपत्र प्राप्त गर्ने, मध्यपश्चिम विश्वद्यालयको आङ्गीक क्याम्पस बनाउन पहल गर्नेलगायतका कार्याक्रम प्रस्तुत गरेका थिए । सो अवसरमा क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष बिनिल केसीले क्याम्पसको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सभामा सञ्चालक समितिका अध्यक्ष रेग्मीले आफूले अनुशासन पारदर्शिता प्रमुख राखेको भन्दै सबैको साथ र सहयोग अनुसार अगाडि बढ्ने बताए । कार्यक्रममा विभिन्न क्याम्पसबाट प्रदान गर्ने छात्रवृत्तिहरू विद्यार्थीलाई प्रदान तथा विभिन्न प्रतियोगितामा सहभागी उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमको सहजीकरण राप्ती बबई क्याम्पसका पूर्व विद्यार्थी तथा रिपोर्टसर्् क्लबका लुम्बिनी प्रदेश अध्यक्ष शरद रेग्मीले गरेका थिए ।