Goraksha

National Daily

पहिचान र स्वास्थ्यका लागि तेक्वान्दो उत्तम : लुम्बिनी प्रदेशका अध्यक्ष रिजाल [अन्तर्वार्ता]

तुलसीपुरमा दोस्रो लुम्बिनी प्रदेश स्तरीय खुला तेक्वान्दो प्रतियोगिता २०८१ तीन दिनसम्म सञ्चालन भयो । प्रतियोगितामा करिब लुम्बिनी प्रदेशका आठ हजार खेलाडीको उपस्थिति थियो । तुलसीपुरको अरनीको मैदानमा नेपाल तेक्वान्दो संघ लुम्बिनी प्रदेशले प्रतियोगिता आयोजना गरी प्रतियोगिता भव्य र सभ्य रुपले सम्पन्न भयो ।

खेलकुद राष्ट्रको गौरव, सान, मान, पहिचान स्थापित गर्न सक्छ । खेलकुलको माध्यमबाट एउटा कुसल अनुशासित स्वास्थ्य शरीर, स्वास्थ्य मस्तिष्क भएको नागरिक उत्पादन गर्ने भए पनि खेलकुदलाई महत्व राज्यले दिन सकेको छैन । पछिल्लो समयमा लुम्बिनी प्रदेश त्यसमा पनि दाङको तुलसीपुरमा प्रदेश भरिका खेलाडी जम्मा गरेर यसको विकास र विस्तारका लागि प्रतियोगिता भइरहेको छ ।

यसै विषयमा नेपाल तेक्वान्दो संघ लुम्बिनी प्रदेशका अध्यक्ष बिमल रिजालसँग खेलकुद त्यसमा पनि तेक्वान्दोको महत्व, विकास, विस्तार र राज्यको दृष्टिकोण लगातको विषयमा गरिएको गोरक्षकर्मी बालाराम खड्काले गरेको कुराकानीको सार सङ्क्षेप ।

 सातावार्तामा यहाँलाई स्वागत छ ।

 मेरा कुराहरू राख्न दिएकोमा यहाँको पत्रिकालाई धेरै धेरै धन्यवाद ।

 लुम्बिनी प्रदेशका कति खेलाडी प्रतियोगितामा सहभागी भए र कस्तो रह्यो ?

 तुलसीपुरमा दोस्रो लुम्बिनी प्रदेश स्तरीय खुला तेक्वान्दो प्रतियोगिता हामीले सम्पन्न गरेका छौँ । यसमा करिब साढेसा सय खेलाडी र ३५ जना प्राविधिक यहाँ सहभागी थिए । हामीले नेपाल तेक्वान्दो संघको क्यालेन्डर अनुसार नै कार्यक्रम तथा प्रतियोगिता सञ्चालन गर्ने गरेका छौँ । यस अघि पनि हामीले प्रतियोगिता सञ्चालन गरेका थियौँ ।

यो दाङ त्यसमा पनि तुलसीपुरमा हुँदा यहाँको व्यापार तथा पर्यटन प्रवर्धनमा टेवा पुगेको छ भने खेलाडीलाई थप उत्साहित गराएको छ । यसमा हामीलाई कसैबाट पनि सहयोग छैन, हामी आफैँले आर्थिक जोहो गरेर यो प्रतियोगिता सम्पन्न गरेका छौँ । हामीले यो प्रतियोगितामा भएका खर्च एक वर्षसम्म तिरिसक्ने छौँ । हामीले अहिले डिभाइस सिस्टमबाट प्रतियोगिता सञ्चालन गरेका थियौँ ।

 लुम्बिनी प्रदेशको कति जिल्लामा नेपाल तेक्वान्दो संघ गठन भएको छ अनि तिनको अवस्था कस्तो छ नि ?

 लुम्बिनी प्रदेशका हामी दुई जिल्लाबाहेक सबै जिल्लामा संघ गठन गरेका छौँ । हामीले कपिलवस्तु र रुकुम पूर्वमा बाहेक सबै जिल्लामा संघ गठन गरेरका छौँ र संघले तेक्वान्दो खेलको विकास र विस्तारका लागि खेलाडीको वृद्धि विकासका लागिपरेका छन् ।

 दोस्रो लुम्बिनी प्रदेश स्तरीय खुला तेक्वान्दो प्रतियोगिता अरनीको मैदानमा सञ्चालन गर्न कतिको सहज भयो ?

 अरनीको मैदान अझै पनि व्यवस्थित हुनसकेको छैन । त्यहाँ एउटा शौचालय नहुँदा हामीले प्लास्टिले बारेर खेलाडीलाई शौच गराउने अवस्था छ । यो पटक मौसमले साथ दियो होइन भने त्यहाँ हिलाम्मे हुने अवस्था थियो । यसको विकास विस्तारमा कसैको ध्यान जाँदैन । यो स्थानीय सरकारको जिम्मेवारी हो । खेल क्षेत्रको विकासका लागि राज्यले ध्यान दिन नसक्नु दुर्भायको विषय हो ।

 तुलसीपुर क्षेत्रमा तेक्वान्दो खेलका लागि कस्ता कस्ता संरचना छन्, राज्यको सहयोग के छ ?

 हामीले तुलसीपुर–८ मा कभर्डहल बनाएका छौँ । प्रदेश सरकारको सहयोगमा त्यो कभर्ड हल निर्माण गरेका हौँ । त्यस्तै अन्य तेक्वान्दो खेलकुदका सामग्री पनि खरिद गरेका छौँ । त्यो पनि हाम्रो व्यक्तिगत सम्पर्कका कारण होला नत्र सरकारले हामीलाई सोचे जस्तो सहयोग गरेको छैन ।

 राज्यले खेलकुदको विकासका लागि के–के गरेको छ ?

 राज्यले सोचे जस्तो हाम्रो मात्र होइन खेलकुद क्षेत्रलाई हेर्नसकेको जस्तो छैन । मानवीय विकासभन्दा पनि भौतिक विकासलाई महत्व दिने प्रचलन छ । शिक्षा, स्वास्थ्य तथा अन्य मानवीय विकासलाई खासै महत्व दिन नसकिएको हो कि भन्ने सबैमा महसुस हुने गरेको छ । खेलकुद राष्ट्रको गौरव, सान, मान, पहिचान स्थापित गर्न सक्छ , खेलकुलको माध्यमबाट एउटा कुसल, अनुशासित स्वास्थ्य शरीर, स्वस्थ मस्तिष्क भएको नागरिक उत्पादन गर्न सक्छ ।

स्वास्थ्य मस्तिष्कका लागि स्वास्थ्य शरीर हुन अत्यन्त आवश्यक छ । स्वास्थ्य शरीर नै एउटा मान्छेका लागि सुख हो, खेलकुदले मानव स्वास्थ्यका लागि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । खेलकुद क्षेत्रको विकासले सामाजिक एकता, भाइचारा र समृद्धिको आधारशीला तयार पार्ने हुँदा राज्यले खेलकुद विकासका लागि ठोस नीति र दृष्टिकोण बनाएर अगाडि बढ्न आवश्यक देखिन्छ । विकासका पूर्वाधार बाटो–घाटो, पुलपुलेसालाई मात्र लिने र बुझ्ने गरिन्छ । खेलकुदको विकासमा राज्य तथा स्थानीय निकायले खासै चासो दिएका छैनन्, खेल मानव जीवनको एक महत्वपूर्ण अङ्ग हो । हरेक प्रकारका शारीरिक, मानसिक, मनोवैज्ञानिक र बौद्धिक स्यास्थ्यसँग खेलकुदको सम्बन्ध रहेको यसमा राज्यले महत्व दिनु पर्छ ।

 तेक्वान्दो खेल के हो, यसको महत्व के छ ?

 तेक्वान्दो कोरियाको परम्परागत खेल हो भने यसको जन्म पनि कोरियाबाट नै भएको हो । तेक्वान्दो खेल कोरियाबाट आएको हो र यो कोरियन शब्द हो । कोरियाली भाषामा ‘ते’ भनेको खुट्टा ‘क्वान’ भने को हात र ‘दो’ भनेको प्रहार गर्ने कला हो । यसर्थ हात र खुट्टाको प्रयोग गरी खेलिने एउटा कलात्मक तथा मनोरञ्जनात्मक खेलका रूपमा तेक्वान्दोलाई लिइन्छ । कोरियाबाट सुरु भएको यो खेल अहिले आएर विश्वभर नै खेलिन्छ । नेपालमा पनि यो खेल २०३९ सालबाट सुरु गरिएको हो । यहाँ २०४२ सालदेखि सुरु भएको हो र अहिले यसप्रति चासो राख्ने व्यक्तिको सङ्ख्या बढ्दो छ ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएर तेक्वान्दो खेलाडीले नेपाललाई विश्व सामु चिनाउँदै छन् । तेक्वान्दो विशुद्ध खेल मात्र नभएर स्वस्थ, तन्दुरुस्त, निरोगी र फुर्तिलो रहने उत्तम व्यायाम पनि हो । यसको अर्को फाइदा के छ भने मनोरञ्जन, व्ययामसँगै यसको माध्यमबाट व्यक्तिको प्रतिष्ठा कायम गर्न सकिन्छ । तपाईँले भने जस्तै यसको महत्व भनेकै आत्मरक्षासँगै स्वस्थ, फुर्तिलो हुनु हो । त्यो सँगै खेलले मानिसलाई अनुशासित पनि बनाउँछ । अर्को कुरा व्यक्तिलाई बालबालिकालाई कुलतबाट बच्न पनि खेलले महत्वपूर्ण भूमिका खेल्छन् ।

 तेक्वान्दो खेल कस्ता मानिसले खेल्ने ?

 यो खेलमा ठ्याक्कै यति उमेरदेखि खेल्नु पर्छ भन्ने कुनै नियम छैन तर सानैदेखि खेल्दा राम्रो हुन्छ । ५–१० वर्षको उमेरदेखि नै आफ्नो बच्चालाई तेक्वान्दो खेलाउन सकिन्छ । सानो उमेरबाटै खेलको सुरुवात गर्दा सबैभन्दा राम्रो कुरा भनेको के भने उनीहरूमा पछिसम्म व्यायामको आदत बस्छ ।

जसले स्वस्थकर जीवन जिउनमा सहयोग पु¥याउने गर्छ । मोटोपनाबाट ग्रसितले पनि तेक्वान्दोको सहारा लिएर शरीरलाई सन्तुलनमा राख्न सक्छन् । उमेर ढल्किसकेकाहरूले पनि यो खेल खेल्न सक्छन् । उनीहरूलाई त्यही अनुसारको प्रशिक्षण हुन्छ । प्रौढहरूलाई मेडिटेसनबाट तेक्वान्दोको सुरुवात गरिन्छ । त्यति मात्र नभएर शारीरिक अपाङ्गता भएकालाई पनि तेक्वान्दो निकै उपयोगी हुन्छ । प्रशिक्षकले शारीरिक अवस्था अनुसार प्रशिक्षण दिन्छन् । विभिन्न अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अपाङ्गता भएकाहरूले यो खेल खेलेर मेडल हात पारेका पनि छन् ।

 अन्त्यमा केही छ कि ?

 अन्तमा हाम्रो कुरा राख्न दिएकोमा यहाँ अनि यहाँको पेपरलाई धन्यवाद । नेपाललाई विश्व सामु चिनाएको पनि खेलकुद हो । तेक्वान्दो विशुद्ध खेल मात्र नभएर स्वस्थ, तन्दुरुस्त, निरोगी र फुर्तिलो रहने उत्तम व्ययाम हो । त्यसैले यसको महत्व धेरै छ । यसको विकास र विस्तारका सबै क्षेत्र लाग्न आवश्यक छ । सबैको साथ र सहयोगले तुलसीपुरमा दोस्रो लुम्बिनी प्रदेश स्तरीय खुला तेक्वान्दो प्रतियोगिता २०८१ सम्पन्न भएको छ आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्छु ।