Goraksha

National Daily

मेरो खुशी : एसएलसी पास भएको मार्कसिट पाउँदा …

मेरो घर गुल्मी धुर्कोट । एसएलसी दिएको दाङ जिल्लाको बिजौरी स्थित जनता संस्कृत माविबाट । विसं २०३६ सालमा एसएलसी दिएका थियौँ । नतिजा प्रकाशित भयो, विसं २०३७ असारमा । नतिजा आउँदा म गुल्मीमा थिएँ । नतिजा प्रकाशित भएको केही दिनपछि गोरखापत्र आयो । पत्रिकामा पास भएको लिस्टमा मेरो नम्बर थिएन । तीन वर्षदेखि एसएलसी नतिजा शून्य भएको स्कुल फेरि पनि नतिजा शुूय भएको हल्ला थियो ।

एसएलसी नतिजा प्रकाशित भएपछि मार्कसिट स्कुलमा आइपुग्न करिब एक महिना लाग्थ्यो । मार्कसिटमा हेर्दा म सहित सो स्कुलबाट तीन जनाले एसएलसी पास गरेका थियौँ । आश गुमाएको नतिजा फेरि प्राप्त गर्दाको त्यो क्षण नै मेरो अत्यन्तै खुसीको अविस्मरणिय क्षण बन्यो । अविस्मरणीय किन बन्यो भने हामी पत्रिकामा फेल भइसकेका थियौँ ।

त्यो खुसी मैले पहिला बुवा दामोदर पन्थीलाई सुनाएँ । उहाँ औधि खुसी हुनुभयो । किनकि उहाँमा छोरा त मिहिनेति नै थियो, कसरी फेल भयो भन्ने खुल्दुली एक महिनादेखि हटेको थिएन । मैले एसएलसी पास भएको मार्कसिट लगेर सबैभन्दा पहिले बुवालाई नै देखाएँं । त्यसपछि उहाँले मलाई उच्च शिक्षा पढ्ने जोरजाम गर्नतर्फ लाग्नुभयो । खुसी यो मानेमा कि त्यो बेलाको एसएलसीलाई फलामे तारका रूपमा लिइन्थ्यो । पत्रिकामा फेल भएका पनि मार्कसिटमा पास हुँदा खुसीको सीमा नै रहेन । त्यसमा पनि मैले पढेको स्कुल विगत तीन वर्षदेखि नील भएको थियो । हामीले चौथो वर्ष स्कुललाई एसएलसी नील हुनबाट जोगायौँ । त्यसपछि संभवतः बिजौरी स्कुल एसएलसीमा नील भएको छैन होला ।

लेखिदिनुहोला, मेरो खुसी एसएलसी पास भएको मार्कसिट । त्यो मार्कसिटलाई मैले मनैदेखि सुम्सुम्याएँ । उच्च शिक्षाको तयारी गरेँ । अहिले म अध्ययनकै क्रममा विद्यावारिधिसम्म उत्तीर्ण गरेँ । त्यसो त जीवनका उकालीओरालीमा खुसीका अविस्मरणीय क्षण अरू पनि छन् । म सानो छँदै गुल्मीबाट तीन दिनको पैदल यात्रामा दाङको बिजौरी आइपुगेको क्षण । घर धुर्कोट, मामाघर बिजौरी । आठ वर्षको बालउमेरमा तीन दिनको पैदल यात्राका क्रममा प्युठानको मछीमा पुग्दा एक जना महिलाले मलाई पछ्याउनु भयो ।

उहाँले मलाई कहाँ जाने भनेर सोध्नुभयो । सायद उहाँ पनि मेरै गन्तव्यतर्फ जाँदै हुनुहुन्थ्यो । यति सानो फुच्चे पनि तीन दिनमा दाङ पुग्न सक्छौ भन्दै उनले मेरो परिचय मागेपछि मैले मामा घर प्युठानको लुङ बताएँ । मामाघरको हजुरबा शशिधर पण्डित भनेपछि उहाँले पनि शशिधरलाई चिन्नुहुँदोरहेछ । मलाई माया गर्दै सँगै हिडाउँदै विजुवारसम्म ल्याउनुभयो । बिच बाटोमा उहाँले मलाई खिरको पोका फुकाएर आधा खिर खुवाउनुभयो अनि मामाघरको हजुरबाको साइनोकै कारण त्यो रात आफ्नै माइतीमा लगेर बसाउनुभयो । त्यो पनि मेरो बालापनको अविस्मरणीय क्षण हो ।

यसै प्रसङ्गमा अर्को खुसीकै परिवेश पनि मैले यो पत्रिकामार्फत् जोड्न चाहन्छु । दैलेखको काशीनाथ गाविस, जुन ठाउँमा म करिब एक महिना बिताएको थिएँ । नेपाल संस्कृत विश्वविद्यालयले मलाई राउटेको संस्कृतिका विषयमा अनुसन्धानमूलक शोधपत्र तयार गर्न फेलोसिप दिएको थियो । पूरै महिना राउटेहरूसँगको सम्पर्कका ती क्षण मेरा अविस्मरणीय क्षण हुन् । सुरुसुरुमा त मलाई राउटेहरूलाई खुलेर कुरा गर्न मनाउनै गाह्रो भयो तर मैले उनीहरूलाई फेटा, सुर्ती र चामल उपहार लगेर गएको थिएँ ।

उनीहरूले त्यो उपहार त्यसै नलिने बताउँदै आफूले पनि केही उपहार दिएर मात्रै स्वीकार गर्ने बताए अनि राउटेहरूले काठको कोसी दिएपछि मात्रै मैले लगेको उपहार स्वीकार गरे । मुखिया मानबहादुर शाही थिए । पछि घुलमेल भएर राउटेका धेरै संस्कृतिका विषयमा जानकारी दिए । राउटेसँगका ती क्षणहरू पनि मेरो जीवनका नितान्त अविस्मरणीय क्षण बने । त्यो बेला मैले तयार पारेको शोधपत्र अझै पनि नेपाल संस्कृत विश्वविद्यालयको पुस्तकालयमा सुरक्षित छ ।

त्यसो त उनी आफ्ना बुवाआमाको नाममा दामोदर—अम्बिका स्मृति बाल प्रतिभा पुरस्कारका लागि अक्षयकोष स्थापना गरेको दिनलाई पनि अविस्मरणीय खुसीको क्षणका रूपमा स्मरण गर्छन् । आफ्नो बसाइँ रहेको क्षेत्रमा रहेको जनकल्याण माविमा अध्ययन गर्ने गरिब तथा जेहेनदार विद्यार्थीलाई हरेक वर्ष पुरस्कृत गर्ने गरी लेखक संघ दाङमा उनले एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर लेखक संघको औपचारिक समारोहमा सो पुरस्कार वितरण गरिन्छ ।

त्यसो त मैलेपछि कर्णाली संस्कृति विषयमा विद्यावारिधि गर्न पनि त्यो राउटेसँगको एक महिनाको बसाइँ सहयोगी बन्यो । लेखनका धेरै आधारशीला पनि राउटे संस्कृतिबाट मैले शेयर गर्न पाएँ । लेखिदिनुहोला राउटे मुखिया मानबहादुर शाही पनि मेरो विद्यावारिधिका प्रेरणाका पात्र अनि खुसीका पात्र हुन् । त्यसो त खुसीका धेरै परिभाषा होलान् । व्यक्ति र प्रवृत्ति अनुसार खुसीको व्याख्या पनि गरिन्छ तर मेरो बुझाइमा खुसी धनपैसा होइन, अनुभूति हो । बढी महत्वनकाङ्क्षा बोक्ने व्यक्ति कहिल्यै खुसी हुँदैन । आफूमा जे छ त्यसैमा खुसी हुन सक्नु पर्दछ । यो अनुभूतिलाई कसरी ग्रहण गर्ने भन्ने हामीमा भर पर्ने कुरा हो । पैसाले खुसी किन्न सकिँदैन । यो त उच्च महत्वाकाङ्क्षाको पराकाष्ठा हो । जे काम गरिरहँदा आफूलाई आत्मसन्तुष्टि प्राप्त हुन्छ, त्यो नै खुसी हो ।

माथि उल्लिखित खुसीका अविस्मरणिय क्षण हुन्, साहित्यप्रेमी एवम् नेपाल संस्कृत विश्वविद्यालयका निवृत्त प्रमुख प्रशासक डा हिमलाल पन्थीका । विसं २०१९ साल मङ्सिर १८ मा गुल्मी जिल्लाको तत्कालीन मदाने गाविस वडा नं ७ भन्भनेमा बुवा दामोदर पन्थी र आमा अम्बादेवी पन्थीको कोखबाट जन्मिएका डा पन्थीले प्राथमिक शिक्षा पुर्कोट दहको स्कुलमा पूरा गरी हाइस्कुल पढ्न दाङ झरे । बिजौरीको जनता संस्कृत माविबाट एसएलसी उत्तीर्ण गरेका डा पन्थी नेपाली विषयमा एमएड उत्तीर्ण गर्दै नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीबाट विद्यावारिधि समेत उत्तीर्ण गरेका छन् ।

नेपाल संस्कृत विश्वविद्यालयमै लामो समयसम्म जागिरे जीवत विताएका डा पन्थी केही वर्ष अघि मात्र सेवानिवृत्त भएका थिए । अध्ययनकै क्रममा पत्रकारितामा समेत रुचि राख्ने पन्थीले पत्रकारिता तालिम पनि लिए । उनको रुचि साहित्य क्षेत्रमा पनि देखिन्छ । उनका लेख राष्ट्रिय तथा स्थानीय स्तरका पत्रपत्रिकामा प्रकाशित भइसकेका छन् । डा पन्थी पछिल्लो समयमा साहित्यिक क्षेत्रमा क्रियाशील र सक्रिय छन् । लेखक संघ दाङमा आबद्ध डा पन्थी सम्माननीय राष्ट्रपतिबाट नेपाल विद्याभूषण क बाट विभूषित भइसकेका छन् ।

प्रस्तुति : खेमराज रिजाल