Goraksha

National Daily

ग्रामीण जीवन बुझाउन विद्यार्थीलाई क्लोज क्याम्प

1 min read

गोरक्ष समाचारदाता
दाङ, १४ कात्तिक । गुरुकुल एकेडेमीमा कक्षा ९ मा अध्ययनरत घोराही निवासी यशु बुढाथोकीलाई ग्रामीण जीवनबारे धेरै कुरा थाहा थिएन । बजार क्षेत्रमै जन्मिएर हुर्कँदै गरेकी बुढाथोकीलाई घरायसी काम गर्न पर्दैन थियो ।

घरमा खाना पकाउने, कपडा धुनेदेखि सरसफाइलगायतका काम बुवाआमाले गर्ने भएकाले उनलाई काम गर्न पर्दैन थियो तर हप्ता दिनयता बुढाथोकीले खाना पकाउनका लागि आवश्यक सामग्री दाउरा जुटाउनेदेखि पानी भर्ने, पकाउने, सरसफाइलगायतका काम आफैँ गर्दै आएकी छन् । आफू अध्ययनरत विद्यालय गुरुकुल एकेडेमीले बंगलाचुली गाउँपालिका–२ को मर्पेसडाँडामा सञ्चालन गरेको क्लोज क्याम्पमा बसेर ग्रामीण जीवन र समाजलाई बुझ्नेदेखि दैनिक जीवनमा गर्नु पर्ने काम गर्दै पढ्ने गरेको बताइन् ।

आपूmले अध्ययनरत विद्यालय गुरुकुल एकेडेमीले क्लोज क्याम्पका रूपमा एक हप्ताअघि ल्याएर बसाएपछि ग्रामीण जीवन र समाजलाई बुझ्न पाएको उनले बताइन् । घरमा काम नै नगरेको मैले क्लोज क्याम्पमा बसाइँका क्रममा काम गर्दै पढ्दा जीवन र समाजबारे धेरै कुरा बुझ्न पाएको भन्दै बुढाथोकीले भनिन्, ‘क्लोज क्याम्पमा बस्दा दुर्गम बस्तीका मानिसले दैनिक जीवनयापनका क्रममा गर्नु पर्ने सङ्घर्षलाई बुझ्न पायौँ । जसले हामीलाई जीवन र सामाजबारे बुझ्न सहयोग ग¥यो ।’

घरमै हुँदा केही काम गर्न नपर्ने भए पनि क्लोज क्याम्पसमा दैनिक जीवनमा गर्नु पर्ने सबै काम आफैँ गर्न सिकेकी छिन् । जीवनमा आइपर्ने तर विद्यालयको कक्षाकोठाभित्र सिक्न नसकेका कुरा आपूmले क्लोज क्याम्पको सात दिनको बसाइँको क्रममा सिकेको बताइन् । क्लोज क्याम्पको बसाइँले जीवनमा नौलो कुराको अनुभूति गराएको भन्दै कक्षा ९ मा अध्ययनरत विद्यार्थी सचिन भण्डारीले भने, ‘घरमा हुँदा कहिल्यै खाना पकाउन परेन, पकाउनका लागि केके भान्सामा चाहिन्छ त्यो खास्सै थाहा थिएन तर यहाँ आएर साथीहरूसँग मिलेर खाना पकाउन लाग्दा सिक्दै गए । अब आफैँ खाना बनाउन सिक्छु ।’ क्लोज क्याम्पको बसाइँले दुर्गम ग्रामीण क्षेत्रमा अन्य मानिस र आपूm जस्ता विद्यार्थीले भोग्नु पर्ने समस्याबारे बुझ्ने अवसर प्रदान गरेको बताए ।

सहरको सम्पन्नताभन्दा टाढा रहेर अभावमा पनि कसरी बाँच्न सकिन्छ भन्ने कुरा सिकाएको बताए । क्लोज क्याम्पमा रहेका अर्का विद्यार्थी आरएन घर्तीले हरेक दिन गर्नु पर्ने कामसँगै पढ्दा आपूm जस्ता बालबालिकाले ग्रामीण क्षेत्रमा अध्ययनका लागि गर्नु पर्ने सङ्घर्षबारे सिकेको बताउँछन् । क्लोज क्याम्प बसाइँका क्रममा खाना बनाउन साथीहरूसँग मिलेर दाउरा खोज्नेदेखि पानी ल्याउन जाने गर्दा समुदायमा कसरी मिलेर बस्नु पर्ने रहेछ र अप्ठेरो पर्दा गर्नु पर्ने सहयोगबारे सिकाइ भएको बताए । जीवनमा बाँच्नका लागि गर्नु पर्ने सङ्घर्षबारे क्लोज क्याम्पले सिकाएको बताए ।

व्यावहारिक शिक्षा दिने उद्देश्यले हरेक वर्ष नौ कक्षामा अध्ययनरत विद्यार्थीलाई पहाडी क्षेत्रको दुर्गम बस्तीमा लगेर राख्ने र उनीहरूलाई व्यावहारिक शिक्षाबारे सिकाइने गरेको गुरुकुल एकेडेमी तुलसीपुरका प्रिन्सिपल मुकुन्द गिरीले बताए । प्रधानाध्यापक गिरीले विद्यार्थी नेपाली समाजको सामाजिक चित्रण गराउन बर्सेनि क्लोज क्याम्प जस्ता समुदाय केन्द्रित कार्यक्रम गर्दै आएको बताए । क्लोज क्याम्पमा विद्यार्थीले जीवनमा चाहिने दैनिक काम आफैँ गर्न सिकाउने उद्देश्यले विगत २०७५ देखि क्लोज क्याम्प सञ्चालन गर्दै आएको र यसले विद्यार्थीलाई दैनिक जीवनसँगै ग्रामीण जीवनबारे बुझ्न सहयोग गर्ने गरेको बताएका छन् ।

गुरुकुल एकेडेमी तुलसीपुरका प्रिन्सिपल मुकुन्द गिरीको अध्यक्षतामा भएको कार्यक्रममा बंगलाचुली गाउँपालिका–२ का अध्यक्ष मैते पुन, नेपाल पत्रकार महासंघ दाङ उपाध्यक्ष सन्तोष सुवेदी, गुरुकुल एकेडेमी लमहीका प्रिन्सिपल सुरज खनाल, सृष्टि बालक्लबका संरक्षक बेचन वलीलगायतले क्लोज क्याम्पले बालबालिकालाई जीवनमा आवश्यक व्यावहारिक शिक्षासँगै समाज र ग्रामीण जीवनलाई प्रत्यक्ष बुझ्न सहयोग गरेको बताएका थिए । कार्यक्रमको सहजीकरण प्रशिका ढकाल र मार्सल बस्नेतले गरेका थिए । क्लोज क्याम्पसमा गुरुकुल एकेडेमी घोराही, लमही र तुलसीपुरमा अध्ययनरत ३४ जना विद्यार्थीको सहभागिता रहेको छ ।