Goraksha

National Daily

कात्तिक २१ बाट धान खरिद गरिदै

अमरराज आचार्य
दाङ, ११ कात्तिक । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले जिल्लामा कात्तिक २१ गतेबाट धान गरिद गर्ने भएको छ । व्यापार कम्पनीका अनुसार धान खरिदका लागि स्थानीय तहसँग सम्झौता भइरहेको छ । खाद्यले गढवा, राजपुर, लमही, राप्ती, घोराही र तुलसीपुरका खरिद केन्द्रमार्फत् धान खरिद गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय तुलसीपुरका प्रमुख तिलक सुनारले जानकारी दिए ।

खाद्यले एक जना कृषकबाट बढीमा ४० क्विन्टल धान खरिद गर्ने जनाएको छ । धान खरिद गर्दा चिस्यान १८ प्रतिशतभन्दा कम, बाह्य पदार्थ मिश्रण दुई प्रतिशतभन्दा कम, टुक्रेको, बिग्रिएका दानाको मिश्रण पाँच प्रतिशतभन्दा कम हुनु पर्ने मापदण्ड खाद्यले तोकेको छ । सबै धान एकनासको, नभिजेको, सफा, किरारहित, ढुसी नपरेको हुनु पर्ने प्रमुख सुनारले बताए । जिल्लामा यस वर्ष हाठ हजार क्विन्टल धान खरिद गर्ने खाद्यको लक्ष्य रहेको प्रमुख सुनारले बताए ।

केही वर्ष अघि जिल्लामा धान खरिद गर्न रोकेको खाद्यले यस वर्ष पुनः धान खरिद गर्ने भएको हो । केन्द्रले परिपत्र गरेपछि धान खरिद गर्ने तयारीमा जुटेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय तुलसीपुरका प्रमुख सुनारले जानकारी दिए । केन्द्रले असोज २३ गते जिल्लामा आठ हजार क्विन्टल धान खरिद गर्नु भनेर परिपत्र गरेको छ । ‘केन्द्रबाट परिपत्र आएपछि हामी धान खरिदको आन्तरिक तयारीमा जुटेका छौँ’, प्रमुख सुनारले भने ।

यस अघि खाद्यले जिल्लामा धान खरिद गरे पनि कुटानीका लागि बाहिर पठाउँदै आएको तर कोटा पूरा भए जिल्लामै कुटानी गरिने खाद्यले जानकारी दिएको छ । धान थोरै भए कुटानीका लागि बाहिरी जिल्ला पठाइने प्रमुख सुनारले बताए । धान खरिदसँगै कुटानीको लागि ठेक्का आह्वान गरिने उनले बताए । खाद्य व्यापार कम्पनीले तोकेको मापदण्ड अनुसार जिल्लाका मिल सञ्चालकहरूले धान कुटाउन नसकिने भनेकाले खरिद गरिएको धान बाहिरी जिल्ला लगेर कुटाउने गरेको प्रमुख सुनारले जानकारी दिए ।

कम्पनीले धान खरिद गर्ने भएपछि सरकारले ताकेको मूल्यमा कृषकले धान बिक्री गर्न पाउने भएका छन् । यस अघि खाद्यले धान खरिद नगर्दा स्थानीय व्यापारीले तोकेको मूल्यमा धान बिक्री गर्न कासानलाई बाध्यता थियो । खाद्यले धान खरिद गर्ने भएपछि जिल्लाका किसान उत्साहित भएको एक किसानले बताए । कम्पनीले खरिद गर्ने धानको दरभन्दा व्यापारीले कम मूल्यमा धान खरिद गर्ने गरेको उनले बताए । सरकारले धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार चार सय १० रुपैयाँ निर्धारण गरेको छ ।

आर्थिक वर्ष २०८१÷८२ का लागि मोटो धानको प्रतिक्विन्टल तीन हजार चार सय १० रुपैयाँ र मध्यम धानको मूल्य प्रतिक्विन्टल तीन हजार पाँच सय ८० रुपैयाँ तोक्ने निर्णय भएको छ । यस वर्ष दाङमा ३७ हजार दुई सय २५ हेक्टर जमिनमा धान रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र दाङका अनुसार उक्त जमिनमा धान रोपाइँ भएको हो । गत वर्ष ३५ हजार तीन सय ८४ हेक्टरमा धान रोपाइँ भएको थियो ।

केन्द्रका अनुसार तुलसीपुर उपमहानगरपालिकामा आठ हजार तीन सय १५, घोराही उपमहानगरपालिकामा सात हजार एक सय ७३, दंगीशरण गाउँपालिकामा पाँच हजार सात सय ६८, राप्ती गाउँपालिकामा तीन हजार पाँच सय ७६, लमही नगरपालिकामा तीन हजार चार सय ६०, बबई गाउँपालिकामा दुई हजार चार सय सात, गढवा गाउँपालिकामा दुई हजार एक सय १५, शान्तिनगर गाउँपालिकामा एक हजार आठ सय७०, राजपुर गाउँपालिकामा एक हजार चार सय ९९ र बंगलाचुली गाउँपालिकामा एक हजार ४२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ ।

जिल्लामा धान खेती हुने जमिनको क्षेत्रफल ३९ हजार चार सय हेक्टर भए पनि सोही जमिनमा तरकारी खेती पनि हुने गरेकाले धान खेती हुने क्षेत्रफललाई ३७ हजार दुई सय २५ हेक्टर मानिएको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ । रोपाइँको क्षेत्रफल गत वर्षभन्दा बढेकोले मौसम अनुकूल तथा सिँचाइ, मललगायतको व्यवस्थापन राम्रो भएमा धान उत्पादन बढ्ने आँकलन गरिएको छ ।