Goraksha

National Daily

अमूल्य जीवन

एकराज अधिकारी

जीवन किनेर पाइँदैन । नेपाल ज्ञानभूमि हो । ऋषिहरुले यर्सै देशबाट ज्ञान पाए जो आज संसारभरी फैलिएको छ । प्रत्येक व्यक्ति शान्त हुनुपर्छ । चित्त शान्त नभई ज्ञान प्राप्त गर्न सकिँदैन । ज्ञानले सार्थक जीवनयापन गर्न मद्दत दिन्छ । ज्ञानले नै जीवनको आनन्द लिन सकिन्छ । ज्ञान भनेको अनुभव हो ।

शिक्षा मात्र होइन, आध्यात्मिक शिक्षाले हाम्रो जीवनलाई कसरी प्रयोग गर्ने, त्यो विधि सिकाउँछ । ज्ञानले जीवनको आनन्द लिन सिकाउँछ । बौद्ध दर्शन आध्यात्मिक दर्शन हो । जसले यसको गहिराईमा पुगेर उच्चत्तम अनुभव गरेको छ । त्यो भाग्यशाली व्यक्ति हो । बौद्ध दर्शन जडसुत्रवादी सिद्धान्तलाई हटाउँछ । मानिसलाई स्वतन्त्रतापूर्वक बाच्न सिकाउँछ । विश्वसँग सम्बन्ध राख्न सिकाउँछ । हरेक मानिसलाई आनन्द चाहिएको छ । शान्ति चाहिएको छ । आध्यात्मिक ज्ञानले विचारलाई फराकिलो पार्छ । आफू को हुँ भन्ने थाहा हुन्छ । भित्री शान्ति मिल्छ । भौतिक ज्ञानले भौतिक सुख र आनन्द लिन त सक्छौ तर त्यो स्थायी हुँदैन । क्षमाभंगुर हुन्छ ।

हामीहरु नांगै आएका हौँ नांगै जानु पर्छ । हामीले जीवनको उद्देश्यलाई बुझ्न सकेका छैनौ । आफूले आफैलाई ठगेका छौँ । क्षमाभंगुरताको अर्थ थाहा पाएका छैनौ । विषयको आनन्द त प्राप्त गरेका छौँ । सास्वत आनन्द प्राप्त गर्न सकेका छैनौ । धनले सबैथोक पाइन्छ आनन्द पाइँदैन । घमण्ड र अहंकार त्याग नगर्दासम्म आनन्द मिल्दैन । नकारात्मक सोचबाट आनन्द मिल्दैन । प्रतिविम्बबाट स्वरुपको ज्ञान हुँदैन । हामीले सधै संघर्ष गरिरहेका छौँ तर दुखी छौँ किन ? हामीले संसारलाई अंगालो हालेका छौँ । बुद्धले संसारलाई त्याग गरेका थिए । हामीले जति धन कमाए पनि एक पैसा पनि मर्दा लग्न सक्दैनौँ । तैपनि बाच्दासम्म धन कमाउने योजना गर्छौ । सधै बाच्ने हौ भन्ने ठान्दछौँ ।

मृत्यु अवश्यमभावी हो भन्ने स्वीर्कादैनौ । जीवन रुखबाट झरेको पहेलो पात जस्तो हो । असंभावीकालाई स्वीकार्नु पर्छ । त्यही नै साहसी कदम हो । ढिलो चाडो हामी मर्छौ । बुढाभन्दा युवा बाच्छन् भन्ने कुरा पनि सोच्नु हुँदैन । अचानक मर्न सक्छम् । रोगले, दुर्घटनाले, मानसिक र शारीरिक गढबडीले पनि मर्न सक्छौ । वृद्ध भएपछि सबैको जीवनशक्ति क्षण हुँदै जान्छ । योबन अवस्थामा त हामी जहाँ जान पनि सक्छौँ अन्त्यमा हामी असहाय हुन्छौँ । मृत्युले हामीलाई एकछिन पनि पर्खदैन । भोलिसम्म बाच्छु भन्ने कुनै ग्यारेण्टि छैन । त्यसैले आफ्ना भावनाहरु रोक्नु हुँदैन । आफूसँग भएको प्रेम अहिले बाड्नु पर्छ । आफूसँग भएको ज्ञान अहिले नै अरुलाई बाड्नु पर्छ । सबै बस्तु अनित्य छन् भन्ने कुरा बिर्सनु हुँदैन ।

जीवन्त बिजुली जस्तो हो । एकछिन देखिन्छ अनि हराउँछ । जीवन हावामा रहेको बत्ती जस्तो हो । सितको थोपा जस्तो हो । सूर्यको उदय भए हराइहाल्छ । हाम्रो अगाडि कति मानिस मरे तिनीहरुलाई आज बिर्सँदै गयौँ त्यस्तै हामीलाई पनि भोलि बिर्सँदै जानेछन् । यस्तो विचार गरेर हामी निराश हुने होइन । हामीले जीवनमा पाएको अवसरलाई उपयोग गर्नुपर्छ । जीवनको सदुपयोग गर्न सक्यौ भने हाम्रो मृत्यु सुखमय हुनेछ । यही जीवनको छोटो बसाइमा शान्तिपूर्वक आनन्दको अनुभव गर्नुपर्छ । मानिसले आफ्नो अस्तित्व कायम गर्न हजारौँ मानिसको हत्या गरेको छ । हतियार बनाएको छ । त्यसले मानिसको अस्तित्व रहँदैन । दुःख कहाँ छ ।

मेरो र तेरो मात्र दुःख छ । द्धेत भावनामा दुःख छ । अद्धेत भावनामा सुख छ । हामी विषयमा लठ्ठ छौँ । मौरी रसमा लठ्ठ भए झै । (विषयलाई त्याग्न सके) काम क्रोध, लोभ, मोहलाई त्याग्न सके हामी सुखी हुन्थ्यौँ । संसार बन्धन हो संसारमा पसेपछि निस्कन कठिन हुन्छ । त्यसैले सबैले आध्यात्मिक बाटो खोज्छौँ । भविष्यको आशा गर्दैनौँँ । आफूसँग जे छ त्यसैमा खुसी हुन्छौँ । सधै आफूलाई व्यस्त गराउनु पर्छ । सकारात्मक सोच राख्नुपर्छ । आफ्नो गल्तीलाई स्वीकार्नु पर्छ । बुद्धले आफ्नो गल्तीलाई स्वीकारे । संसारिक दुःखलाई आफ्नै आँखाले देखे । सुखलाई पनि आफ्नै आँखाले देखे । बुढोलाई पनि आफ्नै आँखा देखे । बिरामीलाई अवस्थालाई पनि देखे र यो आनन्द मलाई दुःख दिन्छ भन्ने ठानेर आफैले आफैलाई सोधे जीवनको उद्देश्य के हो ।

यसरी खोज्दै जाँदा जीवनको लक्ष्य भनेको मानवको कल्याण गर्नु अनुशासितमा रहनु रहेछ भन्ने ठानेर सत्यको खोजीमा हिडे । आध्यात्मिक विचारमा लागे । सबै मर्छ तर विचार मर्दैन । विचारबाट नै विवेक पैदा हुन्छ । विवेकद्वारा आफ्नो गल्ती आफै देख्छौँ । अभिमानलाई बलियो बनाउनु हुँदैन । प्रेम सबैलाई पुग्छ । करुणा, दया सबैलाई पुग्छ । सहानुभूति सबैलाई पुग्छ । सबैसँग मैत्रीपूर्ण व्यवहार गर्न सक्छौ तर हामीले मन परेकोलाई मात्र प्रेम गर्छौ अरुसँग शत्रुता गर्छौ । जब हाम्रो दृष्टिकोण फराकिलो हुन्छ तब सबैलाई एकै नजरले हेर्न सक्छौ । दरबारको सुख सुविधामा अल्झेको भए के सिदार्थ बुद्धि बन्न सक्थे । स्वच्छ दिमागले संसार खडा गर्छ ।

मस्तिष्कलाई स्वच्छ राख्नुपर्छ । त्यसको लागि स्वछ आहारविहारमा ध्यान दिनुपर्छ । कसैको रुपलाईभन्दा आत्मालाई हेर्नुपर्छ । लुकेको गहना हो निस्वार्थ प्रेम । जीवन खोलाको पानी जस्तो हो बगिरहेको छ, उस्तै देखिन्छ तर पानी फरक–फरक हुन्छ । त्यस्तै हाम्रो जीवन पनि क्षण–क्षणमा फरक–फरक हुन्छ । सोचेर विचार गरेर काम गर्नुपर्छ, बोल्नु पर्छ । यदि आफ्नो बोली अर्कालाई मन पर्दैन भने शान्त भएर बस्नुपर्छ । हामी शान्त भएर बस्न सक्दैनौ । हामीले आधारभूत आवश्यकता पूरा गर्न, पेट पाल्न काम गर्छौँ । काम गरेर हामी कहिल्यै थाक्दैनौ । जति ठुलो हुँदै जान्छौ त्यति बिग्रिदै जान्छौ । आफूलाई बिर्सन्छौ आमाको गर्भमा रहँदा आफूलाई सम्झेका थियौ ।

जति हामीले भौतिक सम्पत्ति जम्मा गछौँ त्यति आध्यात्मिक रुपमा गरिब हुन्छौ । खाएर लगाएर बचेको सम्पत्ति हाम्रो होइन समाजको हो भन्ने ठानेर समाज सेवामा लगाउनुपर्छ । भौतिकवादीले आफूले आविष्कार गरेको उपकरणहरु विनाशकारी दृश्यले प्रयोग गरे भने हामी सबैको जीवन नष्ट हुन्छ । अरुको फाइदाको लागि प्रयोग गर्न सके जीवन समृद्ध हुन्छ । आनन्द नै जीवन हो सुख त मृत्यु हो । सधै आफूलाई बचाइराख्नु पनि जीवनको खोजी हो । आनन्द भएन भने मानिसले प्राण पनि त्याग गर्नसक्छ । हिजो पनि मानिस जीवन कै खोजीमा थिए आज पनि जीवन कै खोजीमा छन् । मानिसले धन सम्पत्ति खोजेको छैन । जित हार खोजेको छैन । ज्ञान विज्ञान खोजेको छैन । बाँच्न खोजेको छ ।

जीवन खोजेको छ । भगवान् त आफूभित्र भएकोले पाउन गाह्रो छैन तर जीवन किनेर पाइँदैन । अज्ञानी मानिसले जीवनको मूल्य तोक्छन् र जीवनलाई समाप्त पार्छन् । जीवन सबैभन्दा ठुलो बस्तु हो । जीवनमा आनन्द छ । मानिसले जीवनको महत्व बुझेको जस्तो देखिँदैन । हत्या हिंसा बढिरहेको छ । यसको लागि गम्भीर भएर सोच्ने बेला आएको छ । यस्तो अमूल्य जीवन रक्षाको लागि विश्वमा शान्ति स्थापना गर्न आवश्यक छ । जीवन किनेर पाइँदैन ।