Goraksha

National Daily

थारू समुदायमा अटवारी पर्व

छविलाल कोपिला

अटवारी पर्व, पश्चिमा थारु समुदायको चाड हो । दीर्घायू, सुस्वास्थ्य एवं सुखमय जीवनको कामना सहित मनाइने यो पर्वमा पुरुषहरु निराहार ब्रत बस्ने गर्छन् । अटवारीमा ब्रतालुहरुले आफँै पकाएको पकवानहरुबाट पूजा अनुष्ठान र ग्रहण गर्ने परम्परागत मान्यता छ । यसकारण रोटी, पक्की र खुर्मा जस्ता पिठोजन्य खान्की बेल्ने र पकाउने अभ्यास नभएका पुरुष ब्रतालुहरुको घरका महिलाहरुले सहयोग गर्ने गर्छन् । यसरी सहयोगीको रुपमा काम गर्ने महिलाहरुलाई पनि ब्रत बस्नु पर्ने हुन्छ । ब्रत नबसेकाहरु पकाउने ठाउँ र पूजा स्थलमा जान र छुन समेत पाउँदैनन् । उनीहरुले छोए जुठो पर्ने मान्यता छ । यसैले पनि पुरुष ब्रतालुहरुको सहयोगी महिलाहरुले ब्रत बस्नै पर्ने हुन्छ ।

अटवारी पर्व ठाउँ अनुसार चालचलनमा विविधता छ । यसकारण यसको ऐतिहासिक, धार्मिक, सामाजिक पृष्ठभूमिको बारेमा पनि विभिन्न धारणाहरु अगाडि आएको देखिन्छ । पछिल्लो समय यस पर्वको निश्चित समय हुनु पर्ने कुरा थारु समुदायका बौद्धिक वर्गहरुको बहसको विषय पनि बन्दै आएको छ । आजको यो लेखमा पनि यिनै कुरासँग सम्बन्धित छ ।

अटवारी कहिले मनाइन्छ ?

अटवारीको पुरानो परम्परागत अवस्था र पृष्ठभूमिलाई हेर्ने हो भने नेपाली महिलाहरुले साउन महिनाको प्रत्येक सोमबार ब्रत बसेजस्तै थारु समुदायमा भदौ महिनाको पहिलो आइतबारदेखि दसैंसम्मको सबै आइतबारलाई अटवारी पर्वको रुपमा मान्ने पुरानो चलन थियो तर यो चलन अहिले छैन । समयसँगै अहिले यो एक आइतबारमा मात्रै सीमित भइसकेको छ । उबेला कुनै साल कात्तिकेदसैँ प¥यो भने एउटै व्यक्तिले ११–१२ पटकसम्म ब्रत बस्नु पर्ने अवस्था हुन्थ्यो ।

यति लामो समयसम्म लगातार ब्रत बस्दा शारीरिक तथा आर्थिक रुपमा पनि समस्या देखिन थालेपछि समयक्रम अनुसार समयमा केही परिमार्जन भयो । त्यसपछि केही व्यक्तिहरु भदौको पहिलो आइतबारदेखि ब्रत बस्दै कुसेऔँसीको पहिलो आइतबार बिशेष अटवारी ब्रत बसेर स्थगित गर्दथे भने स्वेच्छिक ब्रत बस्नेहरु दशैसम्मको आइतबार नियमित रुपमा अटवारी ब्रत बस्दथे ।

समयक्रमसँगै भदौको पहिलो आइतबारदेखिको कुसे औँसी अगाडिसम्मको आइतबार ब्रत बस्ने चलन पनि हट्यो । उबेला भदौ महिना धेरैजसोको घरमा भोकमरी हुने र झाडापखाला लगायतका महामारी तथा बर्षे धानबाली (वैशाख–जेठमा रोपेर भदौमा भित्राउने असन्ह्याँ धान) भित्राउने र हिउँदे धानबाली (असन्ह्याँ धान काटेर त्यसैमा जरन्ह्याँ धान उल्झा गर्ने) रोपाइँ सुरु गर्ने हुँदा कामको चटारो भएकोले ब्रत बस्न छोडेको कुरा जानकारहरुले बताउँछन् । तर कुसे औसी पछिको पहिलो आइतबार बर्का अटवारी र त्यसपछिको ४ आइतबार छुट्की अटवारी पर्व मान्ने चलन भने लामो समयसम्म रह्यो । यसरी पाँच अटवारी ब्रत रहनेहरुलाई ‘पाँच अटवह्र्या’ भनिन्थ्यो । पाँच अटवारीपछि दसैँ शुरु हुन्छ । अहिले बर्का अटवारी पछिको

चार आइतबार ब्रत बस्ने चलन पनि हराइसकेको छ । यसरी

(१) भदौ महिनाको पहिलो आइतबारदेखि दसैँसम्म,
(२) भदौ महिनाको पहिलो आइतबारदेखि औँसीको पहिलो आइतबारसम्म,
(३) कुसेऔँसीको पहिलो आइतबारदेखि दसैँसम्मको ५ आइतबार
(४) कुसेऔँसीपछिको पहिलो आइतबार मात्र ब्रत बस्ने

समय र यी चार थरिका ब्रत बस्ने दिनको साझा दिन कुसे औसी पछिको पहिलो आइतबारको अटवारी भएकोले यसलाई ‘बर्का अटवारी’ भनिएको हो । अन्य अटवारीलाई भने सामान्य अटवारी अथवा छुट्की अटवारी भन्ने चलन छ ।

रुपन्देहीका साहित्कार बमबहादुर थारुले ‘रुपन्देहीको थारु समाज र संस्कृति’ भन्ने आफ्नो पुस्तकमा कुसे औँसीको आठौं दिनपछिको आइतबारलाई बर्का अटवारी मान्ने कुरा उल्लेख गरेका छन् । उनले ‘पाँच अटवारी’को विषयमा भने कुनैै कुरा उल्लेख गरेका छैनन् । उनको विचारसँग भारतका हिन्दू पुरुषहरुले बस्ने महा रविबार ब्रतसँग मेल खान्छ । उनको विचार महा रविबार ब्रतको प्रभाव भेटिन्छ । थारु समुदायको अटवारी र महा रविबार ब्रत बिचको सांस्कृतिक रुपमा धेरै भिन्नता छ । त्यसो त रुपन्देही, नवलपरासी, चितवनलगायतका पूर्वका केही जिल्लामा मनाइने विधि प्रक्रियाहरु पश्चिमा जिल्लाभन्दा फरक छ तर कपिलवस्तु, दाङ देउखुरी, बाँके, बर्दिया, कैलाली, सुर्खेत र कञ्चनपुरका थारुहरुमा वैचारिक धारणा फरक फरक भए पनि विधि प्रक्रियामा भने एकरुपता पाइन्छ ।

विश्वमा मनाइने चाडपर्व निर्धारणका केही सिद्धान्तहरु

विश्वमा मनाइने चाडपर्व, उत्सव, स्मृति दिवसहरुलाई व्यवस्थित र समय निर्धारणका केही मान्यताहरु प्रतिपादन भएका छन् । जो अत्यन्त बैज्ञानिक र सर्वमान्य मानकका रुपमा रहेका छन् । यसको सन्देशले समुदायस्तरमा अन्यौलता मुक्त गराउँछ । ती सिद्धान्तहरु हुन्;

१) मिति आधारित मान्यता,
२) तिथि आधारित मान्यता,
३) बार आधारित मान्यता
४) अनुकूलता आधारित मान्यता ।

मिति आधारित चाडपर्वहरुमा असार १५ दही चिउरा खाने दिन, साउन १ गते सवनियाँ, साउने सङ्क्रान्ति, सावन १५ खिर खाने दिन, असोजको १ गते विश्वकर्मा पूजा, माघको १ गते थारु माघ, माघेसङ्क्रान्ति, वैशाख १ गते नयाँ वर्ष, जन्मदिवस, स्मृति दिवसलगायतका पर्दछन् । यी पर्व तथा उत्सव मनाउनका लागि निश्चित मिति गते हुन्छ र सोही अनुसारको पर्व तय हुन्छ । यस्ता पर्वमा तिथि र बार कुनै अर्थ राख्दैन ।

यसैगरी तिथि आधारित चाडपर्व र उत्सवमा बैशाख पूर्णिमामा बुद्ध जयन्ती, साउनको कृष्ण पक्षको पञ्चमी तिथिमा गुरही, नाग पञ्चमी, शुक्ल पक्षको अष्टमी तिथिमा अष्टिम्की, कुसे औँसी पछिको तृतीया तिथिमा तिज यसैगरी दसैँ तिहार, होली लगायतका पर्दछन् । यो पर्वहरु निश्चित तिथिका आधारमा निर्धारण गरिएका हुन्छन् । जस्तै बुद्ध जयन्ती बैशाख पूर्णिमा पर्दछ । बुद्ध जयन्ती मनाउनको लागि बैशाख पूर्णिमा नै चाहिन्छ र यसैले गते र बारलाई डो¥याउँछ । नाग पन्चमी प्रत्येक वर्ष साउन कृष्ण पक्षको पञ्चमी तिथिमा पर्दछ । यही पञ्चमी तिथिको आधारमा पर्व मनाइन्छ गते र बार प्रत्येक वर्ष फेरिरहन्छ ।

यसैगरी बार आधारित पर्वहरुमा अटवारी पर्व, नेपाली महिलाहरुको साउन महिनाको सोमबारे ब्रत, थारु समुदायको सोमबार दूध चढाउने बुधबार बेटी विदाइ, शुक्रबार खेती प्रारम्भ, सुखद् शुक्रबार लगायत पर्दछन् । मिति र तिथि आधारित पर्व जस्तै बार आधारित पर्वमा पनि तिथि र मितिले अर्थ राख्दैन । यस्ता चाडपर्वहरु बारको आधारमा निर्धारण गरिन्छ । जस्तै नेपाली महिलाहरुले साउन महिनाभरि सोमबार ब्रत बस्ने गर्छन् । यसरी सोमबार ब्रत बस्नका लागि कुनै तिथि र गतेले प्रभाव पार्दैन । साउनमा सोमबार प¥यो भने स्फूर्त रुपमा सोमबार ब्रत बसेर परम्परागत अनुष्ठान गरिन्छ । यसैगरी अटवारी पर्व पनि बार आधारित पर्व हो । विशेष पश्चिमा थारु समुदायलले मनाउने यो पर्व कुसे औँसीको पहिलो आइतबार निराहार ब्रत बसेर मनाइने परम्परागत चलन हो ।

यी तीन थरि मान्यता बाहेक अनुकूलता आधारित उत्सवहरु पनि छन् । जस्तै थारु समुदायमा मनाउने हर्डह्वा, पेन्ड्या, औली संस्थागत मनाइने वार्षिक उत्सव, सामाजिक रुपमा गरिने हुरेरी पूजा, लवाँगी पूजा, ढुरिया पूजा, रेँझिया पूजा, पुटबुझाउ, बगार, वनभोज, चुक्की लगायतका पर्छन् । यसका लागि निश्ति तिथि, मिति र बारको आवश्यकता पर्दैन । यो सानो क्षेत्रमा सीमित र व्यक्तिहरुले मात्रै मनाउने भएकोले समय हेरेर जुनसुकै समयमा मनाउन सकिन्छ ।

केही भ्रमहरु

थारु समुदायको अटवारी पर्वको विषयमा बेलाबेला विवाद भइरहेको पाइन्छ । यो लेखमा उल्लिखित माथिका मान्यताको आधारमा हेर्ने हो भने थारु समुदायको अटवारी पर्वमा खासै विवाद हुने देखिँदैन । किनकि अटवारी सिद्धान्ततः बार आधारित चाड भएकोले तिथि थोपारी रहन जरुरी देखिँदैन । अहिलेसम्म देखिएको विवादको मूल जरो भनेको पनि यही हो । बारमा आधारित पर्वमाथि तिथि थोपर्नु भनेकै थारु समुदायको मौलिक संस्कृतिमाथि परसंस्कृतिको जबर्जस्त लेपन गर्नु हो । यही समस्याकै कारण पटकपटक थारु समुदायमा विवाद भएको पनि देखिन्छ । थारु समुदाय तराईको आदिवासी प्रकृति पुजक समुदाय हो तर अटवारी पर्व कहिले उत्तरतिरको संस्कृति थोपरेर भ्रम सिर्जना गरिएको छ त कहिले दक्षिणतिरको संस्कृति थोपरेर भ्रम सिर्जना गरेर थारु समुदायलाई गुम्रहामा राखिएको छ । अहिलेसम्म देखिएको अटवारी विवादित हुनुको कारण यही हो ।

केहीको धारणा नेपाली नारीहरुको हरितालिका तिजपछिको आइतबारलाई अटवारी मान्ने छ तर योे त्यति सान्दर्भिक देखिँदैन । यदि तिजपछिको आइतबारलाई मान्ने होे भने ‘पाँच अटवारी’ ब्रत बस्नेहरुको अटवारी प्रभावित हुन्छ । अर्काे कुरा थारु समुदायमा तिजको प्रभाव पनि निकै पछिबाट परेको देखिन्छ । आजको एक सय वर्षको तथ्याङ्क हेर्ने हो भने गैरथारु समुदायको बसोबास बढीमा ५ प्रतिशत मात्र देखाउँछ । थारु बस्तीमा आजको जस्तो हिजो मिश्रित जातजातिहरुको बसाइँ थिएन । थारु समुदायको एकलौटी बसाइँ थियो । आफ्नै कला, संस्कृति र सामाजिक मान्यताभित्रै रमाउने थारु समुदाय, अन्य समुदायको पर्वलाई आधार बनाएर आफ्नो पर्वको निर्धारण गर्ने विषय पनि हुँदैन । अहिलेको जस्तो विभिन्न जातजातिहरुको मिश्रित बसाइँ र सबैले एकअर्काका कला, संस्कृतिलाई स्वीकारिसकेको अवस्थामा योे कुरा उठ्नु स्वाभाविक त हो तर वास्तविकता भने होेइन ।

उसो त कुसे औँसीपछिको पहिलो आइतबार प्रायः तिजपछि नै पर्छ । योे एउटा संयोग मात्र हो । यसले पनि तिज पछिको आइतबारलाई मान्ने भन्ने कुराको बढावा दिन सक्छ तर योे सत्य होेइन र सँधै यस्तै पनि हुँदैन । कहिलेकाहीँ त तिजकै दिन आइतबार पर्छ अथवा तिज अगावै पनि पर्छ । पछिल्लो समय यही तर्ककै भ्रममा परेर फरक–फरक आइतबार अटवारी मान्ने समस्या देखापरेको छ ।

अटवारीमा कसको पूजा हुन्छ ?

प्रकृति पुजक थारु समुदायमा खास गरेर योे पर्व सूर्यको पूजा गरेर मनाइन्छ । सूर्यलाई उज्यालो, अग्नि र शक्ति ‘उर्जा’को प्रतीकको रुपमा मानिन्छ । आइतबारलाई रविबार पनि भनिन्छ । रवि भनेको सूर्य (सुरज) अथवा अग्नी । अग्नि तापको स्रोत उज्यालोको प्रतीक हो । जब भयावह कालरात्रि चिरेर सूर्यको उदय भएपछि योे संसार उज्यालो भयो भन्ने किम्बदन्ती छ । सूर्यले अँध्यारो चिरेर उज्यालो गराउँछ । जसले गर्दा मान्छे मात्रै होइन यस पृथ्वीमा बस्ने हरेक प्राणीलाई सजिलो हुन्छ । सूर्यले वातावरणीय चक्र प्रणालीलाई सन्तुलित बनाउन छ । जसको आधारमा ऋतु अनुसारको काम र समयको निर्धाण पनि हुन्छ । प्रकृतिप्रति विश्वास गर्ने थारु समुदाय सूर्य उज्यालोको प्रतीक भएकोले यसको पूजा उज्यालोदाताको रुपमा गरेका हुन् ।

अर्को मिथक महाभारत कथासंग जोडिएको छ । पाँच पाण्डवमध्ये सबैभन्दा बलियो भेवाँ (भीम) थिए । जब कौरव र पाण्डवको लडाइँ भयो ।त्यसै समय भीम रोटी पकाउँदै थिए । लडाइँ चरमोत्कर्षमा पुगेपछि उनी रोटी पकाउँदा पकाउँदै तावामै छोडेर लडाइँमा हिँडे । जब लडाइँबाट फर्किँदा उनी निकै भोकाएका थिए । तावामा छोडेर गएको एकपट्टि मात्र पाकेको रोटी खाएर पेट भरे । अटवारीमा अक्केकरे रोटी (एकपट्टि मात्र पकाएको रोटी) पकाउने चलन छ । यसरी अक्केकरे रोटी उनै भीमलाई पुज्ने गरिन्छ भन्ने किम्बदन्ती छ ।

अर्का मिथक अनुसार थारु राजा दंगीशरण र पाँच पाण्डव मध्यका भीम (भेंवाँ) सँग निकै राम्रो सम्बन्ध थियो । एक दिन राजा दंगीशरण सुर्खेतको काँक्रेबिहारमा बिहार गर्न गएका थिए । त्यसैबेला उनको राज्यमा दुश्मनहरुले आक्रमण गरे । यो कुरा जानकारी पाएपछि राजा दंगीशरणको राज्य जोगाउन भीमले सहयोग गरे । दुस्मनलाई हराएर दंगीशरणको राज्य सुरक्षित गरे । त्यसपछि भीमलाई भगवान्को रुपमा पुज्न थाले र कालान्तरमा उनको महिमा बढ्दै गयो र अहिले पनि उनी पूज्य छन् । यसरी सबैभन्दा बलियो पुरुष भीम भएकोले उनी जस्तै बलियो हुने सङ्कल्पका साथ पुरुषहरु उनकै पूजा गरेर अटवारी ब्रत बस्ने विचार पनि जनमानसमा छ । यसरी अटवारी पर्वको बारेमा अध्ययन गर्दा वैचारिक एकरुपता रहेको पाइँदैन । ठाउँ अनुसार फरक फरक विचार, चालचलन र प्रक्रिया रहेको पाइन्छ ।

बर्किमार प्रारम्म

थारु समुदायमा प्रचलित लोक महाकाव्यको रुपमा रहेको बर्किमार अटवारी चाडदेखि खुल्ने जनधारणा रहेको छ । तर यस बिषयमा पनि एकरुपता छैन । केहीले बर्किमार थारु समुदायका सबैभन्दा ठूलो पूजा हेरेरि (ह¥या गुरै) पछि शुरु हुन्छ भनेका छन् । त्यसो त हरेरि पूजादेखि बादल र सरिया÷सख्या गीत खुल्ने जनधारणा छ । थारु समुदायमा ढुरहेरिदेखि हरेरिपूजासम्म मादल र पर्व गीतहरु पूर्ण रुपमा बर्जित हुन्छ । यो बीचको समयमा मादल बजाएमा वा बर्जित गीतहरु गाएमा गलगाँड उठ्ने, गाउँमा अशुभ हुने जनविश्वास पनि कायमै छ । बर्किमार महाभारत कथासँग सम्बिन्धत छ । थारु समुदायमा यस महाकाव्यलाई गीतको रुपमा प्रस्तुत गर्ने गर्दछन् । हो । यो बर्का नाचमा गाइने सामुहिक गीत हो । दशै तिहारपछि यो पूर्ण रुपमा गाउन बन्द हुन्छ ।

अटवारी कसरी मनाइन्छ ?

अटवारी, ब्रत बसेर मनाउने पर्व भएकोले यसमा पनि ‘डटकट्टन’ भिन्सरिया (दर) खाने चलन छ । दर खानाका लागि शनिबार दिनभरि माछा मार्ने र अरु तिहुन् तरकारीको जोहो गरिन्छ । माछाको सुखौरा (सुकुटी) धेरैजसो पहिल्यै तयार गरिएको हुन्छ । अटवारीमा माछाको सुखौरा विशेष मानिन्छ । तर अन्य कुनैै चीजको मासु भने हुँदैन । सागमा पोंइ अनिवार्य जस्तै हुन्छ । भिन्डी, टोरैं, ठुसा (मास जस्तै एक प्रकारको दाल बाली, झिलिङ्गी, सिल्टुङ) लगायतका तरकारी हुन्छ । ‘डटकट्टन’ ब्रत बस्नेहरु भाले बास्नु भन्दा पहिले खानु पर्छ । यदि खानुभन्दा पहिले भाले बासे भने ‘डटकट्टन’ खान पाइँदैन । खाए भने ऊ ब्रत बस्न पाउँदैन । उसलाई जुठो मान्ने चलन छ ।

आइतबार अथवा अटवारीको दिन ब्रत बस्नेहरुको खान भान्सामा पाक्दैन । उनीहरु बिहानै नुहाएर बहरी (घरको प्रवेशद्वारको पहिलो कोठा) या आँगनमा गाईको गोबरले लिपपोत गर्छन् । लिपपोत गरेर ‘कोरे आगी’ (भान्सामा पहिले प्रयोेग नभएको आगो, चोखो आगो) मा रोटी पकाइन्छ । पुरानो आगो आज अपवित्र मानिन्छ । त्यसकारण गन्यारी काठ या फोर्सा काठ घोटेर निकालेको चोखो आगो प्रयोग गर्ने गरिन्छ ।

बाटुलो रोटी सूर्यको प्रतिकात्मक परिकारको रुपमा लिइन्छ । योे पर्वमा रोटी अनिवार्य हुन्छ । अन्य खानेकुरा भने सहायक हुन्छन् । अटवारीमा अन्डी र र गहुँको गरी, दुई थरीको रोटी हुन्छ भने पक्की, अम्रुट् (अम्बा, बेलौती), केरा, तरुल, भेली मिठाई मिसाएको मोर्साको भूजा र मिठाइपानी पनि हुन्छ । पहिलो दिन नुन, बेसार, खुर्सानी, माछा, मासु भने आजको दिन बर्जित हुन्छ ।

रोटी पकाएर तयार भयो भने स्नान गरी बिहान लिपपोत गरेको ठाउँमा पिर्का या कुनैै काठको वस्तुमा सँगै बसेर आफ्नो प्रक्रिया अगाडि बढाउँछन् । खानुभन्दा पहिले अगयारी (अग्यारी) दिने चलन छ । निश्चित ठाउँमा गाईको गोबरले पुनः लिपेर त्यसमा आगो (फिलिङ्गो) राखिन्छ । त्यही आगोमा सर्री धूप (सल्लाको धूप), नौनी र खानका लागि तयार गरिएको बस्तु (अन्डीको रोटी, गहुँको रोटी, पक्की, काँक्रो, अम्बा (बेलौती), केरा, तरुल, भेली मिठाई मिसाएको मोर्साको भूजा र मिठाइपानी) अलिअलि सबै चीज एकैमा मिसाएर त्यसमा हवन गरिन्छ (चढाइन्छ) । यसरी आगोमा चढाउने कामलाई ‘अगयारी’ दिएको भनिन्छ ।

सूर्य आगोको मुख्य श्रोत हो । सूर्य आफैँमा अग्नी हो । त्यसैले सबैभन्दा पहिले अग्नी (आगो)लाई अथवा सूर्यलाई प्रसादको रुपमा अगयारी दिने चलन आएको होे । अगयारी दिएर तीन पटक दायाँ र तीन पटक बाँयाबाट पानीले पर्छने (पानीको घेरो हाल्ने) चलन छ । कोही–कोही पाँच या सात फेरा पनि पर्छने गर्छन् । त्यसपछि आफ्ना चेलीबेटीहरुका लागि पाहुँरको रुपमा ‘अग्रासन’ छुट्याउने चलन छ । ‘अग्रासन भनेको आफू खानुभन्दा पहिले छुट्टयाएको खान भन्ने बुझाउँछ । जुन आफू खानुभन्दा पहिले आफ्ना चेलीहरुको नाममा छुट्टयाइन्छ ।

अग्रासन ‘अग’ र ‘रासन’ समास भए बनेको शब्द हो । यहाँ ‘अग’ भनेकोे सबैभन्दा पहिले भन्ने अर्थ हुन्छ र ‘रासन’ भनेको खान भन्ने बुझाउँछ । यसरी चेली बेटीहरुलाई दिनका लागि छुट्टै भाँडोमा निकालेर मात्रै खाने चलन छ । योे काम दिउँसो हुन्छ । अन्य ब्रत जस्तो अटवारीमा दिनभरि निराहार बसिरहनु पर्दैन । दिउँसो नै पूजा गरी खाने चलन छ । योे क्रम सूर्यास्त नहुँदासम्म चल्छ । सूर्यास्तपछि खाने काम पूर्णरुपले बन्द हुन्छ ।

अर्काे दिन सोमबार, ‘फर्हार’ गरिन्छ । फर्हार नहुँदासम्म पानी समेत नखाएर निराहार बस्नु पर्छ । फर्हार अटवारीको अन्तिम पूजा होे । यस दिन ब्रतालुहरु बिहानैदेखि खानपिनको तयारीमा जुटेका हुन्छन् । घरका अन्य सदस्यहरुले पनि सहयोग गरेका हुन्छन् । आजको खानामा खास गरेर भात, खँरिया, फुलौरी, पोँइ मिसाएको ठुसा, सुखौरा माछा, चिचिण्डो, घिरौला, भिन्डीलगायतका विजोर सङ्ख्यामा तरकारीहरु बनाइएको हुन्छ । माछाको सुखौरा विशेष मानिन्छ तर मासु भने हुँदैन । फर्हारपछि मात्रै मासु ल्याउने या खाने गरिन्छ ।

फर्हार, सबै पकवान तयार भएपछि शुरु हुन्छ । ब्रतालुहरु हिजोको जस्तै आज पनि नुहाइ–धुवाइ गरी अग्यारी दिएर आफ्ना चेलीबेटीहरुका लागि ‘अग्रासन’ निकाल्ने गरिन्छ । अग्रासन धातु वा प्लास्टिकको भाँडामा निकालिँदैन । अग्रासन विशेषतः नम्ह्रैन (मालुका), कमल या केराको पातमा निकाल्ने गरिन्छ । अटवारी आउनुभन्दा केही दिन पहिले नै पात टिप्ने काम हुन्छ । प्रायः अग्रासन पात खुटेर बनाएको दुना टपरीमा निकालिन्छ । त्यो नभए विकल्पको रुपमा कमलको पात या केराको पात प्रयोेग भएको पनि पाइन्छ । यसरी प्रक्रियागत रुपमा सबै कार्य पूरा भइसकेपछि मात्र ब्रतालुहरु अन्न ग्रहण गर्छन् ।

अन्य पर्वमा जस्तै अटवारीमा आफ्ना चेलीबेटीहरुलाई घरमै बोलाउने चलन छैन । ब्रतालुहरुले निकालेको पहुर ‘अग्रासन’ उनीहरुकै घरमा पु¥याउन जाने चलन छ । अग्रासन पु¥याउन प्रायः दाजु भाइ नै जाने गर्छन् । दाजु(भाइ नभए अन्य सदस्यहरु जान्छन् । चेलीहरु पनि अग्रासन दिन आउनेलाई मानसम्मान गर्छन् । सम्मानार्थ जाँड, रक्सी र मासु खुवाउने गर्छन् । अतिथि सत्कारका लागि थारु समुदायमा जाँड रक्सी ठूलो मानिन्छ । त्यसकारण जाँड रक्सी खुवाउन पाए सन्तुष्ट भएको महसुस गर्छन् ।

सरकारसँग बिदाको माग

केही समययता अटवारी पर्वमा बिदाको लागि स्थानीय र प्रदेश सरकारसँग माग गरिरहेको देखिन्छ । तर विदाको लागि थारु कल्याणकारिणी सभा लगायतका संस्थाका जिम्मेवार पदाधिकारीहरुमा अटवारी बारेमा देखिएको अन्यौलताका कारण सरकारी निकाय पनि यसको सही निर्णय लिनेसकेको छैन । यसको लागि पहिले थारु समुदायमा स्थापित सामाजिक र सांस्कृतिक क्षेत्रमा क्रियाशील संस्थाहरुमा वैचारिक एकरुपता हुन जरुरी छ ।

अर्का कुरा अटवारीमा खास २ दिन विदा आवश्यक देखिन्छ । अटवारीमा आइतबार ब्रत बसी पूजा अनुष्ठान गर्ने र सोमबार फर्हार गरेर आफ्ना चेलीबेटी कहाँ पाहुर दिन जानु पर्ने हुनले आइतबार र सोमबार गरी २ दिन बिदा आवश्यक देखिन्छ । तर पनि अहिले केही स्थानीय निकायहरु निकै अन्योलताका बीज बतै एक दिन त बतै २ दिन बिदा दिइरहेको छ ।

अन्त्यमा

योे पर्व भ्रातृत्वप्रेम र सद्भावको पर्वको रुपमा पनि लिने गरिन्छ । लामो समयसम्म आफ्नो माइत जान नपाएका चेलीबेटीहरु यस पर्वमा आफ्ना दाजुभाइ तथा परिवारसँग दुःखसुखका कुरा खुलेर पोख्छन् । यसरी एकै ठाउँमा बसेर सुख दुःखका कुरा र खानपिनले एकापसमा विश्वास र आत्मीयता बढाउँछ । पारिवारिक सम्बन्ध पनि सुमधूर बनाउँछ । तर यसका केही गलत पक्षहरु पनि छन् । सम्मानका नाममा अत्याधिक मदिरा सेवन गर्ने र गराउने परम्परा समय सापेक्षित देखिदैन ।

यसकै कारण अनावश्यक झैझगडा, पानीमा डुबेर मृत्यु, सडक दुर्घटना लगायत विभिन्न घटनाहरु भएको पनि देखिन्छ । यसको न्यूनीकरणमा ध्यान दिन जरुरी देखिन्छ । त्यसैगरी अग्रासनका नाममा बासी खानेकुरा, खानेकुरामा रंगको प्रयोेग, अनावश्यक खर्च, कुनैै साल आफ्ना चेलीबेटी कहाँ अग्रासन पु¥याउन नसके चेलीहरुमा नकारात्मक सोचाई राख्ने र एकापसमा मनमुटाव भएको पनि देखिन्छ । त्यसकारण पर्व, सबैले पर्वको मर्म अनुसार मनाउनु पर्छ । यसलाई समय अनुसार परिमार्जन गर्दै आफ्नो गर्त र मौलिकतामा सबैले सबैलाई खुशी पार्ने हिसाबमा मनाउन सक्नु पर्छ ।