कर्मचारी युनियनको स्थापना दिवस,स्थायी सरकारकै कानुन बनेनन्
खेमराज रिजाल
दाङ, २० भदौ । अहिले मुलुकको स्थायी सरकार भनेकै कर्मचारीतन्त्र हो । जनप्रतिनितधिहरूको सरकार त कुन बेला ढल्छ थाहै हुँदैन तर त्यही स्थायी सरकार पनि पछिल्लो समयमा कमजोर बन्दै छ । कारण स्थिर सरकारको वृत्ति विकास, उनीहरूको आत्मसम्मान र पेसागत सुरक्षाका लागि आवश्यक कानुन निर्माण हुन सकेका छैनन् । स्थायी सरकारका लागि कानुन निर्माण गरिदिने सरकार नै कानुन बनाउने सन्दर्भमा निरीह बनेपछि यसको अप्ठेरो सबै कर्मचारीलाइ पर्न थालेको छ । यसको प्रत्यक्ष वा परोक्ष प्रभाव आम सेवाग्राही नागरिकमा पर्न थालेको छ ।
‘निष्पक्षता, राष्ट्रसेवा, तटस्थता र कर्मचारी एकता’ भन्ने मूल नाराका साथ नेपाल निजामती कर्मचारी युनियन दाङ शाखाले आफ्नो स्थापना दिवसको अवसर पारेर बुधवार घोराहीमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा रक्तदान कार्यक्रममा सहभागी कर्मचारीले विधायकमाथि थुप्रै गुनासा गरेका छन् । सङ्घीय निजामती ऐन नबन्दा कर्मचारीका वृत्ति विकासमा प्रभाव परेको छ भने तीन तहका सरकारमा कर्मचारी व्यवस्थापनमा समेत चुनौती देखिएको छ । संघमा कर्मचारी थुप्रिएका छन्, प्रदेश र स्थानीय तहमा कर्मचारीको चरम अभाव देखिएको छ । जसले सङ्घीयता कार्यान्वयनमै चुनौती थप्न थालेको गुनासो कर्मचारीले गरेका छन् ।
नेपाली कांग्रेसको शुभेच्छुक संस्था निजामती कर्मचारी युनियन दाङका अध्यक्ष श्रीधर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि नेपाली कांग्रेसका लुम्बिनी प्रदेश उपसभापति एवम् लुम्विनी प्रदेशका पूर्व मन्त्री राजु खनालले लुम्बिनी प्रदेशले निजामती ऐन बनाए पनि संघले निजामती ऐन नल्याउँदा आफूले बनाएको कानुनमा धेरै विषयमा बाझिने सम्भावना रहेको बताए । ‘हामीले प्रदेश निजामती ऐन बनाइसकेका छौँ, स्थानीय निजामती ऐन निर्माणको अन्तिम चरणमा छ’, प्रमुख अतिथि खनालले भने, ‘हामीले कानुन निर्माण गर्दा कर्मचारीका वृत्ति विकासका लागि धेरै पहल गर्नु पर्ने छ । स्थापना दिवसलाई सबोधन गर्दै प्रमुख अतिथि खनालले अहिलेको जनगुनासो पहिले जनप्रतिनिधिसँग र दोस्रो कर्मचारीसँग रहेको छ । ‘हामी दुवै पक्ष खुसी हुन सकेका छैनौँ, यति हुँदाहुँदै पनि कर्मचारी स्थायी सरकार भएकाले जनतालाई छिटो छरितो सेवा प्रवाह भने गर्नु पर्छ’, उनले भने ।
कार्यक्रममा विशिष्ट अतिथि तथा नेपाली कांग्रेस जिल्ला सभापति शंकरप्रसाद डाँगीले नेपाली समाज स्वार्थपूर्ण रहेकाले परिवर्तनलाई सार्थकतामा लैजान कर्मचारीलाई आग्रह गरे । ‘तपाईँहरू जतिसुकै अप्ठेरो परिस्थितिमा पनि उठ्नु पर्दछ, तपाईँहरूले उनान्सय वटा राम्रा काम गरे तापनि एउटा मात्रै नराम्रो कामले औँला ठड्याउने अवस्था आउन सक्छ, यस्तो एउटा गल्ती पनि तपार्इँहरूले गर्नुहुने छैन’, सभापति डाँगीले भने । संगठनमा आबद्ध एउटा कर्मचारीले मात्रै गल्ती ग¥यो भने यसले सिङ्गो संगठनलाई वदनाम गराउने अवस्था आउन सक्ने भन्दै उनले राष्ट्रसेवक कर्मचारीले निष्पक्षता, तटस्थता र राष्ट्रसेवामा समर्पित हुनु पर्ने भावनालाई आत्मसात गर्न उनले अनुरोध गरे । साथै उनले युनियनबाट निवृत्त कर्मचारीलाई पार्टीले आवश्यक जिम्मेवारी दिएर उनीहरूको अनुभवलाई आत्मसात गर्ने आश्वासन पनि दिए । ‘निवृत्त राष्ट्रसेवक कर्मचारीहरू आउनुस् हामी तपाईँलाई पार्टीमा स्वागत गर्छौँ र तपाईँलाई तपाईँको क्षमता अनुसारको जिम्मेवारी दिएर तपार्इँहरूको अनुभवलाई हामीले एउटा सम्पत्तिका रूपमा ग्रहण गर्ने छौँ’, सभापति डाँगीले भने ।
कार्यक्रममा प्रदेशसभा सदस्य लोकाकुमारी विकले स्थानीय कानुन प्रदेश संसद्ले फिर्ता गरेको भन्ने गलत भएको भन्दै ड्राफ्ट भएको कानुनलाई अझै स्पष्ट र जनमुखी बनाउन केही बुँदामा हेरफेर गर्नु पर्ने भएकाले संसद्बाट अनुमोदन हुन ढिलाइ भएको बताइन् । सम्भवतः आउँदो वर्षे अधिवेशनले स्थानीय तह निजामती ऐन पनि अनुमोदन गर्ने उनले आश्वासन दिइन् । कार्यक्रममा अर्का विशिष्ट अतिथि तथा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले राष्ट्र सेवक कर्मचारीलाई इमानदार र कर्तव्यनिष्ठ भएर जनतालाई सेवा प्रवाह गर्न आग्रह गरे । स्थायी सरकार भनेकै कर्मचारी रहेको उल्लेख गर्दै उनले सरकारलाई कता लैजाने भन्ने दायित्व कर्मचारीहरूकै भएको उल्लेख गरे ।
‘मुलुकमा धेरै राजनीतिक परिवर्तन भए, हामीले विश्वकै उत्कृष्ट संविधान पाएका छौँ तर परिवर्तनको अनुभूति जनतामा हुन सकेको छैन’, विशिष्ठ अतिथि शर्माले भने, ‘जनतालाई अनुभूति हुने गरी सेवा प्रवाह गर्नुस् ।’ विधायकले कानुन निर्माणमा बढी केन्द्रित हुनु पर्ने तथा निर्माण भएका कानुनलाई कुशलतापूर्वक कार्यान्वयन गर्ने जिम्मा कर्मचारीकै भएको उल्लेख गर्दै विशिष्ठ अतिथि शर्माले जनतालाई परिवर्तनको अनुभूति हुने गरी काम गर्न कर्मचारीलाई सुझाव दिए ।
कार्यक्रममा बोल्दै अर्का विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले कानुन निर्माण नै नगरी कर्मचारी समायोजन र व्यवस्थापन गर्दा यस्तो समस्या आएको औल्याउँदै यसलाई सुल्झाउन तीनै तहका सरकारलाई चाँडै कानुन निर्माण गर्न आग्रह गरे । सेवा सुरक्षा र वृत्ति विकास कर्मचारीहरूको पहिलो आवश्यकता भएको भन्दै प्रजिअ सुवेदीले विज्ञ, कर्मचारी र सांसदहरूको एउटा गत्तिलो टिम बनाएर कानुन निर्माणलाई अन्तिम टुङ्गोमा लैजान आग्रह गरे ।
कार्यक्रममा बोल्ने अग्रज कर्मचारी नेतृत्वहरूले सङ्घीय निजामती ऐन ल्याउन जनप्रतिनिधिलाई आग्रह गरेका थिए । नेपाल निजामती कर्मचारी युनियन दाङ शाखाका उपाध्यक्ष शरदकुमार घिमिरेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सहभागीले आफूहरू नेपाली कांग्रेसको शुभेच्छुक संस्था हुँदाहुँदै पनि आफ्नो संस्थालाई पार्टीले हेर्ने दृष्टिकोणमा अभिभावकीय भूमिका नपाएको गुनासो गरेका थिए । कार्यक्रममा निजामती कर्मचारी युनियन लुम्बिनी प्रदेशका अध्यक्ष एवम् केन्द्रीय सदस्य बामदेव शर्मा, युनियनमा आबद्ध रहेका निवृत्ति कर्मचारी टोपबहादुर पार्धे, युनियनका पूर्व केन्द्रीय सदस्य तथा कांग्रेस नेता शान्तराज अधिकारीलगायतले शुभकामना एवम् सुझाव मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सहजीकरण युनियनका जिल्ला सचिव वीरबहादुर राम्जा पुनले गरेका थिए । कर्मचारी युनियनको स्थापना दिवसकै अवसर पारेर युनियनमा आबद्ध भई सेवाबाट अवकाश लिएका कर्मचारीलाई सम्मान गरी बिदाइ गरिएको थियो । सो अवसरमा जिल्लामा बाहिरबाट सरुवा भएर आएका युनियनमा आबद्ध कर्मचारीलाई स्वागत गरिएको थियो । स्थापना दिवसकै अवसर पारेर निजामती कर्मचारी युनियन दाङ शाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा एक दर्जन बढी कर्मचारीले रक्तदान गरेका थिए ।