Goraksha

National Daily

मेरो खुशी : बुवाआमाको सपना पूरा गर्न पाउँदा…

म बादी परिवारको मानिस । बुुवाको नाम तुलसीपुर बादी र आमाको नाम रेवती बादी । बुवाआमाको रैथाने पेसा भनेको माछा मार्ने सामग्री निर्माण गर्ने र विभिन्न प्रकारका वाद्धवाद्धनका सामग्री निर्माण गरेर बजारमा लगि बेचेर परिवार पाल्ने थियो । त्यही पेसाले बुवाआमाले हामीहरूलाई पढाउनु भयो । घर खर्च पनि चलाउनु भयो । किनकि बुवाआमाको सपना मलाई असल शिक्षक बनाउने थियो ।

हो, बुवाआमाकै सपना बोकेर मैले स्कुले जीवन सुरु गरेँ । स्कुलमा भर्ना भएँ । जुनबेला जातीय छुवाछुत र भेदभाव चरम सीमामा थियो । यहाँसम्म कि हाइस्कुल पढ्दाको अवधिमा हामी बादी समुदायका विद्यार्थीलाई कार्यालयको कक्षाभित्र पसेर पानी खान पाउने अधिकार पनि थिएन् । यति मात्र कहाँ हो र । माथिल्लो जातका शिक्षकले अन्य गल्ती गर्ने विद्यार्थीलाई कान निमोठ्ने र गालामा चड्काउने गर्ने गर्थे तर हामी तल्लो जातका बादी समुदायलाई छुन हँुदैन भनेर लाठिले कुट्थे । त्यो वरवर जातीय दमनको प्रत्यक्ष साक्षी रहेको मैले तल्लो तहमै अध्ययनका क्रममा अन्त गर्ने अठोट पनि मेरो थियो ।

मान्छे दुई जातको मात्र हुन्छ, एउटा महिला र अर्को पुरुष । अहिले तेस्रो लिङ्गीहरूलाई पनि समाजले स्वीकार गरेको छ । हामी त्यही चाहन्थ्यौँ । त्यही शिक्षाको प्रचार हामीले स्कुले जीवनदेखि नै गथ्यौँ । अध्ययन गर्दै जाँदा मैले २०४७ सालमा एसएलसी उत्तीर्ण गरे । शिक्षक बनाउने मेरा बुवाआमाको सपना थियो । एसएलसी गर्ने वित्तिकै मैले शिक्षक बन्नका लागि शिक्षक सेवा आयोगको तयारी पनि गरे ।

एसएलसीकै दरवन्दीमा मैले २०५० सालमा स्थायी शिक्षकमा नियुक्त हुन सफल भएँ । लेखिदिनु होला मेरो जीवनको सबैभन्दा अविस्मरणीय खुसीको क्षण त्यही शिक्षक थियो । किनकि यो मेरा बुवा आमाको सपना पनि थियो । त्यसपछि बादी समुदायमा पनि पढ्ने छन् । यो समुदायमा पनि शिक्षाको दियो सल्काउन सकिन्छ भनेर अन्य परिवारमा पनि पढाइलाई विस्तारै निरन्तरता दिन थालियो । लेखिदिनु होला मेरो खुसी बादी समुदायको शिक्षा, समानता, समावेशीकरण र जातीय भेदभावको अन्त्य पनि मेरो अर्को खुसी हो ।

माथि उल्लिखित खुसीको अविस्मरणीय क्षण हो, दंगीशरण गाउँपालिका श्री गाउँघर भएका सामाजिक एवम् शैििक्षक अभियन्ता निर्मल बादीको हो । उनी हाल मावि बालापुरमा स्थायी शिक्षकका रुपमा कार्यरत छन् । स्कुलमा पढाउदा पढाउँदै उनले २०५२ सालमा आइए पास गरे । त्यसपछि २०६५ सालमा स्नातक पनि उत्तीर्ण गरे । अहिले उनले विद्यालयमा मावि तहसम्मका विद्यार्थीलाई पढाउँछन् । भन्छन् शिक्षा जीवनको ज्योति हो । आफैले पढाएका विद्यार्थी कोही नेपाली सेनाका जागिरे भएका छन्, केही डाक्टर समेत भएका छन्, केही प्रहरीमा छन्, केही सामाजिक अभियन्ता बनेका छन् ।

त्यसो त निर्मल बादीको क्रियाशीलता शिक्षा क्षेत्रमा मात्र रहेन । उनी बादी समुदायमा रहेको देय व्यापारको अन्तका लागि पनि अभियानमा लागे । उनी लगायतका शिक्षित युवाहरूकै अभियानका कारण अहिले बादी समुदायमा रहेको देह व्यापारको अन्त्य समेत भएको छ । त्यसो त निर्मल बादी यो मानेमा पनि खुसी छन् कि अहिले स्थानीय तहहरूले पनि जातीय विभेद भुक्त समाज निर्माण, समावेशीकरण ऐन समेत निर्माणको भूमिकामा छन् ।

स्थानीय तहहरूमा यस्ता ऐन निर्माणमा सहजीकरण गर्न पाउनु पनि मेरो जीवनको सबैभन्दा खुसी हो । निर्मल बादी अहिले सामाजिक अभियन्तासँगै अधिकारकर्मी संस्थाहरूको पनि नेतृतवमा छन् । तत्कालीन अवस्थामा केन्द्रमा अधिकारकर्मी कृष्ण पहाडीले नेतृत्व गरेको मानव अधिकार तथा शान्ति समाज दाङ शाखाको अध्यक्ष हुँदै केन्द्रीय सचिवसम्मको जिम्मेवारीमा छन् । विभिन्न क्षेत्रमा हुने समस्याको समाधानमा पैरवी गर्दै आएको सम्वाद समूहका पनि उनी सक्रिय सदस्य हुन् । सामाजिक क्षेत्रमा लाग्दै गर्दा निर्मल बादी धेरै संस्थाहरूबाट सम्मानित समेत भएका छन् । यो सम्मान पनि उनको खुसी हो ।

निर्मल आफूले मात्रै शिक्षाको उज्यालोमा लागेनन्, उनले दुई छोरीलाई पढाएर डाक्टर बनाएका छन् । एउटा छोरा आइटि अफिसर बनेको छ । कान्छि छोरीले ल्याव टेक्निशियनको अध्ययन पूरा गरिसकेकी छिन् । भन्छन्, हामी शिक्षित युवाहरूकै अभियानले अहिले मुलुकमा समावेशीकरण सहितको राज्य संरचना निर्माण भएको छ । जातीय विभेदको अन्त्य भएको छ । छुवाछुतको अवस्था छैन ।

कुनै पनि सामुदायिक विद्यालयमा अहिले दलितहरूलाई भनेर पानी पिउने भिन्नै धारा छैन । यो समानताको उपज भनेको शिक्षा हो । यसैले भन्छन्, शिक्षामा लगनशीलता र त्यसबाट प्राप्त हुने सफलता खुसी हो । सामाजिक सम्मान खुसी हो । आफूले गरेको अभियान सफल भएपछि प्राप्त हुने आत्मसन्तुष्टि पनि खुसी हो । खुसी पैसाले खरिद गरिने वस्तु होइन, मन र भावनाले अनुभूति गर्ने विषय हो । हो, त्यसैले म अलिे पनि शिक्षण पेसासँगै विभिन्न सामाजिक अभियानमा पनि क्रियाशिल छु ।

मैले भन्न चाहन्छु कि मेहनत गरौँ, कुनै पनि कुरा असम्भव छैन । समाजमा अब जातीय भेदभावको प्रायः अन्त्य भइसकेको छ, कहीँ कतै यसका डोब बाँकी छन् भने त्यसका लागि पनि हामीले एकताबद्ध भएर राज्यलाई दबाब सिर्जना गर्नु पर्ने छ । समतामूलक समाजको निर्माण गर्नुपरेको छ । यसको प्रमुख आधार भनेकै शिक्षा हो । ‘अझै पनि कोही शिक्षाबाटब बञ्चित रहेका छन् भने सबैलाई विद्यालय पठाउन पनि मेरो आग्रह छ’, किनकि शिक्षा जीवनको ऐना हो । शिक्षाले हरेक मानवलाई असल बाटोमा मार्गदर्शन गर्दछ ।

अझै पनि राज्यले गर्न नसकेका धेरै कुरा होलान्, त्यसमा हामी विभिन्न सामाजिक संस्थामा लागेका व्यक्तित्वहरूले राज्यलाई समय समयमा झस्काउनु पनि पर्दछ । अधिकारको लडाइको कहिल्यै अन्त हँुदैन, त्यसैले यसमा पनि सबै समुदाय चनाखो भइरहनु आवश्यक छ ।
प्रस्तुति ः खेमराज रिजाल