Goraksha

National Daily

जिल्लाका स्थानीय तह : समयमै खुवाएनन् निःशुल्क औषधी


देवेन्द्र बस्नेत
दाङ, २९ चैत । सरकारले निःशुल्क घोषणा गरेको औषधी नागरिकलाई समयमै उपलब्ध गराउन जिल्लाका सबैजसो स्थानीय तह अनुदार देखिएका छन् । उनीहरूले समयमै औषधी खरिद प्रक्रिया नथाल्दा नागरिकले समयमै निःशुल्क औषधी खान पाउने अधिकार पाउन सकेका छैनन् । जिल्लाका अधिकांश स्थानीय तहले आर्थिक वर्षको आधा वर्ष पूरा भइसकेपछि मात्रै औषधी खरिद गरेका छन् ।

आर्थिक वर्षको सुरुवातमै औषधी खरिद गर्न जिल्लाका कुनै पनि स्थानीय तह सक्षम देखिएका छैनन् । आम नागरिकलाई निःशुल्क औषधी उपलब्ध गराउने जिम्मेवारी अहिले स्थानीय तहको हो । औषधी खरिदका लागि सङ्घीय सरकारमार्फत् स्थानीय तहलाई बजेट आउँछ । सोही बजेटले औषधी खरिद गरेर आम नागरिकलाई स्थानीय तहले निःशुल्क बाँड्नु पर्छ ।

भर्खर ठेक्का प्रक्रियामा लमही

चालु आर्थिक वर्षको ९ महिना बितिसक्दा पनि लमही नगरपालिकाले निःशुल्क औषधी खरिद गर्न सकेको छैन । नगर स्वास्थ्य शाखाका अनुसार यहाँ भर्खरै मात्र औषधी खरिदका लागि प्रक्रिया थालिएको छ । नगरका स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद शर्माले औषधी खरिदको ठेक्का प्रक्रियामा गएको र तत्कालै औषधी आउने बताए । ‘औषधी खरिदका लागि भर्खरै मात्र ठेक्का प्रक्रिया सुरु गरेका छौँ, अब तत्कालै औषधी आउँछ र स्वास्थ्यचौकीलाई वितरण गर्ने छौँ’, उनले भने । उनका अनुसार नगरका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएका कारण पनि समयमै औषधी व्यवस्थापनमा समस्या देखिएको थियो । आर्थिक वर्ष सकिन तीन महिना मात्रै बाँकी रहँदा लमही नगरपालिकाले यो आर्थिक वर्षमा पहिलो पटक औषधी खरिदको प्रक्रिया थालेको उनले बताए ।

राप्ती गाउँपालिकामा सात महिनापछि खरिद

जिल्लाको राप्ती गाउँपालिकाले पनि आर्थिक वर्षको सुरुवातमै औषधी खरिद गर्न सकेन । उसले पनि आर्थिक वर्षको सात महिना नाघिसकेपछि मात्र पहिलो चरणको औषधी खरिद गरेको जनाउँछ । औषधी अभाव सुरु भयो अनि तत्कालै अर्को पटक औषधी खरिद गर्नु प¥यो तर अहिले फेरि औषधी खरिदको प्रक्रियामा आफूहरू रहेको यो पालिकाका स्वास्थ्य शाखाका नारायण राउत बताउँछन् । ‘यो आर्थिक वर्षमा पहिलो चरणमा माघमा औषधी खरिद भयो तर त्यो औषधीले माग पूरा भएन र अभाव सुरु भयो अनि अर्को पटक फेरि औषधी खरिद ग¥यौँ’, उनले भने, ‘अहिले फेरि औषधीको अभाव हुन थालिसकेको छ, हामी फेरि औषधी खरिदको प्रक्रियामा लागिसकेका छौँ ।’

त्यसो त उनले सङ्ंघीय सरकारबाट आउने सशर्त बजेट र स्थानीय तहले आन्तरिक स्रोतबाट विनियोजन गर्ने बजेटले पालिकाको औषधीको मागलाई थेग्न नसक्ने बताए । उनका अनुसार पालिकामा वर्षभरि निःशुल्क औषधीको अभाव हुन नदिन दुई करोड रुपैयाँको औषधी खरिद गर्नु पर्छ तर औषधी खरिदका लागि पालिकालाई सङ्घीय सरकारबाट आउने सशर्त बजेट १२ लाख ७४ हजार रुपैयाँ र स्थानीय तहले विनियोजन गरेको ६० लाख गरी ७२ लाख ७४ हजार रुपैयाँ मात्र रकम विनियोजन भएको छ । ‘पालिकाका नागरिकलाई वर्षभरि पुग्ने औषधी खरिदका लागि दुई करोड रुपैयाँ बजेट आवश्यक पर्छ’, उनले भने, ‘अहिले सशर्त बजेट र पालिकाले विनियोजन गर्ने रकमले त कुनै पनि हालतमा पुग्दैन ।’

गढवामा ८ महिनापछि

गढवा गाउँपालिकाले आर्थिक वर्ष सुरु भएको ८ महिनापछि मात्रै औषधी खरिद ग¥यो । जब कि यो अघिको अवधिमा निःशुल्क औषधीको अभाव व्याप्त थियो । पहिलो पटक गत फागुनमा औषधी खरिद गरेको यो पालिकाले सबै औषधी स्वास्थ्यचौकीमा पठाइसकेको छ । ‘फागुनमा औषधी खरिद गरिएको हो’, यो पालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाशचन्द्र चौधरीले भने, ‘फागुनमा आएको सबै औषधी स्वास्थ्यचौकीमा पठाइसकेका छौँ ।’ उनले सरकारले तोकेका केही औषधीको अभाव भने रहेको बताए । ‘सरकारले तोकेका औषधीमध्ये केही थरिका औषधी अहिले पनि अभाव छ, फलतः अर्को पटक तत्कालै फेरि औषधी खरिदका लागि प्रक्रिया थाल्ने तयारीमा छौँ’, चौधरीले भने । यो पालिकाले निःशुल्क औषधीका लागि सशर्त आएको १२ लाखसँगै पालिकाले ५० लाख रुपैयाँ छुट्याएको छ ।

राजपुरमा माघमा बल्ल औषधी

देउखुरीको राजपुर गाउँपालिकाले गत माघ महिनामा मात्र औषधी खरिद गरेको छ । आर्थिक वर्ष सुरु भएको सात महिनापछि बल्ल यो पालिकाले निःशुल्क औषधी खरिद गरेको पालिकाका स्वास्थ्य शाखा प्रमुख कमलबहादुर रोकायाले जानकारी दिए । गत माघमा खरिद भएको औषधी अहिले अभाव नभइसकेको र थप औषधी खरिदका लागि टेण्डर प्रक्रियाको प्रारम्भ गरेको उनले बताए । ‘गत माघ पहिलो चरणमा औषधी खरिद ग¥यौँ, अहिले स्वास्थ्य संस्थामा औषधीको अभाव छैन’, रोकायाले भने, ‘तर हामीले फेरि दोस्रो चरणमा औषधी खरिदका लागि टेण्डर प्रक्रियाको थालनी गरेका छौँ, चाँडै अर्को चरणको औषधी आउँछ ।’
बंगलाचुलीमा अलि चाँडो

जिल्लाका स्थानीय तहमध्ये बंगलाचुली गाउँपालिका निःशुल्क औषधीमा केही छिटो देखिन्छ । यो पालिकाले आर्थिक वर्ष सुरु भएको तीन महिनामै गत असोजमा औषधी खरिद गरेर वितरण गरेको पालिकाका स्वास्थ्य शाखा प्रमुख नेवबहादुर केसीले जानकारी दिए । त्यसयता अर्को एक पटक पनि औषधी खरिद गरेर वितरण गरिसकेको र तेस्रो चरणमा थप औषधी खरिदको प्रक्रियामा पालिका रहेको केसीले जानकारी दिए । ‘हामीले पहिलो चरणमा गत असोजमै औषधी खरिद गरेर वितरण गरेका छौँ, त्यसपछि अर्को पटक पनि खरिद गरेर वितरण ग¥यौँ’, केसीले भने, ‘तेस्रो चरणमा फेरि औषधी खरिदका लागि प्रक्रिया थालनी गरेका छौँ ।’

दंगीशरणमा पनि ढिलाइ

जिल्लाको दंगीशरण गाउँपालिका पनि निःशुल्क औषधी व्यवस्थापनमा ढिला देखियो । यो पालिकाले आर्थिक वर्ष सुरु भएको ८ महिनापछि बल्ल निःशुल्क औषधीको व्यवस्थापन गरेको छ । पालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदीप योगीका अनुसार यो पालिकाले औषधी खरिदका लागि मंसिरमा ठेक्का प्रक्रिया थालेको थियो तर औषधी आएर वितरण गर्दासम्म फागुन भेटेको उनले बताए । ‘हामीले फागुनमा औषधी खरिद गरेर वितरण गरेका हौँ’, योगीले भने, ‘अहिले पालिकामा औषधीको अभाव छैन ।’ उनका अनुसार पालिकाले गत फागुनमा १३ लाख ५७ हजार रुपैयाँको औषधी खरिद गरेको हो । अब २२ लाखको औषधी खरिदको प्रक्रियामा यो पालिका छ ।

शान्तिनगरमा ६ महिनापछि

शान्तिनगर गाउँपालिका पनि आर्थिक वर्षको प्रारम्भमै निःशुल्क औषधी व्यवस्थापनबाट चुक्यो । उसले पनि आर्थिक वर्षको ६ महिनापछि मात्रै पहिलो चरणमा औषधी खरिद गरेर वितरण गरेको जनाउँछ । यो पालिकाका स्वास्थ्य शाखा प्रमुख हरिबहादुर पुनले निःशुल्क औषधी खरिदका लागि उपलब्ध हुँदै आएको बजेटले पालिकामा वर्षभरिका लागि औषधी व्यवस्थापन गर्न नसकिने बताए । ‘पालिकाले गत मंसिरमा पहिलो पटक औषधी खरिद गरेका छौँ’, पुनले भने, ‘तर पालिकामा रहने बजेटले पालिकामा वर्षभरि निःशुल्क औषधी खुवाउन समस्या छ, पुग्दै पुग्दैन ।’

बबईमा माघमा खरिद

बबई गाउँपालिकाले गत माघमा पहिलो चरणमा निःशुल्क औषधी खरिद गरेको छ । उसले चालु आर्थिक वर्षको सात महिनापछि मात्रै औषधी खरिद गरेको हो । पालिकाका स्वास्थ्य शाखा प्रमुख हरिबहादुर खड्काले पहिलो चरणमा औषधी गत माघमा खरिद भएको र अब अर्को चरणमा औषधी खरिद गर्ने तयारी थालिएको बताए । ‘माघ महिनामा औषधी खरिद गरेर वितरण गरेका छौँ’, खड्काले भने, ‘अहिले अर्को लटको औषधी खरिद गर्ने तयारी गरिरहेका छौँ, चाँडै खरिद गरेर वितरण गरिने छ ।’

घोराहीमा दोस्रो चरणमा औषधी खरिद हुँदै

घोराही उपमहानगरपालिकाले पनि गत माघमा मात्र निःशुल्क औषधी खरिद गरेको छ । यो उपमहानगरले पनि आर्थिक वर्षको सुरुवातमै आम नागरिकलाई निःशुल्क औषधी प्रदान गर्न सकेन । माघमा पहिलो चरणमा औषधी खरिद गरेको उपमहानगरले अहिले दोस्रो चरणको औषधी खरिदको प्रक्रिया थालेको छ । उपमहानगर स्वास्थ्य शाखा प्रमुख राधा पौडेलले अहिले निःशुल्क औषधी खरिदको प्रक्रिया सुरु गरिएको बताइन् । ‘यो आर्थिक वर्षको दोस्रो चरणमा निःशुल्क औषधी खरिदको प्रक्रिया थालिएको छ’, उनले भनिन्, ‘अब चाँडै दोस्रोे चरणमा औषधी आउँछ ।’

तुलसीपुरमा पनि आधा वर्ष नाघ्यो

तुलसीपुर उपमहानगरपालिकाले चालु आर्थिक वर्षको आधा वर्ष नाघिसक्दासम्म पनि निःशुल्क औषधीको जोहो गर्न सकेन । यो पालिकाले संघीय सरकारबाट आएको सशर्त रकमसँगै पालिका आफूले छुट्याएको लाखौँ बजेट औषधी खरिदका लागि विनियोजन गरेको भए पनि आर्थिक वर्षको सुरुवातमै औषधी खरिद गर्न नसकेको हो ।