मर्यादित शैक्षिक वातावरण निर्माणका विविध पक्ष
1 min readयादव गिरी
शैक्षिक सत्रको समाप्ति तथा नयाँ शैक्षिक वर्षको सुरु अवस्थामा आइरहँदा विद्यालयका विभिन्न पक्षलाई केलाउन आवश्यक छ । विद्यालयको मूल लक्ष्य भनेकै गुणस्तरीय शिक्षा प्रदान गर्ने हो र पनि कतिपय अवस्थामा यो चाहेर पनि हुन सकिरहेको हुँदैन । तसर्थ लक्ष्य प्राप्तिका लागि शिक्षण संस्थालाई शिक्षा आर्जन गर्ने उत्कृष्ट मर्यादित थलोको रुपमा स्थापित गर्न विविध पक्षमा ध्यान दिनु पर्ने हुन्छ ।
भविष्यदर्शी शैक्षिक योजना, समसामयिक पाठ्यक्रम, पेसाप्रति समर्पित, जवाफदेही योग्य शिक्षक, कुसल शैक्षिक नेतृत्व, उत्साही, निष्पक्ष व्यवस्थापन समिति, अनुशासित विद्यार्थी, सचेत अभिभावक, जागरुक समुदाय, पर्याप्त स्रोतसाधान, सहयोगी सरकारी निकाय, गुणस्तरीय शिक्षाका लागि वरदान हुन् । पारदर्शिता, सहभागितामूलक निर्णय, सदाचार र शिष्टताले शिक्षण संस्थामा सुशासन र मर्यादित वातावरण कायम गर्न बल पुग्दछ ।
विद्यार्थीको उपलब्धिस्तरको आधारमा शिक्षण संस्थाको छवि कायम हुने तथ्यलाई आत्मसात गर्दै शिक्षाको नीति नियम तथा योजना विद्यार्थीलाई सर्वोपरी केन्द्रबिन्दु मानेर तर्जुमा गर्नु बुद्धिमानी ठहर्छ । भनिन्छ, बालीनालीको लागि एक वर्ष, फलफूलको लागि दश वर्ष र मानिसलाई सुशिक्षित गर्न कम्तिमा एकसय वर्षको योजना बनाउनु पर्दछ । विद्यार्थीको सङ्ख्यात्मक र गुणात्मक अवस्था शिक्षाका जागिरेहरुको आधार हो । अर्थात विद्यार्थी वास्तवमा शैक्षिक क्षेत्रमा कार्यरत पदाधिकारीहरुका अभिभावक हुन, किनकि उनीहरुकै कारणले पदीय हैसियत र रोजगारी प्राप्त भएको छ । कस्मेटिक कुरा र कोरा क्युरियो आस्था एवम् सिद्धान्तबाट जीवनोपयोगी गुणस्तरीय शिक्षाको अपेक्षा गर्न सकिन्न ।
बालबालिकाको शारीरिक, मानसिक तथा संवेगात्मक विकास दु्रत गतिमा भइराखेको हुन्छ । उनीहरुको विकासका गतिलाई सकारात्मक सम्बोधन गर्ने खालको पढ्ने विषय र पढाउने विधि अवलम्बन गरिनु पर्दछ । बालबालिका स्वभावैले चञ्चले हुने भएकोले उनीहरुको योग्यता, क्षमता र आवश्यकतालाई सम्बोधन गर्ने गरी शिक्षण सिकाइ क्रियाकलापको तर्जुमा गर्नु निश्चय नै चुनौतीपूर्ण भए पनि असम्भव छैन । शिक्षण संस्थामा मर्यादित वातावरण बनाउन कुसल व्यवस्थापन र भविष्यदर्शी योजनाको खाँचो पर्दछ । शिक्षण संस्थामा अनुशासन कायम राख्दै सामाजिक, धार्मिक मूल्य मान्यतालाई आत्मसात गर्दै एक सभ्य सुशील र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने उर्जाशील, मर्यादित एवम् चित्ताकर्षक र शैक्षिक वातावरण हुनु पर्दछ । वर्तमानमा माध्यमिक र उच्च माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीको उमेर र चाहना अनुसार सही शिक्षा दिने वातावरण बनाउनु चुनौतीपूर्ण भएको छ ।
कतिपय अनपेक्षित विकृति, विसङ्गति र अपसंस्कृति विद्यालयमा अभ्यास गर्ने थलो हुन्छ कि भन्ने चिन्ता र चासो आम शिक्षाप्रेमीमा भएको पाइन्छ । भविष्यमा एक सभ्य सुशील र दक्ष नागरिक उत्पादन गर्न विद्यमान शिक्षा क्षेत्रमा देखिएका विकृति र विसङ्गतिलाई सम्बोधन गर्नुको विकल्प छैन । खास गरी माध्यमिक र उच्च माध्यमिक तहका अल्लारे उमेरका विद्यार्थीमा देखिएको विकृतिका कारण र निराकरणका उपायलाई यो अलेखमा विश्लेषण गर्ने जमर्को गरेको छु ।
व्यवस्थापन (Management)
विद्यार्थीलाई गुणस्तरीय शिक्षा हासिल गर्ने उत्कृष्ट थलोको रुपमा स्थापित गर्न विद्यालयमा प्रयोग हुने सामग्री, भौतिक संरचना तथा मानवीय व्यवस्थापन प्रभावकारी र रोचक हुनुको विकल्प छैन । शिक्षकहरुको बानीव्यहोरा। आहार–विहार र आचरणबाट पनि धेरै कुराहरु विद्यार्थीले अनुसरण गर्दछन् । शिक्षकले गरेका हरेक कुरा व्यवहार राम्रो हुन्छ भन्ने विश्वास विद्यार्थीले गर्दछन्, तसर्थ शिक्षकले जे गर्छ त्यो बोल्नु पर्दछ र जे बोल्छ त्यो गर्नु पर्दछ ।
विद्यार्थीले लिखित पाठ्यपुस्तक मात्र नभएर अलिखित पाठ्यक्रम (Hidden curriculum) बाट पनि धेरै कुरा सिक्छन् । यसबाट पनि कतिपय जीवनोपयोगी बानी व्यहोरा र आचरण सिक्न सक्दछन् । धेरै कुरा सिकिन्छ । विद्यालयमा गरिने हरेक गतिविधि र कार्यक्रमको व्यवस्थापन गर्दा त्यसको असर विद्यार्थीको पठनपाठन र चरित्रमा कस्तो पर्ला भन्ने पूर्व आँकलन गरेर मात्र लागु गरिनु पर्दछ । शिक्षक, अभिभावक व्यवस्थापनलगायतका सरोकार व्यक्ति एवम् पदाधिकारीको उदाहरणीय व्यक्तित्व (Model & Moral) उच्च नैतिकताबाट प्रेरित, सकारात्मक, उदाहरणीय र अनुकरणीय हुनु पर्दछ । जसको लागि व्यवस्थापकीय पक्ष चुस्त दुरुस्त र सेवाभावबाट निर्देशित हुनु पर्दछ ।
अनुगमन (Monitoring)
विद्यार्थीहरुको चालचलन र गतिविधि निरन्तर अनुगमन र निगरानी राखिनु पर्दछ । उनीहरुमा आउने बानी व्यहोराको परिवर्तनलाई मूल्याङ्कन गरी अग्रिम सुधारका लागि नीति र रणनीति बनाउनु पर्दछ । यसरी अनुगमन कक्षा शिक्षक र अनुशासन इञ्चार्ज (DI) ले विद्यालयमा र अभिभावकले घरमा गर्नु पर्दछ । विद्यार्थीको इच्छा, चाहना, रुचि र क्षमता तथा विद्यमान घर, परिवार, समाज र समग्र राष्ट्रको आवश्यकता अनुसारको जनशक्ति उत्पादन गर्ने खालका दूरदृष्टि राखेर शैक्षिक क्रियाकलाप सञ्चालन गरिनु पर्दछ । साथै निरन्तर वस्तुनिष्ठ अनुगमनपश्चात आवश्यकता अनुसार सल्लाह सुझाव प्रदान गरिनु पर्दछ ।
उत्प्रेरणा (Motivation)
विद्यालयका गतिविधिलाई रोचक बनाएर सिकारुमैत्री बनाउन सकिएमा विद्यार्थीले रमाइलो साथ पूरा समय विद्यालयमै बिताउन रहर गर्छन् । अतः बालबालिका स्कुलबाट भागेर घर वा अन्यन्त्र जाने पुरानो परम्परालाई तोड्दै घरबाट भागेर विद्यालय आउने वातारवरण सफल विद्यालयको सूचक हो । विद्यार्थीको वैयक्तिक विभिन्नता अनुसारको चाहना आवश्यकता अनुसार विषयवस्तु तथा शिक्षण विधि छनोट गरिनु पर्दछ । विद्यार्थी सोही अनुरुप भविष्यमा के बन्ने बारे स्वयम्लाई नै छनोट गर्ने मौका दिनु पर्दछ न कि अभिभाकको चाहना अनुसार दबाबमा पढ्न बाधा बनाउनु हुन्न । तसर्थ विद्यालयमा रुचि क्षमता र चाहना तथा समयको माग अनुसारको विषय अध्ययन गर्ने वातावरण हुनु पर्छ भन्ने यथार्थता बिर्सनु हुँदैन । अतः कहरले नभइ रहरले पढ्ने विषय, विधि र विद्यालय वातावरणको व्यवस्था भएमा विद्यार्थी लगनशील भई अध्ययन गर्ने छन् भन्ने कुरामा दुईमत हुन सक्दैन ।
नैतिकता (Morality)
विद्यार्थीलाई पाठ्यपुस्तकमा भएका विषयवस्तुका अतिरिक्त सदाचार, शिष्टता, सभ्यता, सामाजिक, सांस्कृतिक, धार्मिक मूल्य र मान्यताको महङ्खव र त्यसलाई अवलम्बन किन, कहिले, कसरी गर्नु पर्छ भन्नेबारे धक फुकाएर छलफल गरी विद्यार्थीकै सहभागितामा आचारसंहिता बनाएर परिपालना गर्ने वातावरण बनाउँदा शैक्षिक वातावरण अनुशासित एवम् मर्यादित हुने यथार्थतालाई नकार्न सकिन्न । आधुनिकीकरणको नाममा दूरगामी परिणामको लेखाजोखा नगरिकन सदाचार र शिष्टाचारलाई बेवास्ता गरेर कतिपय नकारात्मक बानी व्यहोरालाई अन्धानुकरण गर्ने प्रवृत्तिलाई बेलैमा सच्याउन चनाखो हुनु पर्छ ।
विद्यालय चाटुककारभन्दा चारित्रिक, अराजक भन्दा अनुशासित, मनपरीभन्दा मर्यादित, भ्रष्टाचारभन्दा सदाचार, परिक्रमाभन्दा पराक्रमलाई आफ्नो जीवन पद्धतिमा उतार्ने तथा मुठी कस्ने र चिल्लो घस्ने संस्कारलाई घृणा गर्ने जनशक्ति आजको माग हो । तसर्थ विद्यार्थीको चरित्रलाई उदाहरणीय र अनुकरणीय बनाउँदै कम्तिमा पनि नाना, छाना र खानाको लागि अरुको मुख नताक्ने पौरखी नागरिक उत्पादन गर्नेतर्फ सरोकार पक्ष सदैव प्रयत्नशील रहनु पर्दछ ।
मोवाइल (Mobile)
सञ्चारको सशक्त उपकरणको रुपमा मोबाइल प्रयोग हुँदै आएको छ । लगभग उच्च कक्षाका सबै विद्यार्थीमा मोबाइल प्रयोग गर्ने क्रम बढ्दै छ । कक्षाकोठामा समेत पठनपाठनको बखत मोबाइलबाट एसएमएस ९क्ःक्० मिसकलले एकाग्रता भङ्ग गर्ने मात्र नभएर कतिपय अश्लील तथा अशोभनीय गतिविधि भएको उदाहरण पर्याप्त पाइन्छ । यस्ता गतिविधिबाट तत्कालका लागि पठनपाठन र पछि समाज समुदायमा समेत असर पर्न जाने यथार्थता हो ।
कक्षाकोठाको शिक्षण सिकाइ क्रियाकलापमा मोबाइलबाट एकाग्रता भङ्ग हुने गरेको पाइन्छ । मोबाइलको दुरुपयोगबाट उत्ताउला र यौनिक विकृतिलाई प्रश्रय दिने खालका सन्देश प्रवाह गर्ने माध्यम बनेको देखिन्छ । जसको कारण समाजमा समेत विकृति विसङ्गति फैलिने यथार्थतालाई नकार्न सकिन्न । तसर्थ शिक्षक र विद्यार्थीलाई कमसेकम कक्षाकोठाभित्र मोबाइल प्रयोग गर्न निषेध गरिनु पर्दछ ।
मोटरसाइकल (Motorcycle)
माध्यमिक र उच्च माध्यमिक तहमा अध्ययन गर्ने मध्यमवगीर्य विद्यार्थीले अभिभावकलाई बाध्य बनाएर इन्जिन क्षमता धेरै भएका मोटरसाइकल किन्ने र जथाभावी चलाउने नकारात्मक प्रवृत्तिको प्रतिस्पर्धा भएको पाइन्छ । ट्राफिक नियम पालन नगरी तीव्र गतिमा मोटरसाइकल हाँक्दा दुर्घटना भई ज्यान समेत गएको समाचार सुन्न र देख्न पाइन्छ । मोटरसाइकलका कारण स्कुल कलेज नगइकन घुम्ने कारणबाट उनीहरुको शैक्षिक प्रगति ह्रास हुँदै गएको परीक्षाको नतिजाले देखाएको छ । तसर्थ यो चञ्चले उमेरमा अभिभावक तथा विद्यालय स्वयम्ले मोटरसाइकल विद्यार्थीलाई नचढ्ने सल्लाह दिँदै निगरानी बढाउनु बुद्धिमानी हुन्छ ।
बाहुबल प्रदर्शन (Muscles)
मनोवैज्ञानिकहरुका भनाइ अनुसार पनि १४–१८ वर्षसम्मका उमेर असाध्यै जोखिमपूर्ण हुने, परिपक्वता नआउने, चाँडै रिसाउने र खुसी हुने, आवेसमा आएर काम गरिहाल्ने, भविष्यमा हुने प्रतिफलको बारेमा नसोच्ने कारणले गर्दा कतिपय साङ्घातिक घटना घटेको समाचार बन्ने गरेको छ । उनीहरुमा ग्याङ फाइट गर्ने, डन बन्ने र दादागिरी देखाउने जस्ता अशोभनीय गतिविधिलाई निरुत्साहित बनाउने खालका आचारसंहिता बनाएर अनुगमन गरी निरुत्साहित गरिनु पर्दछ ।
विद्यार्थीको आहार, विहार, विचार र व्यवहारबारे अभिभावक र विद्यालयबिच निरन्तर सम्बन्ध र सम्वाद हुनु पर्दछ । उनीहरुको शारीरिक, मानसिक तथा संवेगात्मक विकासलाई सन्तुलित पार्दै रचनात्मक एवम् सिर्जनात्मक भावनाको विकास गर्ने तथा सामाजिक एवम् परोपकारी काममा लगाउने नीति र रणनीति बनाउनु पर्छ । विद्यार्थीको ऊर्जाशील शारीरिक तथा मानसिक शक्तिलाई परोपकारी र सामाजिक काममा अभ्यास गराएर जमिन र जगतबारे अनुभूति गर्नेतर्फ उन्मुख हुनु पर्दछ ।
पैसा (Money)
कतिपय अध्ययन र अनुभवले धनी र सम्भ्रान्त परिवारका बालबालिका फजुल खर्च गर्ने, पठनपाठनभन्दा पनि रमाइलोका लागि र डिस्को, रेस्टुरेन्ट घुम्ने गरेको पाइन्छ । केही त दुर्वेसन र कुलतमा फसेर जीवन नै बर्बाद भएको पनि उदाहरण छन् । बेलैमा बुद्धि नपु¥याउँदा पछि उनीहरु परिवार, समाज र देशकै अभिशाप र बोझ बन्न पुग्नु स्वभाविकै हो । तसर्थ खास गरी अभिभावकले आफ्ना बालबालिकाको लागि आवश्यक पर्ने खर्च मात्र दिनु पर्दछ । आवश्यकभन्दा बढी पुल्पुल्याइनाले बाटो बिराएर भविष्यामा निराशाको जीवन जीउन विवश हुन्छन् । उनीहरुमा गरिखानेभन्दा पनि मागीखाने र ठगीखाने प्रवृत्तिको विकास नहोला भन्न सकिन्न । हाम्रो शिक्षा नीति जागिर खानेभन्दा पनि जागिर दिने लक्ष्यबाट निर्देशित हुनु पर्दछ । विद्यालयमा विद्यार्थीले देखाउने बानीव्यबहार र गतिविधिबारे विशेष चनाखो भएर अभिभावकलाई जानकारी गराउने नीति लिनु पर्दछ ।
पोसाक (UnIoorm)
छात्र तथा छात्राहरुको पहिरनले पनि कतिपय यौनजन्य विकृति आएको आक्षेप शिक्षण संस्थालाई आउने गरेको छ । विद्यार्थी स्कुल समयमा डिस्को जाने, डेटिङ जाने गरेको देख्न र सुन्न पाइन्छ । अङ्ग प्रदर्शनबाट आउने विकृतिलाई रोक्न मिनिस्कटको सट्टा मिडिस्कट वा सर्ट पाइन्ट लगाउने नीति विद्यालयले लिनु सकारात्मक हुन्छ । अल्लारे उमेरका विद्यार्थीको चञ्चले र अशोभनीय उत्ताउलो स्वभावलाई सभ्य, सुशिल, जिम्मेवार नागरिक बनाउन विद्यालय तथा घरपरिवार एवम् समुदाय संवेदनशील भएर चिन्ता र चासो लिई उनीहरुको वैयक्तिक विभिन्नता अनुसार संस्कारयुक्त शैक्षिक कार्यक्रम सञ्चालन गरिनु पर्छ । शारीरिक, मानसिक विकास गर्ने खालका शिक्षण सिकाइ क्रियाकलापलाई प्रत्यक्ष, परोक्ष रुपमा प्रभाव पार्ने उल्लिखित नकारात्मक अवस्थालाई निरुत्साहित गर्न निम्न केही पक्षहरुले सघाउ पु¥याउने कुरालाई नकार्न सकिन्न ।
अतः घरपरिवार र विद्यालयमा विद्यार्थीको शिक्षा हासिल गर्ने अवसरलाई सहज एवम् सर्वसुलभ पारेर उनीहरुको शैक्षिक उपलब्धिस्तर उच्च बनाउँदै एक सभ्य, सुशील, स्वाभिमानी तथा विश्व श्रम बजारमा खरो प्रतिस्पर्धा गर्न सक्ने सकारात्मक सोच र शक्ति भएको जिम्मेवार तथा उत्साही पौरखी जनशक्ति उत्पादन गर्ने लक्ष्यबाट शिक्षण संस्था निर्देशित हुनु पर्दछ । शिक्षक कर्मचारीको योग्यता एवम् कार्यक्षमताको मूल्याङ्कन विद्यार्थीको नतिजाको उपलब्धिीको आधारमा निष्पक्ष एवम् वस्तुनिष्ठ रुपमा गर्ने आधार बनाएर परिपालन गर्ने अठोटबाट मात्र शिक्षण संस्था मर्यादित रुपमा सञ्चालन हुन सक्ने वास्तविकता हो ।