मेरो खुशी : ४० सालमा एसएलसी पास गर्दाको खुसी …
उनी सधै कर्ममा दत्तचित्त भएर लागि रहेका छन् । किसानलाई मलको सहज आपूर्ति दिलाउन होसकी गाउँमा हुने साना ठुला विकास निर्माणदेखि ट्रेडयुनियको क्षेत्रमा अनौपचारिक क्षेत्रका श्रमिक कर्मचारीको हक हितका लागि विगत ३ दर्शकभन्दा पहिलेदेखि सक्रिय छन् । दंगीशरण गाउँपालिका वडा नं. ५ मा जन्मिएका तीर्थ न्यौपानेले आफ्ना जीवनमा सधै खुसीका साथ सतकर्ममा लाग्ने गरेको बताउँछन् । उनका जीवन सङ्घर्षका क्रममा थुप्रै दु्ःखसँग सँगै खुसीका पलहरू पनि रहेको बताउँछन् ।
मिजासिला सहयोगी र सधै मुस्कानसहित आफ्नो सेवा दिँदै आएका न्यौपानेले आफ्नो पहिलो खुसी एसएलसी पास गर्दाको दिनलाई लिए । त्यतिबेला अहिले जस्तो एसएलसी सहज थिएन् । वि.स. २०४० सालमा श्रीगाउँ स्कुलबाट एसएलसी पास हुँदाको दिनलाई पहिलो खुसीको रूपमा लिए । ‘हामीहरूले त्यतिबेला ८२ जनाले एसएलसी दिएका थियौँ तर त्यसमा १० जनामात्र उत्तिर्ण हुन सफल भएका थियौँ, त्यो मेरो एउटा जीवनमा छुट्टै खुसीको पल थियो’ न्यौपानेले मुस्कुराउँदै भने ।
उनले जीवनका उकाली ओरालीहरूमा थुप्रै क्षणहरू भए पनि पहिलो खुसीको क्षण एसएलसी पासलाई नै सम्झिए । ‘मेरो पहिलो खुसीको क्षण श्रीगाउँ स्कुलबाट एसएलसी पास गर्दाको लेखि दिनुहोला त्यही हो’ न्यौपानेले भने । त्योसँगै उनी नेपालगंजमा उच्च शिक्षाका लागि क्षेत्रीय क्याम्पसमा भर्ना भएको बताउँछन् । वि.स. २०४१ सालमै उनले त्यहाँ स्ववीयु निर्वाचनमा भाग लिएर सचिवमा चुनाव जित्न सफल भएको सुनाए । ‘पढाइपछि मैले नेपालगंजको क्याम्पसबाट विद्यार्थी राजनीति सुरुवात गरे त्यो पनि मेरो लागि अर्को खुसीको क्षण थियो’न्यौपानेले भने । त्यहाँ विद्यार्थी राजनीति गर्दा विद्यार्थीको हक हितका लागि स्ववीयुमा रहेर काम गरेको भन्दै खुुसी व्यक्त गरे । त्योसँगै उनी वि.स. २०४५ सालमा जागिरमा प्रवेश गरे । वि.स. २०४५ सालमा कृषि सामाग्री कम्पनी लिमेटेडमा जागिरे जीवन सुरु गरे ।
त्योसँगै उनले वि.स. २०४८ सालमा नेपाल अन्तरसंस्था कर्मचारी संघ सुर्खेतको अध्यक्ष भएको बताए । न्यौपानेले संस्थाका कर्मचारीहरूको हक हितका लागि आफुले नेतृत्व गर्न पाउँदा अर्को खुसी मिलेको सुनाए । उनी आफ्नै जन्मभूमि तुलसीपुरमा जागिर खाएर सेवा गर्ने अर्को अवसर मिलेको भन्दै त्योबेला पनि अर्को खुसी व्यक्त गरे । त्योसँगै वि.स. २०५२ सालमा बढवा भई घोराहीमा काम गरेको सुनाए । उनले त्यसमा पनि आफु खुसी भएको सुनाए । जागिर सँगसँगै उनले वि.स. २०५२ सालमा नेपाल टे«ड युनियन कांग्रेसको केन्द्रीय प्रतिनिधि भएको भन्दै खुसी व्यक्त गरे । न्यौपानेले वि.स. २०७१ सालमा अधिकृतमा पदोनन्ती हुँदा त्यतिबेला अर्को खुसी थपिएको सम्झिए ।
त्यसपछि आफु कृषि सामाग्री कम्पनी लिमिटेड शाखा कार्यालयको प्रमुख भई निरन्तर कृषकहरूलाई आवश्यक पर्ने रासायनिक मलको सहजताको लागि लागेको बताउँछन् । उनी आफुले कृषि सामाग्री कम्पनी लिमिटेडको शाखा कार्यालय तुलसीपुरमा आएपछि धेरै कामहरू गरेको भन्दै जिम्मेवारी पाउँदा अर्को खुसी मिलेको सुनाए । न्यौपानेले कोभिडको महामारीदेखि अन्य संकटको आवस्थामा पनि आफुले धेरै काम गरेको भन्दै यसमा साथ सहयोग दिने सबैलाई धन्यवाद दिए । ‘मेरो सफलतामा साथी भाइ घर परिवार सबैको हात छ’, उनले भने । उनले श्रीमती घरपरिवार र अग्रजहरूको सहयोगले आफूले काम गर्न पाएकोमा खुसी व्यक्त गरे ।
न्यौपानेले तत्कालीन द्वन्द्वको अवस्थामा आफ्नो ज्यान जोगाएकोमा पनि खुुसी व्यक्ति गरे । वि.स. २०५८ सालमा तत्कालीन माओवादीले पटक–पटक घरमा आक्रमण गरेको भन्दै त्यतिबेला सबै परिवारको ज्यान जोगिएकोमा खुसी व्यक्ति गरे । उनले ज्यान जोगिएकोमा खुसी भए पनि विस्थापित हुनु परेको सुनाए । त्यस्तै नेपाल टे«ड युनियन काँग्रेस दाङको दुई पटक जिल्ला अध्यक्षको जिम्मेवारी पाएका न्यौपानेले अनौपचारिक क्षेत्रका श्रमिक र उनीहरूका परिवारलाई स्वरोजगार तालिम दिन पाएको भन्दै खुसी व्यक्त गरे ।
‘हामीहरूले विभिन्न क्षेत्रका काम गर्ने श्रमिक तथा उनका छोरा छोरीहरूलाई पलम्बिङ, मोटरसाइकल मर्मत तालिमदेखि विभिन्न अन्य स्वरोजगारमूलक तालिम सञ्चालन गरेका थियौँ’ न्यौपानेले भने । करिब एक सय जनालाई तालिम दिएको र उनीहरूले अहिले विभिन्न ठाउँमा आफ्नो तथा अन्य क्षेत्रमा जागिर खाएकोमा खुसी व्यक्ति गरे ।
त्यस्तै तालिम दिएकाहरू अहिले विदेशमा गएर राम्रो प्रगति गरेको भन्दै खुसी व्यक्त गरे । त्यस्तै दंगीशरण–५ मौरीलीको बाटो कालोपत्रेका लागि आफुले पहल गरेको भन्दै त्यसको स्तरोन्नतिको कामदेखि अन्य विकास निर्माण र सामाजिक कार्यमा संलग्न हुन पाउँदा खुसी व्यक्त गरे । ‘मैले सामाजिक टे«ड युनियनदेखि अन्य विकास निर्माणको क्षेत्रमा पनि काम गर्ने समन्वय गर्ने मौका पाए म त्यसमा पनि खुसी छु’ न्यौपानले भने ।
प्रस्तुती : बालाराम खड्का