Goraksha

National Daily

बच्चालाई सुनको थोपा खुवाउँदै बिजौरी आयुर्वेद

खेमराज रिजाल
बिजौरी, १७ मंसिर । शनिवारको दिन बिजौरी क्षेत्रमा आमाबुवा र बालबालिका मात्र देखिन्थे । बिदाको दिन भएर पनि होला, बिजौरीको प्रादेशिक आयुर्वेद चिकित्सालयमा हजारभन्दा बढीको भिड बिहान ७ बजेदेखि नै लागेको थियो । आमाबुवाको एउटै चाहना आफ्नो बच्चा बिरामी नहोस् र रोग प्रतिरोधात्मक क्षमताको वृद्धि होस् भन्ने हो ।

ठिक एक वर्ष अघिदेखि सुरु भएको आयुर्वेदकै भाषमा स्वर्ण विन्दु प्रासन । ठेट नेपालीमा भन्दा सुनको थोपा खुवाउने अभियान सुरु भएको छ । आयुर्वेद चिकित्सामा उल्लेख भएपनि यो विधा कुनै आयुर्वेद चिकित्सालयमा सुरु भएको छैन तर विगत एक वर्षदेखि दुई सय जना बालबालिकालाई यो सेवा सुरु गरेको सो अस्पतालले शनिवार एक हजार बढी बालबालिकालाई स्वर्ण विन्दु प्रासनको सेवा दियो । यो सेवाले बालबालिकाका अभिभावक पनि सन्तुष्ट छन् । यसैले आफ्नो बच्चा पाँच वर्ष नपुगुन्जेलसम्म अस्पताल धाइरहेका छन् ।

खासमा स्वर्ण विन्दु प्रासन आयुर्वेदको शास्त्रीय उपचार विधि हो । परापूर्वकालदेखि चलि आएको यो पद्धति आयुर्वेद स्नातक पढ्ने विद्यार्थिहरूको पाठ्यक्रममा पनि समावेश छ तर यो पद्धति प्रयोग गर्ने बिजौरी आयुर्वेद मात्रै हो । यसमा अन्य आयुर्वेद संस्था जोडिएका छैनन् । ‘हामीले यो अस्पतालमा नेपालमै पहिलो पटक यो सेवा सुरु गरेका हौँ, अभिभावकको सकारात्मक अभिव्यक्तिका कारण यो सेवालाइ थप निरन्तरता दिने छौँ’, प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौररीका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा सन्तोष ठाकुरले भने । उनका अनुसार अभिभावकले बालबालिका लिएर अस्पतामा आउँदासम्म यो सेवा निरन्तर रहने छ ।

सो अस्पतालमा यो सेवा दिनका लागि आयुर्वेद विधाका बालरोग विशेषज्ञ समेत कार्यरत छन् । बालरोग विशेषज्ञ हरिसंकर चौधरी र फिजिसियन डा सन्तोष ठाकुरले यो औषधी निर्माण गरे । औषधीको कम्पोजिसनमा मह, घ्यू, स्वर्ण भस्म र मध्यऔषधीको मिश्रणबाट बनाइएको हो । यसको कुनै प्रतिअसर छैन । मध्यऔषधी भनेका नेपाललगायत छिमेकी मुलुकमा पाइने दशवटा जडिबुटीको समिश्रण हो । यसमा बोजो, गुडुची, पिपला, एष्ठमधु, कालिमरिचलगायतका जडिबुटीजन्य पदार्थको समिश्रण हुन्छ ।

अस्पतालले यो सेवा खासमा बच्चा जन्मेदेखि पाँच वर्षसम्मका बालबालिकालाई निःशुल्क परीक्षण गरेको हो । यो बिचमा धेरै सकारात्मक प्रतिक्रिया पनि पाइएको सो चिकित्सालयले जनाएको छ । ‘हामीले पनि फिडव्याक लिएर यो कार्यक्रमलाई निरन्तरता दिएका छौँ, दुई सय बालबालिकाको अभ्यासबाट सुरु भएको यो अभियानमा शनिवार एक हजार बालबालिकालाई अभिभावकले लिएर आउनु भएको छ’, बालरोग विशेषज्ञ चौधरीले भने ।

अभिभावक पनि उत्साहित

आफ्नो बच्चालाइ स्वर्ण विन्दु प्रासन खुवाएपछि धेरै अवस्था सुधार भएको अभिभावकले पनि बताएका छन् । ‘मेरो बच्चालाई यो औषधी खुवाउन थालेपछि धेरै सुधार भएको छ’, तुलसीपुर उपमहानगरपालिका १६ की अभिभावक सुशीला चौधरीले भनिन् । स्वर्ण विन्दु प्रासनमा उनको बच्चा जोडिएको एक वर्षदेखि हो । उनको बच्चामा खानाको रुचि बढिरहेको छ । वजन बढेको छ । रुघाखोकीको समस्या छैन । त्यसैले पाँच वर्षसम्म यो कोर्ष पूरा गर्न उनी कत्ति पनि कञ्जुस्याइँ गरिनन् । छोरा १९ महिनाको भएको बताउँदै यो उपचार विधिमा आफू पाँच वर्षसम्मै आउने उनको आकाङ्क्षा छ ।

तुलसीपुर उपमहानगरपालिका—१९ कै बिना रोका पनि आफ्नो नानीलाई अन्तिम कोर्श पूरा गर्न अस्पताल पुगेकी थिइन् । ‘मेरो बच्चा पाँच वर्ष पुग्दैछ, यसैले निरन्तर यो विधामा जोडिएर बच्चालाइ स्वर्ण प्रासन खुवाउन आएको’, बिनाले भनिन् । उनको बच्चामा पनि यो औषधी उपचार विधिले बच्चामा धेरै सुधार भएको अनुभव थियो । यो औषधी खुवाएपछि बच्चलाई एकपटक पनि रुघाखोकी छैन, तौल पहिलेको तुलनामा बढेको छ, खानामा रुची पनि बढेको छ ।

त्यसो त तुलसीपुर उपमहानगरपालिकाका देवबहादुर बुढाथोकीको पनि अभिव्यक्ति यस्तै थियो । स्वर्ण विन्दु प्रासनले बच्चामा धेरै सुधार भएकाले यो अभियानमा निरन्तर जोडिएको उनको प्रतिक्रिया थियो । भिडभाडका बिच पनि हजारको हाराहारीमा अभिभावक बच्चा लिएर बिजौरीमा पुगेका थिए । मानौ, बिजौरीमा बच्चालाई कुनै खोप दिइँदै छ । बाहिरबाट नियाल्नेको प्रतिक्रिया यस्तै थियो तर खासमा शास्त्रीय विधिबाट निर्माण भएको यो औषधी जुनसुकै दिनमा खुवाउन पनि मिल्दैन र जुनकुनै मेडिकलमा पनि उपलब्ध छैन ।

कुस्य नक्षेत्रमा मात्र यो औषधीले पूरा काम गर्ने शास्त्रीय पद्धति अनुसार यही नक्षेत्र पर्ने बेलामा मात्र अस्पतालले यो औषधी खुवाउने गरेको छ । कारण यो नक्षेत्र परेका दिन औषधीले पूरापुर काम गर्न सक्छ । यही कारण यो नक्षेत्र परेको दिन मात्र अस्पतालले औषधी तालिका सार्वजनिक गरेको छ । हरेक बालबालिकालाई त्यो दिन तोकेर अस्पतालमा बोलाइने गरिएको छ । चाहे जुनसुकै वार होस्, अस्पतालले त्यो दिन सेवा दिने कबोल गरेको छ । त्यसैले शनिवार भए पनि बिजौरी अस्पतालमा थेगिनसक्नुको भिड थियो ।

करिब दशजनाभन्दा बढी स्वास्थ्यकर्मी त्यही अभियानमा सरिक थिए । आयुर्वेद चिकित्सकका अनुसार यो नक्षेत्र २८ दिनको अन्तरालमा एक पटक आउँछ । त्यो जुनसुकै वारमा पनि पर्न सक्छ । तर यो औषधी अत्यधिक ज्वरो आएका र झाडापखाला लागेका बालबालिकालाइ भने खुवाउन मिल्ने छैन भन्ने सन्देश पनि अस्पतालले दिएको छ । यो रोग प्रतिरोधात्मकसँगै शारीरिक र मानसिक विकासमा पनि लाभदायी हुने सो अस्पतालका चिकित्सकले विश्वास गरेका छन् । अभिभावकको प्रतिक्रियाले अस्पताल व्यवस्थापनलाई यो सेवा थप गर्न पनि हौस्याएको छ ।