Goraksha

National Daily

कथा : आशाको दियो बलिरहेको छ

नारायणप्रसाद श्रेष्ठ

गताङ्क …
… खोलानाला खोल्सा फोहर फाल्ने थलो बन्दै छ । अरुलाई दोष दिइ आफू पानीमाथि ओभानो बन्ने आचरण बढ्दै छ । सहर बस्तीको कुरै नगरौ आमा । वातावरण यति धमिलो भइसकेको छ कि अब त सहरलाई धुवा र धुलोको सहर भन्छन् सबैले । मौसम बदलिरहेको छ । दिउसै डराउने दिन आएका छन् । चोरी हारीको त के कुरा दिनदहाडै छोरीबैनी बुढापाकाका घाटीका सिक्री छिनिदै छन् ।

सामान आँखा झिमिक्क ग¥यो कि बेपत्ता ?यस्तो अवस्था छ । समाज कता दौडिरहेछ कसैलाई मतलब छैन । अनिता, सुनिता काण्ड, निर्मला काण्ड, सुर्तीबारी काण्ड, सुन काण्ड, नदीनाला काण्ड, हवाइ काण्ड के–के सुनिन्छ के–के । यहाँ नभएको के छैन जस्तो गरी सामाजिक परिवेश विकसित हुँदैछ । कोही उखुबारीमा सडेको सुनिन्छ, कोही खोलानदीमा लडेको सुनिन्छ आमा । अहिलेसम्म कोही अपराधी पत्ता लागेका छैनन् । पुलीस प्रशासन अनुसन्धान हुँदैछ भनी भन्दै हिड्छ ।

अनुसन्धान पनि अनुसन्धानभित्रै रोमलिएको छ । यहाँ न्याय छैन आमा । न्याय पैसामा सटही भइरहेको छ । न्यायीधीस कागजमा फैसला दिन्छन् न्याय दिदैनन् । न्याय के हो सायद उनको विवेकले पनि भुलिसकेको देखिन्छ । सतिले सरापेको देश हो भन्थे आमा हो र छ । नेतालाई छोराबुहारी, छोरीजुवाई, भान्जाभान्जी, काकाकाकी, सम्धीसम्धीनी, गुन्युचोलीले भटेसम्मको नातावाद कृवावाद व्यापक रूपले गराउनै ठिक्क छ । चुनावमा जनतालाई २,४ बोतल ठर्रा र एक चोक्टा रागा सुंगुर, बंगुर, खसीको मासु खुवाइ दिए पुगिहाल्छ ? यी त हाम्रा बलीका बोका न हुन् भनी उनीहरू कुर्लन्छन् । त्यस्तै व्यवहार गरेर नेता बन्न लागि परेकै छन् । चुनाव आयो भने त गरिबलाई दशैँ आए जस्तै हुन्छ ।

पहिले दशैँ वर्षमा एक पटक आउथ्यो अहिले त वर्ष विराइ हुने चुनाव पनि दशैँ जस्तै हुन्छ । पहिले–पहिले दशैँ भनेको आर्शिवाद लिने दिने गरी मनाइन्थ्यो । नयाँ कपडा लगाउने चलन थियो अहिले त के भनु आमा मासुको चोक्टामा पर्वलाई डुबाइन्छ । चुनावमा झन खोलै बगेको झै हुन्छ । देख्ने सुन्नेले पनि लाज मान्ने गरी छाद्दै हिडेको देखिन्छ । झोले चम्चेको त कुरै छोडौँ उसलाई वर्षे दिनभरी दशैँ आउछ आमा । जनताले तिरेको करबाट रजाई गरेका नेताले के–के गरेनन् आमा खै के भनु । नदीनाला सबै बिक्री भइसके । बचे खुचेका नैतिकता समेत बिक्री हुन थालिसक्यो ।

हुँदा–हुँदा राष्ट्रलाई समेत बन्धक राख्नेतर्फ नेताहरूको अभिरुची बढ्दै गएको सुनिन्छ । ऋणको भारले जनता उठ्न नसक्ने हुँदा पनि नेताहरू आफ्नो स्वार्थ पूरा गर्न लागि परेकै छन् । धर्म संस्कृति त सबै मासिन थालिसक्यो । कसैलाई पनि फुर्सद छैन यहाँ तछाडमछाड गरी आफ्नो स्वार्थ पूरा गर्ने दौडमा । कोभन्दा को कम भनेर दौडिरहेका छन् । धन दौलत भन्दै आफ्नो बिरानो नछुट्याइ भुल्दै दौडिरहेको देखिन्छ । ऋण लिँदा रुझेको बिरालो हुने र ऋण तिर्नु पर्दा शेर भएर गर्जिने चलन प्रशस्तै बढेको छ । जो चोर उसैको ठूलो स्वर भन्ने भइरहेको छ ।

लुट्न मै सबैको ध्यान बढेको छ । राष्ट्र राष्ट्रियताको लागि मरी मेट्ने कोही छैनन् । एक दुईजना देखा पर्ने अवस्था भए पनि नानातिग्रम उठाइ पतन गराउन सबै लागि परेका छन् । तर आशाको दियो भने निभेको छैन आमा । राष्ट्रको अवस्था निकै नाजुक छ । प्रत्यक नेपालीमाथि ऋण भारी बढिरहेको छ । कति कथा बताउ आमा । तिमी हामीलाई छोडेर गयौ राम्रै ग¥यौ जस्तो लाग्छ । यी दिन त तिमीलाई देख्न परेको छैन ।
दिउसै नारीअस्मिताा लुटेको, ठगिएको त देख्न सुन्न परेको छैन । हाम्रा गाउँको कटुवाल यही देख्दा देख्दै बुढो भइसक्यो । कति बाचुला र भनी भन्दै थियो बहिनी गइन र राम्रै गरिन् म बाचेर यस्तो देख्नुप¥यो भनी भन्दै थियो आमा । पहिले–पहिले भेटमा खै बाबु गाउँलेले बाली दिएनन् । उल्टै त अनापसनाप गाली गर्छन् । उहिलेका ढिकीँ जातो पानी पधेरा पनि मासिँदै गा छ कति कराउने भनी भन्दै थिए । उहिले र अहिले धेरै फरक भइसक्यो ।

बाबुले हिजो मिठाइ गोली माग्दा भुइमा फालिदिने साहुसाहुनी पनि अहिले कहाँ पुगे पुगे । उनका सन्तान माग्दै हिड्छन् रे । माथ्ला घरे माइलाले पनि संसार छाडे छन् । अति गर्नु अत्याचार नगर्नु भन्थे पहिला–पहिला त ? अहिले त अत्याचार, पापाचार, दुराचार, भ्रष्टाचार त मामुली भइसक्यो । लोग्नेस्वास्नी बिचको झगडा परालको आगो भन्थे अहिले त एउटैले २,४ वटा लोग्नेस्वास्नी बनाउने गरी के पुरुष के महिला बिग्रीसके । भाइभाइबिच एक भित्ताको लागि झगडा छ ।
सम्पत्ति नै सबै हो भनी बुढाबुढीले कमाएको सम्पत्तिमा रजाइ गर्न बाआमालाई वृद्धाआश्रम छोराछोरीलाई बोर्डिङ यस्तो पो गर्दै छन् रे आमा । अरु कति बयान गरु आमा ।कलिमा सबै हुन्छ भन्थे साच्ची कै हो र छ । जस्तो देखिन्छ । यता हेर्दा यस्तो उता हेर्दा त्यस्तो भन्दै दिन बितिरहेछ आमा । कहिले काहीँ सपनामा आइ यस्तो गर त बाबु भन ।

मेरी आमा हिजो अस्ती मैले तिम्रो सेवा गर्न पाइन भनी कति छटपटिन्थे मेरो बाआमा भए त म के–के न गर्थे भन्थे अहिले पनि यस्तै सोच्छु आमा तर अहिले त जमाना अर्के भइसक्यो । नयाँ जमना आयो रे । बाबुआमाको काम परेमा छोराबुहारीले बाबु आमालाई त नोकर गराउछन् रे । अस्ती भर्खर एउटा समाचार आएको थियो । डाँडाघरे जिमदारको छोराछोरीले जिम्दार्नी बजैलाई घरको नोकर्नी हो घरबाट निस्किएर जा भन्दा पनि निस्किन्न भनेर बुहारीले साथीसंगीलाई परिचय दिँदै थिइ रे ।

बड्डी रुदै तल्लाघरे साइलीको नाती अन्तरेलाई भन्दै थिइन् अरे । अब त बुढा बाआमालाई बस्ने छुट्टै घर पनि बनाउँदै छ रे सरकारले । बुढाबुढी घरमा नअटाउने होकी भन्ने परिस्थिति जन्मदै गरेको छ ? सामाजिक संस्कारभित्र रहेका यस्ता कुरीति र संस्कृतिलाई मेटाउनुको साथै छोराछोरीलाई जिम्मेवार महसुस गर्ने बनाउनुको साटो घर बनाउँदै पैसा दिन थालेको छ रे । सबैलाई बुडो हुनुपर्छ बाआमाको सेवा ईश्वरको सेवा भनेको साटो म त कहिलै बुढो पनि हुन्न, म पनि मर्दैन भन्ने गरी समाज अगाडि बढ्दै छ । सकारात्मक चिन्तनका साथ पुस्तान्तर गर्नुको बद्ला सामाजिक मूल्य र मान्यता नैतिकता कुन चरीको नाम हो भन्ने गरी समाज परिस्कृत हुँदैछ ।

शिक्षा संस्कृति र संस्कार मासे राष्ट्र मासिन्छ भन्थे यी सबै थाहा भएर पनि कोही बोल्दैनन् । गर्ने कुरा त परै जावस समाजमा यति विकृति भइसक्यो कि पश्चीमी सम्पताको नक्कल गर्ने क्रममा समाज नाङ्गो हुँदैछ । पौराणिक सत्यभित्र लुकेको हाम्रो सनातन संस्कृति र संस्कार सबै लोप हुने अवस्थामा छ । अनुशासन र मर्यादा पटक्कै छैन । शक्ति हत्याउने नाममा हुने नहुने सबै कार्य भइरहेका छन् । केही समय पहिले शिक्षा बेचियो नयाँ शिक्षा प्रणालीको नाममा सामाजिक मूल्य र मान्यतामाथि प्रश्न उठ्ने गरी फेरि संस्कृतिमाथि प्रहार हुँदैछ । समाज अध्यारो हुने गरी कसैको दाश बन्ने परिस्थितितिर गएको होकी भन्ने जस्तो देखिँदैछ । हिजोको अ‍ैचोपैचो अहिले हराइसकेको छ आमा ।
–बाँकी अर्को पटक