हराउँदै छ देउसी भैलोको मौलिकता

  •   
  •  

गोरक्ष समाचारदाता
तुलसीपुर, ३ मंसिर ।
हे भन भन भाइ हो, देउसी रे
हे राम्ररी भन, देउसी रे
स्वर मिलाई भन, देउसी रे …
रातोमाटो देउसी रे …
हामी त्यसै आएका होइन देउसी रे …
बलिराजाले बठायर आएकोहो देउसीरे …

तिहारमा देउसीभैलो खेल्ने पहिलेदेखि नै परम्परा छ । बलिराजाका पालादेखि नै समूह बनाएर देउसीभैलो खेल्ने चलन अभैm पनि कायमै छ तर पहिलेको तुलनामा भने हिजोआज देउसीभैलो खेल्न निस्कने समूह कमै मात्रामा भेटिन्छन् । केही युवा समूह मिलेर परम्परा धान्न र सामाजिक कार्यका निम्ति देउसीभैलो खेल्ने गरेका छन् ।

देउसीभैलोको मौलिक परम्परा भने गाउँघरमा हट्दै गएको छ । देउसी खेल्ने केही युवा समूह निस्के पनि मौलिक भाका गाउने भने अहिले देख्नै पाइँदैन । तिहारमा मेमोरीकार्ड, युट्युबबाट गीत बजाएर नाच्ने चलन छ । यसले मौलिकरूपमा तिहारका गीत गाएर नाच्ने चलन हिजोआज कतै पनि देख्न पाइँदैन ।

भैलेनी आयौँ आँगन बडाली कुडाली राखन,
आहैँ औँसीको बार गाईतिहार भैलीराम ।
हरियो गोबरले लिपेको लक्ष्मी पूजा पुजेको,
आहैँ औँसीको बार गाईतिहार भैलो ।।

यी गीत गाएर गाउँभरि देउसीभैलो खेल्ने समूहले तिहारमा उत्साह छाउँथ्यो तर अहिले यो सुनिन छोडेको छ । देउसीको सुरुवातबारे अहिलेसम्म पनि इतिहासमा फरक–फरक लेख छन् । इतिहासमा जे लेखिए पनि उहिलेदेखि नै चलेको देउसी–भैलो आजसम्म खेलिँदैछ ।

देउसी–भैलोको सुरुवातबारे फरक–फरक श्रुतिपरम्परा छन् । भौगोलिक क्षेत्र, विभिन्न जाति, जनजाति अनुसार देउसी–भैलो खेल्ने शैली फरक छ । यसले पनि जनाउँछ देउसी–भैलोमा विविधता छ । देउसी–भैलो जहाँबाट सुरु भए पनि तिहारसँग जोडिएको सबैभन्दा रमाइलो पाटो हो । विनादेउसी र भैलो तिहार निरस हुन्छ । अन्य संस्कार–संस्कृति समयको परिवर्तनसँगै बद्लिदा छन्, देउसी पनि यसबाट अछुतो छैन ।

सुरिलो स्वरमा देउसी भट्याउने, मादल र खैंजडीको तालमा नाच्दै देउसी खेल्ने समूह देखिन मस्कुल भएको स्थाानीय माधव केसी बताउछन् । ‘पहिलेको जस्तो रमाइलो गरिने मौलिक देउसी–भैलो हराइसक्यो’ क्यासेट प्लेयर घन्काउँदै आउँछन् भैलो खेल्न –केसीले भने । यो देउसीको मौलिकता हराउँदै गएको संकेत हो ।’

देउसीको मौलिकता पूरै हराएको छ, आजभोलि । उहिले मादल बजाउने स्वर सुक्ने गरी भैलो देउसी खेल्थे । अहिले त्यतिविधि दुःख कसले गरोस् । आजभोलि हाइभोल्टेजका साउन्ड सिस्टम लगाएर खेलिन्छ, देउसी । प्रविधिले देउसीको मौलिकतालाई खाएको अग्रजहरू बताउँछन् । अहिले देउसीभैलो खेल्ने परम्परा नै परिवर्तन हुँदै गएको स्थानीय कुमार घर्ती बताउँछन् । ‘गीत गाएर देउसी खेल्दाको मज्जा धेरै हुथ्यो अहिले जस्तो जमातभन्दा पनि गाउँघरमा हामी सबै जम्मा भएर भैलो देउसी खेल्ने गरेका थियौँ’, उनले भने ।

सूचना प्रविधिको विकास, पश्चिमी संस्कृतिको प्रभावले गर्दा परम्परागत रूपमा भट्याउँदै देउसी र भैलो खेल्ने चलन यतिबेला विभिन्न स्थानबाट हट्दै गएको हो । स्थानीयवासी पोषण वलीले पश्चिमी संस्कृतिले समाजमा प्रभाव पार्न थालेपछि मौलिक परम्परागत देउसीभैलो गाउने चलन हराउन थालेको बताए । मौलिक संस्कृतिको जगेर्नाका लागि युवापुस्ताले नै ध्यान दिनु पर्ने देखिन्छ । केहीले देउसीभैलो संस्कृतिलाई रमाइलोका रूपमा लिन्छन् त केहीले परम्परा जोगाउनका लागि ।

साथीभाइसँग मिलेर देउसी खेल्न रुचाउने युवायुवती पनि आजभोलि घट्दैछन् । उनीहरू देउसीभैलो खेलेर रमाइलो गर्नुको साटो, इमेल इन्टरनेटमा झुमिन्छन् । आधुनिकताको नाममा देउसीका भाका र खेल्ने तरिका पूरै बदलिएका छन् । सहरमा जति देउसीको रौनक हुन्छ, त्योभन्दा कयौँ गुणा बढी गाउँमा हुन्थ्यो, अहिले गाउँमा भने सुनसान छ । केहीले भने आफ्नो संस्कृति संस्कारका लागि लोप हुन लागेका विभिन्न बाजा गाजा र भेष भुसा लगाएर भैलो वा देउसी खेल्ने गरेको यस पालिको तिहारमा देखिएको छ ।