नक्कली भुटानी शरणार्थी प्रकरण : फिर्ता पाउलान् पीडितले रकम ?
देवेन्द्र बस्नेत
दाङ, २५ कार्तिक । नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दाको सुनुवाइ आगामी मंसिर ५ का लागि तोकिएको छ । विशिष्ट व्यक्ति जोडिएको यो प्रकरणको मुद्दाले कुन रूपमा किनारा पाउने हो, मंसिर ५ को पेसीले निक्र्यौल गर्ला ।
यो प्रकरणमा संलग्नको अपराध प्रमाणित भए उनीहरू सजायको भागिदार बन्ने छन् तर नक्कली भुटाणी शरणार्थी बन्न खोजेर अमेरिका जाने लोभमा लाखौँ रकम डुबाएकाको अपेक्षा भने दोषीको कारबाही मात्रै होइन, अमेरिका पठाउने भन्दै आफूहरूबाट ठगेको लाखौँ रकम फिर्ता हुनु पर्ने अपेक्षा हो । अदालती फैसलाले यो प्रकरणमा दोषी देखिनेलाई कारबाहीसँगै आफूहरूको रकम फिर्ता हुन्छ कि हुँदैन ? पीडितहरूको प्रश्न छ ।
नक्कली शरणार्थी बनेर अमेरिका जाने लोभमा घोराहीकी रमिता घिमिरे (नाम परिवर्तन) को ४५ लाख रूपैयाँ डुब्यो । नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ‘लालच’ देखाएको गिरोहको फन्दामा परेकी रमितालाई अहिले पारिवारिक दबाबले पिरोलिरहेको छ । उनी भन्छिन्, ‘४५ लाख रकम डुबेपछि परिवारका सदस्यबाट दिनहुँ खप्की खाइरहनु परेको छ ।’
कांग्रेसका बालकृष्ण खाँड, एमालेका टोपबहादुर रायमाझी जस्ता हेभी–वेट नेता सहित गिरोहमा संलग्न भएका यो प्रकरणमा समातिए तर ४५ लाख रकम डुबाएकी रमिता भने आफूले न्याय पाउने वा नपाउने भन्नेमा अन्योलमा छिन् । उनको प्रश्न छ, ‘उनीहरू त समातिए तर खाइदिएको हाम्रो पैसा दिन्छन् कि दिँदैनन् ? उनका लागि न्याय मिल्ने भनेकै अमेरिका जाने भनेर गिरोहले झ्वाम पारिदिएको रकम फिर्ता नै हो । ‘मलाई न्याय मिले हुन्थ्यो, नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगहरूले खाइदिएको रकम फिर्ता भए हुन्थ्यो’, उनले भनिन्, ‘रकम फिर्ता नुहँदा घरबार खतम हुने अवस्था बनेको छ, खै के गर्छन्, हाम्रो डुबेको पैसा दिन्छन् कि दिँदैनन् ?’
उसैगरी अमेरिका जाने लोभमा परेर २० लाख रूपैयाँ डुबाएका तुलसीपुरका राजन केसी (नाम परिवर्तन) लाई पनि फसेको गिरोहमा संलग्नलाई कारबाहीभन्दा पनि रकम फिर्ताकै चिन्ता बढी छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकालाई हुने कानुनी कारबाहीले मात्रै उनलाई न्यायको अनुभूत नहुने उनी बताउँछन् । उनका लागि न्याय मिल्ने भनेकै रकम फिर्ता भएपछि हो । ‘हामीलाई नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै लाखौँ रकम ठग्नेहरूलाई कारबाही पनि हुनुपर्छ, होओस्’, उनले भने, ‘तर हामीलाई न्याय मिल्छ कि मिल्दैन भन्ने चिन्ता हामीलाई छ, हामीबाट ठगी गरेको रकम सरकारले दिलाउन सके हुन्थ्यो ।’
रमिता र राजनजस्तै दाङमा ठगीमा परेका ६० भन्दा बढी ‘नक्कली भुटानी शरणार्थी’लाई पक्राउ परेकाबाट रकम फिर्ताको आश जागेको छ । उनीहरू पक्राउ परेकालाई कानुनी कारबाही मात्रै चाहँदैनन् । आफूबाट अशुल गरेको रकम फिर्ता उनीहरूको पहिलो चिन्ता हो तर नक्कली भुटानी शरणार्थी बनेर अमेरिका जान हौसिएका उनीहरूको रकम फिर्ताका लागि भने सहज देखिन्न । कारण अमेरिका जान भन्दै रकम बुझाएको कुनै प्रमाण उनीहरूसँग छैन । एक प्रहरी अधिकारीका अनुसार अहिलेसम्म बिना प्रमाण अर्थात् रकम दिएको मौखिक भनाइकै आधारमा कसैले पनि फसेको रकम फिर्ता पाउने अवस्था बनेको छैन ।
फलतः भुटानी शरणार्थी प्रकरणमा अदालतले प्रमाणलाई आधार बनाउने अवस्था आउन सक्ने ती अधिकारी बताउँछन् । ‘रकम लेनदेन वा ठगीको विषयमा रकम दिएको कुनै प्रमाणबिना कसैले पनि न्याय पाएको कानुनी उदाहरण छैनन्’, ती प्रहरी अधिकारीले भने, ‘तर भुटानी शरणार्थी प्रकरणको मुद्दालाई अदालतले कसरी व्याख्या गर्छ भन्ने कुरा नै हो ।’ ती अधिकारीका अनुसार अदालतले अहिले राष्ट्रिय विषय बनेको यो प्रकरणमा सबैले न्याय पाउनु पर्छ भनेर पीडित भनिएका सबैलाई न्याय मिल्ने गरी फैसला गरेको खण्डमा बिनाप्रमाण रकम बुझाएकाले पनि रकम फिर्ता पाउन सक्ने हुन सक्छ ।
तर अदालतले रकम बुझाएको प्रमाणका आधारमा मात्रै न्यायिक निर्णय गरेको खण्डमा बिनाप्रमाण रकम बुझाएकाको रकम फिर्ता हुन नसक्ने उनको भनाइ छ । ‘अहिले राष्ट्रिय विषय बनेको यो प्रकरणमा पब्लिक सेन्टिमेन्टलाई हेरेर यो विषयमा सबैलाई न्याय दिनु पर्छ भन्ने न्यायिक निर्णय भएको खण्डमा बिनाप्रमाण रकम बुझाएकाले रकम पाउन सक्लान्’, ती प्रहरी अधिकारीले भने, ‘तर रकम बुझाएको प्रमाणका आधारमा गरिँदै आएको अहिले सम्मको कानुनी निर्णयले त बिनाप्रमाण रकम बुझाएकालाई म ठगिएको छु भन्दैमा रकम फिर्ता हुने अवस्था बन्ने हुन्न ।’ उनले सबै पीडितले आफूहरू ठगिएको भनेर दिएको उजुरीका आधारमा प्रहरीले माग दाबी त अदालत समक्ष गर्छ नै तर अदालतले गर्ने न्यायिक निर्णयले सबै पीडितले न्याय पाउने वा नपाउने भन्नेमा निर्भर रहने उनको भनाइ छ ।
यता अमेरिका पु¥याउने भन्दै दाङका गजेन्द्र बुढाथोकीमार्फत् ठगीमा परेका दाङकै पीडितलाई भने भुटानी शरणार्थी प्रकरण गिरोहमा संलग्नले रकम बुझाएको कुनै प्रमाण पेस गर्ने ठाउँ दिएनन् । उनीहरूले नगद रकममा मात्रै काम हुने भन्दै बैंक चेक समेत लिन मानेका थिएनन् । ‘मैले तीन पटक गरेर ४५ लाख रूपैयाँ बुझाएकी हुँ’, रमिताले भनिन्, ‘तर सबै रकम नगद मात्रै बुझाएँँ, उनीहरूले बैंकको चेक लिँदैनौँ भनेर नगद मात्रै लिने भनेका थिए, मैले त्यही अनुसार नगद रकम मात्रै बुझाएँ ।’
यो गिरोहले सुरुमा काठमाडौंमा रकम बुझेका थिए । त्यसपछि चितवनमा प्रशिक्षण कार्यक्रमका लागि भन्दै बोलाएर दोस्रो पटक रकम असुलेको थियो भने मेडिकल जाँचका लागि भन्दै बिराटनगरमा बोलाएर यो गिरोहले तेस्रो पटक रकम असुलेको थियो । गिरोहले जहाँ पनि नगद रकम मात्रै लिएको थियो । ‘चेक दिँदा हुँदैन नगदै चाहिन्छ भनेर नगदै रकम बुझेका थिए’, तुलसीपुरका अर्का पीडित रमेश गिरी (नाम परिवर्तन) ले भने, ‘रकम बुझेको प्रमाण नहोस् भनेर यसो गरेका पो रहेछन् ।’ उनलाई पनि आफ्नो डुबेको रकम फिर्ता हुने नहुनेमा शङ्का छ । आफूहरूसँग मोटो रकम असुल गरेको गिरोह पक्राउ पर्नुले भने रकम फिर्ता हुने आशा जगाइदिएको छ । ‘उनीहरूले खाइदिएको हाम्रो पैसा दिन्छन् कि दिँदैनन् ?’, उनले प्रश्न गरे ‘रकम नदिए त हामीलाई के न्याय मिलेको भन्नु ?’