आजबाट तिहार सुरु, बजारमा चहलपहल
गोरक्ष समाचारदाता
तुलसीपुर, २५ कार्तिक । नेपालीको महान चाड शुभदीपावली सुरु भएसँगै जिल्लाका बजारमा तिहारको सामान किन्नेको भिड बढेको छ । तिहार लागेसँगै जिल्लाको मुख्य बजारमा सामान खरिद गर्ने उपभोक्ताको भिड देखिएको हो ।
घोराही, लमही, तुलसीपुरलगायतका क्षेत्रमा सर्वसाधारणको चाप बढेको छ । जिल्लाका साना–ठुला गाउँका बजारमा समेत चहलपहल सुरु भएको छ । बजार घुम्न जानेलाई समेत तिहारको रमझमले आकर्षित बनाएको देखिन्छ । तिहारमा प्रयोग हुने सामानमध्ये झिलीमिली बत्ती, तामा र पित्तलका भाँडा, दियो, सप्तरङ्गी टीकालगायतका सामग्री यतिबेला बजारमा जहाँतहीँ बेच्न राखिएका छन् ।
विशेष गरी तिहारमा चाहिने सामान किनमेल गर्न मानिसको भिड बजारमा छ । लक्ष्मीपूजाका लागि चाहिने माटोका पाला, बत्ती, सप्तरङ्गी टीका, कपडा, ढाकाटोपी र अन्य सामग्री किनमेल गर्नेको चहलपहल बजारमा जताततै देख्न सकिन्छ । यस्तै भाइटीकाका लागि चाहिने सगुनको पनि किनमेल बढेको छ । आजबाट विधिवत रूपमा यमपञ्चक सुरु भएको छ ।
हिन्दु धर्मावलम्बीले बडादसैँ लगत्तै मनाउने अर्को ठुलो र महत्वपूर्ण चाड हो, तिहार अर्थात् यमपञ्चक । यही तिहारको पहिलो र महत्वपूर्ण दिनलाई नै काग तिहार भनिन्छ । तिहार पर्व अन्तर्गत कार्तिक कृष्णत्रयोदशीदेखि कार्तिक शुल्क द्वितीया तिथिसम्म पाँच दिन मनाइने तिहार पर्वको आरम्भ काग तिहारबाट हुन्छ । काग तिहार कार्तिक कृष्ण त्रयोदशीका दिन पर्दछ । काग तिहारमा कागलाई यमराजको सन्देशवाहकका रूपमा पूजा गरिन्छ । काग तिहारका दिन मात्रै कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन रहेको छ ।
सेल रोटीको मिठास अनि दियोको प्रकाशका साथै देउसी र भैलोका सङ्गीत गुञ्जायमान यस पर्वको हर्षोल्लास अद्भूत छ, काग, कुकुर, गाई, गोरु र दाजुभाइको पूजा क्रमैसँग यमपञ्चकका पाँच दिनमा गरिने यस तिहार पर्व मनाइनेका बारेमा धेरै किम्बदन्ती पाइन्छन् । काग तिहारमा बिहानैदेखि कागको पूजा गरिन्छ, घर बाहिर विभिन्न खानेकुरा पात या दुना टपरीमा कागका लागि भनेर राखिन्छ र वर्षभरि कागले घरआँगनमा सुखद् र प्रगतिशील खबर र भाग्यका कुरा मात्र ल्याओस् भनेर कामना गरिन्छ ।
घर–घरमा झिलिमिली द्वार बनाएर साँझमा दीप प्रज्ज्वलन गरिन्छ । विभिन्न प्रकारका पटाका पड्काउने चलनका साथै तराईमा सन्ठी अर्थात् जुटको भित्र पटिको हलुका लट्टीहरूको मुठालाई बालेर खेतमा गएर हुक्का खेल्ने चलन छ । रमाइलोको यो माहोलमा सजग र सुरक्षित रहन पनि एकदमै जरुरी छ । अर्कोतर्फ अब गाउँघरमा उत्साहित मान्छेले उल्लासपूर्वक तिहारमा देउसी या भैलो कहाँ–कहाँ खेल्ने, को–को खेल्ने र के–के गीत अथवा नृत्य प्रदर्शन गर्ने, कसले भट्याउने आदि तयारी सुरु भइसकेको छ ।
यस वर्ष तिहारमा त्यति उमङ्ग नभए पनि गाउँदेखि बजारमा भने चलहपहल सुरु भएको छ । घरघरमा रोटी पाकाउनेदेखि झिलीमिलीले घरु उज्यालो बनाइएको छ । क्रमशः काग तिहार, कुकुर तिहार, लक्ष्मीपूजा, गोरु तिहार र भाइटीका मनाउने गरिन्छ ।
यस वर्ष कार्तिक २६ गते लक्ष्मीपूजा र कुकरतिहार एकै दिन परेका छन् । त्यस्तै कार्तिक २७ गते गाईतिहार अर्थात कार्तिक कृष्ण औँसी, कार्तिक २८ गते गोबर्धन पूजा, महःपूजा नेपाल सम्वत ११४४ प्रारम्भ हुने छ । कार्तिक २९ गते भाइटीका परेको छ । तिहारको भाइटीकाको उत्तम साइत कार्तिक २९ गते बिहान १०ः५१ बजे रहेको बताइएको छ ।