भूकम्प मापन केन्द्रको प्रारम्भिक अध्ययन, जाजरकोट भूकम्पले अस्वाभाविक क्षति
देवेन्द्र बस्नेत
दाङ, २२ कार्तिक । कर्णालीको जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार राति गएको भूकम्पले निम्त्याएको क्षति र कारणबारे राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले अध्ययन गरिरहेको छ । केन्द्रका बरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारी ‘भूकम्प अध्ययन’का क्रममा केही दिनदेखि जाजरकोटमै छन् ।
अहिलेसम्म उनले गरेको प्रारम्भिक अध्ययनले जाजरकोट भूकम्पले अस्वाभाविक क्षति पु¥याएको देखाएको छ । उनका अनुसार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पको शक्तिले यति ठुलो क्षति निम्त्याउनु अस्वाभाविक भएको बताए । ‘जाजरकोटमा जति शक्तिको भूकम्प गयो, यसको असर यति धेरै देखिनु पर्ने होइन’, उनले भने, ‘भूकम्पको शक्ति अनुसार त्यहाँ पुगेको क्षति अस्वाभाविक रूपमै ठुलो हो ।’ उनका अनुसार जाजरकोट भूकम्प शक्तिशाली भूकम्प होइन । यो मझौला भूकम्प हो ।
मझौला भूकम्पको झट्काले अनुमान गरिएभन्दा ठुलो क्षति निम्तिएको उनको भनाइ छ । ‘जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प शक्तिशाली भूकम्प होइन, यो मझौला भूकम्प हो’, उनले भने, ‘मझौला भूकम्पको झट्काले निम्त्याएको यहाँको क्षति अनुमान गरिएभन्दा धेरै ठूलो हो ।’
अधिकारीका अनुसार शक्तिका आधारमा भूकम्पलाई चार चरणमा विभाजन गरिएको हुन्छ । ५ देखि ६ रेक्टर स्केलसम्मका भूकम्पलाई साना भूकम्प भनिन्छ । यसैगरी ६ देखि ७ रेक्टर स्केलका भूकम्पलाई मझौला, ७ देखि ८ सम्मकोलाई शक्तिशाली र ८ देखिमाथिका भूकम्पलाई महाभूकम्प मानिन्छ । जाजरकोटमा मझौला भूकम्पको झट्काले अस्वाभाविक क्षति निम्तिनुको प्रमुख कारण उनले त्यहाँ रहेका कच्ची संरचना रहेको बताए ।
ढुङ्गा र माटोले मात्रै बनेका पुराना प्रकृतिका घरलाई मात्रै भूकम्पले भत्काएको भन्दै उनले पक्की संरचनामा भने कुनै क्षति नपुगेको बताए । ‘यति ठुलो क्षति निम्तिनुको प्रमुख कारण कच्ची पुराना प्रकृतिका संरचना नै हुन्’, उनले भने, ‘५० वर्ष अघिजस्ता प्रकृतिका ढुङ्गा–माटोका घर बनाइन्थे, अहिले बनेका घर पनि सोही प्रकृतिका छन्, फलतः भूकम्पको सानो झड्काले पनि यस्ता कच्चा घर ढले ।’ उनले तीनतले घर भत्किएर घरमा प्रयोग भएका ढुङ्गा–माटो एकै ठाउँमा थुप्रो लागेको भन्दै यसले ती घर कति मजवुत तरिकाले बनाइएका रहेछन् भन्ने पुष्टि हुने बताए । ‘तीन तलाका घर भत्किएर ढुङ्गा–माटोको एउटा थुप्रो बनेका छन्’, उनले भने, ‘यसरी एकै थुप्रो लागेको माटो–ढुङ्गाले बनेका घर कति मजवुत थिए होलान् भन्ने प्रष्ट हुन्छ ।’
अधिकारीका अनुसार भूकम्पको प्रभाव भौगोलिक विकटताका कारण भएको पनि देखिन्न । पहाडी क्षेत्र भएका कारण जाजरकोट र पश्चिम रुकुममा बढी क्षति भयो कि भन्ने आशङ्का रहे पनि भौगोलिक अवस्थाका कारण भूकम्पको क्षति बढी भएको भन्न नमिल्ने अधिकारीको भनाइ छ । उनका अनुसार पहाडी भेकका घर भन्दा समथर भूभागका घर बढी भत्किएका छन् ।
‘यदि पहाडी क्षेत्र भएका कारण बढी क्षति भएको मान्ने हो भने पहाडमा रहेका बढी भत्कनु पर्ने हो तर त्यस्तो छैन’, जहाँ समथर भू–भाग छ, त्यहाँका कच्ची घर भत्किएका छन्, यसर्थ कर्णालीको भौगोलिक अवस्थाका कारण बढी क्षति भएको भनेर भन्न मिल्दैन ।’ यसैगरी मध्यरातमा भूकम्प गएका कारण पनि ठुलो मानवीय क्षति भएको बताए । ‘दिउँसोको समयमा भूकम्प गएको भए मान्छे घर बाहिर निस्कन पाउने थिए’, अधिकारीले भने, ‘तर सबै सुतेको मध्यरातको समयमा भूकम्प आएका कारण मानवीय क्षति बढी हुन पुग्यो ।’
‘भूगर्भमा भूकम्पको ठुलो शक्ति जम्मा भइरहेको छ’
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र बरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार पश्चिम नेपालको भूगोल तल भूकम्पीय शक्ति जम्मा भएर बसेको ५ सय वर्ष पुगिसकेको छ । भूकम्पीय शक्ति सञ्चय भएर बसिरहेका कारण साना भूकम्पका झट्का आउनु स्वाभाविक मानिन्छ तर यस्ता साना भूकम्पको शक्तिले मात्रै भूगोलमुनि जम्मा भएर बसेको शक्ति नसकिने भन्दै शक्तिशाली भूकम्पको अधिक जोखिममा नेपाल छ ।
उनका अनुसार त्यो ठुलो शक्ति जमिनमुनि तयार भएर बसेको छ । ‘५ सय वर्षदेखि नेपाललाई असर पर्ने गरी ठुलो भूकम्प भएको छैन, यसको मतलव ५ सय वर्षदेखि यहाँको भूगोलमुनि भूकम्पको शक्ति जम्मा भएर बसिरहेको छ’, अधिकारीले भने, ‘अहिले गइरहेका साना भूकम्पले त्यो शक्ति सकिने कुरा हुँदैन, फलतः नेपाल महाभूकम्पको जोखिममा अधिक छ, ५ सय वर्षदेखि तयार भएर बसेको त्यो शक्ति पक्कै निस्कन्छ तर कहिले कति समय वा वर्षपछि भन्ने एकिन भने गर्न सकिँदैन ।’
अधिकारीका अनुसार सन् १५०५ मा पश्चिम नेपालमा ठुलो भूकम्प गएको देखिन्छ । त्यसयता पश्चिम नेपालमा ठुलो भूकम्प नगएका कारण यहाँको भूगर्भमा भूकम्पको ठुलो शक्ति तयार भएर बसेको अधिकारीले बताए । तथापि नेपाालको पश्चिमी क्षेत्र मात्रै होइन, नेपालको सिङ्गो भू–भाग नै महाभूकम्पको जोखिममा छ । ‘यो निश्चित भू–भाग वा यो क्षेत्र मात्रै ठुलो भूकम्पको जोखिममा छ भन्ने अवस्था होइन’, डा. अधिकारीले भने, ‘सिङ्गो नेपाल नै ठुलो भूकम्पको अधिक जोखिममा छ, यसर्थ हामी सबै नेपाली भूकम्पको जोखिममा छौँ, जोगिएर बस्नु पर्ने अवस्था छ ।’
अधिकारीका अनुसार प्रत्यक भूकम्पको एक रेक्टरमा ३२ गुणा बढी शक्ति हुन्छ । प्रत्येक एक रेक्टरले १० गुणा बढी हल्लाउँछ । ‘भूकम्पको प्रत्यक एक रेक्टर वृद्धि हुँदा ३२ गुणा बढी शक्ति थपिएको हुन्छ’, उनले भने, ‘प्रतिरेक्टर १० गुणाले बढी हल्लाउँदै जान्छ ।’ जाजरकोट र रुकुममा देखिएको अस्वाभाविक क्षतिको प्रमुख कारण कच्ची संरचना निर्माण देखिएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले सम्भावित महाभूकम्पको जोखिमबाट बच्न भौतिक संरचना निर्माणमा बलियोपना खोज्नै पर्ने आवश्यक देख्छ ।
अहिले ठडिइरहेका पुराना संरचनालाई मर्मत सम्भार गरेर बलियो बनाउनै पर्ने र नयाँ संरचना निर्माण गर्दा भूकम्पीय सुरक्षा अपनाएर मात्रै बनाइनु पर्ने डा. अधिकारी बताउँछन् । ‘अहिले कायम रहेका पुराना संरचनाका मर्मत सम्भार गरेर भूकम्पको ठूलो शक्तिलाई थेग्न सक्ने बनाउनै पर्छ’, उनले भने, ‘नयाँ बन्ने संरचना पनि सम्भावित ठुलो भूकम्पलाई मध्यनजर गरेर सुरक्षा सावधानी अपनाएर बनाउनु प¥यो, अन्यथा नेपालमा अझ ठुलो भयावह निम्तिने भूकम्पीय खतरा रहने छ ।’