मेरो खुशी : जीवनका सङ्घर्षहरू खुसीका क्षण…
सामान्य जीवनशैली, ठट्यौली स्वभावसँगै सबैसँग मिल्ने सक्ने बिष्णुप्रसाद पोख्रेल ‘बिष्णु आर्ट’ कलाकारितासँगै आर्ट लेखनी क्षेत्रमा सफल व्यक्ति छन् । सानैदेखि चित्रकलामा रुचि राख्ने उनी विगत तीन दशक बढी समयदेखि चित्रकला र आर्टस व्यवसायसँगै पत्रकारिता क्षेत्रमा पनि संलग्न छन् ।
निरन्तरको मेहनत, लगनशिलतासँगै भनेको कुरालाई कलाका माध्यमबाट चित्र र अभियानमा उतार्न सक्ने क्षमताका कारण विष्णु आर्टिस्टका रूपमा परिचित छन् । २०४८ सालदेखि पत्रकारिता, कलाकारितासँगै आर्टस व्यवसायमा संलग्न विष्णुले यो अवधिमा ४÷५ सय विभिन्न चित्रहरू बनाएको बताउँछन् । यसरी बनाएका चित्रहरू कहिलेकाही प्रदर्शनीमा राख्छन्, तँ कतिपय चित्रहरू बिक्री गरेर आफ्ना लागि आम्दानी समेत गर्ने गरेको बताउँछन् ।
आफु मात्रै नभएर चित्रकलाका क्षेत्रमा संलग्न अन्य कलाकारहरूलाई समेत समेटेर दुई पटक जिल्लास्तरीय चित्रकला प्रदर्शनी समेत गरिसकेका बिष्णु भन्छन्, ‘जीवनमा आफुलाई मन लागेको काम गर्ने हो, त्यो काम खुसी भएर गर्ने हो भने, त्यो पनि जीवनको अर्काे खुसी हो, जुन काम सफल र राम्रो बन्ने गरेको हुन्छ ।’ जीवनमा खुसीका साथ गरेका कामले मात्रै सफलता दिलाउने गरेको भन्दै पोख्रेलले जुनसुकै काम पनि इमान्दारिताका साथ खुसी भएर गर्नुपर्ने बताउँछन् ।
जहाँ हासो छ, त्यहाँ प्रशन्नता देख्ने उनी प्रशन्नताभित्रको खुसी नै आफ्नो जीवनको अर्काे खुसीको क्षण भएको बताउँछन् । जीवनमा हरेक व्यक्तिले हरेक दिन दुई पटक दिन खोलेर हास्नुपर्ने भन्दै विष्णुले हास्न नसक्ने व्यक्तिले सफलता प्राप्त गर्न समेत नक्ने बताउँछन् । संघर्षशील व्यक्तिले नै जीवनमा सफलता प्राप्त गर्न सक्ने भन्दै विष्णुले संघर्षशील जीवनका हरेक क्षणहरू पनि आफ्नो जीवनको अर्काे खुसीका क्षणहरू भएको बताउँछन् । ‘जीवनका हरेक संघर्षका क्षण मेरा खुसीका क्षण हुन् । जुन संघर्षले गर्दा म आजको स्थानमा रहेको छु ।’
२०२६ साल फागुनको ७ गते पिता ज्योतिखर पोख्रेल र माता दु्रपताकुमारी पोख्रेलको कोखबाट प्युठान जिल्लाको मल्लरानी गाउँपालिका–३ चौरपानी, माझ टोलमा जन्मिएका बिष्णुको बाल्यकाल प्युठानसँगै कपिलबस्तु जिल्लामा बित्यो । करिब ६ वर्षको उमेरमा २०२९ सालतिर उनको परिवार प्युठानबाट बसाईसराई गरेर कपिलबस्तुको ओरहिया भन्ने ठाउँमा पुगेको थियो । विष्णुको बाल्यकाल करिब ५ वर्ष त्यहीँ बित्यो । उनले त्यहीँको श्री माध्यामिक विद्यालयबाट औपचारिक शिक्षाको सुरुवात समेत गरेका थिए ।
बाल्यकालमा अत्यन्तै चकचके, रिसाह र जिद्धी स्वभावका उनले परिवारका सदस्यसँगै स्कुलका साथीभाई र गुरुहरूलाई समेत सताएर दिक्क बनाउने गरेको बताउँछन् । कहिलेकाही हराएर खुसी बनाउने पनि काम गर्दथे । कहिले विद्यालयमा साथीको लगेको नास्ता खाइदिने, कहिले किताब, कापी चोरेर सताउने, कहिले आफुले होमवर्क नगरेर गुरुहरूलाई विद्यालयमा सताउने गर्दथे । त्यहीँ क्रममा विद्यालयमा एउटा रमाइलो घट्ना समेत घटेको थियो ।
उनी भन्छन, मैले एक पटक साथीसँग कक्षामा झगडा गरेर उनको राम्रो राम्रो किताब, कलम, कलर बक्स लगिदिएछु र उनको नास्ता पनि खाइदिएछु । त्यो कुरा सरले थाहा पाउनुभयो । मलाई कक्षा गत सरले कारबाही गर्न नसेर अफिसमा हेडसर कहाँ लग्नुभयो । त्यो समय उम्किएर भाग्ने प्रयास पनि गरेको थिए तर पाइन । २ कक्षामा पढ्ने सानो भएकाले हेड सरको डर पनि लाग्ने गर्दथ्यो । त्यहीँ भएकाले भाग्नका लागि शौचालय जाने बाहना बनाए तर हेडसरले जान दिनुभएन ।
बरु किन गरेको भनेर सोधपुछ गर्नुभयो र सजाय स्वरूप मलाई मुर्गा बनाउनुभयो । त्यो समय हेडसरको धेरै डर लाग्ने गर्दथ्यो । एकै क्षण रिस र डरले पाइन्टभरी पिसाब गरिदिए । अफिस कोठामै पिसाब फेरेपछि सरले मलाई शौचालय लगेर तौलियाले बेरेर हेडसरको कुर्सीमा राख्नुभयो र खानलाई बिस्कुट दिनुभयो । त्यो क्षण पनि मेरो जीवनको अबिस्मरीण क्षण हो, जुनक्षण सम्झदा अहिले पनि खुसी लाग्ने गरेको छ ।
कपिलबस्तुको बसाई राम्रै भइरहेको थियो । पढाइ पनि राम्रै थियो । नयाँ ठाउँमा साथी तथा आफन्तहरू पनि बढ्दै थिए, त्यही समयमा कपिलबस्तुबाट उनको परिवार बसाईसराई गरेर दाङको सेवार बडहरा आइपुगेको थियो । त्यहीँ बसाईका क्रममा उनले मावि सेवार वनगाउँमा अध्ययन गर्न थाले, त्यहीँबाटै एसएलसीसम्मको अध्ययन गरे । त्यही अध्ययनका क्रममा उनलाई चित्रकलाले लोभ्यायो ।
त्यही कारण उनी स्कुल बिदाको समयमा चित्रहरू हेर्न बडहराबाट गोरक्ष रत्ननाथ मन्दिरमा जाने गर्दथ्ये । त्यहाँ मन्दिरका दलैचाहरूमा प्रभातनाथ योगीले बनाएका चित्रहरू थिए, त्यही हेर्थे र आफुले पनि सिक्ने प्रयास गर्थे । त्यही सिकाईका कारण आफु चित्रकलामा लागेको बताउँछन् । चित्रकलामा लाग्नका लागि प्रभातनाथले सुझाव दिएको बताउँछन् । त्यही कारण प्रभात नाथ र ओम गुरुङलाई गुरुका रूपमा समेत मान्ने गर्दछन् ।
अहिले पनि चित्रकला र कलाकारिता क्षेत्र सक्रीय उनी नवयुग नाट्य सास्कृतिक समूह दाङको अध्यक्ष, आत्रेय गात्रे पानी पोख्रेल राष्ट्रिय कार्यसमिति सचिव, बराह क्षेत्र मावि भूतपूर्व विद्यार्थी समाजका पूर्व सचिव, अन्तराष्ट्रिय ड्रामा सेन्टर दिल्लीका साधारण सदस्य, नेपाल कमर्शियल आर्ट संगठन दाङका अध्यक्ष, नेपाल पत्रकार महासंघ दाङका सदस्य, मानवअधिकार सञ्चर प्रतिष्ठान घोराहीका संयोजक, स्वर्गद्धारी प्युठान दाङ सरोकार समाजका प्रेस सल्लाहकार, डाँडागाउँ टोल विकास समिति सस्थाका सदस्य, नेपाल रेडक्रस सोसाईटीका आजीवन सदस्यका रूपमा रहेका पोख्रेलले एक सय बढी पुरस्कार तथा सम्मान प्राप्त गरेका छन् ।
घोराही उपमहानगरपालिका ४ डाँडागाउँमा निवासी विष्णुले सिताकुमारी पोख्रेलसँग विवाह गरेका छन् । पोख्रेल दम्पतीबाट एक छोरा र दुई छोरीहरू रहेका छन् ।