खुसीको पर्व तिहार र नेपाल सम्वत
सामाजिक सद्भाव र एकता कायम गरी हिन्दू संस्कृति र संस्कारभित्र हुर्कदै आएको, प्रकृतिमा जन्मिइ प्रकृतिमा हुर्कने मानवीय चेतनाले सिर्जेको रमाइलो, आनन्द र विछोडपछि मिलन हुने शुभदीपावली तिहार पर्व २०८०, भाइटीका, छठ पर्व तथा म्हःपूजा (आत्मपूजा) सँगै सुरु हुने नेपाल सम्वत ११४४ को सुखद अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना दिँदै सुख, समृद्धि र सुस्वास्थ्यको कामना गर्दछु, ‘न्हूँ दया भिन्तुना’ ।
ऋतुको परिवर्तनसँगै प्रकृतिले मनमोहकता र सुन्दरता बोकी प्रदर्शन हुने मौसमको सदावहारसँगै भित्रिएको दोस्रो महान पर्व शुभदीपावली हाम्रो घरआँगनमा भित्रिएको छ । गर्मी र हिलोले लतपत भएको शरीरमा नयाँ उत्साह र उमंग जगाउँदै गहरा–गहरामा झुलेका धानका बाला काट्दै, रमाउँदै र बाली भिœयाउँदै थाकेका शरीरमा स्फूर्त जगाउन तिहार पर्व हाम्रो मनमन्दिरमा खुसी र आनन्द लिएर भित्रिदै छ ।
यसैगरी वर्षभरि खाने अन्न भण्डारणपछि आउने यो पर्वले प्रत्येक आत्मामा नयाँ शक्ति सञ्चार गराउँदै आउने छ । यसरी आउने पर्वले हाम्रो घरआँगन, कोठा, चोटा सफा गराउँदै सुन्दर बगैचाको रुपमा शृंगार्दै छ । स्वच्छ, सफा र हराभरा मनमोहक प्रकृतिको रसस्वादन गर्दै रम्ने रमाउने, नाच्ने नचाउने वातावरण सिर्जना गर्दै छ । लामो पर्खाइपछि वर्षमा एकपटक आउने यस पर्वमा देउसी–भैलीको तालमा नाँच्न रमाउन युवायुवती आतुर भएर लागि पर्र्ने छन् । सयपत्री र मखमली फूलले वातावरणलाई उल्लासमय बनाउने छ ।
सफा र स्वच्छ स्थानमा धनकी देवी लक्ष्मीको बास हुन्छ भन्ने सत्यले यतिखेर निकै मान्यता पाउँदै छ । वर्षभरि सफा नभएका धारा, कुवाँ, घर, आँगन, कोठा, चोटा, बागबगैचाहरु सफा र चिटिक्क पर्ने छन् । ‘डे अफ लाइट’ उज्यालो पर्वको रुपमा परिचित यस पर्वले बोकेको विशेषताभित्रको देउसी–भैलीको मीठो धुन अहिले प्रत्येक व्यक्तिको मनमा गुञ्जिन थालेको छ । मौसमको सुन्दरतासँगै मखमली र सयपत्री फूलको माला तयार गर्ने क्रममा दिदीबहिनीहरु जुट्न थालेका छन् ।
दिदीबहिनीहरुको केही जामात सेल रोटी र फिनी रोटीलगायत नानाथरिका रोटी तयार गर्न जुटिसकेका छन् । तिहारमा दाजुभाइलाई मीठो परिकार खुवाइ उनीहरुको दीर्घायुका लागि कामना गर्ने भनी दिदीबहिनीका मनमा थरि–थरिका अलंकारहरु बुनिँदै छन् । कतिपय दिदीबहिनीहरु प्रदेश गएका दाजुभाइका आगमनको प्रतीक्षामा घरआँगनको डिलमा बसेर कुरिरहेका देखिन्छन् । कतिपय दाजुभाइहरु दिदीबहिनीहरुलाई घरबाट माइत ल्याउन साइत जुराउँदै छन् । सप्तरंगी टीका लगाइ मखमली फूलको माला लगाउने ध्याउन्नमा कतिपय दिदीबहिनीहरु मालाको जोहो गरिरहेका छन् ।
धन धान्य लक्ष्मीको पूजा गर्ने सुरमा घरआँगन, गाउँघर, सहर बजारका घरहरु झिलीमिली बत्तीले शृंगारिँने छन् । बजारका दोकानहरु रंगीचंगी फूल र झिलीमिली बत्तीले दुलहीजस्तै शृंगारिएका छन् । बजार किन्ने र बेच्नेको भीडले खचाखच भएका छन् । यसरी खुसी र मिलनले ल्याउने उत्साह यो पर्वको विशिष्ट पहिचान भएर आइपुगेको छ । नेपाली आदर्श र मौलिक संस्कृति र संस्कारभित्र हुर्केको तथा पौराणिक कहानी र कथा बोकी चल्दै आएको हाम्रो पर्वले हामीलाई स्वागत गरिरहेको छ ।
यसरी सुरु हुने तिहार पर्वभित्रको कहानी निकै रोचक र ज्ञानबद्र्धक रुपमा प्रस्तुत भएको पाइन्छ ।
देउसी–भैली तिहार पर्वमा नाच्दै रमाइलो गर्ने प्रचलनको शब्द हो । यो शब्द कसरी सुरु भयो भन्नेमा पनि रोचक कथा प्रसंग छ । परापूर्वकालमा बलि राजाको दानले अत्तालिएका देवताको उद्धारका लागि विष्णु भगवान्ले वामन अवतार लिई दानवीर राजा बलिबाट तीन वर पाएको कुराहरु यहाँ निकै रोचक ढङ्गले प्रस्तुत भएको पाइन्छ । राजा बलिबाट वचन लिएपछि विष्णु भगवान्ले बलि राजालाई तीन वर दिन अनुरोध गर्दछन् । जब बलि राजाले तीन वर माग्न अनुरोध गरे र वाचा गरे ‘लौ माग’ भनी वचन दिए ।
त्यसपछि पहिलो वरमा स्वर्ग लोक मागे, दोस्रो पाउमा पृथ्वी र मत्र्य लोक मागिसकेपछि तेस्रो पाउ राख्ने ठाउँ नदेखि विष्णुले ‘अब तेस्रो पाउ कहाँ दिन्छौ ?’ भन्दा तिमीले जे मागे त्यही दिन्छु भनी दानवीर बलि राजाले भनेपछि ‘तिम्रो शिर देउ’ भन्दा ‘लौ राख’ भनेर बलिले शिर थापिदिँदा वामन अवतार गड विष्णुले बलिको शिरमा पाउ राख्दा बलि भासिएर पाताल पुगेछन् । र, पछि दया निदान विष्णुकै कृपाले पाँच दिन पृथ्वीमा राज गर्न वरदान दिएकोले तिहारलाई यमपञ्चकको नामाकरण गरिएको भनिन्छ ।
विष्णुले बलिलाई शिर देउ भनी मागेकै कारण शब्द परिमार्जित भई देउशिर र तेसपछि देउसिरे नामाकरण गरी देउसी–भैलो खेल्ने प्रचलन भएको पनि भनिन्छ । यसैगरी यमराजले सम्पूर्ण कामकाज रोकी आफ्नो बहिनी यमुनासँग टीका लगाउन पाँच दिन विश्राम गरेको कहानी पनि यससँग जोडिएको पाइन्छ । यस्तैगरी रामले लंका दहन गरी सीतालाई साथमा लिई अयोध्या फर्कंदा खुसीमा चारैतिर दीपावली गरिएको प्रसंग पनि यहाँ देखिन्छ । यति मात्र होइन तिहार पर्वको महिमाभित्र भाइबहिनीबीचको सम्बन्धमा जोडिएको कालीनागको कथा पनि यहाँ पाइन्छ ।
दिदीको निमन्त्रणा स्वीकार गरी भाइटीकामा दिदीको हातबाट टीका लगाउन हिडेको भाइलाई बाटोमा रहेको कालीनागले छेकी खान तयार भएछन् । बाटोमा लड्दैपड्दै दिदीको घर कहिले पुगूँला भनी हतारिएको भाइलाई बाटोमा रहेको कालीनागले आफ्नो आहारा बनाउन खोजेपछि भाइ निकै चिन्तित भएछन् । यसरी चिन्ता र दुःख मान्दै कालीनागलाई भनेछन् ‘हे !
नाग देवता तिमीले मलाई खाने नै भए, एउटा कुरा भन्छु त्यसपछि मलाई खानु’ भनेर अनुरोध गरेपछि कालीनागले ‘के छ भन’ भन्दा ‘मान्ने भए भन्छु नत्र भन्दैन’ भनी भाइले नागलाई भनेपछि ‘हुन्छ माग’ भनेर वचन दिएपछि ‘आज भाइटीका हो, दिदी मेरो प्रतीक्षामा बसेकी छन्, कृपया मलाई दिदीकहाँ पुगी टीका लगाउने छुट देउ, म फर्कंदा यही बाटो पर्कूँला, त्यसपछि मलाई आहारा बनाउला’ वाचा गर्दै अनुनय गरेपछि नागले हुन्छ ।
भन्दै बाटो छोडेपछि भाइले निन्याउरो मुख लगाइ दिदीकहाँ अबेर पुगेको र भाइको यस्तो अवस्था देखि प्रतीक्षामा रहेकी दिदीले भाइलाई के छ भनी सोध्दा बाटोमा कालीनागसँगको वार्ता बताएपछि दिदीले धैर्य गर्दै भाइलाई सान्त्वना दिई, सम्झाइबुझाइ गरी तामाको थालीमा सप्तरंगी टीका राखी चार कुनामा बत्ती सल्काइ फूलपातीले तेलको घेरा राखी तालुमा तील र तेल लगाइ ओल्लो र पल्लो ढोकामा ओखर फोड्दै भाइलाई सप्तरंगी टीका लगाइ मखमली फूलको माला लगाइदिइन् र आशीर्वाद दिँदै भनिन् ‘जबसम्म तेलको रेखी र मखमली फूल सुक्दैन तबसम्म मेरो भाइ निरोगी र दीर्घायु रहून् र उनका शत्रुवर्गको ओखर घाँजी फूटेझैँ टुक्रा–टुक्रा भई मरुन्’ भनी वरदान दिएको प्रसंग पनि उल्लेख भएको पाइन्छ ।
यसरी विविध रोचक कहानी र कथा बोकी भित्रिएको तिहार पर्व रमाइलो र खुसीको पर्वको रुपमा आएको छ । काग पूजा, कुकुर पूजा, लक्ष्मी पूजा, गोरुपूजा र भाइटीका गरी पाँच दिन मनाउने यस पर्वको विशेषता भनेकै विछोडपछिको मिलनले ल्याउने खुसी र उत्साह हो । निराशाभित्र आशाको किरण झल्काउने प्रेम र सद्भाव, उत्कृष्ट आचरण हो भनी यस पर्वले हामीलाई ज्ञानबद्र्ध शिक्षा प्रदान गरेको छ ।
यसरी मनाउने दीपावली पर्वभित्र नेवार समुदायले मनाउने म्हःपूजा अर्थात् नेपाल सम्वतको गरिमा पनि यसैसँग जोडिएको छ । नेपाल सम्वत नेपाली संस्कृतिको आफ्नै मौलिक संस्कृति र संस्कार हो । यो सम्वत भाइटीकाको अघिल्लो दिन कार्तिक शुक्लपक्ष प्रतिपदाको तिथिमा म्हःपूजाको अवसरसँगै शुभारम्भ हुन्छ । नेपाली सपूत नेपाल सम्वतका प्रणेता शंखधर साख्वाले देशवासीको नाममा रहेको राज्यकोषको ऋण चुक्ता गरी सुरु भएको नेपाल सम्वत राजा राघवदेवको पालादेखि सुरु भएको पाइन्छ ।
सन् ७८९ अक्टुबर २० तारिख विहीवार कार्तिक कार्तिक शुक्लपक्ष प्रतिपदादेखि थालनी गरिएको नेपाल सम्वत प्रत्येक वर्ष म्हःपूजादेखि सुरु भएको हुन्छ । मौसमको प्रतिकूलता, भौगोलिक, प्राकृतिक, सांस्कृतिक सत्यभित्र रहेको यो सम्वत नेपाल राष्ट्रको सम्वत् ९३७बाट सुरु भएको देखिन्छ । अहिले म्हःपूजा र नेपाल सम्वत एकअर्काको परिपूरक भएर विकसित भएको छ । नेपाल सम्वत र म्हःपूजाको महिमा अहिले सर्वत्र जिज्ञासाको विषय बनेको छ ।
तसर्थ, नेपाल सम्वत राष्ट्रको गौरव, संस्कृति सम्पदा, पुर्खाको पौरख नाराका साथ धुमधामसँग यस पर्वसँगै दीपावली मनाऔँ । पर्वलाई भड्किलो र चट्किलोमा होइन, मिलन र खुसीको अनुभूति गर्दै रमाइलो गर्दै मनाऔँ । समयले यही खोजिरहेको छ । ‘न्हूँ दया भिन्तुना’ ।