विदेश मोह रहर कि बाध्यता ?
विजय जि.एम.
दैनिक जसो त्रिभुवन विमानस्थल वैदेशिक अध्ययन र रोजगारको लागि विदेश जाने युवा र तिनका आफन्तजनले खचाखच भरिएको हुन्छ । विदेश जान तम्तयार भएर फ्लाइट पर्खिरहेका युवाहरु खादा र माला लगाएर आफन्तहरुसँग विदाइका फोटोहरु क्यामरामा कैद गरिरहेका देखिन्छन् ।
छरछिमेक र इष्टमित्रको बधाई तथा यात्रा सफलताको शुभकामनाले सामाजिक सञ्जाल भरिएको हुन्छ । दैनिक सरदर दुई हजार चार सयभन्दा बढी युवा देश छोडेर रोजगार र अध्ययनको निम्ति बिदेसिन बाध्य छन् । वैदेशिक अध्ययन र रोजगारको लागि बिदेसिनेहरुको सङ्ख्या कहालिलाग्दो छ । देश छाड्ने युवा विद्यार्थी र श्रमिकहरुको सङ्ख्या हेर्दा लाग्छ निकट भविष्यमा देश नै रित्तिने अवस्था आउँदै छ । देश नै विदेश गइरहेको जस्तो छ ।
आर्थिक वर्ष २०७९÷८० मा रोजगार र अध्ययनका लागि करिब ९ लाख युवाले देश छोडेका छन् । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्षमा वैदेशिक रोजगारीको लागि देश छाड्ने श्रमिकहरु ७ लाख ७१ हजार ३२८ रहेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्याङ्कअनुसार वैदेशिक अध्ययनको लागि नेपालबाट १ लाख १०हजार जनाले १ खर्व ४२ करोड रुपैयाँ बाहिर लगेका छन् । गत आर्थिक वर्षमा १२ खर्व २० अर्ब ५६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
युवाहरुशिक्षा र सुरक्षित रोजगारको खातिर विदेश पलायन हुने बाध्यता छ । परिवारको सुन्दर भविष्यको लागि युवाहरु बिदेसिन बाध्य छन् । युवाहरुको अन्तिम गन्तव्य नै विदेश रहेको छ । विदेश मोहले आकर्षित बनाइरहेको छ । सपनाको देश नै विदेश रहेको छ । रोजगारदेखि बेरोजगार सबै विदेश मोहले तानिरहेको छ । विदेश मोहले प्रभावित नभएको कुनै क्षेत्र छैन । विदेश मोहको प्रभावमा चिकित्सकदेखि इन्जिनियर, शिक्षक, खेलाडी, नर्स, कर्मचारी र सुरक्षाकर्मी रहेका छन् । यो लेख युवाहरु घर, परिवार, समाज र देश छोडेर किन बिदेसिन बाध्य छन् भन्ने विषयमा केन्द्रित रहेको छ ।
रोजगारीको समस्या
नेपाल श्रमशक्ति सर्वेक्षण २०७४÷७५ अनुसार नेपालमा १५ वर्षमाथि काम गर्ने उमेरका जनसङ्ख्या २ करोड ७ लाख ४४ हजार छ । जसमध्ये ७९ लाख ९४ हजार मात्र श्रम बजारमा सक्रिय छन् । त्यसमध्ये ७० लाख ८६ हजारले रोजगारी पाएका छन् भने बाँकी ९ लाख ८ हजार बेरोजगार रहेको केन्द्रीय तथ्याङ्क विभागको श्रमशक्ति सर्वेक्षण सन् २०१९ ले जनाएको छ । देशको बेरोजगारी दर ११.४ प्रतिशत छ । प्रत्येक वर्ष कम्तिमा १६ लाखदेखि २० लाखसम्म युवा नेपाली बजारमा आउँछन् तर तीमध्ये पाँच प्रतिशतले मात्र रोजगार पाउँछन् ।
युवाहरुस्वदेशमा बेरोजगार समस्याको कारणले विदेश पलायन हुन बाध्यता छन् । देशमा जागिर र काम पाउन कठिन छ । स्वदेशमा योग्यता, क्षमता र सिप अनुसारको जागिर पाउन गाह्रो छ । जागिर पाइहाले पनि तलब न्यून छ । दैनिक श्रम गरे बाफतको ज्यालाले श्रमिकहरुलाई बाँच्न सकस छ । विदेशमा जति दुःख गरेपनि तुलनात्मक रुपमा तलब राम्रो छ । नेपालमा जागिर गरेर घर गाडी जोड्न सम्भावना छैन ।
छोराछोरीलाई राम्रो स्कुलमा राम्रोसँग पढाउन सक्ने अवस्था छैन । स्वास्थ्य उपचार गर्न सक्ने अवस्था छैन । जागिरको पैसाले घर खर्च सञ्चालन गर्न सक्ने अवस्था छैन् । बजारमा महँगीले आकाश छोएको छ । देशमा गरेको जागिरबाट प्राप्त आम्दानीले खर्च धान्न पुग्दैन । परिवार पाल्न नै मुश्किल छ ।
घरपरिवारबाट बिछोडिएर टाढा बस्ने रहर कसलाई हुन्छ र ? आम्दानी र खर्चको असमानताले दैनिक घर खर्च चलाउन सकस हुने भएकोले युवा देश छोड्न बाध्य छन । युवाहरु रहरले विदेशिएका होइनन् । विदेशमा अवसर र सम्भावनाहरु धेरै छन् । जागिरको अवसर छ । राम्रो आम्दानी छ ।फलस्वरुप युवाहरु अवसरको खोजीमा बिदेसिन बाध्य छन् ।
विदेशमा पढाइसँगै कमाई
नेपालको शिक्षा प्रणाली अन्तराष्ट्रियस्तरको छैन् । विद्यार्थीहरुमा विदेश गएर उच्च शिक्षा हासिल गरेमा अन्तर्राष्ट्रिय श्रम बजारमा बिक्न सजिलो हुन्छ भन्ने बुझाइ रहेको छ । विदेशमा गएर अध्ययन गर्दा लर्निङ र अर्निङ दुवै गर्न सकिन्छ भन्ने धेरै विद्यार्थीको बुझाई छ । विदेशमा पढाइसँगै कमाई पनि छ ।
विद्यार्थीहरुले पढाइको साथै काम गरेर पनि राम्रै आम्दानी गरिरहेका छन् । नेपालको सन्दर्भमा यो कठिन छ । नेपालमा लर्निङ गर्दा अर्निङ हुँदैन् । अर्निङ गर्दा लर्निङ हुँदैन् । अर्निङ पनि चित्त बुझ्दो हुँदैन् । पार्ट टाइम जागिर पाउँदैन् । नेपालमा पढ्दा पढ्दै आधा जिन्दगी नै जान्छ । जीवनभर अध्ययन गरेर जागिर पाउने कि नपाउने हो ग्यारेन्टी छैन् । यो यथार्थलाई अहिलेका विद्यार्थीले राम्ररी बुझेका छन् ।
नेपालको शिक्षा प्रणालीले शिक्षालाई रोजगारसँग जोड्न सकेको छैन् । शिक्षालाई श्रम र सिपसँग जोड्न सकेको छैन् । शिक्षित व्यक्तिहरु बेरोजगार भएर वैदेशिक रोजगारमा जानुपर्ने बाध्यता छ । नेपालमा रोजगार गर्ने वातावरण पनि छैन् । राजनीतिक अस्थिरताको कारणले हुने बन्द, हडताल, चन्दा आतङ्क र राजनीतिक हस्तक्षेपले गर्दा भएका उद्योगधन्दा, कलकारखाना र व्यवसाय पनि बन्द छन् ।
शैक्षिक संस्थाबाट उत्पादन भएका विद्यार्थीहरुले रोजगार गर्ने ठाउँ छैन् । सरकारले रोजगार सिर्जना गर्न सकेको छैन् । स्वरोजगारको निम्ति लगानी गर्ने वातावरण छैन् । फलस्वरुप शैक्षिक संस्थाहरु शैक्षिक बेरोजगार उत्पादन गर्ने कारखाना जस्ता भएका छन् । यो शैक्षिक संस्थाहरुको दोष होइन, राज्यको दोष हो ।
विकसित देशहरुमा अध्ययन गरिरहेका विद्यार्थीले साताको केही निश्चित समय काम गर्न पाउँछन् । बिदाको समयमा पूरा काम गर्न पाउँछन् । यसले गर्दा विद्यार्थीले आर्थिक उपार्जन गर्न सक्छन् । विदेश अध्ययन गर्न गएका विद्यार्थीहरुको दुई चार वर्षपछि शैक्षिक योग्यतासँगै आर्थिक हैसियत पनि राम्रो भएको देखिन्छ तर नेपालमा शैक्षिक योग्यताअनुसार रोजगार नपाएर बेरोजगार भएर बसेका छन् ।
यो अवस्थाबाट मुक्त हुन विद्यार्थीहरु बिदेसिन बाध्य छन् । विदेशमा पिआरसमेत पाउने भएकोले पनि विद्यार्थीहरु विदेश अध्ययनप्रति आकर्षित छन् । गुणस्तरीय शिक्षासँगै आधुनिक जीवनशैलीमा रमाउन पनि धेरै युवाले विदेशलाई गन्तव्य बनाइरहेका छन् ।
विश्वविद्यालय र क्याम्पसमा हुने राजनीति
विश्वविद्यालय र क्याम्पसहरु राजनीतिक दल, विद्यार्थी सङ्गठन, शिक्षक र कर्मचारीहरुको राजनीति गर्ने थलो बनेका छन् । देशको राजनीतिक अस्थिरताले गर्दा शैक्षिक संस्थाहरु बन्द र हडतालको चपेटामा छन् । विद्यार्थी, शिक्षक र कर्मचारी सङ्घसङ्गठनहरुको आवरणमा हुने स्वार्थ केन्द्रित अराजनीतिक गतिविधिले विश्वविद्यालय र क्याम्पसहरु धराशय हुने अवस्थामा छन् ।
विश्वविद्यालय र क्याम्पसमा दैनिक पठनपाठन हुँदैन् । कोर्ष समयमा सकिँदैन । परीक्षा समयमा सञ्चालन हुँदैन । परीक्षाको नतिजा समयमा प्रकाशन हुँदैन । परीक्षाको नतिजा प्रकाशन गर्न १८ महिना लाग्छ । विद्यार्थीहरुलाई एउटै कक्षामा १५ महिनासम्म पढ्नुपर्ने बाध्यता छ । तीन वर्षे कोर्ष सकिन चार पाँच वर्ष लाग्छ । चार वर्षे कोर्ष सक्न पाँच छ वर्ष लाग्छ ।
विद्यार्थीको भविष्य बनाउने विश्वविद्यालय र क्याम्पसहरु अहिले विद्यार्थीको भविष्य वर्वाद गरिरहेका छन् । यो दुर्दशाबाट छुट्कारा पाउन विद्यार्थीहरु विदेश पलाएन हुन बाध्य छन् । विश्वविद्यालय र क्याम्पसमा हुने आन्दोलन, बन्द र हड्तालले महिनौँसम्म बन्द हुन्छन् । दैनिक हुने पठनपाठन बन्द र हड्तालले गर्दा महिनौंसम्म थप्प हुन्छ ।
विश्वविद्यालय र क्याम्पसमा दाम अनि निजी कलेजहरुमा काम गर्ने अध्यापकहरुको कारणले सरकारी विश्वविद्यालय र क्याम्पस समस्याग्रस्त बन्दैछन् । त्रिविअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान बन्द र हड्तालको चपेटामा छ । इन्जिनियरिङ शिक्षाकोे स्नातक तहको शुल्कलाई लिएर इन्जिनियरिङ अध्ययन संस्थान र विद्यार्थी सङ्गठनहरुबिचको विवादले प्रवेश परीक्षा समयमा हुन सकेको छैन् । टाइम्स हाएर एजुकेशन स्तर मापन अनुसार विश्वस्तरमा त्रिभुवन विश्वविद्यालयको स्तर निकै खस्केको छ ।
विश्वविद्यालयमा पदाधिकारी र क्याम्पस प्रमुखको नियुक्ति राजनीतिक भागबन्डाको आधारमा हुन्छ । राजनीतिक दल र विद्यार्थी सङ्गठनहरु आफू अनुकुलका पदाधिकारी र क्याम्पस प्रमुख नियुक्त भएनन् भने विरोध, आन्दोलन, हड्ताल, तालाबन्दी र बन्द गरिहाल्ने प्रवृति छ । यो वा त्यो नाममा हुने सधैँ भरिको आन्दोलन र बन्दले विश्वविद्यालय र क्याम्पस बदनाम भएका छन् । देशको शैक्षिक अवस्थाको बेहाल देखेर युवा विद्यार्थीहरु विदेश पलायन हुनु अन्यथा होइन् ।
राजनीतिक दलहरुप्रतिको अविश्वास
देश सञ्चालन गर्ने नै राजनीति हो । राजनीतिक संस्कारको अभावले राजनीति नै दुषित भएको छ । राजनीति आफैमा नराम्रो होइन तर राजनीतिलाई गलत तरिकाले प्रयोग गर्ने राजनीतिक दलका नेतृत्व र कार्यकर्ताको कारण जनतामा नै राजनीतिप्रति वितृष्णा उत्पन्न भएको छ । राजनीतिक दलहरुलाई शङकाको दृष्टिकोणले हेर्नुपर्ने अवस्था सिर्जना भएको छ । राजनीतिक दलहरुप्रतिको अविश्वास र वितृष्णाले वर्तमान प्रणाली नै धरापमा पर्ने स्थिति आउन सक्छ ।
देशको राजनीतिक अस्थिरताको कारण विकासले गति लिनसकेको छैन् । जनताले सुशासनको अनुभूति गर्न पाएका छैनन् । कोभिडपछि व्यापार व्यवसाय धराशय अवस्थामा छन् । रोजगारीको अवसर खुम्चिएको छ । जनता निराश छन् । सरकार, राजनीतिक दल र देशप्रति नै जनता निराश छन् । सरकार र राजनीतिक दलहरुले जनतामा आशा र भरोसा जगाउन सकेनन् । नागरिकलाई उत्साहित र देशमै काम गर्न वातावरण सिर्जना गर्न सकेनन् । यो काण्डैकाण्डको देशमा युवाले आफ्नो सुरक्षित भविष्य देख्न सकेनन् ।
फलस्वरप युवाहरु देशमा आफ्नो भविष्य नदेखेर नै विदेश पलायन हुन बाध्य छन् । राजनीतिक अस्थिरता, बेरोजगार, काण्डैकाण्ड, भ्रष्टाचार, असुरक्षा, धराशय उद्योगधन्दा, व्यापार व्यवसाय र आर्थिक सङ्कटको कारण जनमानसको दिमागमा नै देशप्रति नकारात्मक छ । यो देशमा बसेर काम छैन् । यो देशमा भविष्य छैन् । यो देशमा अवसर छैन् भन्ने मनोविज्ञान हावी भएको छ । फलस्वरुप युवाहरु अवसर र सुरक्षित भविष्यको लागि विदेश जान बाध्य छन् ।
उच्च महत्वकांक्षा र देखासिकी
विदेश पलायन हुनुमा युवाहरुको उच्च महत्वकांक्षाले पनि काम गरेको देखिन्छ । युवाहरुको जीवनशैली फेरिएको छ । युवाका इच्छा, चाहना र आकांक्षाहरु असीमित तरिकाले बढेका छन् । छिटोछिटो प्रतिफल खोजिरहेका छन् । युवाहरुका अपेक्षा अनपेक्षित रुपमा बढिरहेको छ । युवाका आवश्यकताहरु दिनप्रतिदिन बढिरहेका छन् ।
जीवनशैली विलासितामा परिणत भएको छ । तसर्थ छिटो–छिटो धन कमाउन र रातारात धनी बन्ने तीव्र आकांक्षाले सबै युवालाई विदेश मोहले तानिरहेको छ । सबैमा विदेश मोह जागेको छ । छरछिमेक र साथीभाइको दवाव अनि देखासिकीको कारणले पनि विदेश जाने बाध्यता छ । एउटा छिमेकिको छोरा विदेश जान्छ अनि अर्को छिमेकिलाई पनि छोराछोरी विदेश पठाउन दबाब पर्दछ । विदेश जाने प्रवृति सामाजिक प्रतिष्ठाको विषय बनेको छ । समाज र परिवारले विदेश जानेलाई भाग्यमानी र स्वदेशमा बस्नेलाई अभागी भनेर ट्याग लगाउने अवस्था आएको छ ।
सुरक्षित रोजगारी
सरकारीदेखि निजी संघसंस्थामा काम गर्ने कर्मचारीहरु पनि वैदेशिक रोजगारीमा जाने क्रम बढ्दो अवस्थामा छ । नेपालको कुनै पनि पेशा सुरक्षित छैन । कतिखेर के हुने हो भन्ने अवस्था छ । कतिखेर जागिरबाट हात धुनुपर्ने हो थाहा छैन् । बल्लबल्ल पाएको जागिरले पनि हातमुख जोर्न हम्मेहम्मे छ । काम गरेको वर्षौ भइसक्यो । युवा उमेरले नेटो काटिसक्यो । युवा जोश जाँगर सेलाईसक्यो तर कहिले स्थायी हुने हो थाहा छैन् । स्थायी हुने ग्यारेन्टी छैन् । जागिरको टुङ्गो छैन । जागिरको सुरक्षा छैन । यो अवस्था देखेर कुन युवा स्वदेशमा बस्न खोज्छ होला र ?
कोभिडपछि कलकारखाना, उद्योगधन्दा, व्यापार व्यवसाय धराशाय अवस्थामा छ । उद्योगधन्दा जेनतेन चलेका छन् । कतिखेर बन्द हुने हो थाहा छैन । लगानी गरेर पनि डुब्ने हो कि भन्ने डर त्रास छ । सुरक्षित लगानी गर्ने वातावरण छैन । देशको अर्थतन्त्र सङ्कट उन्मुख छ । व्यापार व्यवसाय, कलकारखाना, उद्योगधन्दादेखि संघसंस्था चलाउन निकै कठिन र चुनौतीपूर्ण छ । चन्दा आतंकदेखि बन्द हड्तालको मारमा सबै क्षेत्र प्रभावित छन् । कुनै पनि क्षेत्रमा सुरक्षित तरिकाले काम गर्ने वातावरण छैन ।
अस्पताल तोडफोडदेखि डाक्टर कुटिनु अनि विश्वविद्यालय, क्याम्पस र विद्यालयमा बन्द र हड्ताल सामान्य जस्तो भइसक्यो । देशको यो दुरदशा देखेका, बुझेका र भोगेको युवा देशमा किन बस्न मन गर्ला र ? नेपाल मेडिकल काउन्सिलबाट सन् २०२२ मा १९ सय ५४ चिकित्सकले वैदेशिक अध्ययन तथा रोजगारको लागि चाहिने असल चारित्रिक प्रमाणपत्र लिएका छन् । एकपछि अर्को फुटबल खेलाडीहरु सुन्दर भविष्यको खोजीमा विदेश पलायन भइरहेका छन् ।
एक वर्षमा मात्र ४० भन्दा बढी खेलाडी विदेशीएका छन् । नेपालको फुटबल क्षेत्रमा यो अत्यन्त डरलाग्दो दृश्य हो । देशमा सुरक्षित तरिकाले काम गर्ने वातावरण नभएकोले जागिर भएकाहरु पनि हुक्किएर जागिर छोडेर विदेश जान बाध्य छन् । विदेश मोह रहर होईन बाध्यता हो । युवाहरुलाई विदेशीन बाध्य पारिएको छ ।