‘चेतनाको अभावले दृष्टि गुमाउने अवस्था’

  •   
  •  

सन्दर्भ विश्व दृष्टि दिवस
बालाराम खड्का
तुलसीपुर, २६ असोज । विश्वमा दुई अर्ब २० करोड जनसङ्ख्यामा दृष्टिको समस्या रहेको पाइएको छ । एक अर्ब जनसङ्ख्यामध्ये ९ करोड ४० लाखमा मोतियाविन्दु, ८ करोड ८४ लाखमा दृष्टिदोष, ७ करोड ७० लाखमा जलविन्दु, ३ करोड ९० लाखमा मधुमेह रेटिनोपेथी र ८२ करोड ६० लाख नजिकको चश्मा (प्रसवायोपिया) को समस्या रहेको छ ।

त्यस्तै नेपालमा दृष्टिहीनताको अवस्था १.०५ प्रतिशत रहेको छ । (०.८४ प्रतिशतबाट ०.३५ प्रतिशत भए पनि अहिले भने बढेर १.०५ प्रतिशत पुगेको छ । नेपालमा हाल १ लाख ३० दृष्टिविहीन रहेको तथ्याङ्कमा छ । विश्व दृष्टि दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक शम्शेर थापाले प्रस्तुत गरेको तथ्याङ्कमा सबैभन्दा बढी लुम्बिनी प्रदेशमा दृष्टिविहिनताको समस्या १.७५ रहेको बताए ।

त्यस्तै कर्णाली प्रदेशमा भने करिब एक प्रतिशत दृष्टिविहिनताको समस्या छ । त्यस्तै थापाले प्रस्तुत गरेको तथ्याङ्कमा १६ वर्षभन्दा मुनिका १० लाख १३ हजार ४१ बालबालिकामा दृष्टिदोषको समस्या छ भने १६ वर्षदेखि ३५ वर्षको उमेर समूहका ११ लाख ६४ हजार ५३ मा दृष्टिदोषको समस्या छ ।
त्यस्तै ३५ वर्ष माथिका ३७ लाख १६ हजार ९ सय ७० लाई नजिकको चस्मा प्रेसवायोपिक लाग्ने गरेको छ । प्रमुख प्रशासक थापाले ३० हजार २ सय ४० बालबालिका दृष्टिविहीन रहेको अनुमान रहेको बताए ।

नेपालमा करिब ४ लाख जलविन्दुको समस्या रहेको अनुमान छ भने २ लाख ३० हजारमा न्यून दृष्टि, एक लाखमा डाइवेटिक रेटिनोप्याती र उक्त कारणबाट २० हजार दृष्टिविहीन हुने अनुमान रहेको बताए । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले आँखा अस्पतालमा गरेको कार्यक्रममा प्रमुख प्रशासक थापाले राप्ती आँखा अस्पताल, लमही आँखा अस्पताल, छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्ज र उपचार केन्द्रले स्थापनाकालदेखि हालसम्म ३४ लाख ५ हजारको उपचार सेवा दिई २ लाख १२ हजारको मोतियाविन्दुको शल्यक्रिया गरी उज्यालो प्रदान गरेको बताए । जसमा ५ लाखलाई निःशुल्क सेवा र ४१ हजारको निःशुल्क शल्यक्रिया गरेको बताए ।

नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज राप्ती आँखा अस्पताल, लमही आँखा अस्पताल, छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्ज कपिलवस्तु र लमही आँखा अस्पतालले कार्यस्थलमा आँखालाई माया गरौँ भन्ने मूल नाराका साथ ‘विश्व दृष्टि दिवस २०८०’ कार्यक्रम तथा नेपाल नेत्रज्योति संघको झन्डोत्तोलन एकै साथ गरेको छ । नेपाल नेत्रज्योति संघका कोषाध्यक्ष श्यामप्रकाश आचार्यको अध्यक्षता, तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यता तथा नेपाल नेत्रज्योति संघका केन्द्रीय सदस्य कृष्णकुमार गिरीको विशिष्ट अतिथिमा राप्ती आँखा अस्पतालमा कार्यक्रम भएको थियो । कार्यक्रममा सहभागीले चेतनाको अभावमा धेरैले दृष्टि गुमाउनु पर्ने अवस्था रहेको बताएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि खड्काले आँखामा आउने सानो समस्यालाई पनि सामान्य अवस्थामा लिई समयमै आँखा उपचार केन्द्रमा नआउँदा दृष्टि गुमाउनु परेको तीतो यथार्थ नेपालमा रहेको उनको भनाइ थियो । ‘आँखामा सानो समस्या आउँदा लापरबाही र त्यसको ज्ञान नहुँदा धेरैले अनाहकमा अन्धोपनको सामना गर्नु पर्छ’, उनले भने । मानव अङ्गमध्ये महत्वपूर्ण मानिने आँखाको दृष्टि गुमाउँदाको पीडा गुमाएकालाई मात्र हुने भन्दै उनले आँखाको उपचारमा ख्यालठट्टा नगर्न सबैमा आग्रह गरे । उनले यसमा सबै अभिभावक चनाखो हुनु पर्ने बताए । नगर प्रमुख खड्काले आफूहरूले अन्धोपन न्यूनिकरणका लागि नेत्रज्योति र आँखा अस्पतालसँग साझेदारी गरेको बताए । उनले आफूहरू सधैँ आँखा अस्पताललाई सहयोग गर्न तयार रहेको पनि बताए ।

कार्यक्रममा विशिष्ट अतिथि नेपाल नेत्रज्योति संघका केन्द्रीय सदस्य कृष्णकुमार गिरीले नेपाल नेत्रज्योति संघ केन्द्रले नेपालका विभिन्न जिल्लामा अस्पताल र आँखा उपचार केन्द्र सञ्चालन गरी धेरैलाई पुनः दृष्टि प्रदान गरेको बताए । गिरीले नेपालको सविंधानले स्वास्थ्य सेवालाई मौलिक हकका रूपमा स्थापित गरे पनि आफूहरूले सरकारलाई सहयोग गर्न दातृ निकाय र सरकारसँग सहयोग जुटाएर सेवा दिएको बताए ।

‘दृष्टिविहिनताको समस्यालाई न्यूनिकरण गर्न हामीले विभिन्न कार्यक्रम सञ्चालन गरेका छौँ, यसमा सबैले साथ र सहयोग दिनुभएको छ, कोही पनि अन्धोपनमा जीवन बिताउनु पर्ने अवस्था आउने छैन’, गिरीले भने । त्यस्तै उनले हुनेसँग थोरै रकम लिने र नहुनेलाई निःशुल्क पनि सेवा दिने गरेको भन्दै दाङ, कपिलवस्तु, छिमेकी जिल्ला, कर्णाली प्रदेश र छिमेकी राष्ट्रका नागरिकलाई समेत सेवा दिएको बताए । कार्यक्रममा गिरीले पहिलो पटक संघको झण्डा प्रदानको लागि स्वीकृत दिएको भन्दै अब नेपाल नेत्रज्योति संघको पनि आफ्नै झण्डा रहेको बताए । उनले देशका सबै जिल्ला शाखाहरूले विश्व दृष्टि दिवसको अवसरमा एकै साथ झन्डोत्तोलन गरेको पनि बताए ।

कार्यक्रममा नेत्र विशेषज्ञ आराधान पोख्रेलले प्रत्यक व्यक्तिले कम्तिमा पनि ६÷६ महिनामा आँखा जाँच गर्नु पर्ने सुझाव दिइन् । कार्यक्रममा लायन्स क्लबका डिस्ट्रिक चिफ ध्रुव गौतम, नेपाल पत्रकार महासंघ दाङका कोषाध्यक्ष शरद रेग्मीलगायतले बोलेका थिए । कार्यक्रममा विश्व दृष्टि दिवसको महत्व र अस्पताले दिएका सेवाको विषयमा निमित्त प्रशासक शालिकराम गौतमले जानकारी गराएका थिए । सो अवसरमा नेपाल नेत्रज्योति संघको झन्डोत्तोलन नगर प्रमुख खड्का र संघका केन्द्रीय सदस्य गिरीले गरेका थिए ।

यसैबिच लमही आँखा अस्पतालमा ‘विश्व दृष्टि दिवस २०८०’ कार्यक्रम तथा नेपाल नेत्रज्योति संघको झन्डोत्तोलन गरिएको छ । नेपाल नेत्रज्योति संघका उपसभापति रेशमबहादुर खड्काको अध्यक्षता, लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीको प्रमुख अतिथ्यता तथा उपप्रमुख लक्ष्मी योगीको विशिष्ट अतिथ्यतामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले यहाँ सञ्चालन भएका अस्पतालले अन्धोपन न्यूनिकरणका लागि अतुलनीय कार्य गरेको बताएका थिए । उनले दृष्टिविहिनताको न्यूनिकरण गर्न आफूहरूले सहयोग गर्ने बताएका थिए । कार्यक्रममा प्रमुख प्रशासक शम्शेर थापाले विश्व, नेपाल र यस क्षेत्रको दृष्टियविहिनताको अवस्थाको बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा नबिल बैंक लमहीका शाखा प्रबन्धक उत्सव श्रेष्ठले सामाजिक उत्तरदायी अन्तर्गत भौतिक सहयोगका लागि लमही आँखा अस्पताललाई २ लाखको चेक हस्तान्तरण गरेका थिए । लमही आँखा अस्पताल प्रशासनिक समितिका संयोजक लीला शाहको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल नेत्रज्योति संघ दाङका सचिव घनश्याम सुवेदी, लायन्स क्लबका सुदन खनाल र पत्रकार महासंघका सहसचिव दशरथ घिमिरेले बोलेका थिए । कार्यक्रमको सहजीकरण लेखा प्रमुख कृष्णप्रसाद भट्टराईले गरेका थिए ।

त्यस्तै छन्द (कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्ज कपिलवस्तुमा कार्यस्थलमा आँखालाई माया गरौँ भन्ने मूल नाराका साथ ‘विश्व दृष्टि दिवस २०८०’ कार्यक्रम तथा नेपाल नेत्रज्योति संघको झन्डोत्तोलन कार्यक्रम प्रशासनिक समितिका संयोजक शारदा चौधरीको अध्यक्षतामा सम्पन्न भएको छ । सो अवसरमा बिरामीलाई फलफूल समेत वितरण गरिएको थियो । कार्यक्रमको सहजीकरण हरि भण्डारीले गरेका थिए ।

त्यस्तै नेपाल नेत्रज्योति संघ एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णालीको आर्थिक सहयोगमा दिवसको अवसरमा आँखा उपचार केन्द्र रुकुम पश्चिमले कारागारमा ९२ जनाको आँखा निशुल्क जाँच र ३२ जनालाई निःशुल्क चस्मा वितरण गरिएको इञ्चार्ज धनबहादुर केसीले जानकारी दिए । सल्यान आँखा उपचार केन्द्रले पनि विद्यालयमा आँखा जाँच गरेको छ । शारदा–१ मा गरेको कार्यक्रममा एक सय ३ जना विद्यार्थीको आँखा जाँच गरेको उपचार केन्द्र प्रमुख नविना चौधरीले जानकारी दिइन् ।